नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएको थिएन : त्रिवि शिक्षण अस्पताल
मङ्गलबार, २६ भदौ २०८०, १५ : ३९

काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउनेबित्तिकै जाँच गर्दा जीवनसम्बन्धी कुनै चालन नदेखिएको बताएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दासले मंगलबार जारी गरेको विज्ञप्तिमा उनको आँखाको नानी फुलिसकेको र स्थिर रहेको तथा बीपी र प्लस अनरेकर्डेबल भएकाले चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गरेको उल्लेख छ । तर, त्यति गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।
दासका अनुसार नेम्वाङलाई मंगलबार राति १ बजेर ५० मिनेटमा अस्पताल लगिएसँगै चिकित्सकले जाँच थालेका थिए ।
अस्पतालले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।