नेपाली राजनीतिमा ‘सहमति र सहकार्य’का पर्याय थिए सुवासचन्द्र नेम्वाङ
काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङको हृदयाघातबाट ७० वर्षको उमेरमा निधन भएको हो ।
बालुवाटारस्थित घरमै हृदयाघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा नेम्वाङको बाटोमै निधन भएको शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.रमेश महर्जनले जानकारी दिए ।
नेम्वाङलाई गएराति १ बजेर २० मिनेटको समयमा अस्पताल पुर्याइएको थियो । अस्पतालले नेम्वाङको मंगलबार बिहान ४ः२० मिनेटमा निधन भएको औपचारिक घोषणा गरेको थियो ।
एमाले नेता नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनावमा विजयी हुँदै आएका थिए । २०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम– २ बाट विजयी भएका नेम्वाङले संविधानसभा अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए ।
शालीन र भद्र नेताका रूपमा चिनिने नेम्वाङ आफ्नो राजनीतिक जीवनमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएर काम गरेका थिए ।
२०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो पटक उनी ०७९ माघ १० गते राष्ट्रपति पदमा एमालेका तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थिए । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ निर्वाचित भएका थिए ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेलसमेत परेका थिए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबिच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ पनि आबद्ध भए । त्यसपछि २०५४ को छैटौँ महाधिवेशनदेखि पार्टी केन्द्रीय कमिटी सदस्य चुनिएका नेम्वाङ २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य र २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए ।
एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ प्रायः सहमति र सहकार्यको राजनीतिका पक्षमा वकालत गर्ने गर्थे ।
२०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए । नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्त्वपूर्ण भूमिका थियो । संविधान निर्माण गर्ने बेलामा विभिन्न असहमत पक्ष तथा विषयवस्तुमा छलफल र संवादको माध्यमबाट सहमतिमा पुग्नुपर्छ भन्ने तर्क अघि सार्ने नेम्वाङले दलहरूलाई एकै ठाउँ राखेर असहमतिका बुँदाहरूमा सहमति जुटाउने निरन्तर प्रयास गरेका थिए ।
‘नेपाली समाज र नेपाली राजनीति बुझेका नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै हुनुहुन्थ्यो’, खनालले भने, ‘पछिल्लो समयसम्म पनि सहमति र सहकार्यमै जोड दिने गर्नुहुन्थ्यो ।’
संविधान निर्माणकै क्रममा न्याय प्रणाली, नागरिकता, राज्यको शासकीय स्वरूप, निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड लगायतमा नेम्वाङले मध्यमार्गी र वैज्ञानिक बाटोबाट अघि बढ्न दलहरूलाई सुझाव दिने गरेका थिए । सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने नेम्वाङको शैली धेरैका लागि अनुसरणयोग्य मानिन्छ । उनको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद एवं संसद्को पूर्व नेता गुमाएको छ भने राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमानदार नेता गुमाएको छ ।
नेम्वाङका सहपाठीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्यायजस्तै रहेको बताउँछन् ।
‘नेपाली समाज र नेपाली राजनीति बुझेका नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै हुनुहुन्थ्यो’, खनालले भने, ‘पछिल्लो समयसम्म पनि सहमति र सहकार्यमै जोड दिने गर्नुहुन्थ्यो ।’
खनालले सुवासचन्द्र नेम्वाङ एउटा सरल स्वभावको मृदुभाषी नेता भएको भन्दै एउटा कुशल सांसद र नेता रहेको बताए । ‘निकै लामो समय उहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो’, खनाल स्मरण गर्छन्, ‘संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामी सबैका लागि स्मरणीय रहने छ ।’
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका छन् ।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’