प्रदेश ५ बाट राजपा नेपाल ‘गायब’
तेजेन्द्र केसी
बुटवल– प्रदेश ५ प्रदेशसभाको बैठक चैत १५ गते ९आँै पटक बस्दैछ । अहिलेसम्म भएका आठवटा बैठकमा पाँचवटा दलको भूमिका मात्र देखियो ।
निर्वाचन आयोगले राष्ट्रिपति र प्रदेश प्रमुखलाई बुझाएको सूचीअनुसार यहाँ ६ वटा दल मात्र रहेका छन् ।
त्यसमा एमाले, माओवादी केन्द्र, काँग्रेस, सङ्घीय समाजवादी फोरम, जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रहेका छन् । तर, यहाँ राजपा नेपालको कुनै भूमिका देखिएको छैन । राजपा नेपालले समानुपातिकतर्फ एक सिट पाए पनि त्यसको भूमिका प्रदेशसभामा शून्य देखिन्छ ।
किनभने राजपा नेपालले पाएको एकजना समानुपातिक सांसद विना पन्त शर्माले हालसम्म शपथ पनि खाएकी छैनन् । त्यसैले बैठकमा शपथ ग्रहण गरेकाको मात्र गणना हुने गरेको छ ।
प्रदेशसभाका लागि राजपा नेपालले नाम सिफारिस गरेकी विना पन्त शर्मा अझै सम्पर्कमा छैनन् ।
प्रदेशसभा सचिव डा. मानबहादुर विकले राजपा नेपालका प्रदेश सांसद पन्त अहिलेसम्म सम्पर्कमा नआएको बताए । उनले निर्वाचन आयोगले सूची पठाएपछि शपथ ग्रहणका लागि सांसदले नै सभामुखसम्म सम्पर्क राख्नुपर्ने हो तर अझै सम्पर्क नआएको बताए ।
यस प्रदेशमा अन्य पार्टीका सांसदको गतिविधि तीव्र भइरहेको बेला आफ्नो पार्टीले पाएका सांसद पनि बेखबर भएपछि दलका कार्यकर्ता तथा नेताहरू दुःखी बनेको दलका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले बताए ।
सांसद पन्तको राजीनामा
एनजीओमा काम गर्ने विनालाई प्रदेश सांसदमा सिफारिस गर्दा राजपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको आलोचना भएको थियो । विना पन्त सर्वेन्द्र शुक्लाको सालाका श्रीमती हुन् ।
कार्यकर्ताको आलोचनापछि पन्त शपथ ग्रहणका लागि नआएको एकथरी कार्यकर्र्ताको दाबी छ भने उता पन्तका श्रीमान प्रेम शर्माले उनी आफ्नो पदबाट राजीनामा दिएका हुनाले प्रदेशसभा बैठकमा नगएको दाबी गर्छन् ।
उनले भने, ‘बुझाउनुपर्ने सबै ठाउँमा राजीनामा दिइसक्नु भएकाले अब यस विषयमा थप केही बोल्नुपर्ने जरुरी छैन ।’
यद्यपि नेता शुक्लाले पन्तलाई सिफारिश गर्नमा आफ्नो कुनै दबाब नरहेको सिफारिस गर्ने समयमा आफू बाहिर रहेको दाबी गरे । पार्टीभित्रैबाट आफूलाई फसाउनका लागि विना पन्तको सिफारिसमा जोडेको उनले दाबी गरे ।
कानुन नै अस्पष्ट
शपथ ग्रहण गरेको प्रतिनिध सभामा लगातर १० पटकसम्म बैठकमा अनुपस्थित भएका निलम्बन गर्न सक्नेसम्मको व्यवस्था छ ।
प्रदेशमा सांसद नै गायव भए पनि के गर्ने भन्ने विषयमा के गर्ने विषयमा काननु स्पष्ट छैन ।
निर्वाचन आयोगले सांसदको सूची राष्ट्रिपति र प्रदेश प्रमुखलाई बुझाइ सकेपछि अब त्यसमा केही गर्न मिल्ने नमिल्ने विषयमा आयोगले केही गर्न नसक्ने आयोगका कानुन महाशाखाका सहसचिव सुशील कोइरालले बताए ।
उनले भने– ‘उहाँको नाम आएको थियो, हामीले बुझाएका छौँ । हामीले अरू गर्न मिल्दैन, अरू हाम्रो विषयमा पर्दैन ।’
शपथ ग्रहणका लागि सम्पर्कमा नआएको अवस्थामा के गर्ने भन्नेमा प्रदेशसभा पनि स्पष्ट छैन । प्रदेशसभामा नाम आए पनि पन्तलाई शपथ ग्रहण गराउन पार्टीले पनि ध्यान नदिएको देखिन्छ ।
राजनीतिक गतिविधि पनि ठप्प
प्रदेशसभामा जस्तै सो प्रदेशमा राजपा नेपालको साङ्गठनिक तथा अन्य राजनीतिक गतिविधि पनि शून्य जस्तो छ । यो प्रदेश राजपाको प्राथामिकतामा परेको छ जस्तै देखिँदैन ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि रुपन्देहीमा रापजा नेपालको कुनै औपचारिक कार्यक्रम भएको छैन । विगतमा केन्द्रका प्रायः नेताहरू आइरहने यो जिल्लामा अहिलेको अवस्था फरक छ । केन्द्रका नेताहरूले फोन उठाउन पनि गाह्रो मानेको जिल्ला स्तरका नेताको गुनासो छ ।
राजपको अध्यक्ष मण्डल संयोजक महन्त ठाकुरसहितका शीर्ष नेता प्रदेश २ मा केन्द्रित छन् । ठूला नेताले ध्यान नदिए तल्लो स्तरमा कार्यकर्ता संरक्षण गर्न कठिन हुने जिल्ला स्तरिय नेता बताउँछन् ।
प्रदेश २ मा राजपाको गतिविधि नहुँदा यो प्रदेशका जिल्लामा कार्यकर्ताहरू उत्साह बनाउने खासै काम गर्न नसकिएको राजपाका रूपन्देही जिल्ला संयोजक अजय बर्माले बताए । उनले भने, ‘केन्द्रले कार्यक्रमका लागि कुनै सर्कुलेसन जारी गरेको छैन । नेताहरू पनि आउँदैनन् ।’
दबाबका लागि रणनीति
परासीदेखि बर्दियासम्म प्रदेश ५ का लागि विशेष कार्यक्रम बनाउन केन्द्रसँग माग गरे । अनौपचारिक रूपमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका जिल्लास्तरका नेताहरूले भैरहवामा छलफल गरी केन्द्रीय नेताको ध्यान प्रदेश ५ मा पार्ने रणनीतिमा छन् ।
उनीहरू रूपन्देही, कपिलवस्तु र नवलपरासी लगायतका प्रदेश ५ का जिल्लामा पार्टीका गतिविधि निकै कम भएको नेताहरूले बताउँछन् ।
पदमा विवादमा
प्रदेश ५ मा पार्टीका गतिविधि शून्य भए पनि रूपन्देही जिल्लमा दुईजना पार्टी संयोजक रहेका छन् । जबकि छजनाको अध्यक्ष मण्डलका एकजना संयोजक रहने प्रावधान पार्टीको छ । अजय बर्मा र देवमणि पाण्डेयले आफू–आफू जिल्ला संयोजक भएको दाबी गरेका छन् ।
केन्द्रले ध्यान नदिएपछि जिल्लाका नेताहरू आफ्नो ढङ्गले चल्ने गरेको र प्रायः जिल्लामा विवाद रहेको देखिन्छ । यसले पार्टीका तल्लोस्तरका कार्यकर्र्तामा निरास देखिन्छ ।
परासीका जिल्ला संयोजक पुरन चौधरीले भने– ‘खासै निर्देशन पनि आएको छैन । एक दुई पटक समीक्षा बैठक बस्यो । अरू खासै केही छैन ।’
प्रदेश ५ का कार्यकर्र्ता संरक्षणका लागि माथिबाटै पहल हुने गरेको जिल्ला नेताहरूको दावी छ ।
रुपन्देहीबाट चुनाव लडेका राजेन्द्र गुप्ताले भने– ‘औपचारिक–अनौपचारिक कार्यक्रम सबै शून्य छ । निर्वाचनको समीक्षासमेत भएको छैन ।’
केन्द्रीय नेताहरूले ध्यान नदिएका र पार्टी सङ्गठन सुस्त बनेकोमा जिल्ला स्तरका धेरै नेताको चिन्ता छ ।
नाम चलेका केन्द्रीय नेता सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, नरसिंह चौधरी, विजय गुप्ता, सुभान अलि अन्सारीलगायत नेताहरू सोही प्रदेशका हुन् । हृदयश त्रिपाठी, ईश्वर दयाल मिश्र, वृषेश गुप्तालगायतका नेताहरू पार्टी छाडेर एमालेमा गइसकेका छन् ।
हृदयश त्रिपाठी पार्टी छाडेर गएपछि त्यहाँ नेता र कार्यकर्तामा निराशा देखिएको छ । तर केन्द्रले पनि त्यसलाई व्यवस्थापन गर्नमा ध्यान दिएको छैन ।
गोविन्द चौधरी भन्छन्, ‘केन्द्रका सबै नेता प्रदेश २ मै व्यस्त हुनुहुन्छ । प्रदेश ५ लाई कसले मतलब गर्ने । हामी छौँ तर केही गतिविधि गरौं भनी पार्टीले वतावरण नै बनाउन सकेको छैन ।’
सांसद नभएपछि कार्यक्रम छोटिन थाले
निर्वाचन आयोगले थ्रेसहोल्डको मापदण्ड लागू गरेपछि केन्द्रमा ५ दल र प्रदेश ५ मा ६ दल रहेका छन् ।
सरकारी कार्यलयको कार्यक्रमहरू हुँदा दलका प्रतिनिधिहरूलाई आशनग्रहण गराउँदा पार्टी प्रतिनिधि मात्र २२ जनालाई शपथग्रहण गराउनु पथ्र्यो अब त्यो समस्या रहेन ।
के गर्छन् पराजित दल
केन्द्र र प्रदेशमा पराजित बनेका दलहरू अहिले सङ्गठन सुधार गर्ने क्रममा लागेका छन् । चुनावी समीक्षापछि ठोस कार्यक्रम बाहिर नल्याए पनि ती दलहरूले सङ्गठन विस्तारमा ध्यान दिइका छन् ।
काँग्रेसका युवा नेता तथा रुपन्देही–५ का उम्मेदार विष्णु पोखरलले चुनाव जितेका दल सरकारमा र हारेका दल प्रतिपक्षमा बस्ने बताए । उनले प्रतिपक्षमा बसेर सरकारको कामकाज प्रभावकारी बनाउनुको साथै पार्टी पनि बलियो बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
-
लिक्विफाइड न्याचुरल ग्यास आयातको अनुमति, तर छैन मापदण्ड