मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सानेपा र विराटनगरमा बीपी र गिरिजाबाबुको चर्चा

अमेरिका भ्रमणकाे टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन
सोमबार, २५ भदौ २०८०, २१ : ०४
सोमबार, २५ भदौ २०८०

आज २०८० भदौ २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा समाजवादी मोर्चाको सन्देश सभामा प्रचण्डको प्रतिबद्धता– भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन, क्रिकेटर आसिफ शेखविरुद्ध यौन दुर्व्यवहारको आरोप, सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको डेरामा छापा, एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न मागसहित निवेदन, अमेरिका भ्रमणमा जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन, सानेपामा बीपीको चर्चा, सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरेको ओलीको आरोप लगायत छन् ।

१. समाजवादी मोर्चाको सन्देश सभामा प्रचण्डको प्रतिबद्धता– भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने प्रस्ट पारेका छन् । समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा उनले सरकार ढल्छ कि भन्ने चिन्ता छाडेर आफू भ्रष्टाचारविरुद्धको अभियानमा केन्द्रित रहेको बताएका हुन् ।

२. क्रिकेटर आसिफ शेखविरुद्ध यौन दुर्व्यवहारको आरोप
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ शेखविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको एक किशोरीले आरोप लगाएकी छन् ।

३. सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको डेरामा छापा
विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका एक जना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइलास्थित डेरामा छापा मारिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

४. एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न मागसहित निवेदन
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।  

५. अमेरिका भ्रमणमा जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने भएको छ । यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

६. सानेपामा बीपीको चर्चा
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा कांग्रेसका संस्थापक नेता तथा साहित्यकार बीपी कोइरालाका बारेमा चर्चा चलिरहेको छ । बीपीको ११० औँ जन्मजयन्तीका अवसरमा कांग्रेसले अन्तरक्रिया गरेको हो । 

७. सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरेको ओलीको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डीएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन् ।

८. मापदण्ड पूरा नगरेका कलेजलाई त्रिविले दियो विषयगत स्वीकृति
त्रिभुवन विश्वविद्यालयमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको पाइएको छ । व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कलेजलाई मापदण्ड नै पूरा नगरेको अवस्थामा समेत सम्बन्धन दिएको पाइएको हो । 

९. कलंकी–वसुन्धरा क्षेत्रमा धमाधम सर्भिस ट्रयाक निर्माण
कलंकी–वसुन्धरा चक्रपथ विस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र गतिमा अघि बढेको छ । ‘ट्रयाक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्रयाक’ निर्माण सुरु गरेको हो ।

१०. चीनमा चुच्चे नक्साको चर्चा
नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप