समाजवादी मोर्चाको सन्देश : प्रचण्ड केन्द्रित प्रशंसा, काम देखाउन आग्रह
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले सोमबार प्रदेशस्तरीय सन्देश सभाको आयोजना गर्यो । सन्देशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ यी चारै जनाको जोड समाजवादको आवश्यकता रहेकोमा थियो ।
त्यस्तै, कार्यक्रमका वक्ताहरु जसपा अध्यक्ष यादव र विप्लवले भने प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको प्रशंसामा धेरै शब्द खर्चिए । सम्बोधनका क्रममा उपेन्द्र यादवले भने, ‘जनयुद्धको नेतृत्व गरेर आउनु भएका क्रान्तिका नायक प्रधानमन्त्री हुनुहुन्छ ।’
नेकपाका महासचिव विप्लवले भने प्रचण्डलाई जनयुद्धका कमाण्डर, सर्वोच्च नेता भन्दै सरकारबाट दलाल पुँजीवादका विरुद्धमा सशक्त काम गर्न आग्रह गर्दै आफूले सडकबाट साथ दिने बताए ।
विप्लवले परिस्थितिले फुट र जुट गराउने बताउँदै देशलाई आपत् परेको बेला, देशलाई निकास दिन फेरि माओवादीहरु मिल्ने र कालो सपना देख्नेहरूलाई सखाप पार्ने बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईहरूले साथ दिनु प¥यो ।’ प्रचण्डले त्यसो भन्नु अगाडि विप्लवले भनेका थिए, ‘प्रधानमन्त्रीले सरकारबाट संघर्ष सुरु गर्नुपर्यो, हामी सडकबाट साथ दिन तयार छौँ ।’
यसरी दुवैको मन्तव्यको सार मिलेको थियो । पार्टी एकताको विषयमा पनि दुवैले उस्तै अभिव्यक्ति दिए । ‘समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो,’ प्रचण्डले भने, ‘विगतमा उपेन्द्र यादव, डा बाबुराम भट्टराई, विप्लव सँगै रहेका थियौँ । अब नयाँ आधारमा नयाँ एकता हुन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि समाजवादी मोर्चालाई सरकार टिकाउन बनाएको भनेर बुझ्न नहुने बताउँदै यसको ठूलो अर्थ रहेको प्रष्ट्याउन कोसिस गरे । समाजवाद ल्याउनका लागि अहिले समाजवाद पक्षधरहरुको मोर्चा बनेको उनको दाबी थियो ।
उनले पनि प्रचण्डको प्रशंसा गर्दै भने, ‘गठबन्धन सरकारले राम्रो काम गरिरहेको छ । यस्ता कार्यक्रममा सरकारले गरेका राम्रा कामको लिष्ट बाँड्नुपर्छ । मोर्चाका कार्यकर्ताले गाउँ गाउँमा यो सन्देश पनि पुर्याउनु पर्छ ।’
जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डको काँधमा धेरै चुनौती र सम्भावना रहेको बताउँदै आफूहरू साथमा रहेको ढाडस दिए । ‘सुशासन, समृद्धि, सामाजिक न्यायको दिशामा अगाडि बढौँ, संघीयता कार्यान्वयनमा लागौँ । म प्रधानमन्त्री प्रचण्डप्रति १ सय मात्रै होइन, १ हजार प्रतिशत विश्वस्त छु’, यादवले भने ।
ब्यानरमा कोशी नाम अस्वीकार !
प्रदेशसभाले कोशी नामकरण गरेपछि यहाँ विवाद भइरहेको छ । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै विभिन्न आन्दोलन गरिरहेका छन् । समाजवादी मोर्चाको सोमबार आयोजित कार्यक्रममा पनि कोशी नाम उल्लेख गरिएन ।
कार्यक्रमको मूल व्यानरमा प्रदेशस्तरीय सन्देश सभा नाम दिइए पनि कुन प्रदेश भन्ने विषय उल्लेख थिएन । ‘हाम्रो कार्यक्रमको सन्देश उत्पीडित जातिहरुको असन्तुष्टि सम्बोधन गर्नुपर्छ भन्ने नै थियो,’ जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले भने ।
कार्यक्रमको सुरुवातमै स्वागत मन्तव्य दिँदै नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीले पनि कोशी नाम प्रदेशवासीले अस्वीकार गरेको बताएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री तथा जसपा प्रदेश इन्चार्ज रकम चेम्जोङले पनि कोशी नामकरण जनताले नरुचाएको बताए । छिमेकी मुलुक भारतको मणिपुरमा भएजस्तै आदिवासीलाई दबाबमा पारेर हिंसा मच्चाउन खोजेको उनको जिकिर थियो ।
कार्यक्रममा झण्डै आधा घण्टा मन्तव्य दिएका माधवकुमार नेपालले भने नामकरणको विवादको विषयमा प्रवेश गरेनन् । प्रधानमन्त्री प्रचण्डले भने नामकरणको विषयमा देखिएको विवाद वार्ता र छलफलबाट समाधान गर्न आफू सुरुदेखि नै लागेको बताए ।
प्रचण्डले भने, ‘कोशी प्रदेशतिरै जात र धर्मको कुरालाई लिएर हिंसा भड्काउने हिसाबले कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ?,’ उनले भने, ‘यो विषयमा नामकरणको विषयमा आन्दोलन गरिरहेका साथीहरुले पनि बुझ्नुपर्छ ।’
जसपा अध्यक्ष यादवले प्रदेशको नाम जनताले अस्वीकार गरेको बताउँदै यसलाई सम्बोधन गर्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत