सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

किन निराशा छाउँछ किशोरकिशोरीमा, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?

सोमबार, २५ भदौ २०८०, १३ : ५१
सोमबार, २५ भदौ २०८०

विश्व स्वास्थ्य सङ्गठन र उसका सदस्य देशले सन् २००३ देखि १० सेप्टेम्बरको दिनलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउँदै आएका छन् । यस वर्ष उक्त दिवस कामबाट आशा जगाऔँ भन्ने आदर्श वाक्यका साथ यही भाद्र २४ गते मनाइयो । २० वर्षदेखि यो दिवस मनाइँदै आएको भए आत्महत्या गर्ने दरमा खासै गिरावट आएको पाइँदैन । एउटा सानो उदाहरण हेरौँ ।

गएको एक डेढ महिनामा काभ्रे जिल्लाका पाँचखाल, बनेपा र पनौती नगरपालिका तथा बेथानचोक गाउँपालिकामा १५ देखि ४० वर्ष उमेर समूहका १० व्यक्तिले आत्महत्या गरेको समाचार आयो । यी घटनाले शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायतले आत्महत्या गर्ने यो मनोवृत्तिलाई कसरी न्यून गर्ने होला भनेर सामाजिक सञ्जालमा चिन्ता र चासो व्यक्त गरेको पाइयो । 

यो अमानवीय कार्य गर्न मानिस किन तयार हुन्छ होला ? उसलाई आफ्नै जीवनसँग विद्रोह गर्न केले उत्प्रेरित गर्छ होला ? 

यसको जवाफ खोज्न मैले विश्व स्वास्थ्य सङ्गठनका आत्महत्यासँग सम्बन्धित प्रतिवेदनहरू, विश्वमा भएका अन्य अध्ययन, अनुसन्धानहरू र नेपाल प्रहरीले विभिन्न समयमा प्रकाशित गरेका प्रतिवेदन र समाचारहरू अध्ययन गरेँ । यो लेखमा प्रस्तुत भएका तथ्याङ्क, सल्लाह, सुझाव यिनै अध्ययन, अनुसन्धान, प्रतिवेदन र मेरो शैक्षिक क्षेत्रको लामो अनुभवमा आधारित छन् । 

किशोरकिशोरीमा निराशा कसरी बढिरहेछ ?

विभिन्न अध्ययन, अनुसन्धान तथा मनोचिकित्सक, बालरोग विशेषज्ञ र मनोपरामर्शदाता आदिको विचारमा किशोरकिशोरीले आत्महत्या गर्ने कारणमध्ये तपसिलका कारण प्रमुख देखिन्छन् : 

किशोरकिशोरी भावनात्मक हुन्छन् । उनीहरूलाई साना कुराले चित्त दुख्छ र वैरागिन्छन् । छोटै समयमा समाधान हुने समस्याबाट पनि आतिन्छन् । आफूले जानी वा नजानी गरेका गल्तीबाट परिवार र समाजसँग अत्यन्तै डराउँछन् र यही डरका कारण उनीहरू नबाँच्ने निर्णयमा पुग्छन् । 

किशोरकिशोरीमा कारण र परिणाम केलाउने मगजको पूर्ण रूपमा विकास भएको हुँदैन भन्छन् डा.डान सिगेल र डा टिना पेने ब्रिसन । उनीहरूकोे पुस्तक ‘द होल ब्रेन चाडल्ड’मा के भनिएको छ भने मानिसको मगज दुईतले घरजस्तै हो । दोस्रो तलाको मगजले तर्क, तथ्य, व्याख्या, विश्लेषण, कारण र परिणामको काम गर्छ भने पहिलो तलाको मगजले तुरुन्त प्रतिक्रिया जनाउने काम गर्छ । यसले तर्क, विचार वा कारणतिर ध्यान दिँदैन । जब यो उमेर समूहको व्यक्तिहरूमा केही समस्या आउँछन्, त्यसबेला उनीहरूको मगजको माथिल्लो तलाभन्दा तल्लो तला बढी सक्रिय हुन्छ र विना सोच–विचार आत्महत्याजस्तो जघन्य बाटो रोज्छन् । 

एउटा अनुसन्धान भन्छ — युद्ध, बम र गोलाबारी भएका दृश्य, जहाज र बस दुर्घटना भएका विभत्स अवस्थाहरू र मानिसका सयौँ शव सामाजिक सञ्जालमा धेरैपटक देख्दा किशोरकिशोरीको मन विरक्तिन्छ र उनीहरूलाई जीवनदेखि दिक्क लाग्न थाल्छ । यसको परिणाम उनीहरूले आत्महत्या गर्छन् ।

यस्तै, सामाजिक सञ्जालमा आउने नकारात्मक समाचार र पोस्टले पनि उनीहरूलाई निराश बनाउँछ । सबै बिग्रिएको छ, सप्रने सङ्केत कतै छैन, सबैको भविष्य अँध्यारो छ जस्ता नकारात्मक समाचारले उनीहरूकोे बाँच्ने रहर मर्दछ । सबैको भविष्य अँध्यारो छ भन्नुको अर्थ मेरो पनि त अँध्यारो छ, त्यही अँध्यारोमा हराउन म किन बाँच्नु भन्ने सोच्छन् र मृत्युको बाटो रोज्छन् । 

किशोरकिशोरीको आत्महत्यामा परिवार र अभिभावक पनि त्यत्तिकै जिम्मेवार भएको बताउँछन् कतिपय मनोपरामर्श दाताहरू । जापानकी एक अनुभवी मनोपरामर्श दाता भन्छिन्, ‘छोराछोरी बिहान ९—४ बजेसम्म विद्यालयमा बिताएर थकित भएर घर फर्कन्छन् । उनीहरूको अपेक्षा हुन्छ, बाबाआमाले खानेकुरा दिऊन्, थाकेकी छौ एकछिन बस वा थकाइ मार भनून् । वा यस्तै मायालु कुरा गरून् । 

यता घरमा बाबा एउटा कुनामा, आमा अर्को कुनामा मोबाइल वा कम्प्युटर चलाएर बस्छन् । छोराछोरीले आमा भोक लाग्यो भन्दा ध्यान दिन्नन् आमाले र फ्रिजमा होला हेरेर खा न भन्छिन् । अनि ती किशोरकिशोरीलाई आमाबुबाले आफूलाई ध्यान नदिएको, माया नगरेको वा आफ्नो ख्याल नगरेको महसुस हुन्छ र त्यही कारण यो सन्सारबाटै बिदा लिने निर्णय गर्छन् । 

लामो समय परामर्श क्षेत्रमा काम गरेकी बेलायतकी क्रिस्टेन वेयर भन्छिन्, ‘गरिबी, आमाबुबाको बेमेल र झगडाका कारणले दिक्क भएर आत्महत्याको बाटो रोज्छन् किशोरकिशोरीले ।’

सन्तानलाई समय नदिने, उनीहरूसँग नबस्ने, संवाद नगर्ने, उनीहरूका कुरा नसुन्ने, सधैँ उपदेश मात्र दिने अभिभावकका कारणले पनि किशोरकिशोरी आत्महत्या गर्ने निर्णयमा पुग्छन् । त्यसै गरी उनीहरूले मागेका वस्तुहरू नदिने, उनीहरूलाई मनपर्ने खेल, मनोरञ्जन दिने कार्य आदिमा रोक लगाउने, एकोहोरो पढ्पढ् मात्र भन्नेजस्ता अभिभावकका क्रियाकलापले किशोरकिशोरीले आत्महत्या गरेका प्रशस्तै उदाहरण छन् विश्वमा । 

किशोरकिशोरीको आत्महत्याको सम्बन्धमा शिक्षाविद् जे कृष्णमूर्ति भन्छन्, ‘शैक्षिक असफलता र त्यही असफलतालाई लिएर अभिभावक, शिक्षक र साथीहरूको नकारात्मक प्रतिक्रियाले पनि यो उमेर समूहका मानिसले आत्महत्या गर्छन् ।’ 

किशोरावस्था भनेको शारीरिक, मानसिक र संवेगात्मक लगायत सबै क्षेत्रमा द्रूत गतिमा परिवर्तन आउने उमेर हो । शारीरिक विकाससम्बन्धी कतिपय भ्रमात्मक सूचना र समाचारका कारण उनीहरूमा चिन्ता बढ्न सक्छ । समयमै उनीहरूलाई तथ्य कुरा थाहा नहुने हो भने उनीहरू त्यही चिन्ताका कारण आत्महत्याको बाटो रोज्न सक्छन् । 

माथिको व्याख्या विश्लेषणलाई मनन गर्दा किशोरकिशोरीले आत्महत्या गर्नुको कारण बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।

१) पारिवारिक आर्थिक अवस्था कमजोर हुनु, २) परिवारमा आमाबुबाको सम्बन्ध बिग्रनु, ३) शैक्षिक रूपमा असफल हुनु, ४) साथीहरूबाट एक्लिनु, ५) मानसिक रूपमा अस्वस्थ हुनु, ६) अधिक सामाजिक सञ्जाल र फोनको प्रयोग गर्नु, ७) कुलतमा फस्नु, ८) कक्षामा शिक्षकले हेला गर्नु, ९) डिप्रेसन हुनु, १०) आफूले केही गर्न नसकेको अनुभूति हुनु, ११) बालिकामाथि यौन हिंसा हुनु, १२) परिवार, साथी र समाजबाट अपहेलित हुनु वा अस्वीकृत हुनु, १३) किशोरावस्थामा हुने परिवर्तनको सही सूचना नपाउनु, १४) संसारमा आफूलाई सहयोग गर्ने कोही नदेख्नु आदि ।

किशोरकिशोरीलाई कसरी सम्झाउने ? 

किशोरकिशोरीलाई खुसी, आत्मविश्वासी र भविष्यप्रति आस्थावान् बनाउने पहिलो दायित्व आमाबाबुको हो । आफ्ना सन्तानकोे चालचलन, दैनिक व्यवहार, साथी आदिका बारेमा नजिकबाट नियाल्नुपर्छ बाबुआमाले । उनीहरूको समय केमा बित्छ, आवश्यकता के हो, रुचि केमा छ, के गर्दा उनीहरू प्रफुल्ल हुन्छन् ? आदिमा आमाबाबुले ध्यान दिन अत्यन्त जरुरी छ । 

कहिलेकाहीँ छोराछोरीले आफूले तत्काल पूरा गर्न नसक्ने माग पनि गर्न सक्छन् । त्यस्तो अवस्थामा रिसाउने, सकिँदैन भन्ने, झर्किने, किन चाहियो भन्नुहुँदैन । हुन्छ बाबु, केही समयपछि मिलाउँला नि भनेर बुझाउनुपर्छ । केही समयपछि उनीहरूले नै पर्दैन भन्न पनि सक्छन् । गत वर्ष मेरो एकजना साथीको कक्षा १० मा पढ्ने छोराले बाबुले ल्यापटप नदिएको झोँकमा आत्महत्या गर्यो । ल्यापटप, मोबाइल, स्कुटर नपाएर किशोरकिशोरीले ज्यान त्यागेका धेरै उदाहरण छन् समाजमा । 

आमाबुबाको नियमित संवाद पनि छोराछोरीका लागि खुसीको क्षण हुन्छ । छोराछोरीलाई समय नै नदिने, बोल्दै नबोल्ने, उनीहरूलाई परेको समस्यामा ध्यानै नदिने, एकोहोरो मोबाइल वा कम्प्युटरमा झुन्डिने वा अफिसको कामको मात्र चिन्ता गर्ने बानी बाबुआमाले तुरुन्तै छोड्नुपर्दछ । 

छोराछोरीलाई अरुसँग तुलना गर्नु हँुदैन । शिक्षाविद् जे कृष्णमूर्ति भन्छन्, ‘बालबालिकालाई अरु कसैसँग दाँज्नु हुँदैन । तिमीले र उसले एउटै विद्यालयमा पढेको, ऊ डाक्टर पढ्न थाल्यो तिमीले के ग¥यौ जस्ता कुरा आमाबुबाले सुनाउनै हुँदैन छोराछोरीलाई । विश्वका ६ अर्ब मानिसको हातको शङ्ख–चक्र मेल खाँदैन । त्यसैले कोही पनि व्यक्ति उस्तै हुँदैनन् र एकअर्कामा तुलनायोग्य पनि हुँदैनन् भन्ने कुरा आमाबाबुले बुझ्नु जरुरी छ । 

छोराछोरीमा माथि उल्लेख गरेका लक्षण देखापरे भने तुरुन्त मानसिक चिकित्सक वा मनोपरामर्श दाताको सहयोग लिनु आवश्यक पर्दछ । अभिभावक र शिक्षकले पनि त्यस्ता किसिमका बालबालिकालाई माया, प्रेम, प्यार र सरल व्यवहार गर्नु पर्दछ । विद्यालय जाँदा र आउँदा एक्लै छोड्नु हुँदैन । 

विद्यालयमा त्यस्ता विद्यार्थी पहिचान भएमा शिक्षकले अभिभावकसँग छलफल गर्ने र घरमा उसले गर्ने व्यवहार के कस्तो छ जानकारी लिने गर्नुपर्दछ । शिक्षक र अभिभावक दुवैले उसलाई खुसी र आनन्दित हुने वातावरण निमार्ण गर्नुपर्छ । पढाइमा कमजोर भए पनि शिक्षकले कक्षामा होँच्याउने, साथीका सामु बेइज्जत हुने किसिमले गाली–गलौज गर्ने, तँ कहिल्यै सफल हुन सक्दैनस् भन्दै हतोत्साहित गर्ने कहिल्यै गर्नुहुँदैन । 

बरु असफलता सफलताको जननी हो, तिमीले पनि गर्न सक्छौ भनेर ढाडस दिनुपर्छ । जागिर नै सबै होइन, तिमीसँग अरु प्रशस्तै सीप छन, त्यसैले तिमी अरु क्षेत्रमा पनि अब्बल हुन सक्छौ भनेर हौसला दिनुपर्र्छ । धेरै बालबालिका शिक्षकको उत्प्रेरणाले जिन्दगीमा सफल बनेका कैयौँ उदाहरण छन् ।

सामाजिक सञ्जालमा भएका भिडियो, टिकटक, रिल्स आदिले किशोरकिशोरीलाई नकारात्मक असर पारेका धेरै उदाहरण छन् । कतिपय भिडियोको दृश्य र भाषा परिवारमा सबै बसेर हेर्न र सुन्न नसकिने किसिमका छन् । यस्तो किसिमको नकारात्मक सन्देश दिने सामग्री उत्पादन र अपलोड गर्न रोक लगाउनुपर्छ । 

बालबालिकाले सामाजिक सञ्जालमा कुन कुरा बढी हेर्छन्, त्यस्ता कुरामा शिक्षक अभिभावकले जानकारी राख्नुपर्छ । छोराछोरीले मोबाइलमा पासवर्ड राख्छन् र बाआमालाई देखाउँदैनन् । उनीहरू के हेर्छन्, अभिभावकले थाहा नपाउन पनि सक्छन् । यस्तो अवस्थामा विद्यालयमा शिक्षकले कस्ता भिडियो हेर्ने, कस्ता नहेर्ने, के साँचो हो, के भ्रम हो भनी विद्यार्थीलाई बताउन अनिवार्य छ । 

साथीहरूसँगको गफ, सामाजिक सञ्जालमा देखेको संसार, उनीहरूको कल्पनामा आएका दृश्य र वास्तविकताबीचको विशाल फरकपनले पनि बालबालिकालाई निराश बनाउँछ । सोचाइ र भोगाइबीचको खाडलले उनीहरू भविष्यप्रति आश्वस्त हुन सक्दैनन् अनि बाँच्ने रहर हराएर जान्छ भन्छन् बेलायती मनोचिकित्सक । त्यसैले बेलाबेलामा कल्पना र सत्य संसारको बारेमा शिक्षक अभिभावकले उदाहरणसहित बताउनुपर्छ उनीहरूलाई ।

एउटा व्यक्तिको मृत्युमा घर–परिवार, आमाबुबा जति जिम्मेवार छन्, समाजको पनि त्यसमा कम दायित्व छैन । कसैका सन्तान घरबाहिर के गर्छन्, कुलतमा फसेको छ कि छैन, बढी समय कोसँग बिताउँछन्, फुर्सदको समय कता जान्छन् आदि आमाबुबाले भन्दा बढी छिमेकीले देखेका, सुनेका र थाहा पाएका हुन्छन् । 

यस्तो अवस्थामा फलानाको सन्तान बिग्रिएछ भनेर बस्नुभन्दा बढाइचढाइ नगरीकन आमाबाबुलाई उसका सन्तानका बारेमा बताइदिनुपर्छ र आफूलाई लागेको सकारात्मक सुझाव दिनुपर्छ । अरुका सन्तान बिग्रिएकामा खुच्चिङ भनेर बस्दा आफ्नै सन्तान भोलि त्यही बाटो नहिँड्लान भन्ने के ठेगान ! त्यसैले हामी सबैले अरुका सन्तानलाई आफ्नैसरह सोच्नु र सोही अनुसार व्यवहार गर्न जरुरी छ । 

मनोचिकित्सक डा. जगदम्बा पण्डितको सुझाव छ, अभिभावकले किशोर किशोरीको शारीरिक स्वास्थ्यका साथसाथै मानसिक र भावनात्मक स्वास्थ्यमा पनि समान रूपमा ध्यान दिनुपर्र्छ । कतिपय देशमा यस्ता विषयमा सरकारले व्यापक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा पनि नेपाल प्रहरीले यस्ता क्रियाकलाप गरेको देखिन्छ । तर यो अपर्याप्त छ । 

त्यसैले स्थानीय तहले माध्यामिक तहका सबै विद्यार्थीलाई यस्तो किसिमको कक्षाका साथै ध्यान–योग आदि कम्तीमा महिनाको एकपटक अनिवार्य रूपमा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्छ । मैले यो लेख लेख्दै गर्दा म जन्मे–हुर्केको ठाउँ बेथानचोक गाउँपालिकाले विद्यार्थीलाई यस्तो जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको समाचार पढेँ । बेथानचोक गाउँपालिकालाई हार्दिक धन्यवाद दिँदै म सबै पालिका र विद्यालयलाई यो कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न अनुरोध गर्छ ।

व्यक्ति, परिवार, समाज, विद्यालय र राष्ट्रले सचेत प्रयास गर्ने हो भने आत्महत्या दरलाई धेरै तल झार्न सकिने कुरामा दुई मत छैन । 

नेपालमा आत्महत्या गर्ने दर 

नेपाल प्रहरीका अनुसार नेपालमा आर्थिक वर्ष २०६८/६९ मा दैनिक ११ व्यक्तिले आत्महत्या गरेका थिए भने २०७८/०७९ मा आइपुग्दा यो सङ्ख्या बढेर दैनिक १९ पुग्यो । आर्थिक वर्ष २०७८/०७९ को प्रदेशगत तथ्याङ्क हेर्ने हो भने कोशीमा १४९१, मधेसमा १०२०, वागमतीमा १,४४२, गण्डकीमा ६९८, लुम्बिनीमा १,३०५, कर्णालीमा २९१ र सुदूरपश्चिम प्रदेशमा ५८३ जनाले आत्महत्या गरेको देखिन्छ । 

यो तथ्याङ्क हेर्र्दा अरु प्रदेशको तुलनामा कम विकसित र कम शिक्षित प्रदेश कर्णाली र सुदूरपश्चिममा आत्महत्या गर्ने दर कम देखिन्छ । यसले के सङ्केत गर्छ भने विकास, शिक्षा, समृद्धिको वृद्धिसँगै व्यक्तिमा पलाउने उच्च तहको इच्छा, चाहना र बढ्दो महत्त्वकाङ्क्षा आत्महत्याका कारण हुन सक्छन् । 

विश्वमा आत्महत्या गर्ने दर 

विश्व स्वास्थ्य सङ्गठन र वल्र्ड पपुलेसन रिभ्युले निकालेको १८० देशको सन् २०१९ को तथ्याङ्क अनुसार विश्वमा एक लाख जनसङ्ख्यामा वार्षिक नौ व्यक्तिले आत्महत्या गर्छन् । यो तथ्याङ्क अनुसार नेपाल आत्महत्या गर्ने देशको सूचीमा ६७औँ नम्बरमा पर्छ । 

तथ्याङ्कले भन्छ, प्रति एक लाख जनसङ्ख्यामा सबभन्दा बढी आत्महत्या दर भएका दश देशहरू लेसोथो ७२.४, गुयाना ४०.३, इस्वातिनी २९.४, दक्षिण कोरिया २८.६, किरिवाटी २८.३, माइक्रोनेसिया २८.२, लिथुवानिया २६.१ सुरिनाम २५.४, रसिया २५.१ र दक्षिण अफ्रिका २३.५ हुन् भने सबभन्दा कम आत्महत्या हुने दश देशहरूमा एन्टिग र बारबुडा ०.४, बारबाडोस ०.६, ग्रेनाडा ०.७, सेन्टमिसेन्ट र ग्रेनाडिनेस १.०, साओटोमे र प्रिन्सिप १.५, जोर्डन १.६, सिरिया २.०, भेनेजुयला २.१, होन्डुरस २.१ र फिलिपिन्स २.२ रहेका छन् । 

सार्क सदस्य राष्ट्रमा एक लाख जनसङ्ख्यामा वार्षिक आत्महत्या गर्ने दर श्रीलङ्का १४, भारत १२.७, नेपाल ९, पाकिस्तान ८.९, भुटान ४.६, अफगानिस्तान ४.१, बंगलादेश ३.७ र मालदिब्स २.७ रहेको छ । 

विश्वका सबै देशमा आत्महत्या गर्ने व्यक्तिको दर हेर्दा शून्य भएको देश कुनै पनि पाइएन । त्यसैले आत्महत्यालाई शून्यमा झार्नु भनेको अत्यन्तै कठिन कार्य हो । अनुसन्धानले के पनि भन्छ भने कतिपय व्यक्ति त आकस्मिक रूपमा भावनामा बगेर होइन कि योजना बनाएर नै आत्महत्या गर्दछन् । 

नेपाल सरकारको एक सर्भेमा सहभागी मध्ये ६.५ उत्तरदाताले आत्महत्या गर्ने योजना रहेको मनसाय व्यक्त गरेको तथ्याङ्क छ, (राष्ट्रिय मानसिक स्वास्थ्य सर्भे प्रतिवेदन, २०२०) । यसरी योजनाका साथ आत्महत्या गर्नेहरूलाई रोक्न कठिन हुन सक्छ । 

आत्महत्या किशोर, युवा, प्रौढ, निरक्षर, गरिब, किसानदेखि उच्च पदस्थ, धनाढ्य र सम्भ्रान्तहरूले पनि गरेको पाइन्छ, कारण भने वर्ग र उमेर अनुसार फरक हुन्छन् । 

मैले यो लेखमा यी सबै वर्ग किन आत्महत्या गर्छन् भनेर केलाउनुभन्दा किशोर किशोरीमा किन यस्तो मनोवृत्ति बढ्छ र यो रोक्ने वा कम गर्ने उपाय के हुन सक्छ भन्नेमा बढी ध्यान दिएको छु । 

आत्महत्या गर्नुअघि देखिने लक्षण 

सामान्यतया कसैले पनि एकैपटकको कारणले आत्महत्या गर्दैनन् भन्छन् मनोचिकित्सकहरू । एउटै कुरा पटकपटक दोहोरिँदा उनीहरू निराश र जिन्दगीदेखि नै वाक्क हुन्छन् र आत्महत्या गर्छन् । त्यसैले आत्महत्या गर्नुभन्दा केही महिना अगाडिदेखि नै उनीहरूले आत्महत्यातिर उत्प्रेरित लक्षण देखाउँछन् । जस्तै : १) जिन्दगीदेखि वाक्क भएको छु । यो स्वार्थी दुनियाँमा बाँच्नुको के फाइदा ? एक्लो र निरस जीवन जिउनुभन्दा मर्नु नै बेस । म तपाईंहरूको समस्या भएर बस्ने छैन । म अब यो पृथ्वीको बोझ बन्ने छैन आदि फेसबुकमा लेख्ने, २) लागुऔषध तथा पेय पदार्थ अधिक प्रयोग गर्ने, ३) एकान्तमा बस्ने, सधैँ निराश देखिने, ४) बाबुआमा, साथी, दाजुभाइसँग गफ नगर्ने, नबोल्ने, ५) कहिलेकाहीँ आफ्ना महत्त्वपूर्ण र प्यारा चिज (नयाँ कपडा, मोबाइल वा गहना) अरुलाई दिने, ५) झडङ्ग रिसाउने, ध्वंसात्मक कार्य गर्ने, बाबुआमाले केही भनेमा घर छोडेर हिँड्ने, ६) विद्यालय नजाने, घरबाट विद्यालय जान हिँडे पनि बाटैमा कतै बस्ने, ७) विद्यालय गए पनि ध्यान दिएर नपढ्ने, शिक्षक र साथीसँग झगडा गर्ने, ८) समयमा खाने, सुत्ने र उठ्ने नगर्ने, ९) बिहे, व्रतबन्ध, पूजा, श्राद्ध जस्ता आफन्त, दाजुभाइ, दिदीबहिनी भेला हुने सामाजिक ठाउँमा नजाने, १०) साथीसँग समेत कम बोल्ने, बोले पनि निराश, वैराग्ग र जिन्दगीदेखि नै विरक्तिएको विचार राख्ने, ११) आफन्त र आमाबाबुसँग नजिक नपर्ने, कसैले गफ गर्न बोलाए पनि बहाना बनाएर हिँडिहाल्ने । १२) कोठामा चुकुल लगाएर लामो समयसम्म बसिरहने, १३) घरमा भएको बेलामा मोबाइलमा मात्र ध्यान दिने आदि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप