माओवादी अभियान : जनताले कस्ता सुझाव दिए ?
काठमाडौँ । नेकपा माओवादी केन्द्र अहिले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर जनताको घरघरमा गएको छ । वर्तमान व्यवस्था परिवर्तनको बाहक शक्ति भएको दाबी गर्ने माओवादी सोही व्यवस्थाभित्र रक्षात्मक अवस्थामा पुगेपछि पुनः शक्ति आर्जनका लागि जनताका बिचमा गएको हो ।
पदाधिकारीसहित सम्पूर्ण शक्तिलाई वडा तहमा केन्द्रित गरेको उसले जनतासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिएको छ । नवीकरण र विस्तारको माध्यमबाट ८ लाख पार्टी सदस्य बनाउने गरी माओवादी केन्द्र अगाडि बढेको छ । अभियानको क्रममा पार्टी र सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने उद्देश्य रहेको नेताहरू बताउँछन् ।
यसैगरी आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने, संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य छ ।
अभियानको क्रममा द्वन्द्व पीडित (राज्य र विद्रोही पक्ष), कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायत फरक आस्था र विचार राख्नेका नेता तथा कार्यकर्ताको घरमा पुगेर माओवादी आन्दोलनबारे बुझाउन अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । माओवादीका सिङ्गो पङ्क्तिले स्थानीय तहमा जनताले भोगेका समस्याबारे जानकारी लिने, कुलो तथा पुलेसा बनाउने, खेतबारीमा काम गर्नेदेखि घर आँगन सरसफाइसम्मका कामहरू गरिरहेका छन् ।
तीन चरणमा सञ्चालन हुने अभियानको प्रारम्भिक चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण लगायतको काम भइरहेको शीर्ष नेताहरूले बताएका छन् ।
के के छन् जनताका गुनासा र सुझाव ?
अभियानको क्रममा आम नागरिक, तल्ला तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक संघ संस्था र शुभचिन्तकबाट आ–आफ्ना सुझाव, सल्लाह आइरहेको नेताहरूको भनाइ छ । उनीहरूका अनुसार पार्टी संगठन र आम नागरिकले फरकफरक सल्लाह र सुझाव दिएका छन् ।
माओवादीका तल्लो तहका नेता तथा कार्यकर्ताहरूले सांगठनिक, वैचारिक, सैद्धान्तिक सुझावका साथै नेताहरूको जीवनशैली र आचरणकाबारेमा प्रश्न उठाएका छन् । फरक पार्टी र विचारमा आस्था राख्ने तथा आम नागरिकले सुशासन, पार्टी रूपान्तरण, पार्टीको एजेण्डामाथि केन्द्रित भएर प्रश्न उठाएको उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले जानकारी दिए ।
काठमाडौँको गोङ्गबु र बालाजुलाई कार्यक्षेत्र बनाएर खटिएका पुनले सुशासनमा सरकारले चलाएको अभियानबाट जनता उत्साहित रहेको जिकिर गरे । साथै तल्लो तहमा हुने भ्रष्टाचार, अनियमितता, बेथिति नियन्त्रण गरी उत्पादनमूलक, रोजगारीमूलक, स्वरोजगारीमूलक, निजी क्षेत्रलाई प्रोत्साहन दिने खालको कार्यक्रम ल्याउनुपर्ने सुझाव आएको उनले बताए ।
‘सुशासन माथि मात्र भए, तल्लो तहका भ्रष्टाचार नियन्त्रण, अनियमितता, बेथितिहरू रोकिएको छैन, त्यसलाई सरकारले कडाइका साथ हेर्नुपर्छ । अध्यागमनमा हुने बेथिति रोकिएको छैन । निजी क्षेत्रलाई कर कार्यालय, विभिन्न संघसंस्थाले धम्क्याउने काम रोकिएको छैन’, उनले भने, ‘न्यायालयमा सामान्य जनताको पहुँच नै भएन । न्यायालयमा सर्वसुलभ पहुँचयोग्य हुनुपर्यो । बाटाघाटा, खानेपानी लगायत भौतिक पूर्वाधार विकासमा ध्यान दिन सुझाव दिएका छन् ।’
उनका अनुसार कतिपयले समाजको पिँधमा रहेका वर्गले गरी खाने वातावरण बनाउन सुझाव दिएका छन् । ‘प्लस टु’ को अध्ययन सकिएपछि नेपालमा कोही पनि नबस्ने स्थिति अन्त्य गर्न शिक्षा नीतिमा सुधार गरी देशभित्रै केही गर्न सकिने खालको नीति ल्याउन आग्रह गरिएको पुनले बताए ।
यस्तै, पार्टी कमिटीको तहबाट काठमाडौँ उपत्यकामा माओवादीले प्रत्येक निर्वाचनमा धक्का खाएकाले सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव आएको उनले जानकारी दिए ।
‘काठमाडौँ उपत्यकामा जनताको नजरमा माओवादी नपरेको र माओवादीको नजरमा जनता नपरेको जस्तो देखियो । उपत्यकावासीको मनोविज्ञानलाई हेरेर पार्टी र सरकारले काम गर्न सकेन भन्ने गुनासो छ’, उनले भने, ‘पार्टी र जनताबिचको नेटवर्क टुटेको अवस्था छ । यी सबलाई मध्यनजर राखेर सहिद परिवार, बेपत्ता परिवार, सामाजिक रुपमा प्रतिष्ठित व्यक्तित्वको घरघरमा जाने, कोर क्षेत्रका मानसिकता बुझेर काम गर्ने गरी विशेष कार्यक्रम ल्याउन सुझाव आएको छ ।’
अर्का उपमहासचिव एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले नेताहरूको जीवनशैली, आचरणबारे जनताको धेरै गुनासो रहेको जानकारी दिए । अभियानबाट नेता तथा कार्यकर्ता उत्साहित देखिए पनि नेतृत्व तहमा देखिएको समस्याका कारण पार्टी कमजोर भएको उनीहरूको मूल्याङ्कन रहेको यादवको बुझाइ छ ।
यसैगरी शान्ति प्रक्रियामा आएपछि नेताहरू नातावाद, कृपावाद र कार्यकर्ताको साँघुरो घेरामा सीमित भएको, पार्टीभित्र नवसामन्तवादको उदय भएको, जनताबाट टाढिँदै गएकोजस्ता विषयमा आम जनताको चिन्ता व्यक्त गरेको उनले बताए ।
‘नेताहरू कुरा सुन्दैनन् । केही कार्यकर्ताको घेराभित्र रहन्छन् । नातावाद, कृपावाद हावी भएको छ । जनताबाट टाढिँदै गएको, नवसामन्तवाद हावी भएको जस्ता गुनासा आम जनताबाट आएका छन्’, उनले भने, ‘अभियानबाट अहिले जनतामा उत्साह छ । सबैतिरको रिपोर्टबाट पनि कार्यकर्ता र जनतामा उत्साह देखिएको पाइन्छ । कतिपय ठाउँमा कांग्रेस र एमालेबाट पनि नेता तथा कार्यकर्ता माओवादीमा आएका छन् ।’
यादवले पार्टीभित्र त्याग, तपस्या, लगानी, संघर्षको हिसाबले हिमाल, पहाड, तराई, सहर सबैतिरका कार्यकर्तामा पार्टीको दृष्टिकोण, एजेण्डा, सिद्धान्तमा कुनै फरक नभएको उनको बुझाइ छ ।
मधेसमा नेताहरूको गुटबन्दीले पार्टी नै बन्न दिएको यादवले बताए । तल्लो तहका नेता तथा कार्यकर्तामा कुनै समस्या नभए पनि शीर्ष नेताहरूमै समस्या देखिएको उनको भनाइ छ । ‘मधेसमा जनता र कार्यकर्ताबिच कुनै समस्या छैन । नेताको तहमै समस्या छ । नेताहरूको मूल्याङ्कन गरेर जिम्मेवारी दियो भने मधेसमा पनि माओवादी बलियो शक्तिका रूपमा उदाउँछ’, उनले भने, ‘नेताहरूको सही मूल्याङ्कन हुनुपर्यो । जनतासँग जसको सम्बन्ध छ, त्यसलाई नेता बनाउनुपर्यो । जनाधार नभएकालाई नेता बनाउँदा समस्या देखिएको छ ।’
निर्वाचन प्रणालीबाट नेतृत्व र समिति छान्नुपर्नेमा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूको माग रहेको उनले बताए । पहिलो चरणमा पार्टी शुद्धीकरणका लागि प्राथमिकता परेकाले दोस्रो चरणमा सबै विषयमा छलफल हुने उनको भनाइ छ ।
सचिव एवं प्रवास प्रदेश इन्चार्ज सुरेन्द्र कार्कीले नेताहरूको आचरण, व्यवहार, जीवनशैलीलाई लिएर गुनासो आएको जानकारी दिए । खासगरी माओवादीमा देखिएको लक्षणमाथि अधिकांशले टिप्पणी गरेको उनको बुझाइ छ ।
‘माओवादीको नेताहरूको आचरण बिग्रिएको छ । व्यापारी, ठेकेदार, तस्करसँग संगत बढी छ । किसान, मजदुर श्रमजीवी वर्गसँग फर्किएका छैनन् । जनताबाट टाढा भए । नीतिले पनि किसान मजदुरलाई समेटेको देखिँदैन । नीति पनि पुँजीवादी संसदीय व्यवस्थामा घुमिरहेको छ । यसमा सुधार हुनुपर्यो भनेर सुझाव आएका छन्’, उनले भने ।
माओवादीमा अहिले गम्भीर खालको रोग लागेका लक्षण देखिएकाले क्यान्सर हो वा अन्य कुनै रोग लागेको हो भन्ने कुरा अभियानपछि कारणसमेत पत्ता लगाएर उपचार गरिनुपर्ने उनको तर्क छ ।
यसैगरी सत्तामा पुग्दा मजदुर, किसानका लागि के के गर्यौ ? हिजो युद्धमा जनताका छोराछोरी चाहियो, अहिले नातागोता आफ्ना छोराछोरी प्यारा भए भन्ने जस्ता गुनासा तथा सुझाव आ–आफ्ना तह र तप्काबाट आएको कार्कीको भनाइ छ ।
अर्का सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले पहिलाको गल्ती रियलाइज गरी सच्चिएर आउन सुझाव आएको बताउँछन् । पार्टीगत तहका नेता तथा कार्यकर्ताहरूले संगठन बनाउन कोही नआएको, पार्टी र सरकारले गरेको कामको सम्बन्धमा जनतालाई जानकारी नदिएको जस्ता गुनासा राख्दै आगामी दिनमा यस्ता विषयमा कोर्स करेक्सन गर्न सुझाव आएको उनले जानकारी दिए ।
‘पार्टी र सरकारले गरेका राम्रा कामबारे जनतालाई बारम्बार जानकारी दिनु पर्यो । नेताहरू सहर केन्द्रित भए । सुविधाभोगी भए । सीमित घेरामा नेताहरू अलमलिए । कांग्रेस–एमाले भन्दा फरक एजेण्डाहरू ल्याउनुपर्यो । विकास, सरकार सञ्चालन, शिक्षा, स्वास्थ्यको विषयमा फरक हुनुपर्छ भन्ने सुझाव छ’, शाक्यले भने ।
त्यस्तै पार्टी कमिटी भद्दा भएको, माओवादी जनताबाट टाढिएको, ठेकेदार, व्यापारी, तस्करहरूसँग नजिक भए भन्ने गुनासो पनि आइरहेको उनले बताए । जनतासँग पार्टीको सम्पर्क विच्छेद भएको गुनासो गर्दै यस्ता गतिविधिबाट मुक्त हुन आफूहरूलाई जनस्तरबाट सल्लाह आएको उनले प्रस्ट पारे ।
यसैगरी सचिवद्वय देवेन्द्र पौडेल र डिलाराम आचार्यले पनि माओवादीको सांगठनिक, वैचारिक, सैद्धान्तिक तथा राष्ट्रिय एजेण्डाको विषयमा केन्द्रित रहेर सुझाव आइरहेको जानकारी दिए ।
पौडेल र आचार्यका अनुसार शान्ति प्रक्रियामा आएपछि माओवादी जनतासँग टाढियो, स्थापित एजेण्डाबारे जनतालाई बुझाउन सकेन, नेताहरूले नैतिक धरातल गुमाए, संगठन भद्रगोल भयो, सत्तामा पुगेपछि माओवादी पनि कांग्रेस र एमालेजस्तै भयो भन्ने गुनासो गरेका छन् ।
यसैगरी पार्टीमा सबैलाई भूमिका दिनुपर्ने, नयाँ पुस्तालाई पार्टीप्रति आकर्षण बढाउने खालका नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव आइरहेको र त्यसलाई सङ्कलन गर्ने कार्य भइरहेको उनीहरूको भनाइ छ ।
सातै प्रदेशको ७५३ पालिकाका ६ हजार ७४३ वडामा पदाधिकारीसहित स्थायी कमिटी, केन्द्रीय समिति, केन्द्रीय निकाय, प्रदेश पदाधिकारी र सदस्यहरूलाई खटाएर जनताका गुनासा, सुझाव सङ्कलन गर्ने काम भइरहेको छ । तीन चरणको अभियानपश्चात् मंसिरमा माओवादीले विधान सम्मेलन गर्ने तयारी छ ।
यस्ता छन् तीन तहको अभियानः
पहिलो चरण: बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण ।
दोस्रो चरण: पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरूसँग अन्तरक्रिया ।
तेस्रो चरण: जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कार्यालयमा स्वदेशी वस्तु खपत : कसरी होला कार्यान्वयन ?
-
प्रहरीका भान्से रुम्बाको हत्यामा सानो हतियार प्रयोग, अनुसन्धान विभागका इन्स्पेक्टरसँग सोधपुछ
-
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतको अस्वीकार
-
श्रीमतीको नाम जोडेर प्रश्न उठेपछि रक्षात्मक बने सभापति पोखरेल
-
एमपक्स सङ्क्रमण पुष्टि भएका बिरामीको अवस्था कस्तो छ ?
-
रवि लामिछानेको सांसद पद निलम्बन