बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

अधिकारीका तीन कृतिको विमोचन

सोमबार, २५ भदौ २०८०, १० : ५२
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । दमक प्रज्ञा प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा साहित्यकार हेम अधिकारीका तीनवटा कृति एकसाथ विमोचन गरिएको छ । साहित्य कला सङ्गमद्वारा शनिबार दमकमा आयोजित कार्यक्रममा अधिकारीका तीन अलग अलग विधाका कृति एकै पटक विमोचन गरिएको हो । 

झापाको दमकमा रहेर साहित्य सिर्जना गर्दै आएका साहित्यकार अधिकारीका ‘उत्तरी ध्रुवतिर टहलिँदा’ नियात्रा सङ्हग्र, ‘जीवनका गौँडा गल्छेँडाहरू’ संस्मरण र ‘क्रियाको रूप विश्लेषण’ आधुनिक भाषा विश्लेषण कृतिको एक साथ विमोचन गरिएको हो । 
प्राध्यापक चूडामणि वाशिष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार गङ्गाप्रसाद अधिकारीले ‘उत्तरी ध्रुवतिर टहलिँदा’ कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । 

त्यस्तै कवि यज्ञ परिश्रमीले ‘जीवनका गौँडा गल्छेँडाहरू’ कृतिबारे समालोचनात्मक विचार प्रस्तुत गरे । “वास्तविकता र यथार्थ ओझेलमा रहेकोे धरातलमा सुन्दरताको बयान पुस्तकभित्र पाइन्छन् । नेपाल भौगोलिक रूपमा विश्वकै सुन्दर देश भएर पनि विकासमा पछि परेका कारण नेपालभन्दा कम सुन्दर देशहरू अगाडि छन्,” उनले भने, “उनीहरूको भौगोलिक सौन्दर्य विज्ञापनमा बाँचिरहेको यथार्थ पुस्तकभित्र पाइन्छ । यस कुराबाट म अत्यन्त हर्षित छु ।” 

त्यस्तै सर्जककी ज्येष्ठ सुपुत्री तुलसा अधिकारीले बुवाको हरेक परिवेश र पदार्थलाई सूक्ष्म रूपमा देख्न र विश्लेषण गर्न सक्ने विशिष्ट क्षमताको प्रशंसा गरिन् । “बुवाको लेखन र मेहनतबाट म पनि प्रभावित छु । उहाँको प्रभाव र प्रेरणाबाट मलाई पनि केही सफलता मिलोको छ,” उनले भनिन्, “यसमा आमाको भूमिका पनि बिर्सि नसक्नुको छ । आमाको प्रोत्साहनले पनि बुवाका यी कृति सिर्जनामा योगदान दिएको छ ।”

त्यस्तै कार्यक्रममा साहित्यकारहरू पुण्य खरेल, राजेन्द्र सङ्ग्रौलालगायतका अग्रज स्रष्टाहरूले लेखक अधिकारीको अथक मेहनत, लगाव र परिश्रमबाट सिर्जित ती कृतिहरूले नेपाली साहित्य विकासमा विशेष योगदान दिने बताए । 
त्यस्तै साहित्यकारहरू देवीचरण भण्डारी, खगेन्द्रा खुसी लगायतले साहित्यिक रचना वाचन गरेका थिए । 

साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णु नेउपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले स्वागत मन्तव्य राखेका थिए । सङ्गमका महासचिव दीपक सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्रष्टाहरू तिला लेकाली, भगवती ढुङ्गेल, मेघराज तिम्सिना, लक्ष्मी फुयल, यादवप्रसाद अधिकारी, मेघनाथ वन्धु, वीरेन्द्र खड्का, ओमप्रसाद खनाल, ओमप्रकाश गौतमलगायत थुप्रै सर्जकको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप