मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, २४ भदौ २०८०, २१ : ०५
आइतबार, २४ भदौ २०८०

आज २०८० भदौ २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा ललिता निवास प्रकरणमा १७ जना धरौटीमा रिहा, समाजवादी मोर्चाको सन्देशसभामा ओलीको आलोचना, चीन भ्रमणअघि प्रधानमन्त्रीले गरे विज्ञ तथा नेताहरुसँग अन्तरक्रिया, डीएसपी र प्रदेशसभा सदस्यबिचको विवादबारे छानबिन समिति गठन, कोशीमा अध्यादेशतिरै जोड, कर्णालीमा एमाले नेतृत्वका लागि हानथाप, पुँजीपतिहरुलाई सरकारले लखेटेको ओलीको आरोप लगायत छन् ।

१. ललिता निवास प्रकरणमा १७ जना धरौटीमा रिहा
काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १८ जनामध्ये एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

२. समाजवादी मोर्चाको सन्देशसभामा ओलीको आलोचना
बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार समाजवादी मोर्चाको सन्देश सभा आयोजना गरिएको छ । सभामा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरिँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ ।

३. चीन भ्रमणअघि प्रधानमन्त्रीले गरे विज्ञ तथा नेताहरुसँग अन्तरक्रिया
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले बैठक आह्वान गरेका थिए । बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायत सहभागी थिए ।

४. डीएसपी र प्रदेशसभा सदस्यबिचको विवादबारे छानबिन समिति गठन
कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताएका हुन् ।

५. कोशीमा अध्यादेशतिरै जोड
कोशी प्रदेश सरकारले प्रदेशसभालाई छल्दै विगत ६ वर्ष यता १० वटा अध्यादेश जारी गरेको छ । प्रदेशसभामा आफ्नो बहुमत सिद्ध गर्न नसक्ने वा प्रदेशसभाबाट पारित गर्नुपर्दा आफू अनुकूल कानुन बन्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले अध्यादेश ल्याउने गरेका छन् ।

६. कर्णालीमा एमाले नेतृत्वका लागि हानथाप
कर्णालीमा नेकपा एमालेको प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । असोज १० र ११ गते प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि भदौ ३० मा प्रतिनिधि छनोट गरिसक्ने तयारी छ । अधिवेशन नजिकिएसँगै प्रदेशको नेतृत्वका लागि केही नेताले ‘लबिङ’ सुरु गरिसकेका छन् भने कतिपय नेताले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । पोलिटब्युरो तहको नेता पनि अध्यक्ष बन्न पाउने भएपछि प्रदेशको नेतृत्वका लागि हानथाप नै देखिन्छ । 

७. जी–२० सम्मेलनमा भारतले किन बोलाएन नेपाललाई ?
छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय महत्त्व बोकेको दुई दिने जी–२० सम्मेलन सकिएको छ । सो सम्मेलनमा जी–२० मा आबद्ध देशहरुका अलावा भारतको निमन्त्रणमा बंगलादेश, मौरिसस, नेदरल्याण्ड, सिंगापुर, ओमान जस्ता देशहरु आमन्त्रित देशको रुपमा सहभागी थिए । तर भारतको अभिन्न छिमेकी देशको रुपमा रहेको नेपाललाई भने भारतले प्राथमिकता नदिनुमा नेपालको कूटनीतिक क्षमता कमजोर रहेको परराष्ट्रविद्को बुझाइ छ ।

८. पुँजीपतिहरुलाई सरकारले लखेटेको ओलीको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको आरोप लगाएका छन् । मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानीछानी दुःख दिने काम गरेको ओलीको जिकिर थियो ।  

९. सेयर बजारमा दोहोरो अंकको वृद्धि
लामो समयको अन्तरालपछि यो साताको सुरु दिनमा नै नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १०.२३ अंकले बढ्दै १९ सय ४२.६८ को विन्दुमा उक्लिएको हो ।

१०. भ्रष्टाचार र मूल्यवृद्धिविरुद्ध प्रदर्शन
भ्रष्टाचार र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गरेको छ । आइतबार सो संगठनका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप