भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै
काठमाडौँ । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि शुरु हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो ।
नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो । यस अघिका संस्करण राष्ट्रियस्तरमा मात्र सीमित थियो । च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् । नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।
यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताए । पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन् । प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु तय गरिएको संघले जनाएको छ । प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ । त्यसमा कोरियाली दूतावासबाट करिब पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिब १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति