हेटौँडामा समाजवादी मोर्चा सन्देश सभा : माधव र विप्लवको प्रशंसा, ओलीको आलोचना
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरिएको छ । यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ ।
आइतबार दिउँसो हेटौँडाको एक पार्टी प्यालेसमा मोर्चाका शीर्ष नेताहरूको उपस्थितिमा भएको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधनमा नेपाल र विप्लवको खुलेर प्रशंसा गरे । यस्तै उनी ओलीको भने आलोचनामा केन्द्रित रहे ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधनको सुरुवातमा व्यवस्था परिवर्तनको लागि जनताले गरेको बलिदानको सम्मान गर्न नसक्दा प्रतिक्रियावादी तत्त्वहरूले आफू विरुद्ध मुद्दा दायर गरेको बताए । उक्त वाक्य लगत्तै उनले मोर्चाका सहयात्री दल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचार विरुद्धको अभियानमा अध्यक्ष नेपालबाट पाएको समर्थनको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरे ।
गणतन्त्र स्थापनको आधार स्मरण गर्दै माओवादी आन्दोलनको सहयात्री विप्लवको प्रशंसा गरेका थिए । जनयुद्धको पछिल्लो समय सबैभन्दा नजिक रहेर काम गरेको र सरकारलाई सुशासनको काममा अघि बढ्न हौसला प्रदान गर्ने काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले विप्लवको प्रशंसा गरे ।
‘जनआन्दोलनका सहयात्री र जनयुद्धको पछिल्लो समयमा सबैभन्दा नजिक रहेर काम गरेको विप्लवले सरकारलाई सुशासनका काममा बलियो साथ दिनुभएको छ । सरकारको काममा तपाई अघि बढ्नुस् सडकबाट हामी साथ दिन्छौ भन्नु भएको छ । म त्यसको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा गणतन्त्र स्थापनमा अध्यक्ष नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताए । सोही क्रममा उनले एमाले अध्यक्ष ओलीले पार्टीको नेतृत्व लिएको भए गणतन्त्र स्थापना हुन नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ओली एमालेको तत्कालीन महासचिव वा प्रमुख भएको भए जनयुद्ध, जनआन्दोलनको संयोजनबाट जनक्रान्ति नहुने उनले बताए ।
‘तत्कालीन अवस्थामा माधवको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन हुने थिएन । म अहिले स्मरण गर्न चाहन्छु । ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन । त्यति बेला माओवादीले सङ्घीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध ग¥यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो,’ उनले भने । ओलीले प्राप्त उपलब्धिलाई अपमानित गर्न खोजेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले विप्लवको नाम उल्लेख गर्दै भने, ‘उहाँले भन्नु भएको एउटा भनाइ प्रति मेरो ध्यान गम्भीर रूपमा परेको छ । परम्परागत संसदीय व्यवस्था मात्र होइन । यो सही विषय हो ।’
विप्लवको नेतृत्वमा भएको एकीकृत जनक्रान्तिको प्रयोगलाई सबेको साझा सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले पुनः विप्लवको प्रशंसा गरे । विगतमा एमालेमा रहँदा गणतन्त्र स्थापनामा खेलेको भूमिका र अहिले दक्षिणपन्थी अवसरवाद र दलाल पुँजीवादका विरुद्ध अध्यक्ष नेपालले गरेको विद्रोह आम नागरिकहरूको भावना र विचारको भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले समाजवादी मोर्चामा आबद्ध दल र नेताहरूको प्रशंसा गर्दै विगतमा त्याग बलिदानका दिएका दल र कार्यकर्तालाई अपमानित गर्ने काम गर्नेहरूलाई चुनौती दिनुपर्ने बताए । एउटा हुण्डरी आउने र त्यसलाई मद्दत गर्ने प्रवृत्ति विरुद्ध एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरे ।
‘हामीले ल्याएको व्यवस्था प्रति गर्व गर्न सक्नु पर्यो । त्यसलाई अपनत्व र स्वामित्व ग्रहण गर्न सक्नु पर्छ । देशलाई फेरी निरङ्कुशता र सामन्तितन्त्र र दलाल पुँजीवादको हैकम कायम गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसका लागि काम गर्ने प्रवृत्तिका विरुद्ध हामीले चुनौती दिन सक्नुपर्छ,’ उनले भने ।
सोही प्रवृत्तिका विरुद्धमा समाजवादी मोर्चा स्थापित भएको प्रधानमन्त्री प्रचण्डको दाबी गरे । उनले विगतको भन्दा फरक शैलीबाट सोचेर अघि बढ्न सकेमा मात्र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्ने बताए । कम्युनिस्टहरू विभाजित मात्र हुन्छ एकताबद्ध हुन सक्दैनन् भन्ने भ्रमलाई चिर्न सक्नुपर्ने उनले बताए । एक अर्कालाई सम्मान गर्दै विभाजित अवस्थामा प्रयोग गरेका अधिकारहरूलाई साझा रूपमा ग्रहण गरेर अघि बढ्नुपर्ने उनले बताए ।
‘केही तत्त्वहरू जातीय, धार्मिक द्वन्द्वबाट देशलाई क्षतविक्षत गर्ने र व्यवस्था परिवर्तन उल्ट्यायने तर्फ प्रेरित छन् । माओवादी आन्दोलन र शान्ती सम्झौतादेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आउँदा कहीँ पनि माओवादीले जातीय, धार्मिक द्वन्द्व भएको उदाहरण छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले तत्कालीन समयमा केपी शर्मा ओलीले गरेको संसद् विघटनको विषयलाई केन्द्रित गर्दै संविधानमाथि हस्तक्षेप गर्नेहरूलाई समेत सडकमा पुगेर नागरिकको साथबाट परास्त गर्न सम्भव भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दलहरूबिच विषयगत समितिको भागवण्डा टुंगियो
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?