आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नीतिकथा :  विगतलाई धिक्कार्दै मृत्युको प्रतीक्षा

आइतबार, २४ भदौ २०८०, १० : ५१
आइतबार, २४ भदौ २०८०

मानिसलाई ढाँट्न सकिए पनि भगवान्लाई सकिन्न । जति नै गोप्य तरिकाले ढाँटेको भए पनि भगवान्ले थाहा पाएर हिसाब किताव राखेका हुन्छन् र मौका आउनासाथ हिसाब राफसाफ गर्न लगाउँछन् । भाइबहिनीहरूका जानकारीका लागि यहाँ यसैसम्बन्धी एउटा कथा प्रस्तुत गरिएको छ ।  

धेरै पहिलेको कुरा हो कुनै एक पहाडमा एक जना सज्जन बस्थे । उनको नाम अनुसारको स्वभाव थिएन । नाम त राम्रो थियो तर स्वभाव भने धूर्त र छलछामको थियो । देख्न त सज्जन नै देखिन्थे, सज्जनकै अभिनय गर्थे तर मनमा भने ठगी र धुर्त्याइँकै योजना बुनिरहेका हुन्थे ।  

यस्तैमा एक दिन उनको मनमा ठगीको नयाँ योजना फु¥यो र पहाडबाट पहिरोमा झरेको  एउटा कलात्मक ढुङ्गालाई अलौकिक देवमूर्तिको संज्ञा दिएर प्रचार गर्न लागे । प्रचारको क्रममा आफैँ उत्पन्न भएको गणेशको मूर्ति पनि भने, यसलाई मन्दिर बनाएर स्थापन गर्नुपर्छ पनि भने । गाउँलेहरू सिधासाधा थिए उनको चिप्लो बोलीमा सहजै विश्वास गर्थे । यहाँ पनि त्यस्तै भयो । उनले भन्नासाथ आपसी श्रमदानबाट भव्य मन्दिर बनाएर मूर्तिलाई स्थापित गरिदिए । त्यसपछि मन्दिरमा नित्य पूजा र आरती हुनुपर्छ भन्दै आफूले आफैँलाई पुजारी नियुक्त गरी बसे ।  

बिस्तारै मन्दिरको प्रचार बढ्दै गयो । भक्तजनहरू आफैँ प्रकट भएका गणेश भगवान् भन्थे गाउँ छिमेक मात्र नभई वरपरका गाउँबाट समेत दर्शन गर्न आउन थाले । भक्तजनको भीड लाग्न थालेपछि मुलुकका उच्चस्तरीय प्रशासकहरू ठुलठुला नेताहरूसमेत दर्शन गर्न आउन थाले । फलतः चाँडै नै सो मन्दिरले भव्य धार्मिक स्थलको रूपमा प्रसिद्धि पायो । मन्दिरको आम्दानी त यसै पनि बढ्दै गएको थियो त्यसमाथि उनले विकासको योजनाहरू देखाएर सरकारी बजेटसमेत हत्याउन थाले तर प्राप्त रकम भने सबै आफ्नै ढुकुटीमा जम्मा गर्ने गर्थे । मन्दिरलाई देखाएर सम्पत्ति त कमाए तर सार्वजनिक हितमा भने एक पैसा पनि लगाएनन् ।  

केही समयपछि उनी नराम्ररी बिरामी परे । जानेबुझेजति औषधी उपचार गराए तर केही लागेन । जब उनी सहरको कुनै अस्पतालमा जँचाउन गए तब थाहा पाए उनलाई क्यान्सर रोग लागेर निकै फैलिसकेको रहेछ । यसपछि उनी रुन कराउन लागे । जब असह्य पीडा हुन थाल्यो त्यसपछि भगवान्लाई गाली गर्न थाले ।

हरेक कुराको सीमा हुन्छ । यहाँ पनि त्यस्तै भयो । जब गालीले सीमा नाघ्यो तब भगवान्ले एक रात सपनामा आएर भने–

‘पुजारी भाइ ! कुन मुखले मलाई गाली गर्दैछौ भन त ? मन्दिरको नाममा सम्पत्ति त कमायौ तर सदुपयोग भने गरेनौ । न भोका नाङ्गालाई एक गाँस खान दियौ न दुःखमा परेकालाई एक रात बास बस्नसम्म दियौ । उल्टै मन्दिर कसैको बिर्ता होइन भन्थ्यौ शरणमा आउनेलाई गलत्याएर निकाल्ने गर्थ्यौ । मानिसहरू स्कुलका लागि सहयोग माग्न आउँथे तिमी यो काम सरकारको हो भन्दै पन्छाउने गर्थ्यौ । 

मन्दिरको सम्पत्ति सबैको हो । सबैका भएपछि सर्वहितमा लगाउनुपर्नेमा आफ्नै निजी ढुकुटीमा जम्मा गर्ने गर्थ्यौ । पुजारीको खोल ओडेर गाउँका बालबालिकादेखि एकल महिलासम्मको शोषण गर्न बाँकी राखेनौ । कसैले विरोध गरे बदनामीको डर देखाएर चुप लगाउने गर्थ्यौँ । अहिले त्यसैको फल पाएका हौ । त्यति ठूलो पाप गरेर पनि मलाई गाली गर्ने हिम्मत कसरी गर्‍यौ ? जे भएको छ ठीक भएको छ । जस्तो कर्म गरेका थियौ त्यस्तै फल पाएका हौ ।’

यति भनेर भगवान् अलप भए । उनको निद्रा खुल्यो तर सपनामा दृष्य भने अहिले पनि आँखाकै अगाडि नाचिरहेको थियो । बल्ल उनको होस आयो तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । त्यसपछि उनी आफ्नो विगतलाई धिक्कार्दै मृत्युको प्रतीक्षा गर्न लागे । लामो समयसम्म असह्य पीडा सहेर त्यो जीवन बिताए तर सुख भने त्यसपछि पनि पाएनन् ।  उनको रोगी शरीरले छाडेको भए पनि कर्मको संस्कारले भने छाडेको थिएन र नरक कुण्डमा गएर भोग गर्न थाले ।  

धेरै पहिलेदेखि सुन्दै र पढ्दै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर अरूलाई ठग्दै हिँड्नेले एक दिन प्रकृतिको तर्फबाट दण्डित हुनुपर्ने कुरा भने सत्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप