शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन

शनिबार, २३ भदौ २०८०, १६ : ४८
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताए । उनका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा झाले जानकारी दिए । 

‘जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ’, उनले भने ।

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले  कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ । ‘पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर’, विभाग प्रमुख डा झाले भने, ‘पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो । पानी आउने मुख्य नाकामा क्रमिकरूपमा अनुगमन गरिरहेका छौँ ।’

अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरुप अनुगमनलाई कडाइ गरिएको हो । निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ । सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ ।

काठमाडौँ महानगरमा जति पनि पानी उत्पादक संस्था छन् तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा झाले बताए । उनले भने, ‘अहिलेसम्म सचेतमात्र गराइरहेका छौँ । अब कुनै कैफियत देखिए कारबाही गर्छौँ ।’

विभागले नेपाल वाटर बोटल उद्योग सङ्घका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ । ‘जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरूलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्‍यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्‍यो’, डा झाले भने ।

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उनले उल्लेख गर्नुभयो । काठमाडौँ महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन् । काठमाडौँमा जम्मा चार कम्पनी रहेका छन् ।

अनुगमनका क्रममा जफत गरिएका पानीको जार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा पानीमा केही समस्या देखिए महानगरको बजार व्यवस्थापन ऐन, २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ । अहिले खुला रूपमा बिक्री वितरण भइरहेको दूध व्यवसायीलाई दर्ता प्रक्रियामा लगेर मापदण्ड पुर्याएरमात्रै बिक्री वितरणका लागि सचेतना गरिने र गुणस्तर नभए कारबाही गरिने विभागले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप