कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
शनिबार, २३ भदौ २०८०, १२ : १४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए । उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको दाबी गरे ।
अध्यक्ष नेपालले मध्यावधि चुनावमा नगइ सहमतिको सरकार गठन गर्न सकेमा प्रदेशको लागि पनि राम्रो हुने सुझाव व्यक्त गरे ।