कथा : अठोट
घरी यता र घरी उता डुलिरहेकी थिइन् रेखा । जिल्ला अदालतको परिसरमा मान्छेहरू विभिन्न भावका मुखाकृतिमा देखिन्थे । यताउता कदिरहँदा पनि कहिले हातको घडीको सुईमा आँखा घुमाउँथिन् त कहिले जिल्ला अदालतको प्रवेशद्वारतिर नजर बिच्छ्याउँथिन् उनी । उनका क्लाइन्ट अझै आइपुगेका थिएनन् ।
यस क्रममा रेखाको नजर अलिक पर सुरक्षाकर्मीको निगरानीमा राखिएका मानिसतिर पुग्यो । कैदीखानाबाट ल्याएका केही मानिस थिए त्यहाँ । सँगसँगै हातमा बन्दुक बोकेका र सञ्चार उपकरणमा सूचना दिँदै गरेका प्रहरी पनि थिए ।
रेखाको नजर दौडिँदै एउटी महिलामा पुगेर अडियो । झट्ट हेर्दा अधबैंसे जस्तो ती महिला निकै दुब्ली पातली र रोगले ग्रस्त जस्ती देखिन्थिन् । केही साँवलो वर्णकी ती महिला मैली कुचैली हुनाले वास्तविक भन्दा बढी काली देखिन्थिन् । बेला बेलामा मैलो धोतीको सप्कोले आँखा पुछ्दै क्लान्त भाव झल्किने गरी सुँक्क सुँक्क गर्दै थिइन् ।
रेखा त्यतै जान लागेकी थिइन् तर प्रहरीले उनलाई जान दिएन । अनि रेखा ती महिला राखिएको कोठाको झ्यालबाट नै बोल्न थालिन् ।
कालो कोटमा उपस्थित रेखा निकै खँदिलो व्यक्तित्वको धनी थिइन् । वकालत पेसा भए पनि न्यायमा चोट नलागोस् भनी सचेत रहन्थिन् उनी । उनको अधिवक्ताको हुलिया देखेर होला, झ्यालबाट बोल्दा भने प्रहरीले रोकेन ।
ए दिदी, सुन्नुस् त !
महिलाले उनीतिर हेरिन् ।
“हो, मैले तपाईँलाई नै बोलाएकी । अलिक यता आउनुहोस् न ।”
तपाईँको नाम के हो दिदी ?
“सुन्तली’, महिलाले छोटो र निकै द्रवित शब्दमा बोलिन् ।
“तपाईँलाई यहाँ किन यसरी ल्याएका ?”
महिला अवाक् रहिन् । बररर आँसु खसालिन् ।
रेखाले निकै प्रेमपूर्वक त्यही प्रश्न दोहोर्याइन् ।
क्लान्त अनुहार अझै कारुणिक पार्दै महिला बोलिन्, “मैले चोरी गरेकी थिएँ बहिनी ।”
“अहो, के चोरी गर्नु भएको थियो ?” रेखाले आश्चर्यमिश्रित भावमा सोधिन् ।
“अन्नको बोरा”, सुन्तलीले छोटो उत्तर दिइन् । रेखाको जिज्ञासा झनै बढ्यो ।
“किन चोर्नु भएको त नि !” रेखाले अझै प्रस्ट हुन खोजिन् ।
“चोरी रहर होइन, बाध्यता थियो बहिनी । भोकले भित्ता भन्दैन, भीर भन्दैन । भोकको डसाइले विवेक हराउने रहेछ । मेरो पेट त जसोतसो बुझाउँथे । तर, साना छोराछोरीको भोकले मलाई चोरी गर्न बाध्य बनायो । मैले सबैतिर सम्म देखेँ । सन्तानहरूको भोक एउटी आमाको अगाडि विवशताको पहाड बनेर उभिँदो रहेछ नानी ।” महिलाले निकै भावुकता दर्साइन् ।
“केही श्रम गरेर, ज्याला मजदुरी गरेर पनि त सन्तानको पेट भर्न सकिन्थ्यो । चोरी गर्नु चाहिँ अलिक नसुहाउँदो नै लाग्यो मलाई चाहिँ ।” रेखाले महिलातर्फ हेरेर भनिन् ।
“हो बहिनी, तपाईँले रहर र बाध्यतालाई तुलना गर्नु भएको छैन होला ! क्रोधले आगो ओकल्नु र बाध्यताले आगो पिउनु नितान्त फरक हुन्छ । भलिभाँती जानेकी छु, आदर्शका सिद्धान्त । मैले श्रम गरेर नै मेरा सन्तान पाल्दै आएकी छु । काम गर्ने क्रममा पैसाले नैतिकता भुलेका कयौँ खुनी र व्यभिचारी राक्षससँग कठोर युद्ध गरेकी छु ।
आधा हर ढाकेका मेरा झुत्रा लुगालाई सहरका अर्धनग्न परिभाषाले घृणित मोलतोल गरिरहे, गिद्धेनजरले उपहास गरिरहे । तर पनि सबै सहेर आफ्नो कर्तव्यमा म पछि परिन ।
एउटा चराले त आफ्ना सन्तानको देखभाल गर्न सक्छ भने म त मान्छे हुँ । मैले सकेको गरेँ । तर, केही दिनदेखि म थलिएँ । मेरो पोल्टो सबै रित्तियो । छोराछोरीको भोक टार्न मन्दिर छेउ बसेर भीख माग्न बसेँ । मान्छेहरू मेरातर्फ नहेरी मन्दिर गए र फर्किए । मूर्तिमा फलफूल र दूध चढाएर गए कयौँ मानिस । मूर्तिमा अबीर केशरीमा मिसिँदै बगेर फोहोर नालीमा गएर मिसियो त्यो दूध ।
उता, म मेरो भोकले जति डसिएकी थिएँ, त्यो भन्दा बढी छोरीछोरीको भोकले पिल्सिएकी थिएँ । मन्दिरभित्र अन्न, पैसा, फलफूल थपिँदै थियो । मेरो शरीरको मानवीय चेतना बाध्यताको जञ्जीरले बाँधिँदै थियो । वशीभूत थिएँ म ।
त्यतिकैमा एउटा मान्छे आयो । मन्दिरको ढोकाछेउ एउटा सानो धोक्रो बिसायो र मन्दिरमा पस्यो । मैले त्यो धोक्रोबाहेक केही देखिन । त्यो धोक्रोमा के थियो, त्यो पनि मतलब लागेन । मैले मेरा छोराछोरीको भोको पेट मात्रै सम्झिएँ र धोक्रो बोकेर भागेँ । म घर पुगेकै थिइन । बीच बाटोबाटै पुलिसले मलाई समातेर यहाँ चौकीमा ल्यायो ।”
महिलाले आँसु खसाल्दै यति भनेर रोकिइन् । रेखाको आँखासमेत रसाइ सकेछन् ।
“अनि हजुरको लोग्ने कता हुनुहुन्छ नि ? छुटाउन आउनु भएन यहाँसम्म ? रेखाले पुनः सोधिन् ।
“मेरा लोग्ने छैन नानी, खेतमा पानी लगाउन जाँदा सर्पले टोकेछ । घरमा एक रुपियाँ थिएन । गाउँका साहूले तँ मरिस् भने कसले तिर्छ हाम्रो पैसा । तेरी स्वास्नी रोगी छे” भनेर जवाफ दिए । टोल छिमेकमा हारगुहार गर्दागर्दै समय बित्दै गयो । बेलामा अस्पताल पुर्याउन सकिएन, उहाँ बित्नुभयो ।’’
‘यहाँ चौकीमा छोराछोरी रोई कराई गरे तर कसले सुन्थ्यो र हाम्रो पीडा । चोरी केशमा, बिगो, जरिवाना के के गरेर एक वर्षको जेल सजाय हुन्छ रे बहिनी । मेरा छोराछोरी भोकले अकालमा नै मर्ने भए । लोग्नेको काजकिरिया पुरानो ऋण, यताउता हिसाब गरेर एक टुक्रा भएको खेत पनि साहूले खोस्यो । सहरमा दुःख गरेर यिनीहरूलाई हुर्काउँछु, पढाउँछु भनेर मन्दिरको पाटीमा आएर बसेको थिएँ तर मन्दिरका देवता पनि गरिबका लागि होइन रहेछन् ।”उनले निराशा व्यक्त गरिन् ।
“हेर्नुस् दिदी, समाजमा जघन्य अपराध गरेकाहरू इज्जतका साथ हिँडिरहेका छन् । बलात्कारी पहुँचका आधारमा छुट्छन् र अर्को नाबालिका सिकार गर्ने योजना बनाउँदै हिँड्छन् । तस्कर र भ्रष्टाचारीहरू ठूल्ठूला ओहदामा पुगेर आदर्श र देशभक्तिका झुसिला डकार डकारिरहेका छन् ।
यहाँ त तपाईँजस्ता मानिस जेल पर्छन् । अपराधीको बिल्ला लगाएर सञ्चार माध्यममा असामाजिक तत्त्व करार गरेर खुइल्याइन्छन् । यो समाज फेर्न कसम खाएकाहरूले आफू फेरिए, आफन्त फेरे तर देशको अवस्था फेरेनन् ।
ठुला क्रान्तिका नामले, आन्दोलनका नामले परिवर्तन भए, कानुन बनाइए । कानुन सबैका लागि बनाइयो तर कानुन लाग्ने गरिब र उत्पीडितलाई मात्रै भयो । गरिबको दिन कुर्दाकुर्दै गरिबहरू झन् गरिब हुँदै गए तर गरिबको दिन आएन ।
यो देशमा निर्दोष हुँदाहुँदै पनि कानुनको जन्जिरले बाँधिएका मानिस देखिन्छन् । कति दोषी हुँदाहुँदै पनि निर्दोष करार भएर हिँडेका देखिन्छन् । पेसाले म कानुन व्यवसायी हुँ तर मन अमिलो बनाएर आँखा चिम्लनुको विकल्प छैन दिदी । यहाँ न्यायका आँखामा पट्टि बाँधिएको छ ।
यसैबीच हातमा कालै झोला बोकेका रवाफिलो मान्छे आयो र रेखालाई कोट्यायो ।
“अहो ! साहुजी, म तपाईँलाई कुरिरहेकी । यहाँ यो दिदीको कुरा सुनेर यतै अल्झिएँ । कतिबेला आउनु भयो हजुर ?”
तपाईँलाई निकैबेर खोजे । नभेटेर झण्डै फर्किएको म त । हिँड्नुस् काम सकौँ पहिला ।
रेखाले क्लाइन्टको काम सकाइदिइन् र एकछिन पछि त्यही फर्किइन् ।
रेखा आएको देख्नासाथ सुन्तलीले मुहार उज्यालो बनाइन् ।
‘ए ! नानी कति छिटो आउनु भयो ! काम सकियो ?” सुन्तलीले खुसी दर्साइन् ।
मान्छेलाई आत्मीयताले कति छिटो अपनत्व प्रदान गर्दो रहेछ । सुन्तली र रेखाको बीचमा एउटा अव्यक्त सम्बन्ध बनिसकेको दुवैले महसुस गरे ।
“अँ, दिदी ! काम सकियो मेरो । म तपाईँसँग बिदा माग्न आएकी । हुन त समाजमा दुःख पाएका र परिबन्दले अभर परेका मानिसलाई साथ दिने हो भने विभेद र असमानता घटेर जान्थ्यो होला । तर त्यसो हुँदैन, समाजसेवी भनेर नाक फुलाउनेहरू सञ्चार माध्यममा आदर्श फलाक्ने र गरिब दुःखीका नाममा धन्दा गरी आफैँ धनी हुने हर्कतमात्रै गर्छन् ।’’
“अँ, हो त नानी ।’’
“तपाईँले वकिल राख्नु भएको छ कि छैन दिदी ?’’
“खै नानी, मेरो लागि कसले काम गर्देला र ? जिउँदोलाई नहेर्ने, भोकले मरेको मानिसलाई चामल चढाउने समाजमा । ’’
“मैले भनेको मान्नुहुन्छ भने म तपाईँको मुद्दा लड्छु । मलाई केही दिनु पर्दैन ।’’
सुन्तलीको आँखाबाट बरर आँसुका ढिक्का खसे ।
सुन्तलीका कथाले बेस्सरी छोइएकी रेखाले घर फर्किदा सुन्तलीका छोराछोरी र सुन्तलीका छोराछोरी जस्तै बालबालिकालाई शिक्षादीक्षा र पालनपोषणसमेत गर्न एउटा बालआश्रम खोल्ने मनमनै अठोट गरिन् ।
खजुरा, बाँके