ताप्लेजुङमा तरुण दलको विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर
ताप्लेजुङ । नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गएराति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रर्दशन गरेका हुन् ।
तरुण दल र नेविसङ्घ ताप्लेजुङको अगुवाइमा दिउँसो मध्याह्नपछि पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो । प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए । प्रहरी कार्यालयअघि प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमणको प्रयास गरेको बताए ।
सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिमाथि नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको उनको जिकिर थियो । सदरमुकाममा लागेको मिनिमेलालगायतका विभिन्न कार्यक्रमबाट प्रनाउ लिम्बूले पैसा लिएको उनले आरोप समेत लगाए ।
पाथीभरा क्षेत्रका यातायात व्यवसायीबाट समेत पैसा असुल्ने गरेको उनको भनाइ थियो । यस्तै कांग्रेस सभापति गजेन्द्र तुम्याहाङले कांग्रेस पार्टीका विरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत भएको टिप्पणी गरे ।
गएराति प्रहरीको टोलीले हाङ्गाम निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको साथै हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको तरुण दलको दाबी छ । मध्यरातमा सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडयोमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिन्छ भने सादा पोसाकमा रहेका एक जनाले ढुङ्गा प्रहार गरेको देखिन्छ ।
यता प्रहरीले भने बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीमाथि गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ ।
मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । उनका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो । हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उनको भनाइ छ ।
उक्त घटनाको विरोधमा नेपाल तरुण दल केन्द्रीय समिति, जिल्ला स्थित नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?