स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव पोखरेलले अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले स्वास्थ्यकर्मीको अपर्याप्तताका कारण सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै सेवा प्रवाहलाई सहज बनाउन दरबन्दी थप गर्नु आवश्यक रहेको बताए । हाल मन्त्रालय अन्तर्गत ११ औँ तहका नर्स ११ जना, ९ औँ र १० औँ तहका नर्स ४३ जना, ७ औँ ८ औँ तहका नर्सहरु १५८ जना त्यस्तै चौथो, पाँचौं र छैठौँ तहका नर्स ११ हजार १२६ जनाको दरबन्दी रहेको उनले जानकारी दिए । त्यस्तै चौथो, पाँचौं र छैठौँ तहको पारामेडिक्स १७ हजार ६४१ जनाको दरबन्दी रहेको उनले बताए ।
‘जनशक्ति उत्पादन गर्नु स्वास्थ्यको लागि ठूलो उपलब्धी हो भनेर न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु त्योभन्दा धेरै गुणा घातक हुनसक्छ । यो कुरामा ध्यान दिनुपर्छ’ उनले भने, ‘समाज गलत शिक्षाको कारण बिग्रिन्छ । गाउँघरमा कुनै एउटा डाक्टरले लेख्न हिच्किचाउने एन्टिबायोटिक्स स्वास्थ्यको कुनै मान्छेले लेखिदिन्छ । औषधि प्रयोगको सम्बन्धमा भयावह स्थिति देखिँदैछ । प्राकृतिक चिकित्साको कुरामा पनि जोड दिनुपर्छ ।’
उनले अहिले चौथो, पाँचौ र छैटौ तहको नर्स २१ हजार २३४ जना आवश्यक रहेको बताए । त्यसैगरी चिकित्सक ६ हजार ३२३ जना र पारामेडिक्स १० हजार ४७९ जना आवश्यक रहेकोले सोही अनुरुप दरबन्दी थप गर्नुपर्ने बताए । मन्त्रालयले यसको लागि दरबन्दी थपको प्रश्ताव समेत गरिसकेको उल्लेख गर्दै उनले प्रस्तावित दरबन्दीको लागि करिब ७ अर्ब ५९ करोड रुपैयाँ थप रकम चाहिने भएकाले सो रकम अर्थ मन्त्रालयले दायित्व लिनुपर्ने बताए । उनले अस्पतालहरुमा भीड बढ्दै जाने तर दरबन्दी बढाउन नसक्ने हो भने आगामी दिनहरु डरलाग्दो हुने बताए ।
उनले राज्यको छात्रवृत्तिमा पढेकाहरुलाई पोष्टिङ गर्दा पर्ने आर्थिक दायित्व पनि अर्थमन्त्रालयले लिनुपर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा र सुविधाको पनि वृद्धि हुनुपर्ने बताए ।
त्यसैगरी, बैठकमा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले जनशक्ति उत्पादनको नाममा न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु घातक हुने बताए । उनले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा समेत जोड दिए । उनले गाउँघरमा औषधि प्रयोगको अवस्था भयावह भएको भन्दै मेडिकल शिक्षा दिनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले आगामी दिनमा प्राकृतिक चिकित्सामा पनि जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता