निजामती कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ: मुख्यसचिव अर्याल

काठमाडौँ । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको पनि बताए ।
मुख्यसचिव अर्यालले मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सृजनशील र व्यावसायिक हुनुपर्ने खाँचो रहेको बताए । उनले संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति दिलाउनु निजामतीको प्रारम्भिक अभिभारा भएको बताए ।
उनले भने, ‘सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै आम नागरिकलाई सरल, सहज र सुव्यवस्थित तवरले सेवा प्रदान गर्नु निजामती कर्मचारीको मुख्य जिम्मेवारी हो । आम नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती हामीसामु छ । मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सृजनशील र व्यावसायिक हुनुपर्ने खाँचो छ । विविध समस्या र चुनौतीका बाबजुद एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न, कानुनी, संरचनागत र संस्थागत प्रबन्ध मात्र होइन, हामी आफैँ भित्र रहेका सोच, शैली र तौर तरिकामा आमुल सुधार गर्नुपर्ने आवश्यकता छ । संविधान बमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति दिलाउनु हाम्रो प्राथमिक अभिभारा हो ।’
मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताए ।