शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

पुनर्वासमा ३ सय बिघाभन्दा बढी क्षेत्रफलमा धान सखाप, नार्कले पनि गर्न सकेन नमूना परीक्षण

बिहीबार, २१ भदौ २०८०, १६ : ३७
बिहीबार, २१ भदौ २०८०

धनगढी । गत साउन २२ गतेदेखिको अविरल वर्षाले कैलाली–कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा पर्‍यो । कञ्चनपुरको पुनर्वास नगरपालिका पनि यसबाट अछुतो रहेन । साउन २५ गतेसम्म डुबान भएपछि क्रमशः बाढीको पानी घट्यो । तर पुनर्वास नगरपालिकाका किसानको धान बाली कुहिएर सुक्यो ।

पुनर्वास नगरपालिकाको दोदा नदी किनारको क्षेत्रमा तीन सयभन्दा बढी बिघा क्षेत्रफलमा धान बाली सखाप भएको छ । प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी आफ्नो दलबलसहित स्थलगत अनुगमनमा पुगे । खेतमा रहेको पानीको नमूना लिइयो । यथार्थ कारण पत्ता लगाउन धनगढीमा सम्भव नभएपछि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काठमाडौँमा नमूना पठाइयो ।

तर नार्कसँगै निजी कम्पनीहरुले समेत पानीमा रहने केमिकल परीक्षण गर्न नसकेपछि किसानले के कति कारणले धान मर्‍यो भन्नेसमेत थाहा नपाउने भएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीका प्रवक्ता टीकाराम थापाले रातोपाटीसँग भने, ‘हामीले यथार्थ कारण पत्ता लगाउन धनगढीमा सम्भव नभएपछि पानीको नमूना परीक्षणका लागि नार्कमा पठाएका थियौँ । धेरै फलोअप पनि गर्‍यौँ । तर त्यहाँ पनि पानीमा हुने केमिकल परीक्षण नहुने बताइयो ।’

अब सरकारले किसानलाई के जवाफ देला भन्ने प्रश्नमा थापाले अगाडि थपे, ‘प्रयास धेरै गरियो । अहिलेसम्म यहाँ पानीमा हुने अर्सेनिक मात्रै जाँच गरिँदो रहेछ । रसायन परीक्षण त नहुने रहेछ ।’

कृषिमन्त्री रामेश्वर चौधरीले नार्कबाट परीक्षण सम्भव नभएपछि निजी क्षेत्रमार्फत पनि परीक्षण गरी दीगो समाधानका लागि लागेको दाबी गरे । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई त्यसका लागि निर्देशनसमेत दिएको मन्त्री चौधरीको भनाइ छ ।

सरकारी निकायबाट पनि परीक्षण हुन नसकेपछि त्यहाँका किसानलाई समस्या बढ्ने देखिएको छ । धान बालीमा ठूलो नोक्सानी व्यहोरेका उनीहरुलाई आउँदो सिजनको बाली पनि प्रभावित हुने चिन्ता बढेको छ ।

पुनर्वास नगरपालिकाका अनुसार वडा नं. ५ र ७ बढी प्रभावित भएको छ । नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार ३ सयभन्दा बढी बिघाको धान बाली सखाप भएको छ । तर तथ्याङ्क रुजु गर्ने काम अझै जारी रहेको नगरपालिकाको कृषि शाखाका कर्ण बहादुर शाहीले बताए ।

पुनर्वास नगरपालिका–५, उद्रीका गोपाल चौधरीको खेतमा बाढी पसेको दुई÷तीन दिनपछि पानी घट्यो । त्यसपछि धान सुक्न थाल्यो । उनले तीन बिघाको धान सबै सखाप भएको बताए ।’

चौधरीका अनुसार पानी जमेको ठाउँमा दुई÷तीन दिनसम्म गन्ध आइरहेको थियो । पानी पनि कालो भएको थियो । धानमात्रै होइन, घाँसपातदेखि माछा–भ्यागुता समेत मरेको उनी बताउँछन् । पानी जमेको ठाउँमा उखुसमेत सुकिरहेको छ ।

बाढी आएको एक÷दुई दिन पानी नै जमेको थियो । बाढी घटेपछि जमेको पानी पनि घट्यो । खाल्डाखुल्डीमा रहेको पानीबाट गन्धसमेत आएको थियो । दुई दिनसम्म पानी जमेको ठाउँमै अहिले धान सुकेको हो ।

अर्का किसान रामसिंह चौधरीले आफ्नो डेढ बिघा धानको बोटसमेत कुहिएको बताए । डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए । तर अब भोकमरीको चिन्ता बढेको उनको भनाइ छ ।

sukeko dhan2

पुनर्वास नगरपालिकाको तथ्याङ्क अनुसार सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढी धानबाली सुकेर र कुहिएर सखाप भएको हो । धानमात्रै होइन, उखुसमेत सुकेको छ ।

किसानको आशंका चिनी मिलमाथि

किसानहरुले धान कुहिएर सखाप हुनुको कारण त्यहाँस्थित चिनी मिल नै रहेको आशंका गर्दैै आएका छन् । नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानहरुको आशंका छ ।

सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको किसान बताउँछन् । सुगर मिलमा मदिरा बनाउन प्रयोग हुने केमिकलसमेत बगेको हुन सक्ने उनीहरूको भनाइ छ ।

उद्रीका भलमन्सा रमेश रानाले भने, ‘यो ठाउँ त जहिल्यै बाढी लाग्ने र डुबान हुने हो । अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेन । अहिलेमात्रै कसरी सुक्यो ? सुगर मिलबाटै केमिकल बगेर खेतमा पुगेको र त्यसपछि धान र उखु सुकेको हुन सक्छ ।’

सिमरी र उद्रीका स्थानीयले विगतमा पनि पटक–पटक सुगर मिलबाट निस्किने फोहोर तथा खेर गएका वस्तु सिमरी नालामा बगाउन बन्द गरिनुपर्ने माग गर्दै आएका थिए । यसले नालामा फोहोर हुनुका साथै विभिन्न रोगलगायत समस्या निम्त्याउने भएकाले स्थानीय तहमा पटक–पटक यस विषयमा आवाज उठाएको स्थानीय गोपाल चौधरीले जनाए । तर सुगर मिल र नगरपालिकाले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

Punarwas NaPa ko decision

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप