चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि, कसले के भने ?
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए । राजदूतको सो अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका छन् ।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए । उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्याउनुपर्ने बताए ।
उनले भने, ‘सबै देशका राजदूतहरूले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ । यसको भू–राजनीतिक संवेदनशीलता छ । यो भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखिकन, असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई ध्यानमा राखिकन कसैले पनि आफ्ना बोली, अभिव्यक्तिहरू अगाडी सार्नुपर्दछ । त्यस्तो कुरामा सबैले विचार पुर्याउन् । होइन भने एउटाको अभिव्यक्तिबाट अर्को फेरि प्रतिक्रिया व्यक्त गर्ने, नेपाल जटिलतामा फस्ने यो स्थिति नबनोस् भन्ने कुरामा सबैले ध्यान पुर्याउन् ।’
नेकपा(एमाले)का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए । उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताए ।
उनले भने, ‘नेपालको आन्तरिक मामिला र अन्य देशहरूको सन्दर्भमा कुनै पनि पक्षले बोल्नु राम्रो होइन । तर चिनियाँ राजदूतले के बोल्नुभएको हो, त्यो प्रस्ट बुझेर उहाँहरुसितै बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यस सम्बन्धि प्रस्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौँला ।’
नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताए । उनले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिको हिसाबले पनि बेठिक भएको बताए । यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘को–को राजदूतले ? कहाँको राजदूतले भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने, या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरूले टिप्पणी गर्ने परम्परा बस्नै दिनु हुँदैन । यो बेठिक हो । अन्तर्राष्ट्रिय कूटनीतिमा पनि, हाम्रो आफ्नो कूटनीतिमा पनि । कोही पनि राजदूत । हाम्रो आफ्नो घरेलु विषय हो । आफ्नो सम्बन्धको विषय हो । सही, गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौँ । त्यसमा सतर्क बनाउने, कुन सन्दर्भको हो स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले, सरकारले यसमा पहल गरोस् ।’
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे । उनले यो गम्भीर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनीय नभएको बताए ।
उनले भने, ‘चीनको राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक छ । मन्त्रीजीसँग हामीले धेरै आशा गरेका थियौँ, यहाँले पनि यहीँ आएर थाहा पाउनुभएको छ । त्यसो हुँदाखेरि भनौँ के भनौँ ? यो गम्भीर कुरा हो । दुई देशको सम्बन्धमा तेस्रो देशले त्यस किसिमको अभिव्यक्ति दिनु शोभा दिँदैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उनलाई बोलाएर सचेत गराउनुपर्ने बताए । राजदूतहरूले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नै हामीले सचेत गराउनुपर्छ । नोट अफ अब्जेक्शन उहाँलाई बोलाएर भन्नुपर्छ । यो कुराहरू बढ्दै गए भने अर्को राजदूतले के भन्ला, अर्कोले के भन्ला र हामी एउटा नराम्रो परिस्थितिमा पुग्छौँ । यस्तो कुरामा हामी सचेत हुनुपर्छ र यस्तो कुराहरूलाई हामीले शुरुमै रोक्नुपर्छ । यस्तो कुराहरू नगर्नुहोला भनेर सबै राजदुतहरुलाई र सबै डिप्लोम्याटिक मिसनहरूलाई परराष्ट्र मन्त्रालयले यस्तो विषयमा गम्भीर भएर उहाँहरूलाई सचेत गराउनुपर्ने आवश्यकता छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदूतहरूले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताए ।
उनले भने, ‘संवेदनशील भू–राजनीतिक अवस्थामा हामी छौँ । विभिन्न देशका राजदूतहरूले हाम्रोबारे, हाम्रो आन्तरिक मामिलाका बारे अथवा हाम्रो परराष्ट्र सम्बन्धहरूको बारे टीकाटिप्पणी गर्ने, त्यसमा हामीले नजरअन्दाज गर्न थाल्यौँ भने भोली भू–राजनीतिक जटिलतातर्फ मुलुक जाने छ । त्यसले थप हामीलाई क्षति पु¥याउन सक्छ । त्यसतर्फ पनि परराष्ट्र मन्त्रालयले तुरुन्तै डिप्लोम्याटिक नोट पठाओस् अथवा सचेत गराओस् ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालिन भारतका लागि नेपाली राजदूतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘चिनियाँ राजदूतको भनाई मात्र होइन परराष्ट्रमन्त्री र प्रधानमन्त्रीज्युहरु भारत जाँदा हाम्रो नेपालको राजदूतले पनि भन्नुभएको छ नि यस्तै विषयमा । चीनले के गरेको छ नेपालमा,भारतले त के–के गरेको छ? त्यसबेला छलफल गर्नुपर्दैन ? त्यो नेपालको राजदूतलाई भन्नुपर्दैन ? हाम्रो राजदूतले चीनको बारेमा टिप्पणी गर्दा के गर्दै थियो ? आज चीनले के नराम्रो बोल्यो भनेर एक, एक विषय केलाउँ न ।’
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताए । आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल सार्वभौम देश हो । यसले अन्य देशसँग सम्बन्ध राख्नसक्छ । यस विषयमा तेस्रो देशले बोल्नु हुँदैन जस्तो लाग्छ । नेपाल र भारतको सम्बन्धको बारेमा चीनले बोलिराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन । आउने दिनमा त्यसलाई करेक्शन गर्नुपर्छ । यसका निम्ति परराष्ट्र मन्त्रालयले के बोल्ने, नबोल्ने संहितामार्फत् कसरी नियमन गर्ने हो त्यसमा प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
अध्यक्ष साहले राजदूतले बोल्ने, नबोल्ने विषयहरुमा संहिता नै बनाएर राजदुतहरुलाई सचेत गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलसमा फेरि भड्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ