खेलाडी अघि बढ्दैछन्, अब पालो सरकारको
काठमाडौँ । समग्रमा एसिया कप क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । टेस्ट राष्ट्रहरूले आफ्नो उत्कृष्टता सिद्ध गर्ने यो मञ्चमा पहिलो पटक उपस्थिति जनाएका नेपाली खेलाडीले गरेको प्रदर्शनमा ठूलै खोट लगाउने ठाउँ देखिँदैन । सानातिना कमीकमजोरी त हरेक प्रतियोगिता हुन्छन् ।
हामी सबैलाई थाहा छ, नेपाली टोली उपाधि जित्न एसिया कपमा सहभागी भएको थिएन । पहिलो सहभागितामै एसियाका अब्बल राष्ट्रहरूलाई हराउँदै उपाधि चुम्ने सपना न खेलाडीले देखेका थिए न त समर्थकहरूले नै । भावनामा बग्नु फरक कुरा हो ।
भनिन्छ, ठूला प्रतियोगितामा लक्ष्य पनि ठूलै लिनु पर्छ । जुनसुकै स्तरको प्रतियोगिता होस्, सहभागी टोलीको आँखा उपाधिमाथि नै हुन्छ । यस अर्थमा, नेपाली समर्थकले पनि एसिया कपमा आफ्ना खेलाडीले अभूतपूर्व प्रदर्शन गरून् भन्ने चाहना राख्नु अन्यथा होइन ।
वास्तविकता के हो भने यतिबेला नेपाली टोलीका लागि भारत, पाकिस्तान, श्रीलङ्का जस्ता टेस्ट राष्ट्रको सिनियर टोलीसँग खेल्न पाउनु नै ठूलो उपलब्धि हो । यसले नेपाली क्रिकेटको आकाशलाई फराकिलो बनाउने काम गरेको छ । खेलाडीको प्रदर्शनमा निखार ल्याएको छ भने भविष्यमा ठूला प्रतियोगिताहरू खेल्न आत्मविश्वास पनि बलियो बनाएको छ ।
एसिया कप जस्तो ठूलो प्रतियोगितामा आफूभन्दा धुरन्धर खेलाडीसँग खेलेर आफ्नो प्रदर्शनमा सुधार ल्याउनु, आफूले आदर्श मान्दै आएका खेलाडीहरूसँग घलुमिल गरेर अनुभव साटासाट गर्नु र सकेसम्म उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो फरक चिनारी छाड्नु । बस् यति हो एसिया कपमा पहिलो पटक सहभागी हुने टोलीले लिने लक्ष्य भनेको ।
तर नेपाली खेलाडीले त एसिया कपको पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेर थुप्रै क्रिकेटप्रेमीको मन जितेका छन् । पाकिस्तानसँग मुल्तानमा उद्धाटन खेल खेल्नुअघि धेरैलाई संशारकै तीव्रगतिका बलरहरूको सामना गर्दा नेपाली ब्याट्सम्यानहरू निरिह बन्नेछन् भन्ने लागेको थियो । त्यो चिन्ता र चासो स्वाभाविक पनि थियो ।
विश्व क्रिकेटका हस्ती राष्ट्रका नामुद ब्याट्सम्यानहरूसमेत तीव्र गतिका पाकिस्तानी बलरसँग थर्कमान हुन्छन् । नेपाली खेलाडी त झन पहिलो पटक यति ठूलो मञ्चमा उभिएका थिए । तर नेपाली ब्याट्सम्यानहरूले त्यो चुनौतीको पनि सहजै सामना गरे ।
साहिन शाह अफरिदी, नसिम शाह, ह्यारिस रउफ जस्ता पाकिस्तानी बलरहरूको हातबाट छुटेर १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुइँकिँदै आएका बलहरूलाई पनि नेपाली ब्याट्सम्यानले कुनै धक नमानी सहज रूपमा खेले । यति मात्र होइन, पाकिस्तानी टोलीका बलरहरूको निरन्तरको आक्रमणलाई झेल्दै आरिफ शेख र सोमपाल कामीले त ५९ रनको साझेदारीसमेत गरे ।
हामी सबैलाई थाहा छ, पाकिस्तान भनेको आईसीसी एकदिवसीय क्रिकेट वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो । पाकिस्तानको बलिङ मात्र होइन, ब्याटिङ पनि उत्तिकै अब्बल छ । पाकिस्तानी कप्तान बाबर आजम त आईसीसी एकदिवसीय वरीयताको पहिलो नम्बरमा रहेका ब्याट्सम्यान हुन् । यसका बाबजुद नेपाली बलरले खेलको प्रारम्भमा पाकिस्तानी ब्याट्सम्यानहरूलाई आफ्नो दबाबमा राखेका थिए ।
सुरुमा नेपाली बलरको दबाबमा परेको पाकिस्तानी टोलीले केवल २५ रनको कुल स्कोरमा आफ्ना दुवै ओपनर ब्याट्सम्यान गुमाएको थियो । समग्रमा नेपाली बलरले ६ जना पाकिस्तानी ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । विश्वकै नम्बर एक ब्याट्सम्यान बाबर आजमसमेत सोमपाल कामीको सिकार हुन पुगे । पक्कै पनि हाम्रो तुलनामा पाकिस्तानी क्रिकेटरले दशकौँ अन्तर्राष्ट्रिय क्रिकेटमा पसिना बगाएका थिए । त्यही लामो अनुभवको फाइदा उठाउँदै अन्ततः पाकिस्तानले खेल जित्यो ।
भारतविरुद्धको खेलमा त नेपाली खेलाडीले झनै अब्बल दर्जाको प्रदर्शन गरे । रोहित शर्मा, विराट कोहली, शुभमन गिल, हार्दिक पाण्डेया, मोहम्मद सामी, श्रेयस ऐयरजस्ता विश्व क्रिकेट हल्लाउने खेलाडीले भरिएको भारतविरुद्धको खेलपछि नेपाली खेलाडीले गतिलो चर्चा पनि बटुले । ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा खेल त भारतले जित्यो तर आफ्नो उत्कृष्ट प्रदर्शनका कारण तिनै दिग्गज भारतीय खेलाडीको मन पनि नेपाली खेलाडीले जिते ।
भारतीय समर्थकहरूले पनि नेपाली खेलाडीको प्रदर्शनको मुक्त कण्ठले प्रसंशा गरे । आफ्नो उत्कृष्ट प्रदर्शनले नेपाली खेलाडीले भारतीय सञ्चार माध्यमलाई समेत आफ्नो प्रशंसा गर्न बाध्य बनायो । भारतीय बलरको लगातारको आक्रमणलाई विफल पार्दै कुशल भुर्तेल र आसिफ सेखले ओपनिङ विकेटका लागि ६५ रनको साझेदारी गरे ।
हामीलाई थाहा छ, भारत आईसीसी एकदिवसीय वरीयताको तेस्रो नम्बरमा रहेको राष्ट्र हो । आसिफले त भारतविरुद्ध अर्धशतक नै बनाए । आठौँ नम्बरमा क्रिज समाल्न आएका सोमपाल कामी पनि केवल दुई रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । भारतीय बलरको निरन्तरको आक्रमणलाई झेल्दै ४८.२ ओभरसम्म टिकेर ४.७४ प्रतिओभरको दरले रन बनाउनु नै नेपाली टोलीको नैतिक जित थियो ।
जे होस्, यतिबेला एसिया कपको पहिलो सहभागितामै आफ्नो उत्कृष्ट प्रदर्शनले थुप्रै क्रिकेटप्रेमीको मन जितेर नेपाली टोली स्वदेश फर्किएको छ । सीमित साधन–स्रोतका बाबजुद अन्तर्राष्ट्रि खेलवृत्तमा आफूहरूले जेजति गर्नुपथ्र्यो नेपाली खेलाडीहरू त्योभन्दा निकै बढी गरेर फर्किएका छन् ।
सरकारको सक्रियताको खाँचो
नेपाली क्रिकेटले छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ठूलो फड्को मारेको छ । खासगरी क्रिकेट, फुटबल जस्ता ‘टिम गेम’ मा आफूलाई स्थापित गराउन सम्बन्धित राष्ट्रले निकै ठूलो लगानी गरेको हुन्छ । यसका लागि सरकारले स्ष्ट रूपमा अल्पकालीन र दीर्घकालीन नीति बनाएर अगाडि बढेको हुन्छ ।
खेलाडी उत्पादन गर्नेदेखि लिएर भौतिक पूर्वाधार निर्माण गर्ने कार्यसम्ममा राज्य संवेदनशील भएर लागेको हुन्छ । आज विश्व क्रिकेटमा स्थापित राष्ट्रहरू एक दिन, एक व्यक्ति वा एक संस्थाको प्रयासबाट त्यहाँ पुगेका होइनन् । यसका लागि सम्बन्धित राष्ट्रको सरकारले दशकौँसम्म निकै ठूलो लगानी गरेको हुन्छ ।
एसियाली क्षेत्रकै कुरा गर्ने हो भने पनि भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश जस्ता राष्ट्रले आजको उचाइ हासिल गर्न निकै ठूलो लगानी गरेका छन् । यी भारत र पाकिस्तानकै कुरा गर्दा पनि उनीहरूको राष्ट्रभित्र हरेकजसो ठूला सहरमा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला छन् ।
यी राष्ट्रको तुलनामा नेपालको क्रिकेट इतिहास पनि छोटो छ र यो खेलको विकासमा सरकारले गरेको लगानी पनि अत्यन्तै न्यून छ । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।
त्यसमाथि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय टोलीको मान्यता पाएको त झन पाँच वर्ष मात्र पुगेको छ । यस अवधिमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै आरोह–अवरोह पार गरिसकेको छ । छोटो अवधिमा नै नेपालले उमेरसमूहका थुप्रै प्रतियोगितको उपाधि चुमेको छ, एकदिवसीय टोलीको मान्यता पाएको छ, टी–२० विश्वकप खेलेको छ, एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागिता जनाएको छ ।
पक्कै पनि छोटो समयमा एकपछि अर्को उपलब्धि हासिल गर्नु चानचुने कुरा होइन । आजसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा जति सफलता हात पारेको छ त्यसको मुख्य श्रेय खेलाडीलाई नै जान्छ । अन्यन्तै न्यून साधन स्रोतबीच नेपाली खेलाडीले देशलाई यो सफलता दिलाएका हुन् । यसका लागि उनीहरू धन्यवादका पात्र पनि हुन् ।
यसको अर्थ सरकारले नेपाली क्रिकेटको विकासमा लगानी नै नगरेको भन्ने पनि होइन । सरकारले लगानी त गरेको छ तर अत्यन्तै न्यून । बहुसङ्ख्यक नागरिकले न्यूनतम आधारभूत आवश्यकताका लागि नै सङ्घर्ष गर्नु परिरहेको हाम्रो जस्तो राष्ट्रका सरकारसँग बजेट सीमितताको बाध्यमता पनि होलान् । त्यसमाथि खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने सरकारको परम्परागत दृष्टिकोण पनि आफ्नो ठाउँमा छँदैछ ।
पछिल्लो समय नेपालमा नतिजामुखी खेलको छवी बनाएको छ क्रिकेटले । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेका उपलब्धिले पनि यसलाई पुष्टि गर्छ । अझ खेलकुदमा त तथ्याङ्कहरू आफैँ बोल्छन् । त्यसैले यो तथ्यलाई पुष्टि गर्न कतै भौँतारिनै पर्दैन । नेपाली क्रिकेटको समर्थनमा ओइरिने लाखौँ समर्थकको घुइँचोले पनि यसैतर्फ सङ्केत गर्छ ।
तर अबका दिनमा नेपाली क्रिकेटको धरातललाई फराकिलो बनाउने हो भने सरकारको साथ र सहयोगको विकल्प छैन । सबैभन्दा पहिले सरकारले खेलकुद क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ । त्यसपछि मात्र खेलकुद क्षेत्रको विकास गर्ने मनैदेखिको योजनासहित सरकार अगाडि आउन सक्छ ।
सरकारले नेपाली क्रिकेटको विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति बनाएरै अगाडि बढ्नुपर्ने हुन्छ । जारी एसिया कपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सहभागी अन्य राष्ट्रको तुलनामा भने हाम्रो प्रदर्शनमा थप सुधारको खाँचो देखिएको छ । अहिलेको जस्तो प्रदर्शनले मात्र हामी अगाडि बढ्न सक्दैनौँ भन्ने सन्देश पनि यो प्रतियोगिताले दिएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
अपार्याप्त भौतिक पूर्वाधार
कुनै पनि खेलको विकासका लागि भौतिक पूर्वाधार सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । भौतिक पूर्वाधारको अभावमा खेलकुद क्षेत्रको विकासको सपना देख्नु व्यर्थ छ । पूर्वाधारको अर्थ व्यापक हुन्छ । खेलाडीलाई नियमित अभ्यासका लागि चाहिने सबै कुरालाई यसले समेटेको हुन्छ ।
तर, नेपाली खेलकुदको सबैभन्दा ठूलो समस्या भनेकै भौतिक पूर्वाधारको अभाव हो । पछिल्लो समय नेपाली दर्शकमा क्रिकेटप्रति गजबको लगाव छ । नेपाली समर्थकहरू क्रिकेटबाट आशावादी पनि छन् । क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा पनि दिँदै आएको छ । अब यसलाई अझ उच्चस्तरमा लैजान सरकारले पूर्वाधार विकासमा ध्यान दिनु आवश्यक देखिन्छ । अहिले हामीसँग सबैभन्दा उच्चस्तरको क्रिकेट रङ्गशाला भनेको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान नै हो । तर त्यो क्रिकेट मैदान पनि सुविधासम्पन्न छैन ।
कीर्तिपुर मैदानमा दर्शकलाई बस्नका लागि सामान्य प्यारापिटसम्म छैन । खेलका क्रममा वर्षा सुरु भयो भने दर्शकले भिज्दै खेल हेर्नुपर्ने बाध्यता छ । कीर्तिपुर रङ्गशालामा डिजिटल स्कोर बोर्ड छैन । रात्रिकालीन क्रिकेटका लागि फ्लड लाइटको सुविधा छैन ।
त्यसपछि काठमाडौँमै रहेको मूलपानी क्रिकेट मैदानको अवस्था त झनै खराब छ । देशको सङ्घीय राजधानीमा त क्रिकेट पूर्वाधारको अवस्था यस्तो छ भने देशका अन्य भागको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।
प्रत्येक पटक नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याएपछि सरकारले (प्रधानमन्त्री र मन्त्री, सांसद) भौतिक पूर्वाधारमा ध्यान पु¥याउने आश्वासन दिन्छ । तर समय बित्दै गएपछि आफूले दिएको आश्वासन पनि सरकारको स्मरणबाट हराउँदै जान्छ ।
यसै गरी सरकारले बजेट भाषणमार्फत प्रत्येक वर्ष क्रिकेटको भौतिक पूर्वाधार विकास गर्ने, रङ्गशालाहरू बनाउने जस्ता योजना अघि सार्छ । तर कनेका छरे झैँ देशभर छरिने सीमित बजेटले कतै पनि रङ्गशाला बन्न सक्दैन । नेपालमा मूलपानी क्रिकेट मैदान सुरु भएकै समयमा विश्वका अन्य राष्ट्रले पनि रङ्गशाला बनाउन सुरु गरेका थिए । हामीभन्दा पछि बनाउन सुरु गरेका राष्ट्रहरूले रङ्गशाला तयार गरेर क्रिकेट खेल्न थालिसकिएका छन् । तर मुलपानी रङ्गशाला अझै निर्माणाधीन अवस्थामै छ ।
यही रफ्तारमा काम अघि बढ्ने हो भने यो रङ्गशाला बन्न अझै १० वर्ष समय लाग्नेछ । अवस्था यस्तै निराशाजनक रहने हो भने अबको १० वर्षपछि पनि नेपाली क्रिकेटले कीर्तिपुरस्थित रङ्गशालाकै भार पर्नुको विकल्प रहने छैन ।
नेपाली क्रिकेटले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई फराकिलो बनाउँदै लगेको छ । हामीले टेस्ट राष्ट्रहरूसँग पनि खेल्न थालिसकेका छौँ । यस्तै स्थितिमा हामीले आफूभन्दा बलिया राष्ट्रलाई नेपालमै बोलाएर पनि खेल खेल्न सक्छौँ । तर यसका लागि पनि पूर्वाधार नै बाधक बनेर आउँछ ।
यसदेखि बाहेक अब नेपाली क्रिकेटको गन्तव्य भनेको टेस्ट राष्ट्रको मान्यताका लागि सङ्घर्ष गर्नु नै हो । तर त्यसका लागि नेपालले आईसीसीको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यसमा पनि भौतिक पूर्वाधार नै बाधक बनेर उभिने गरेको छ ।
अन्तर्राष्ट्रिय अनुभवको कमी
आजभन्दा २७ वर्षअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगिता खेलिसकेको छ । हिजोका दिनमा मलेसिया, हङ्कङ, संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता राष्ट्रहरू हाम्रा लागि ठूला प्रतिद्वन्द्वी थिए । तर अहिले अवस्था फेरिएको छ । नेपालले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलै फड्को मारेको छ । आईसीसीबाट एकदिवसीय टोलीको मान्यता पाएको छ । टी—२० विश्वकप पनि खेलिसकेको छ । एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको अनुभव बटुलिसकेको छ ।
यसदेखि बाहेक भर्खरै नेपाल आफूभन्दा निकै बलिया राष्ट्रसँग एसिया कप खेलेर फर्किएको छ । यसको अर्थ अब नेपाली खेलाडीलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव आवश्यक छ । नेपाली खेलाडीले अब आफूभन्दा बलिया टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्छ ।
त्यसले एकातिर नेपाली खेलाडीको आत्मविश्वास बढाउने छ भने अर्कोतिर खेलाडीको प्रदर्शनमा पनि निखार ल्याउने छ । एसिया कपको पहिलो खेलमा पाकिस्तानका तीव्रगतिका बलरलाई झलेका नेपाली ब्याट्सम्यानले दोस्रो खेलमा भारतविरुद्ध राम्रो ब्याटिङ गरेका थिए । त्यसको कारण पनि पहिलो खेलमा हालिस गरेको अनुभव नै थियो ।
आफ्ना खेलाडीलाई बलिया राष्ट्रहरूसँग भिडाउनका लागि खेलाडीको तयारी पनि सोही अनुरूप हुनु आवश्यक छ । यसका लागि खेलाडीलाई विशिष्ठ स्तरको प्रशिक्षण आवश्यक छ । खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउनेदेखि लिएर विभिन्न विधाका विशेषज्ञ प्रशिक्षकलाई झिकाएर प्रशिक्षण दिनेसम्मको भूमिका सम्बन्धित निकायले निर्वाह गर्नुपर्छ ।
यसका अतिरिक्त आफ्नो देशभित्र प्रतियोगिताको अभाव रहेको स्थितिमा आफूभन्दा बलिया टेस्ट राष्ट्रहरूसँग औपचारिक रूपमा छलफल गरेर आफ्ना खेलाडीलाई उनीहरूको देशमा विभिन्न प्रतियोगिता खेल्ने वातावरण तयार पार्न पनि सम्बन्धित निकायमले ध्यान दिनु आवश्यक छ ।
आवश्यकता एकदिवसीय प्रतियोगिताको
सबैभन्दा पहिले घरेलु प्रतियोगितामै सुधारको खाँचो देखिएको छ । खेलाडीहरूका लागि प्रतियोगिताको निकै अभाव छ । त्यसमाथि एकदिवसीय ढाँचाको प्रतियोगिता त झनै कम छ । आक्लझुक्कल हुने फ्रेन्चाइज प्रतियोगिताहरू पनि टी–२० ढाँचाका छन् ।
नेपालले सन् २०१८ मै एकदिवसीय टोलीको मान्यता पाएको थियो । एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेटमा दुईवटा चुनौती थपिएका थिए । पहिलो, लामो समयसम्म एकदिवसीय मान्यता जोगाएर राख्ने । अनि दोस्रो, टेस्ट मान्यता पाउनका लागि थप सङ्घर्ष गर्ने ।
यी दुवै उद्देश्य प्राप्तिका लागि बढीभन्दा बढी प्रतियोगिताको खाँचो थियो । त्यसमा पनि कम्तीमा ५० ओभरका प्रतियोगिताहरू बढी आवश्यक थियो । अझ देशभित्र तीन दिवसीय प्रतियोगिताहरू पनि आयोजना हुनुपथ्र्यो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको पाइँदैन ।
देशभित्र टी–२० प्रतियोगिता बढी हुने भएकाले खेलाडीहरू पनि सोही ढाँचाप्रति बढी अभ्यस्त हुनु स्वाभाविक हो । टी–२० प्रतियोगितासँग आर्थिक पक्ष पनि जोडिने भएकाले प्रायोजकहरू पनि बढी यही ढाँचाप्रति आकर्षित हुने गरेको पाइन्छ ।
धन्य, समय समयमा आयोजना हुने टी–२० प्रतियोगिताले घरेलु क्रिकेटलाई जीवित राख्ने काम भने गरेको छ । एकदिवसीय प्रतियोगिताको नाममा देशभित्र हुने ‘प्रधानमन्त्री कप’ पनि खासै प्रभावशाली हुन सकेको छैन । वर्षमा एक पटक हुने प्रधानमन्त्री कपका अधिकांश खेल त वर्षाका कारण रद्द हुने गरेका छन् ।
एकदिवसीय प्रतियोगिताको अभावका कारण छनोट समितिलाई समेट टिम चयन गर्न समस्या पर्ने गरेको यथार्थ कसैसँग लुकेको छैन । नियमित प्रतियोगिता नै आयोजना नभएपछि कुन मापदण्ड र प्रतियोगितालाई आधार मानेर खेलाडी चयन गर्ने भन्ने समस्या छनोट समितिका सदस्यलाई पर्ने गरेको छ । त्यसैले छनोट समितिले एकदिवसीय प्रतियोगिताका लागि टोली छनोट गर्दा पनि टी–२० प्रतियोगिताको प्रदर्शनमै भर पर्नुपर्ने अवस्था छ ।
५० ओभर वा त्योभन्दा लामो ढाँचाको प्रतियोगिता आयोजना गर्न न नेपाल क्रिकेट सङ्घ (क्यान) ले चासो देखाएको पाइन्छ न त निजी क्षेत्रले नै । त्यसैले आफ्ना खेलाडीलाई एकदिवसीय र त्योभन्दा लामो ढाँचाको क्रिकेटप्रति अभ्यस्त गराउन बढीभन्दा बढी प्रतियोगिता आयोजना हुनु आवश्यक देखिन्छ ।
पूर्वाधारमा लगानी आवश्यक
किरण शमशेर राणा, पूर्वअन्तर्राष्ट्रिय खेलाडी
पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले निकै स्तरीय प्रदर्शन गर्दै आएको छ । छोटो समयमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको सफलता लोभलाग्दो छ । सफलता हात पार्न जति कठिन छ त्यसलाई लामो समयसम्म जोगाएर राख्न त्योभन्दा पनि गाह्रो हुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा हामीले अझ थुप्रै सफलता हात पार्न बाँकी छ । विभिन्न पुस्ताका खेलाडीहरूले बसाएको जगमा उभिएर नेपाली क्रिकेट अहिलेको स्थितिसम्म पुगेको हो । यसका लागि सबै धन्यवादका पात्र हुन् ।
हाम्रा खेलाडीहरू अहिले निकै स्तरीय क्रिकेट खेल्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रा खेलाडीसँग बलियो आत्मविश्वास छ । तर विश्व क्रिकेटमा अगाडि बढ्न अब यतिले मात्र पुग्दैन । सरकार र स्टेक होल्डरहरूले अब थप सक्रियता बढाउनु आवश्यक छ ।
हाम्रो सबैभन्दा कमजोर पक्ष भनेको भौतिक पूर्वाधार नै हो । पर्याप्त पूर्वाधारको अभावमा हामी अगाडि बढ्ने सपना त देख्न सक्छौँ तर त्यसलाई साकार पार्न सक्दैनौँ । त्यसैले सम्बन्धित निकायले अब यसतर्फ ध्यान पुर्याउनै पर्छ ।
अब आश्वासनले मात्र हुँदैन । सरकारले भौतिक पूर्वाधारमा राम्रो लागनी गर्नु आवश्यक छ । कम्तीमा पनि दुई तीनवटा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला चाहिन्छ । हामीले आफूभन्दा बलिया टोलीलाई बोलाएर नेपालमै खेलाउन सक्ने वातावरण बनाउनु पर्छ । यसका लागि पनि भौतिक पूर्वाधार नै सबैभन्दा ठूलो कुरा हो ।
जबसम्म हाम्रा खेलाडीले आफूभन्दा बलिया टोलीसँग खेल्ने पर्याप्त अवसर पाउँदैनन् तबसम्म उनीहरूको प्रदर्शनमा निखार आउँदैन । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । प्रशिक्षणका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणहरू पनि उपलब्ध गराउनु पर्छ ।
यसै गरी प्रत्येक खेलाडीको कमजोर पक्षलाई गहन रूपमा विश्लेषण गरेर त्यसमा सुधार ल्याउने प्रयास गर्नुपर्छ । खेलाडीहरूले निरन्तर रूपमा प्रशिक्षण गर्ने वातावरण तयार पार्नु पर्छ । आवश्यक पर्दा वैदेशीक प्रशिक्षणमा पनि पठाउनु पर्छ ।
खेलाडीलाई आश्वासन दिने तर आफ्नो प्रतिबद्धता पूरा नगर्ने प्रवृत्ति देखिन्छ । यस्तो प्रवृत्तिले खेलाडीलाई निरुत्साहित बनाउँछ । सरकारले यसअघि पटक पटक घोषणा गरेको पुरस्कारसमेत खेलाडीले पाउन सकेका छैनन् ।
त्यसैले सरकार वा स्टेक होल्डरले आफूले बोलेको कुरा तत्काल पूरा गर्न सक्नुपर्छ । मैले नेपाली क्रिकेटको भविष्य निकै उज्ज्वल देखेको छु । तर यसका लागि सबै पक्षको सहयोग आवश्यक पर्छ । सबैभन्दा ठूलो भूमिका त सरकारकै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे