नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दो
काठमाडौं । नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै गएको छ । परिणामस्वरुप आगामी ७ वर्षमा ३ लाख १८ हजारभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले गरेको प्रक्षेपणमा अबको ७ वर्षभित्र डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी ३ लाख १८ हजार ९५ जना जनशक्ति आवश्यक पर्ने जनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ सम्ममा २ लाख ८८ हजार २४० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
आयोगका अनुसार २०७७/७८ मा मेडिकल अफिसर एमबीबीएस, विशेषज्ञ चिकित्सक कन्ल्टयान्ट (स्नातकोत्तर), नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) देखि कार्यालय सहयोगी लगायतका कर्मचारी गरी २ लाख ७५ हजार २०३ जना स्वास्थ्य कर्मचारी आवश्यक भएकोमा २ लाख ११ हजार ९७७ जनामात्रै कार्यरत थिए ।
स्वास्थ्य जनशक्तिको आकलन तथा प्रक्षेपण (२०२१–२०३०)
चिकित्सा शिक्षा आयोगबाट गरिएको प्रक्षेपणमा २०८२/८३ मा मेडिकल अफिसर (एमबीबीएस) १६ हजार २५ जना आवश्यक पर्र्ने उल्लेख छ । यस्तै, २०८७/८८ मा १६ हजार ७८४ जना मेडिकल अफिसर आवश्यक पर्ने जनाइएको छ ।
विशेषज्ञ चिकित्सक कन्सल्ट्यान्ट २०८२/८३ सम्ममा १४ हजार ७३७ र २०८७/८८ सम्ममा १५ हजार ४३५ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) २०८२/८३ सम्ममा ३९३ र २०८७/८८ मा ४११ जना आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
२०८२/८३ सम्ममा नर्सिङ सहायक पेसाविद्हरू (स्नातक) का कर्मचारी २ हजार २२५ आवश्यक पर्ने जनाइएको छ । २०८७/८८ मा यो तहको जनशक्ति २ हजार ३५९ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।
यस्तै, नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाणपत्र तह) २०८२/८३ मा ८४ हजार ४२ जना आवश्यक पर्नेछ भने २०८७/८८ मा ८८ हजार २४ आवश्यक हुने प्रक्षेपण आयोगले गरेको छ ।
परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने पेसाविद्हरू २०८२/८३ सम्ममा ८४ हजार ४३ जना आवश्यक पर्नेछ भने २०८७/८८ मा यो संख्या बढेर ८८ हजार २४ पुग्ने उल्लेख गरिएको छ ।
परम्परागत तथा सहायक चिकित्सा प्राविधिकहरू (प्रमाणपत्र तह) मा २०८२/८३ सम्ममा १९ सय ८९ जना चाहिने प्रक्षेपण गरिएको छ । यस्तै, २०८७/८८ सम्ममा २ हजार ८३ जना यो तहका जनशक्ति आवश्यक पर्ने जनाइएको छ ।
२०७७/२०७८ मा जनशक्ति
आयोगले गरेको प्रक्षेपणमा स्वास्थ्य जनशक्तिको पेसागत वर्गीकरण गर्दा २०७७/२०७८ सम्म मेडिकल अफिसर (एमबीबीएस) १७ हजार ७०८ उत्पादन भएका थिए । यद्यपि यी जनशक्तिमध्ये १२ हजार ३९६ मात्रै कार्यरत थिए ।
आवश्यक र कार्यरत जनशक्तिबिचको अन्तर भने २ हजार ९०४ थियो । त्यस वर्ष १५ हजार ३०० मेडिकल अफिसर (एमबीबीएस)को आवश्यकता थियो । सो वर्ष उक्त तहका १७ हजार ७०८ जना जनशक्ति उत्पादन भएका थिए ।
यस्तै विशेषज्ञ चिकित्सक कन्सल्ट्यान्ट (स्नातकोत्तर) १४ हजार ७० जना आवश्यक हुँदा जम्मा ८ हजार २९१ जनामात्रै कार्यरत थिए । त्यस वर्ष ८ हजार ७६२ विशेषज्ञ चिकित्सक कन्सल्टयान्ट मात्रै उत्पादन भएको तथ्याङ्कले देखाउँछ ।
नर्सिङ पेसाविद्हरू (स्नातकोत्तर) ३०५ जना आवश्यक भए पनि जम्मा १३३ जना कार्यरत थिए । सो वर्ष उक्त तहमा १४० जनशक्ति उत्पादन भएको थियो ।
यस्तै, नर्सिङ सहायक पेसाविद्हरु (स्नातक) २ हजार १५० जना आवश्यक भए पनि जम्मा एक हजार ४५२ जनाले मात्रै सेवा दिएका थिए । सो तहमा उक्त वर्ष एक हजार ५२८ जनशक्ति उत्पादन भएको थियो ।
नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाणपत्र तह) का ८० हजार २४२ जनशक्ति आवश्यक परे पनि त्यस समयमा ७७ हजार ३१६ जनाले मात्र सेवा दिएका थिए । जबकि जनशक्ति उत्पादन भने १ लाख १० हजार १५५ थियो ।
यस्तै, परम्परागत तथा वैकल्पिक चिकित्सा प्रविधिकहरू (प्रमाणपत्र तह) का जनशक्ति २३७ जना उत्पादन भएकोमा २२५ जना कार्यरत थिए । तर, त्यतिबेला आवश्यकता भने एक हजार ८९९ जनाको थियो ।
२०७७/२०७८ मा परम्परागत तथा सहायक चिकित्सा प्राविधिकहरू (प्रमाणपत्र तह) एक हजार ९३१ जनशक्ति आवश्यक रहे पनि जम्मा एक हजार ३८९ जनाले मात्रै सेवा दिएका थिए । त्यस समयमा एक हजार ४६२ जनशक्ति उत्पादित थिए ।
स्वास्थ्य जनशक्तिको आवश्यकता
हाल देशभर सञ्चालित सरकारी, गैरसरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, विशिष्ट सेवा प्रदान गर्ने अस्पताल, शिक्षण अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, नगर अस्पताल, नगर स्वास्थ्य केन्द्र, परम्परागत तथा वैकल्पिक स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल, स्थानीय तहका ५, १० र १५ शय्याका प्राथमिक अस्पताल, द्वितीय अस्पताल, नर्सिङ होम, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ, क्लिनिक, स्वास्थ्य संस्था तथा औषधालयहरूमा आवश्यक आकलन गरी जनशक्तिको प्रक्षेपण गरिएको छ । जस अनुसार २०७७/७८ मा कुल दुई लाख ७५ हजार २०३ स्वास्थ्यकर्मीको आवश्यकता थियो ।
आधार वर्ष २०७७/७८ मा चिकित्सक प्रति हजार जनसङ्ख्याको अनुपात ०.७१ रहेकोमा २०८७/८८ मा सो अनुपात बढेर १.०० पुग्ने प्रक्षेपित अनुमान छ ।
प्रति १० हजार जनसङ्ख्यामा कुल स्वास्थ्य जनशक्ति अनुपात वर्ष २०७७/७८ मा ४१.०४ अनुमान गरिएकोमा वर्ष २०८७/८८ मा सो अनुपात बढेर ४७.३५ हुने प्रक्षेपित अनुमान गरिएको छ ।
जनशक्तिको संरचना
प्रक्षेपणको आधार वर्ष २०७७/७८ मा कार्यरत स्वास्थ्य जनशक्ति र स्वास्थ्य सेवाको आवश्यकताको आधारमा गरिएको प्रक्षेपित जनशक्तिको संरचनाको बिच तुलना गर्दा केही संरचनागत परिवर्तन आउने देखिन्छ । उच्च तहको स्वास्थ्य जनशक्ति खास गरी विशेषज्ञ चिकित्सक र जनरल मेडिकल प्राक्टिसनर (स्नातक) को हिस्सा क्रमशः ५.८५ प्रतिशत र ३.९१ प्रतिशतबाट बढेर ५.११ प्रतिशत पुग्ने अवस्था छ । यस्तै अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसाविद्हरू प्रमाणपत्र र तालिम पनि २७.६० प्रतिशतबाट बढेर ३४.४५ प्रतिशत पुग्ने र नर्सिङ तथा प्रसूति सम्बन्धी सहायक पेसाविद्हरू (प्रमाण पत्र र तालिम) भने ३६.४७ प्रतिशतबाट परिवर्तन भएर २९.१६ प्रतिशत पुग्ने अवस्था देखिएको छ ।
यसको अतिरिक्त अन्य तह तथा विधामा काम गर्ने स्वास्थ्य जनशक्तिको संरचनामा खासै परिवर्तन नहुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?