के-के गर्यो प्रसूति तथा स्त्री रोग अस्पतालले वर्षभरिमा ?

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७९-८० मा प्रसूतितर्फ २६ हजार ९ सय ४७ र स्त्री रोगतर्फ ५ हजार ४६ जनाले सेवा लिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जनाए ।
त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ २ हजार १ सय ९२ र मातृ सघन उपचारतर्फ ४ सय ८३ ले सेवा लिएका छन् । बहिरंग सेवातर्फ १ लाख ८० हजार ८ सय ९० जना महिलाले सेवा लिएको अधिकारीले बताए ।
प्रसूतितर्फ भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति भएको थियो । जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको थियो । जसमा ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात् सिजरियन सेक्सनबाट डेलिभरी गराएको उनले बताए ।
यस्तै, स्त्री रोग गाईनोकोलोजी शल्यक्रिया तर्फ ०७९-८० मा २ हजार ९४६ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि र २ हजार ७२३ जनाको चिरफार प्रविधि बाट शल्यक्रिया गरिएको उनले बताए ।
आईभीएफ सेवा
नेपालमा सरकारी अस्पतालमध्ये प्रसूति तथा स्त्री रोग अस्पतालमा ०६८ सालमा पहिलो आईभीएफ सेवा सुरु भएको थियो । ०७२ सालको भूकम्पपछि स्थगन गरिएको यो सेवा ०७८÷०७९ देखि स्तरोन्नति गरी पुनः नियमित रुपमा सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए ।
हालसम्म ३८ जनाले आईभीएफ प्रविधिबाट सेवा लिएको उनको भनाइ छ । गत आर्थिक वर्ष जम्मा ८ हजार ३०९ जनाले निसन्तान सम्बन्धी ओपीडीबाट सेवा लिएका थिए । जसमध्ये २५४ जना महिलाले आईयूआई सेवा र २७ जना निसन्तानले आईभीएफ सेवा लिएको डा. अधिकारीले बताए ।
यस्तै, स्त्री रोग उपचार गराउन आउने गरिब, विपन्न तथा असहाय महिलाको उपचारका लागि अस्पतालमा स्थापित सामाजिक सुरक्षा इकाई (एसएसयु) बाट सेवा दिएको निर्देशक अधिकारीले बताए । उनले आर्थिक अभावका कारण गत आर्थिक वर्षमा १ हजार ११५ जना महिलाले सेवा लिएको जानकारीसमेत दिए ।
यस्तै, राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाइ उद्धार सेवामार्फत गत वर्ष ३९ जना महिलाको उपचार गरिएको थियो ।
कतिले गरे सुरक्षिग गर्भपतन ?
लैंगिक हिंसाबाट पीडित महिलाहरूको लागि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओ.सी.एम.सी.) बाट गत आर्थिक वर्ष ४०३ जनाले सेवा लिएका छन् । ओसीएमसीबाट विभिन्न लैंगिक तथा यौन हिंसाबाट पीडित महिलाले सेवा लिएको उनले बताए ।
यस्तै, गत आर्थिक वर्ष १ हजार ७७९ जना महिलाले यो अस्पतालबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
प्रसूति अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरी बट्टाको दुध पूर्णतः निषेधित छ । ‘ह्युमन मिल्क बैंक’ अर्थात् अमृत कोषले दाता आमाहरुबाट संकलन गरेको दुधलाई संक्रमणमुुक्त गरी ६ महिनासम्म भण्डारण गर्न सकिने भएकाले आवश्यकता अनुसार आमाको दुधबाट वञ्चित शिशुहरूलाई दिइने उनले बताए ।
विगत तीन महिनामा सुधार गरिएका कार्य
प्रसूति गृहमा निर्देशकका रुपमा डा. अधिकारी आएपछि गरिब विपन्न महिलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा प्रसूति अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको छ । अधिकारीका अनुसार १० बेड एनआईसीयूमा थप गरी २० बेड सञ्चालन गरिएको छ । यस्तै अस्पतालमा अनलाइन टिकट सेवा सुरुवातसमेत गरिएको छ ।
अस्पतालको मुख्य फार्मेसीमा औषधि उपलब्ध गराउन काउण्टर थप गरिएको उनले बताए ।
महिला स्वास्थ्य सम्बन्धी प्रसूति गृह केन्द्रीय विशिष्टीकृत अस्पतालका रुपमा स्वीकृत शय्या संख्या ४१५ भए पनि बिरामीको चापलाई मध्यनजर गरी ४८९ शय्या सञ्चालन गरिरहेको निर्देशक डा. अधिकारीको जिकीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति