श्रीकृष्ण अवतार, गीतादर्शन र मिथक
धार्मिक ग्रन्थहरूमा महत्त्वपूर्ण व्यक्तित्वका रूपमा चर्चा गरिने एक पात्र हुन्– श्री कृष्ण । विष्णुको आठौँ अवतार भनेर व्याख्या गरिने कृष्णलाई धार्मिक ग्रन्थहरूले विष्णुको अवतार मानेर सम्भव असम्भव कथाहरू कथेको भए पनि वैज्ञानिक दृष्टिले हेर्दा उनी तत्कालीन सामाजिक परिवेशभित्रका एक धूर्त र चलाख मानिस थिए भन्न सकिन्छ । उनलाई बासुदेव र देवकीका आठौँ सन्तान मानिएको छ ।
धार्मिक पुस्तकहरूले उनलाई अत्याचारी मामा कंशलाई मारेर तत्कालीन लोकको हित गरेको उल्लेख गरेका छन् । वैष्णव धर्मावलम्बीहरू बालकृष्णदेखि महाभारतकालसम्मका कृष्णलाई श्रद्धा गर्छन् । श्री कृष्ण प्रणामी धर्मावलम्बीहरू कंशवधसम्मका बालकृष्णलाई मात्र अक्षरातित अंश रहेको भनी पुज्छन् ।
कृष्ण अवतारको बाललीला असाध्यै काल्पनिक र एकदमै असम्भव कुरालाई जोडेर बनाइएको छ । कथामा कृष्ण गोकुल र वृन्दावनमा गोठालाहरूको सङ्गतमा हुर्किएको बताइएको छ । यशोदाका धर्मपुत्र जस्तै बनिरहेका कृष्ण सामन्तका छोराका रूपमा हुर्किए । गाउँका गन्नेमान्ने सामन्तका एक जना छोरा मान्छेले गोठालाहरू र आर्थिक रूपले साना वर्गका मानिसहरूसँग मित्रता गाँसेपछि सबैको नजरमा उनी प्रिय बन्नु स्वाभाविक थियो । एउटा गरिबको छोराले जे गरे पनि महत्त्व हुन्न तर राजा–महाराजाका छोराहरूका सानोभन्दा सानो कामलाई पनि बढाइचढाइ प्रशंसा गर्ने चलन नै छ । कृष्णको लोकप्रियता धेरै हदसम्म यस्तै खालको छ ।
विद्वान् लेखक गोपीरमण उपाध्यायले आफ्नो पुस्तक प्राकृतिक भौतिकवादमा लेख्नु भएअनुसार “कृष्ण बष्णि गणका प्रभावशाली व्यक्ति थिए । यस गणमा मातृसत्ताको प्रभाव बाँकी नै रहेको थियो । त्यसैले गर्दा बहिनी देवकीको छोराले राज्यमा हक राख्न सक्ने अवस्था थियो । यही अवस्थालाई रोक्न कंशले बहिनी देवकीको कुनै सन्तान बाँच्न नदिएका हुन् ।”
कंशकोे हत्यापछि कृष्णले पूरै राज्यभरि र अन्य राज्यहरूमा समेत आफ्नो प्रभाव बढाउन सके । वास्तवमा उनी एक चलाख, बौद्धिक र धूर्त चरित्रका व्यक्ति थिए । उनले अत्यन्तै सानो उमेरमै ठूलो बौद्धिक ज्ञान हासिल गरेका थिए ।
कृष्णको समग्र जीवन कथा हेर्दा त्यसबेलाको उत्पादन पद्धति दासयुगको अवस्थाभित्र सामन्तवादको सुरुवात हुँदै गरेको परिस्थिति थियो भनी आँकलन गर्न सकिन्छ । किनकि महाभारत युद्धले कौरव र पाण्डवका बीचमा विभाजित साना साना विभिन्न गणराज्यमा रहेका गणहरूलाई समाप्त गरी ठूलो साम्राज्य खडा गर्यो । त्यही क्रममा सांस्कृतिक रूपमा बहुदेवीदेवताको पूजा गर्नुभन्दा एउटै परमब्रह्म वा ईश्वरको पूजा गर्नु उचित हुन्छ भन्ने धारणाको पनि विकास गरायो ।
कृष्णको कथा पढ्दा त्यहाँ गोवर्धन पर्वतको वरपर विकास भएको कृषिमा आधारित अर्थतन्त्र भएको समाजको व्याख्या पाइन्छ । गोपीरमण उपाध्यायको पुस्तक प्राकृतिक भौतिकवादका अनुसार कृष्णले वैदिक पशुपालनको अर्थतन्त्रलाई रूपान्तरण गरेर नयाँ कृषितन्त्र स्थापना गराएका हुन् । वास्तवमा त्यसबेलाको भक्ति र उपासनामा मात्र उभिएको प्रथालाई कृष्णले मोडेर कर्मप्रधान विचार स्थापित गर्न प्रयत्न गरेको देखिन्छ । तथापि कतिपय सन्दर्भमा भाग्यवादलाई मलजल पनि गरिएको छ । यसरी उत्पादन पद्धतिमा परिवर्तन गरे पछि स्वाभाविक रूपले उत्पादन सम्बन्ध पनि बदलियो र समाजमा उत्पादन वृद्धि र केही समृद्धि छायो । कृष्ण यस अर्थमा विशेष महत्त्वका व्यक्ति बनेका हुन् भन्न सकिन्छ ।
कृष्णको कथामा इन्द्रसँग मनमुटाव र झडप भएको घटना पनि भेटिन्छ । कथा अनुसार कृष्णले इन्द्रको हैन गोवर्धन पर्वतको पूजा गर्न सबैलाई मनाउन सफल भएपछि इन्द्रले रिसले घनघोर पानी र चट्याङ बर्साए । कृष्णले पनि कान्छि औँलाले गोवर्धन पर्वत उठाएर त्यसको छाता बनाएर सबैलाई सुरक्षित बनाई इन्द्रलाई तह लगाए भनिएको छ । पहिले नै उल्लेख गरिएको छ कि इन्द्र नाम नभएर पद हो ।
वैदिक कृषि र पशुपालनको अवस्थामा इन्द्रको पूजा गरिन्थ्यो । इन्द्रलाई पूजा गरे आकासे पानी पर्छ भन्ने जनविश्वास पनि थियो । कृष्णले गोवर्धन पर्वतलाई आधार मानेर कृषि र पशुपालनको अर्थतन्त्रमा परिवर्तन ल्याए । पुरानो उत्पादन प्रणालीलाई कायम राख्ने इन्द्र (इन्द्र पद धारण गरेका कोही सामन्त) र नयाँ उत्पादन प्रणाली कायम गर्ने कृष्णबीच द्वन्द भएको हो भनेर बुभ्mनु पर्दछ । कृष्ण र इन्द्रबीचको झडप र मनमुटाव यही पुरातन उत्पादन प्रथा र नयाँ उत्पादन प्रथा बीचको मतभेद नै हो । केवल कथालाई महिमामण्डन गर्दै कृष्णले कान्छी औँलाले गोवर्धन पर्वत उठाएर इन्द्रलाई तह लगाएको कथा बुनिएको हो । गोवर्धन पर्वत नै त्यो परिवेशको उत्पादनको आधार हो भन्ने अडान लिएको कुरालाई प्रतीकात्मक रूपमा गोवर्धन पर्वत उचालेको प्रसङ्ग आएको हो भन्न सकिन्छ ।
महाभारत युद्धमा कृष्णको ठूलो भूमिका थियो । पाण्डवको पक्ष लिएकाले उनले सत्यको पक्ष लिए भनी मानिन्छ । तर राम्ररी विचार गर्दा पाण्डवको पक्ष सत्यकै पक्ष थियो भन्न सकिन्न । दुर्योधनलाई पाण्डवहरूले आफ्नो आश्चर्यलाग्दो दरबार (इन्द्रप्रस्थ) मा बोलाएर अपमानित गर्नु बिल्कुलै गलत थियो । पक्कै पनि त्यहाँ झुक्किएर दुर्योधन अलमलमा परेका थिए । त्यस्तो बेला द्रौपदीले ‘अन्धाको पुत्र पनि अन्धै’ भनेर होच्याउनु दुर्योधनको ठूलो अपमान हैन र ? यस्तै पारिवारिक कलहबाट द्वेश उत्पन्न भई पछि विभिन्न कारणहरू मिसिएर युद्ध भएको हो । कौरव पाण्डवबीचको लडाइँ भनेको आफ्नो वंशमा राज्य पर्ने कि नपर्ने भन्ने कुराले थियो । पाण्डवहरू धृतराष्ट्रका सन्तान थिएनन् । पाण्डवका बाबुहरू विजातीय भएकाले धृतराष्ट्रले आफ्नै वंशमा सत्ता राख्न चाहन्थे । पाण्डवलाई पाण्डुपुत्र भने पनि तिनीहरू अरूहरूबाटै जन्मिएका सन्तान थिए । त्यसैले तिनीहरूको हातमा राज्यसत्ता जान नदिन धृतराष्ट्रले षडयन्त्र गरेका हुन् ।
त्यस्तै कर्णलाई पाण्डवहरूले अति अपमान गरेकैले उनी कौरवको पक्षमा लागे । कर्णलाई पाण्डवहरूले अछूतलाई जस्तै व्यवहार गरे, तर दुर्योधनले विशाल हृदयकासाथ उनलाई मित्र बनाए । त्यसबेला अछूत झैँ ठह¥याइएका कर्णलाई मित्र बनाउनु त्यसबेलाको धर्मअनुरूप असत्यको पक्षमा लागेको ठहरिन्थ्यो । अहिले हेर्दा दुर्योधनले कर्णलाई मित्र बनाउनु ठीक थियो र उनले सत्यको बाटो रोजेका थिए ।
जुवा खेल्ने प्रचलनलाई के कति आधारमा सही मान्ने ? जनताबाट उठाएको करमा राज गर्दै जुवा खेल्ने कौरव र पाण्डव दुवै असत्य र बदमासका पक्षधर नै हुन् । फेरि जनहितका लागि हैन केवल पारिवारिक झगडाका लागि हजारौँ सेना र जनता मराउन उक्साउने कृष्ण स्वयं कति सत्यवादी हुन् ? गम्भीर भएर बुझ्ने हो कि !
महाभारत युद्ध सकिएपछि कौरवहरूकी माता गान्धारीले वंशबिनासको आवेगमा कृष्णलाई युद्धको मूल जिम्मेवार ठान्दै कृष्णका वंशहरू पनि यसैगरी समाप्त हुन् भनी श्राप दिएको प्रसङ्ग देखिन्छ । पछि संयोगवश कृष्णका वंशको पनि नाश भएर गयो । यसरी हेर्दा कौरवपाण्डव भाइहरूबीचको मतभेदमा खेल्दै महाभारत युद्धसम्मको अवस्थामा पुर्याउने मूल पात्र कृष्ण नै हुन भन्ने प्रष्ट देखिन्छ ।
दरबारिया झगडाका क्रममा कौरवहरूले निश्चितै रूपमा पाण्डवमाथि अत्याचार गरेका थिए । लाहाको घरमा राखेर जलाउने प्रयास, द्रौपदीको अपमान, जुवामा झेल आदि सबै कौरवहरूको बेइमानीका उदाहरणहरू थिए । तर जुवा खेल्न तम्तयार बनी सम्पूर्ण सम्पत्ति, भाइहरू र आफूलगायत सबै भाइहरूसमेतकी पत्नी बनेकी द्रौपदीलाई पनि खेलको दाउमा लगाउने युधिष्ठिरलाई के सभ्य र इमानदार मान्छे भन्न मिल्छ र ?
अर्जुनले सर्त जितेर विवाह गरी ल्याएकी पत्नी द्रौपदीलाई माता कुन्तीले झुक्किएर पाँचै भाइले बाँडेर लिन आदेश दिएकीले सो आदेश गलत भए पनि मान्नै पर्ने भन्ने चलन ठीक थिएन । त्यसलाई आज्ञाकारी छोराहरूको कर्तव्य भनेर आजको समयमा पनि बुफ्ने गल्ती गर्नु हुँदैन । महिलालाई वस्तुको रूपमा साझा ढङ्गले भोग गर्न मिल्ने घिनलाग्दो सामाजिक चलनको एक पाटो थियो त्यो । त्यति नराम्रो चलनलाई कायम राख्ने विवेक बोकेका कुन्ति र पाण्डव कुनै गतिलो विचारका मानिस थिएनन् । किनभने त्यो बेलाभन्दा धेरै अघि नै एकनिष्ठ विवाहको प्रथा केही ऋषिहरूले चलाइसकेका थिए । फेरि त्यो समाज मातृसत्तात्मक पनि थिएन भन्ने पुष्टि युधिष्ठिरले पुरुष अहम्ता प्रदर्शन गर्दै आफूखुसी द्रौपदीलाई जुवामा दाउ हालेबाट नै हुन्छ ।
त्यस्तै महिला भएका कारण पाँच जना पतिको सुख स्याहारेर बस्नुपर्ने द्रौपदीको पीडालाई असल गुण भन्नुपर्ने अनि ती पाँच जना पतिहरूले थप अरू पत्नीहरू राखेर विभेदपूर्ण कार्य गरेको पनि असलै देखिनुपर्ने किन ? युधिष्ठिरले शिविदेशका राजा गावासनकी छोरी देविकासँग, भीमले काशीराजकी छोरी बलन्धरा र अरू तीन जनासँग, अर्जुनले उलुपी, चिद्राङ्गना र सुभद्रासँग, नकुलले चेदु नरेशकी छोरी करेणुमतीसँग र शहदेवले मद्र नरेशकी छोरी विजयासँग विवाह गरे । पाँच पतिकी पतिव्रता पत्नी द्रौपदीमाथि पीडा दिएर बहुपत्नीसँग रमाउने पाण्डवहरूलाई आजको सन्दर्भमा पनि आदर्श व्यक्तित्वहरू भनेर मान्नु कतिको जायज होला ?
द्रौपदीले शिवको प्रार्थना गरी पाँचवटा गुण भएका श्रीमान् प्राप्त होस् भनेकी थिइन रे । पाँचवटै गुण एउटै लोग्ने मानिसमा नहुने भएकाले द्रौपदीले फरक फरक गुण भएका पाँचवटा पतिहरू प्राप्त गरेकी हुन् रे । अर्जुनले विवाह गरी ल्याएकी द्रौपदीलाई पाण्डव दाजुभाइ मिलेर साझा पत्नी बनाउने अनि साझा पत्नी हुनपर्नुका कारण भने द्रौपदी नै बन्नुपर्ने भन्ने कुराले के स्पष्ट हुन्छ भने धर्मग्रन्थ महिलालाई नै दोष थोपर्ने पक्षमा रहेका छन् ।
महाभारत कथामा द्रौपदीको कुमारित्वबारेमा कुरा चलेको पाइन्छ । द्रौपदीले हरेक भाइहरूसँग समागमको लागि एक एक वर्षको अवधि तोकी सँगैबस्ने गरी पालो मिलाएकी थिइन् । जसले गर्दा यौनका सवालमा भाइहरूबीच तनाव र मनमुटाव नभएको भनिन्छ । द्रौपदीले समागम भएपछि भोलिपल्ट नुहाउनासाथ उनको कुमारित्व पुनः कायम हुने वरदान भगवान् शिवबाट पाएकी थिइन् । कथा सुन्दा कति ठूलो लैङ्गिक विभेद सिर्जना गरिएको छ भन्ने स्पष्ट देखिन्छ ।
पाण्डवहरूले द्रौपदीबाहेक अरू थप पत्नीहरू राखे पनि उनीहरूको कुमारत्वको चर्चा हुनु नपर्ने भनाइ छ । अनि द्रौपदीको कुमारित्व भने हरेक पटकको समागममा गुम्नुपर्ने र त्यो कुमारित्व कायम राख्न शिव भगवानको बरदान नै चहिनुपर्ने रे । यसरी धर्मग्रन्थ नै महिलाप्रति विभेदकारी देखिएको देखिन्छ ।
यसैगरी कथाको एक प्रसङ्गमा युधिष्ठिर द्रोपदीसँग समागममा रहेको बेला एउटा कुकुर दौडँदै युधिष्ठिर भएकै ठाउँमा पुग्छ । त्यो कुकुरलाई अर्जुनले लखेट्दै गरेको हुँदा उनी कुकुरलाई पछ्याउँदै त्यहीँ पुग्छन् । यो घटनाले युधिष्ठिरको समागम कार्यमा बाधा पुग्छ र रिसले चुरचुर भई युधिष्ठिरले अर्जुनलाई बनबासको सजाय दिन्छन् । द्रौपदीले पनि रिसले त्यो कुकुरलाई समागम गर्दा कुकुरका जातले पनि सार्वजनिक रूपमा समागम गर्नुपरोस् भनेर श्राप दिन्छिन् । त्यही भएर कुकुरका जोडीहरू सार्वजनिक ठाउँमै समागममा रहने गरेका हुन् भनिएको छ ।
कथाको यो प्रसङ्गले युधिष्ठिरको यौन आवेग र रिस कति कडा थियो भन्ने देखाउँछ । कामभावनामा नियन्त्रण गर्न नसक्ने मानिसलाई आदर्श ठान्नु धर्मग्रन्थ आफैँले मानिआएको मान्यताविरुद्ध देखिन्छ । त्यसै गरी कुकुरको यौन क्रियाकलापलाई द्रोपदीको श्रापसँग जोड्नु नितान्त काल्पनिक तर्क हो । आध्यत्मिक विश्लेषणहरू मनोगत धारणामा आधारित हुने हुँदा धर्मग्रन्थहरूमा यस्ता काल्पनिक तर्कहरूबाट घटनाहरूको व्याख्या गर्ने कार्य प्रशस्त देखिन्छ ।
जुवा खेल्नु, जाँड रक्सी पिउनु खराब काम हुन् । त्यसमा संलग्न भएर हारेपछि अन्याय पर्यो भन्न त मिल्दै मिल्दैन । फेरि जुवामा झेल भएको भनेर पाण्डवहरूले लगाएको आरोप पनि त सत्य नहुन सक्छ । पाण्डवहरूको विजय भएपछि महाभारत युद्धको कथा पाण्डवहरूलाई ठीक हुनेगरी लेखिएको हुन सक्दैन र ? विद्वानहरू भन्छन् रामायणको घटना महाभारतभन्दा पहिलेको हो तर रचना भने धेरै पछि अर्थात् महाभारत पछि मात्र भएको हो । जसरी रामायण पनि पछि लेखियो त्यस्तै गरी गीता पनि महाभारत युद्धभन्दा धेरै पछि लेखिएको हो । यस अर्थमा इतिहास तोडमोड हुने सम्भावना रहने नै भयो । महाभारत युद्ध ई.पु. १४०० मा भएको मानिएको छ भने गीताको रचना ई.पु. ५०० देखि ३०० सम्मको समयमा भएको मानिन्छ । गीता महाभारत भन्दा धेरै पछि रचना भएको हो (गोपीरमण उपाध्याय, प्राकृतिक भौतिकवाद, पृ. २६३) । यसो भएको हुँदा कतिपय तथ्यहरूलाई आफ्नो अनुकूलतामा बदलिएको पनि त हुनसक्छ । एसजी सरदेसाईका अनुसार इस्वी संवतको प्रारम्भ र इ.सं. २५० को अवधिभित्र कुनै बेला गीता सङ्ग्रहित भएको हुनुपर्छ । (मार्क्सवादी दृष्टिकोणमा भगवत् गीता¬ ।)
महाभारतको एउटा ठूलो अंशमा कृष्णले अर्जुनलाई सुनाएको ‘भगवद्गीता’ महत्त्वपूर्ण छ । आफ्नै वान्धवसँग युद्ध लड्न नसकेका अर्जुनलाई युद्धको औचित्य देखाउँदै उनलाई युद्ध गर्न उप्रेरित गराउन कृष्णले सम्झाएको प्रसङ्ग नै ‘गीता’को रूपमा लोकप्रिय छ । अर्जुनलाई सम्झाउने क्रममा कृष्णले सम्पत्तिवाद र सुख सयलवादको वकालत गरेका छन् । उनले भनेका छन् :
हतो वा प्राप्यासे स्वर्ग जित्वा वा मोक्ष से महीम
नमाद्रत्तीष्ठ कौन्तेय युद्धाय कृत निश्चय :
(श्रीमद्भागवतगीता अध्याय २।३७)
अर्थात् युद्ध जित्यौ भने समस्त सुखभोग गर्न पाउँछौ । हार्यौ भने स्वर्गको सुख भोग गर्न पाउँछौ ।
यसरी कृष्णबाटै व्यक्तिवादी सुखसयल र आधुनिक सम्पत्तिवादी चिन्तनको विकास भएको भन्न सकिन्छ । हार्दा पनि जित्दा पनि सुखभोग पाउँछौ भनेर कृष्णले युद्ध जसरी पनि गर्नुपर्छ भनेर प्रोत्साहित गरेको समेत देखिन्छ ।
गीताको विषयमा महापण्डित राहुल साकृत्यायन लेख्नुहुन्छ “श्वेताश्वर उपनिषद् र गीताको विषयवस्तुमा एकदमै समानता रहेको पाइन्छ । गीताको रचनाकर्ताले श्वेताश्वर उपनिषद्कै विषयवस्तुलाई जस्ताको तस्तै प्रस्तुत गराएर त्यसलाई देवकी पुत्र कृष्णका नामबाट प्रचारित गराएको हुनुपर्छ ।” (दर्शन दिग्दर्शन)
‘कर्मण्येवाधिकारस्ते मा फले कदाचन;’ अर्थात् ‘काम गर्ने तिम्रो अधिकार हो तर फलको आशा गर्नु हुँदैन ।’– यो गीताको मुख्य सार हो । फलको आशासहित गरिने कर्म स्वार्थमा आधारित हुने हुँदा यस्तो खाले कर्म नगर्न गीताले बताएको छ । यस अर्थमा यो भनाइ ठीकै छ । तर यस भनाइले श्रमजीवी वर्गमाथि मालिक वर्गको अन्यायपूर्ण शासनलाई थप बलियो बनाउने आधार तयार गर्यो । यो भनाइलाई श्रम गर्नु कर्तव्य हो र त्यसको उचित ज्याला लिने आशा भने कसैले गर्न हुँदैन भन्ने अर्थमा व्याख्या गर्ने हो भने श्रमजीवीहरूमाथि ठूलो शोषण हुने सङ्केत आजको समयमा पनि देखिन्छ । गीताको यो सारलाई शोषणको आधार बन्नबाट रोक्न सबैले सचेत हुनुपर्छ । सामन्तवादी युगका कृष्णले श्रम गर तर श्रमको फलको आशा नगर भनेका छन् भने साम्यवादी युगको व्याख्या गर्ने कार्ल मार्क्सले श्रमको उचित फल प्राप्त गर्न मालिक वर्गसँग लड्नुपर्ने तर्क गरेका छन् ।
गीतामा दुईवटा मार्गहरूलाई मानव जातिको अभीष्ट मानिएको छ– ज्ञानयोग र कर्मयोग । ज्ञानयोगले मूलतः ईश्वर सेवालाई जोड दिएको छ, जुन मानव मस्तिष्कलाई जड र मूढ पार्ने शिक्षा हो । कर्मयोगले फलको आशा नगरी कार्य गर्नुपर्ने कुरालाई जोड दिएको छ, जुन असल नियतले बुझ्ने हो भने राम्रो शिक्षा हो । गीतामै कृष्णद्वारा ‘...धर्मसंस्थापनार्थाय सम्भवामी युगे युगे..;’ भनी आफ्नो अवतार पृथ्वीमा बारम्बार हुने कुरा बताएर अवतारको प्रसङ्गलाई स्थापित गराउन खोजिएको छ । यही प्रसङ्गले मानवले मानवलाई शोषण गर्ने धार्मिक वितण्डा जन्माएको छ । श्रमजीवीहरूलाई नयाँ अवतार हुन सक्ने भुलभुलैयामा पारेर शोषणको जग बलियो पार्ने काम गरेको छ यो भनाइले ।
त्यस्तै गरी गीताले विगत गइसक्यो, वर्तमान चल्दैछ र भविष्यको बारेमा नसोच भनेर विगतप्रति मूल्याङ्कन नगर्न, वर्तमानमा खोजी कार्यमा नलाग्न र भविष्यको बारेमा चिन्ता नगर्न बताएर मानिसहरूलाई पूर्णतः भाग्यवादी बनाउन खोजेको छ । त्यस्तै सम्पूर्ण संसार कृष्ण नै भएको भनेर गीताले मानिसलाई नयाँ खोज गर्न वञ्चित पार्ने र केवल पूजापाठ, कृष्णसेवा जस्ता अनुत्पादक काममा व्यस्त गराउन खोजेको पनि देखिन्छ । गीताका कतिपय धेरै राम्रा कुरा पनि छन् तथापि गीताले मानिसहरूलाई भाग्यवादी नै बनाउन जोड दिएको छ ।
अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं बहाम्यहम ।। (गीता ।। २२।।)
अर्थात् जो अनन्य भावले सर्वदा मेरै दिव्य स्वरूपको ध्यान तथा चिन्तन गर्छन्, तिनीहरूको आवश्यकता मैले पूरा गरिदिन्छु र तिनीहरूसँग भएका चीजको संरक्षण पनि मैले नै गरिदिन्छु ।
गीताको यो र यस्ता अनेकौँ कुराले मानिसलाई कर्ममा भन्दा भाग्य र ईश्वर भक्तिमा प्रोत्साहित गर्छ । तर वास्तविकतामा भने मानिसले उपासना गरेर हैन वैज्ञानिक खोज र प्रयास गरेर नै सफलता हासिल गर्छ ।
गीताकै अर्को प्रसङ्गमा उल्लेख छ :
अपि चेत्सुदुरा चारो भजते मामनन्यभाक् ।
साधुरेव स मन्तव्यः सम्यग् व्यवसितो हि सः ।।३०।।
अर्थात् अत्यन्तै जघन्य कर्म गर्ने दुराचारी नै भए पनि अनन्य भावले मेरो भक्ति सेवामा संलग्न छ भने त्यसलाई साधु नै मान्नुपर्छ, किन भने ऊ आफ्नो सङ्कल्पमा अडिग भइसक्यो । यो भनाइले के देखाउँछ भने अपराधी र दुराचारीहरू पनि कृष्ण भक्त भए भने स्वतः साधु बन्छन् । भक्त बनाउने नाममा यो हदसम्म जाने सोचले समाज न्यायिक बन्न सक्तैन ।
गीतामै भेदभावपूर्ण समाजलाई उल्लेख गर्दै भनिएको छ :
मां हि पार्थ व्यपाश्रित्य येपि स्युः पापयोनयः ।
स्त्रियी वैश्यस्तथा शुद्रास्तेपि यान्ति परांगतिम् ।। ३२।।
अर्थात् हे पार्थपुत्र, मेरो शरणमा आउनेहरू चाहे तल्ला कुलमा जन्मिएका स्त्री हुन्, वैश्य हुन् वा शुद्र हुन्, सबै परमधाममा जान पाउँछन् । यो भनाइले के देखिन्छ भने जात, काम र लिङ्गका आधारमा विभेदमा पारिएकाहरूको मुक्ति कृष्णभक्त भए पछि मात्र सम्भव छ र त्यो पनि यो धर्तीमा हैन परमधाममा पुगेर मात्र । जात, काम र लिङ्गका आधारमा धार्मिक पण्डाहरूले तल्लो कुलका बनाएका मानिसहरूलाई यो धर्तीमा शोषणको जालोबाट हटाउँने हैन कि ती हेपिएका मध्ये पनि केवल आफ्नो भक्तहरूलाई मात्र परमधाम लैजाने स्वार्थी कुरा कृष्णको यो भनाइले देखाउँछ । कृष्णले त तल्लो कुल र माथ्लो कुल भन्ने परम्परा समाजबाट हटाएको भए पो महान् भन्न मिल्थ्यो । मरेपछि पाइने कथित परमधाम बासका कुरा शोषणलाई हटाउँन भन्दा बढाउन नै उद्यत देखिन्छ ।
गीतामा भनिएको छ : परित्राणाय साधुनां विनाशायच दुश्कृताम् । यसको तात्पर्य साधुहरू र धार्मिक रूपले सज्जनहरूको रक्षाका लागि आफूले अवतारका रूपमा जन्म लिइरहने भन्ने हो । गीताको लेखन वा परिमार्जन पछिसम्म हुने गरेकाले यो भनाइ सम्भवतः बुद्धका विचारहरूका कारण साधु (धार्मिक ऋषि, ब्राह्मण)हरूमा सङ्कट आउन थालेकाले त्यसलाई प्रभावित पार्न उल्लेख भएको हुन सक्छ । एसजी सरदेसाईले भन्नुभएको छ, “अधर्मले आफ्नो टाउको उठाइरहेको भन्ने गीताका लेखकको मनमा जे थियो, त्यो वास्तवमा चातुर्वण्य सोपानक्रममा बुद्धवादले सिर्जना गरेको अन्योल र शक–कुषाण आक्रमणहरूबाहेक अरू केही थिएन ।” (मार्क्सवादी दृष्टिकोणमा भगवत गीता ।)
कृष्णका उपदेश मात्र हैनन् सबै धर्मशास्त्रका उपदेशहरूले मानिसलाई ज्ञानी बन्न, दुःखीको सेवा गर्न, हिंसा नगर्न सिकाएका छन् तर यस सँगसँगै कथित परमात्माको भक्ति र मृत्युपछिको मुक्तिका कुरा पनि सिकाउने गर्छन् । यही कथित भक्ति र मुक्तिका कुराले नै श्रमजीवीहरूलाई आफ्नो अधिकारका लागि लड्न बाधा पारेको हुन्छ अनि संसारलाई बुझ्ने वैज्ञानिक मार्गबाट च्यूत गराउँछ ।
महाभारत युद्धताका अश्वस्थामा मरेको गलत हल्ला सुनाउने चालबाजी गरी द्रोणाचार्यलाई मार्नेदेखि लिएर दुर्योधनको जाँघमा हिर्काएर गदा–युद्धको नियमविपरीत हराउने षड्यन्त्रसमेत कृष्णले गरेका छन् । यसले समाजलाई छल र षड्यन्त्र गर्दा हुन्छ भन्ने सन्देश दिएको छ । सामान्यतः हरेक मानिसलाई आफूले गरेको कुरा उचित हो भन्ने लाग्छ, आफूलाई उचित लागेको कुरालाई छल र षडयन्त्र गरेर भए पनि लागू गर्नुपर्छ भन्ने सन्देश कति अर्थमा ठीक भन्न सकिएला ?
यसरी कृष्णको चरित्रले समाजलाई राम्रो सन्देश नदिएको पनि देखिन्छ । भनिन्छ, कृष्णले सोह्र सय गोपिनीलाई आफ्नो साथ लगाएका थिए । कृष्णलाई भेटेपछि गोपिनीहरूले घरपरिवार सबै त्यागेर पछि लाग्थे भन्ने कुरा कृष्णको कथामा भेटिन्छ । हरिवंश पुराण र भागवत पुराणमा समेत कृष्णको जीवनकथा र कार्य भेटिन्छ । यसरी आफ्ना लोग्ने र छोराछोरी छाडेर घरपरिवार विखण्डित बनाउन गोपिनीहरूलाई प्रोत्साहित गर्ने कृष्णले वास्तवमा समाजका लागि उचित काम गरेका हैनन् ।
कृष्ण चरित्रले व्याख्या गरेअनुसार राम अवतारकै बखतमा केही ऋषिहरूलाई रामले जङ्गलमा राक्षसहरूको चङ्गुलबाट बचाए । रामको सौन्दर्यबाट मोहित भएर ऋषिहरूले उनलाई छुन खोजे । तर रामले अर्को जन्ममा आफूले कृष्ण अवतार लिने र ऋषिहरू गोपिनी हुने कुरा सुनाएका थिए । यही कुरा तुलसीदासको पुस्तक ‘राम चरितमानस’मा पनि उल्लेख छ । ऋषिहरू र गोपिनीका कुराहरू कृष्णको खराब चरित्रलाई लुकाउन महापण्डितहरूले कथेको कहानीमात्र हो भन्दा अत्युक्ति हुँदैन ।
त्यस्तै राधासँगको प्रेम प्रसङ्ग, रुक्मिणी हरण र विवाहित मीरालाई आफूप्रतिको आशक्ति हटाउन नसक्नु जस्ता कुराले के स्पष्ट गर्छ भने कृष्ण कुनै अलौकिक शक्ति नभएर एउटा सामान्य सामन्त कुमार थिए, जो स्त्रीहरूसँग सजिलै लहसिन पुग्थे । ईश्वरीय अवतार भएका भए उनले गोपिनीहरू र मीराको घर बिगार्न नखोजेर उनीहरूलाई सम्झाउन सक्नुपथ्र्यो ।
कृष्णको अवसान एउटा व्याधाको वाण लागेर भएको भनी वर्णन गरिएको छ । यसलाई आफ्नो फोहोर पार्थिव शरीरलाई पृथ्वीमै छाडेर जान उनी आफैँले जानीजानी व्याधामार्फत् गराएका हुन भनी हिन्दू धर्मग्रन्थद्वारा व्याख्या गरिएको छ । यसरी व्याधालाई राम अवतारको बालि हत्याको प्रसङ्गसँग जोडिएको छ, जुन महापण्डितहरूको नियोजित कहानीकै अर्को पाटो हो । रामले बालिको हत्या गरेपछि बालिकी पत्नी ताराले अर्को जन्ममा बालिकै हातबाट रामको हत्या होस् भनी श्राप दिएकी थिइन् रे । यसै भएकोले रामको अर्को जन्म (अवतार) कृष्णलाई ब्याधाका रूपमा पुनर्जन्म भएको बालिले हत्या गरेका हुन् भनी बुद्धिमत्तापूर्ण ढङ्गले कथालाई जोडिएको छ ।
सत्य युगमा यति ठूलो नाम रहेको बालिको भूमिका द्वापर युगमा सानो व्याधाका रूपमा मात्र रहनुले पनि के स्पष्ट गर्छ भने कृष्णको मरण सामान्य गरिब जनताको हातबाट भएको घटना लज्जास्पद होला भनेर कथालाई बालि हत्यासँग जोडेर कृष्णको अवसानलाई अलि गर्विलो बनाउन खोजिएको हो । यसरी के स्पष्ट हुन्छ भने कृष्ण ‘अवतार पुरुष’ नभएर एक चलाख, धूर्त र त्यसबेलाका अत्यन्त विद्वान मानिस थिए । हिन्दु धर्मलाई थप टेवा दिन गीता जस्तो दर्शन दिएको र महाभारत युद्धमा उनकै सहयोगको कारणले पाण्डव पक्ष विजयी भएकाले उनलाई अवतार पुरुष बनाइएको हुनु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै