रासविहारी ब्रह्मचारी श्रीकृष्ण
विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन ।
चर्च जानुस् – शूलीमा झुन्ड्याइएका जीसस देख्नुहुन्छ, मस्जिद अगाडि गीत र संगीतको अनुमति छैन । त्यहाँ एक मृतशान्ति छ । बौद्ध भिक्षुहरू बिहानैदेखि ‘जीवन दुःख हो’ भनी पाठ दोहो-याइरहेका भेटिन्छन् । जैन साधुहरू नग्न बसेका छन् र आफ्नो शरीरलाई उपवास गरेर गलाइरहेका छन् । सुन्दर युवतीहरू पनि धर्मको नाममा कपाल मुण्डन गरी वैधव्य वस्त्र धारण गरी उदास देखिन्छन् । कापालिक साधकहरू श्मासनघाटमै बसी चितामा बचेको अर्धजलित मासु खाएर गुजारा गरिरहेका छन् ।
एकथरी हिन्दू नागा सन्यासीहरू आफ्ना जनेन्द्रीयमा किला ठोकी त्यसको प्रदर्शनीमै रमाएका छन् । अर्काथरी भने प्रचण्ड गर्मीमा धुनी जगाएर शरीरलाई तपाएर आफैंलाई सताइराखेका छन् । कोही काँटीको ओछ्यान बनाई सुतेका छन् भने कोही चाहिँ भाङ, धतुरो र गाँजा खाई, खरानी दली धर्मको नाममा अचेत विदुषक बनेर घुमिरहेका छन् ।
धर्मले मनुष्यलाई आनन्दित बनाउनु सट्टा सर्कसको जोकर बनाएको देखिन्छ । यस्तो जीवन निषेधात्मक, उल्लासविहीन र दुःखवादी धर्मबीच विधायक, उत्सवपूर्ण, प्रेम, राग, आनन्द र संगीतले भरिएका कृष्ण एक्ला बेबुझ नक्षत्र लाग्छन् । धर्महरूले कतै न कतै शारीरिक कष्ट, मानसिक दमन तथा भौतिक दरिद्रतालाई मुक्तिमार्गको आवश्यक अङ्ग ठानेका छन्, जुन एक दुःखद भ्रम मात्रै हो ।
धार्मिक व्यक्तिको प्रचलित लक्षण नै भइसकेको छ – निराश, उदास, गम्भीर र दुःखी हुनु । हाँसिरहेका बुद्ध, ठट्टा गरिरहेका राम र स्त्री मित्रहरूसँग परिहास गरिरहेका महावीरको हामी कल्पना पनि गर्न सक्दैनौं । धर्महरूको यस्तो निषेधात्मक परिप्रेक्ष्यमा सतत् प्रफुल्लित, मयुरप्वाँख मुकुटले सजिई बाँसुरी बजाएर असङ्ख्य युवतीसँग रास रचाइ राखेका श्रीकृष्ण धर्मको जगत्मा जीवन, आनन्द र उत्सवका एकमात्र आशा हुन् ।
धर्मको जगत्मा कृष्ण एक नौलो अध्याय हुन् । कृष्णबाहेक सबै अवतारी पुरुष या त ब्रह्मचारी छन् या त कठोर एक पत्नीव्रत छन् । यता कृष्णका भने आठ मुख्य रानीहरू छन् – रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, मित्रविन्दा, सत्या, भद्रा, लक्ष्मणा । यी आठ प्रत्येक पटरानीहरूसँगको विवाह पनि कुनै पारम्परिक तथा धार्मिक रीतिथितिले नभई बडो उपद्रवी ढङ्गले भएको छ । यीमध्ये अधिकांश हरेर, जितेर, भगाएर या उपहारस्वरूप ल्याइएका हुन् ।
यतिमै पनि कृष्णको प्रेम रित्तिँदैन, उनका अनगिन्ती प्रेमिका पनि छन् । त्यसमा विवाहित युवती पनि छन् र छोराछोरीका आमाहरू पनि छन् । साधारणतः पुरुषले एक स्त्रीलाई नै बुझ्न र सम्हाल्न कठिन हुन्छ । एउटै स्त्रीलाई भौतिक र शारीरिक रूपमा सन्तुष्ट गर्न धौ–धौ परिरहेको हुन्छ । तर, हाम्रा रासविहारीका हरेक प्रेमिका उनीसँग सन्तुष्ट छन् । उनी कसैसँग बाँधिएका छैनन्, त्यसैले सबैलाई औधि प्रेम गर्न सक्छन् ।
रामायणमा कथा छ- रावणकी बहिनी सुपर्णखाले लक्ष्मणको युवा सौन्दर्यप्रति आकर्षित भई प्रेम निवेदन गरेकी थिई । तर मर्यादा पुरुषोत्तम रामका भाइ भएकाले लक्ष्मणले त्यस प्रणय निवेदनको जवाफ सुपर्णखाको नाक काटेर सधैंका लागि उसलाई कुरूप बनाइ दिए । यस्तै प्रणय निवेदन सुपर्णखाले कृष्णसँग गरेकी भए उसले मानवीय संवेदनाले परिपूर्ण प्रेमपूर्ण जवाफ पाउँथी ।
उल्लेख छ, कंस बधपछि जब कंसकी दासी कुब्जाले कृष्णसँग यस्तै प्रणय निवेदन गरेकी थिई, उसले बडो मानवीय र हार्दिक उत्तर पाई । कृष्णले उसको पनि प्रेम स्वीकार गरे ।
कृष्णले आफ्नी बहिनी सुभद्रा र आफ्ना सखा अर्जुनबीचको अनुराग थाहा पाई आफ्ना दाजु बलरामलगायत यदुवंशीहरूको विरोध हुँदाहुँदै अर्जुनलाई सभुद्रा भगाउन उक्साए । अन्य कुनै अवतारी पुरुषलाई प्रेमको पक्षमा यसरी ठाडै उभिन संकोच लाग्ला । तर, हाम्रा लीलाराज श्रीकृष्णलाई जनमानसको संकुचित धारणाले प्रभावित गर्दैन ।
हिन्दूका नौ अवतार भइसकेका छन् । सबै अवतारहरू आफैंमा अलौकिक भए पनि हिन्दूहरू कृष्णलाई मात्रै पूर्ण अवतार मान्छन् । किनभने, अरू अवतारहरू देश, काल र परिस्थितिले बाँधिएका देखिन्छन् । उनीहरूको एक रङ, एक स्वर छ । तर, श्रीकृष्ण धर्मको जगत्का इन्द्रधनुष हुन्, उनमा सातै रङ र सातै स्वर छ । उनलाई कुनै मर्यादाले बाँधेर राख्न सकिँदैन । त्यसको अर्थ उनी अमर्यादित भने होइनन्, उनी मर्यादातीत हुन् ।
रामको भविष्यवाणी लेख्न सकिन्छ । भनिन्छ पनि – वाल्मीकिले रामको भविष्य राम जन्मिनुभन्दा पहिले रामायणमा लेखिसकेका थिए र रामले सोहीअनुसार व्यवहार गरे । तर, कृष्णजस्तो व्यक्तिको भविष्यवाणी गर्न सकिँदैन । कृष्ण कुनै पूर्वनिश्चित ढाँचामा बाँच्दैनन् । किनभने, क्षणको आवश्यकता नै उनको धर्म हो । उनी क्षण–क्षण जिउँछन् र क्षण–क्षण निर्णय गर्छन् । यस्ता व्यक्तिको जीवनमा विरोधाभास देखिनु कुनै आश्चर्य होइन । श्रीकृष्ण चरित्रवान् होइनन्, व्यक्तिवादी हुन् । मुस्लिम कवि रसखानले कृष्णचरित्रको विशेषता निम्न पदमा बडो मिठो गाएका छन् –
‘जाहीं अनादि अनन्त श्रुति वेद बतावे
नारद ते शुक, व्यास रटैं तौं पार न पावें
ताहिं अहिर कि छोहरिया छछिया
भरी छाछ पैं नाच नचावे ।’
‘जसलाई श्रुति र वेदहरू सबैले अनादि र अनन्त बताउँछन् । नारद, शुकदेव र व्यास जस्ताले जति खोजे पनि पार पाउँदैनन् । त्यस्ता कृष्णलाई ग्वाला युवतीहरूले ठेकीभरि मोहीका लागि नचाउँछन् ।’
गीताका श्रीकृष्ण परम् विद्वान्, ज्ञानवान्, गम्भीर छन् भने भागवतका श्रीकृष्ण एकदमै चञ्चल गैरगम्भीर र अति रसिक छन् । भागवत् गीतामै कृष्णको अनेक व्यक्तित्व देखिन्छ । महाभारतमा श्रीकृष्ण एक सच्चा मित्र, एक परम् योगी, कुशाग्र विश्लेषक, प्रखर कर्मयोगी, सर्वत्यागी परिव्राजक, ज्ञानीजस्ता अनेक गुणसम्पन्न व्यक्तित्वका रूपमा देखापर्छन् । कहिले उनी शान्तिदूतका रूपमा देखा पर्छन् भने कहीँ युद्धका परम पक्षपातीका रूपमा ।
कृष्णको व्यक्तित्व परस्परविरोधी आयामहरूले भरिएको भए पनि त्यही बीचमा पनि एक समन्वयको संगीत छ । जुन कृष्ण बाँसुरी बजाएर नाच्छन् त्यही कृष्ण शुदर्शन चक्रले संहार गर्छन् । जो कृष्ण बृजवालाहरूका दहीका घैंटा फोरी रमाउँछन्, जमुनामा स्नान गरिरहेका युवतीका वस्त्र चोरेर नग्न पारी उनीहरूलाई जिस्क्याउँछन्, त्यही कृष्ण युद्धमैदानमा गीताजस्तो गहन, गम्भीर उद्घोष गर्छन् ।
कृष्णको व्यक्तित्वको यही विराटता र निजता हो । यस्ता विरोधी स्वरहरूको समन्वय क्राइष्टमा, बुद्धमा, महावीरमा, मोहमदमा, राममा कसैमा भेट्न सकिंदैन । त्यसकारण हिन्दूहरूले श्री कृष्णबाहेक अरू कुनै अवतारलाई पूर्ण मान्दैनन् ।
केही विद्वान्को मत छ– कृष्ण एक व्यक्ति होइनन्, अनेक व्यक्तिका कथाहरू हुन् । कसैकसैले त कृष्णको व्यक्तित्वको विविधता देखेर यो कविहरूको रंगीन कल्पनामात्र हो भन्छन् । यदि आधुनिक मनोवैज्ञानिकहरूलाई विश्लेषण गर्न दिने हो भने उनीहरूले कृष्णमा बहुचित्तवान्, मल्टीसाइकिक सेजोफ्रेनिक व्यक्तित्व देख्लान् । ती कृष्ण कहिले परम आनन्दित हुन्छन् भने कहिले एकदम शान्त भइदिन्छन् । कहिले दुःखवादी देखिन्छन् भने कहिले एकदम हर्षवादी । यस्ता विरोधाभासी व्यवहार देखाउने मनलाई आधुनिक मनोविज्ञानले खण्डित चित्त या सेजोफ्रेनिक माइन्ड भन्दछ र रोगका रूपमा लिन्छ । तर, रुग्ण र विक्षिप्त मन कहिल्यै आनन्दित र परम् सृजनशील हुनै सक्दैन । त्यसैले कृष्णको व्यक्तित्व अबुझ र अपरिभाषित छ ।
कृष्ण शब्दको अर्थ हुन्छ त्यस्तो केन्द्र, जसले सबैलाई आकर्षित गर्छ । त्यसकारण कृष्णले जति कवि, कलाकार, लेखक, योगी, ज्ञानी, भक्तलाई आकर्षित गरेका छन्, त्यति अन्य कसैले गर्न सकेका छैनन् । विगत ५ हजार वर्षमा श्रीकृष्ण हिन्दू चित्तको परम आकर्षणका केन्द्र बनी बसेका छन् र यो आकर्षण अब हिन्दू चित्त र भारतखण्डमा मात्र सीमित छैन । गीता अनुवाद भई पहिलोपटक पश्चिममा पुग्दा पश्चिमी दार्शनिकहरू छक्क परे । ७ सय श्लोकभित्र जीवनमा उठ्न सक्ने समस्त प्रश्नहरू र तिनका उत्तर साथै समस्त दर्शनको सार निचोड त्यो पनि कुनै धर्म वा सम्प्रदायसँग नबाँधीकनै ‘नन सेकुलर’ स्वरूपमा ।
१९६५ मा पश्चिम बंगालबाट ६९ वर्षको वृद्धावस्थामा कृष्णको सन्देश लिएर अमेरिका पुगेका भक्तिवेदान्त स्वामी प्रभुपादले १२ वर्षभित्र ४ हजार गोरालाई दीक्षा दिई संसारभरि १०० भन्दा बढी कृष्ण भावना संघका मन्दिरहरू बनाउनुभयो । उहाँ अमेरिका पुगेको ५ वर्षभित्रै विश्वभरि नै कृष्ण चैतन्य आन्दोलनको नाम प्रख्यात भयो । संसारका सबै प्रमुख शहरहरूमा कृष्ण संकृतन गुन्जियो ।
यद्यपि अनेक सरकारहरूले यसलाई भित्रभित्रै रोक्न अनेक प्रयासहरू नगरेका होइनन् । तर, कृष्णको शिक्षणको आकर्षणले सबै सीमा तोडेर आफूलाई स्थापित गरेरै छाड्यो । यद्यपि प्रभुपादको पूरै हरे कृष्ण आन्दोलन गीतामा नभई भागवतमा आधारित छ । किनभने उहाँले हरेक व्यक्तिलाई सुरुदेखि नै कण्ठीधारी वैष्णव ब्रह्मचारी भक्त बनाउने चेष्टा गर्नुभयो, चियासम्म पिउन निसिद्ध गरिदिनुभयो । गीतामा आधारित दमनमुक्त उदात्त र उदार विचारहरूमा उहाँको शिक्षण आधारित भएको भए अहिले आधा विश्वले कृष्णलाई अपनाउने थियो ।
कृष्णको अर्को विशेषता के हो भने ५ हजार वर्षपूर्व जन्मिएर पनि उनले भविष्योन्मुखी शिक्षण गरे । आउने दिनमा धर्मले बाँच्नु छ भने साम्प्रदायिक संकीर्णताबाट मुक्त हुनैपर्छ ।
विशेषतः सिग्मन्ड फ्रायडपछि मनुष्य एक नयाँ आयाममा सोच्न विवश भएको छ । अब दमनवादी दर्शन धेरै दिन बाँच्दैनन् । दमनले विक्षिप्तता र कुरूपता मात्रै पैदा गर्छ । यस पृष्ठभूमिमा कृष्णको जीवन्त र समग्र स्वीकारको धर्म नयाँ सम्भावनाका रूपमा रहेको छ ।
अल्वर्ट स्वेत्जरले भारतमा प्रचलित धर्मको आलोचनामा एउटा महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्– भारतका सबै धर्म जीवन निषेधित छन् । यस कुरामा सच्चाइ छ, तर कृष्णका हकमा भने यो कुरा सरासर गलत हो ।
दुःखवादी धर्महरूको अथाह मरुभूमिमा कृष्ण टिमटिमाउँदा ओएसिस हुन् । सबै गम्भीर गुरुहरूका बीच नाचिरहेका कृष्णले मात्रै सुन्दरता र उल्लासलाई पूर्णरूपमा आत्मसात गरेको पाइन्छ । सुन्दर जीवन, सुन्दर वस्त्र, नाच, कीर्तन, ठट्टा, रोमान्स यी सब कृष्णलाई स्वीकार छन् । तर, कृष्णको बहुआयामिक व्यक्तित्वलाई कृष्णका भक्तहरूले पनि स्वीकार्न सकेका छैनन् । कृष्णमाथि जति लेखिएको छ र गीताको जति भाष्य गरिएको छ ती सबै एकांगी छन् । पूर्ण कृष्णलाई अहिलेसम्म ओशोसिवाय कसैले समेट्न सकेको छैन ।
गान्धी गीतालाई माता भनी पूज्छन् तर युद्धभूमिका कृष्ण उनलाई स्वीकार्य छैनन् । सुरदास बालकृष्णको गुनगान गर्छन्, युवा तर प्रेमी कृष्ण उनलाई पच्दैनन् । तिलक कर्मयोगी कृष्णलाई मात्र मान्छन् । जयदेवलाई प्रेमी र रसिक कृष्ण मात्र स्वीकार्य छन्, वैराग्यका प्रतीक कृष्ण उनलाई मान्य छैनन् । त्यस्तै स्वामी प्रभुपाद गीतालाई भक्तिशास्त्रका रूपमा मात्र चित्रण गर्छन्, सांख्यका कृष्ण उनलाई स्वीकार्य छैनन् ।
यसप्रकार कृष्णलाई समग्ररूपमा बुझ्नु सट्टा सबैले आफ्नो–आफ्नो रुझानमात्रै कृष्णमा देख्छन् । पहिलोपटक कृष्णको बहुआयामिक व्यक्तित्वलाई ओशोले बुझेजस्तो लाग्छ । उहाँद्वारा रचित साढे ६ हजार पृष्ठको विस्तृत गीता दर्शनमा मात्र श्रीकृष्णका सबै आयामलाई बुझेको र व्यक्त गरेको पाइन्छ ।
अर्काइभबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
जर्मन चान्सलर स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह
-
प्राड विवाक जर्नल विमोचन
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
दर्शकको ओइरो लागेपनि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो ?