शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : कृष्ण जन्माष्टमी

सनातन धर्ममा किन गरिन्छ श्रीकृष्ण चर्चा ?

बुधबार, २० भदौ २०८०, ११ : २६
बुधबार, २० भदौ २०८०

सनातन धार्मिक किताबहरूमा ‘कालरात्रि, महारात्रि, मोहरात्रि च दारुणा’ भन्ने श्लोक पढ्न पाइन्छ । यही मोहरात्रि हो भाद्र कृष्ण अष्टमीको रात । यढस रातमा द्वापर युगका श्रीकृष्ण जन्मभएका थिए रे भारतको मथुराको कंशको दरबारमा । भनिन्छ यदुकुलका वसुदेव–देवकीका सातौँ छोरा बलराम हुन् । देवकीमा रहेको सातौँ गर्भलाई रोहिणीमा सारेर शङ्कर्षण गरिएको अरे । 

कृष्ण देवकीको आठौँ गर्भ हुन् भनिन्छ । उनलाई त्यही रात गोकुलमा जन्मेकी नन्दबाबा–यशोदाकी छोरी योगमायासँग साटेको कुरा उल्लेख छ । त्यसै रात बालिका योगमायालाई पुनः मथुरा जेलमा ल्याएपछि देवकीको आठौँ सन्तानको जन्मभएको कुरा बाहिरिएको हो । सो काम र कुरा देवकी, नन्दबाबा र यशोधा कसैलाई पनि थाहा भएन । काम सकेपछि वसुदेवलाई पनि बिर्साइदिए भन्ने अनौठो प्रसङ्ग पनि छ । 

देवकीको  आठौँ गर्भबाट जन्मनेले कंसलाई मार्छ भन्ने आकाशवाणी भएको थियो । तर पनि कंशले पहिले जन्मेकालाई पनि (सातौँबाहेक) मारेको थियो । देवकीको आठौँ बच्चा जन्मेको कंसलाई थाहा भयो । जेलमा गएर हेर्दा बच्ची योगमायालाई देख्यो, मार्नलाई हातमा उठाउँदा आकाशमा उड्दै भनिन्, तँलाई मार्नेवाला गोकुलमा गइसक्यो । यति भनेर उनी आकाश मार्गबाट मन्दराचल पर्वत गइन् भन्ने भनाइ छ । 

श्रीकृष्ण विष्णुका आठौँ अवतार हुन् भनिन्छ । जसलाई प्रेमावतार पनि भनिन्छ । उनको जन्म समाजको अत्याचारी, अहङ्कारी, अधर्मी र अन्यायीे कंश जस्तालाई मारेर समाजमा न्याय, सदाचार, शान्ति र व्यवस्था कायम गर्न भएको भन्ने छ । 

बाल्यकालमा उनले गाईको गोठालो, साथीभाइका प्यारा, अनौठा र उदेकलाग्दा खेलहरू खेल्ने, छिमिकीहरूको दही चोरेर खाइदिने (मखनचोर), चिरहरण र त्यस्तै उरन्ठेउला लीलाहरू पनि गरे भनिन्छ । आपूmलाई मन लागेको काम गर्न नपाउँदा बाबा र आमाको काखमा लडिबुडी गर्थे रे कृष्ण । 

कृष्ण सानै उमेरको हुँदा नन्दबाबालाई यमुनाको कालीनागले बेपत्ता पारेकोमा उनले कालीयानाग दमन गरेर पुनः फिर्ता ल्याएका, गोभर्धन पर्वत उठाएका जस्ता धेरै प्रसङ्ग पाइन्छन् । यसपछि श्रीकृष्ण मनुष्य अवतारका भगवान हुन् थाहा भयो । हाम्रा शास्त्रमा उनका बाललीलाहरूको धेरै मनमोहक बयान छ । यस्ता अभूतपूर्व बाललीला हेर्न शिवजी पनि शिवानीका रूपमा गोकुलमा गएर हेरेका कथाहरू सुन्न पाइन्छ । 

ब्रज निवासी वृषभानु–कृतिकी छोरी (लक्ष्मीकी अवतार) राधा र श्रीकृष्णको प्रेमकहानी र गोपिनीहरूसँगको रासलीलालाई नमुनाका रूपमा लिइन्छ । गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षाबाट बचाएका कुराको स्पन्दन न कुनै शब्दमा व्यक्त गर्न सकिन्छ न लेख्न नै । केवल भावमा मनन गर्न मात्र सकिएला । 

राधा र गोपिनीसँगको प्रेमलीलालाई जोडेर कृष्णको प्रेमावतारको अनन्त गहिराइमा लगिएको छ । राधा र कृष्ण वा कृष्ण र राधाको सम्बन्ध केवल प्रेममय भाव र स्पन्दनका पाटा मात्र हुन् । जसरी पैसाका दुई पाटा अर्थात् सूर्य र प्रकाश, आदित्य र रस्मी जस्तै । त्यसैले राधा कृष्णजीको आत्माशक्ति (स्पन्दन) हुन् भने कृष्ण पे्रमाकार स्वरूप (शरीर या आवरण जस्तै) हुन् भनिन्छ । जसरी  उमा–महेश्वर, लक्ष्मी–नारायण, सीता–राम भनिन्छ जस्तै राधे–राधे वा श्यामा–श्याम भनिन्छ । हाल नेपालमा कृपालु महाराजका नेपाली प्रचारक हरिदासबाट श्यामा–श्याम धाममार्फत यसको व्यापक चर्चा र प्रचार भइरहेको छ ।  

यस्ता प्रेमका खानी बालक कृष्णलाई मार्न कंशले पुतनादेखि विभिन्न रूपका दैत्यहरू पठायो । तर कृष्णले ती सबैलाई समाप्त पारी अन्त्यमा अत्याचारी कंसलाई मारेर आफ्ना आमाबाबुलाई जेल मुक्त गरे । मामघरका हजुरबा (कंशको बुबा) उग्रसेनलाई पुनः राजगद्दीमा राखे । यसरी श्रीकृष्णले समाजमा धर्म, न्याय, शान्ति र व्यवस्था कायम गराए ।  

यादवकुलका कुलगुरु गर्गाचार्य, उनैबाट व्रतवन्ध गरी औपचारिक शिक्षा कृष्ण, बलराम, सुधामा सहितले सन्दिपनि ऋषिबाट लिए । उनीहरूले चौसट्ठी दिनमै चौसट्ठी कलायुक्त शिक्षा हाँसिल गरे । उनले गुरुदक्षिणा स्वरूप गुरुको हराएका छोरा पुनर्दत्तलाई ल्याइदिए रे । 

भनिन्छ, मानिसमा भन्दा देवताहरूमा धेरै कला अर्थात् गुण हुन्छन् । तर देवतामा पनि सबैमा सबै कला हुँदैनन् । भगवान् रामचन्द्रमा पनि साठी कला मात्र थिए । रामचन्द्रमा भन्दा कृष्णमा भएका बढी चार कलामा– रूपमाधुरी, वेणुमाधुरी, सौन्दर्यमाधुरी र पे्रममाधुरी हुन्  । यसैले उहाँलाई विष्णुका पूर्णावतार र प्रेमावतार भनिन्छ । 

जब कृष्णले वीणा वा बाँसुरी बजाउँथे तब राधा सामुन्ने खडा हुन्थिन् । कृष्णले कामोदकी गाना गाउँदै र बाँसुरी बजाउँदै रासलीला गरेका हुन् भन्ने कुरा उल्लेख छ । उनमा यस्तो माधुर्यता थियो, उनी केही बोलेपछि मान्छे मन्त्रमुग्ध भइहाल्थे रे । 

कृष्णका सोह्र सय श्रीमती थिए भनिन्छ । यस रहस्यको कुरा गर्दा त्यही समयमा कंश जस्तै अर्को नरकासुर नामको अत्याचारीले सोह्र सय राम्रा राम्रा युवतीलाई बन्धक बनाएकोमा कृष्णले छुटाइ दिएछन् । ती युवतीलाई घरमा नस्वीकारेपछि म स्वीकार गर्दछु भनेकाले तिनीहरू कृष्णका श्रीमती भएका हुन् भनिएको छ । यस कुरालाई लिएर समाजमा कसैले अफवाहका रूपमा व्याख्या गरेको पाइन्छ । तर त्यसो होइन । ती युवतीहरूलाई कृष्णले दोहोरो अत्याचारबाट मुक्त गरी आपूm न्याय र धर्मको उदाहरण बनेका छन् । 

कामको सिलसिलामा कृष्णका रुक्मिणी (लक्ष्मी) सहित आठवटा श्रीमती भएको वर्णन पाइन्छ । उनले धेरै श्रीमती लहडले ल्याएका होइनन् । त्यो समयमा ती महिला पात्रसँग मिलेर केही महत्त्वपूर्ण कार्य गर्नुपर्ने भएर हो भनेर बुझ्न सकिन्छ । 

कृष्णले कंसलाई मथुरामा मारेपछि उसको ससुरो जरासन्धले धेरै दुःख दिइरह्यो । त्यसैले यदुकुलका सबै मानिसलाई द्वारका बसाइसराई गराए । यसैले उनलाई रणोछोडदास पनि भनिन्छ । 

यसरी श्रीकृष्ण द्वारका गएपछि उनलाई द्वारकाधीश भनियो । श्रीकृष्णले काम गर्दै जाँदा पछाडि फर्केर कहिल्यै हेरेको पाइँदैन । उदाहरणका लागि उनले गोकुल छोडेदेखि कहिल्यै फर्केर गएनन्, लालनपालन गर्ने आमा यशोधालाई, ब्रजका गोपिनीहरूलाई र राधाबाट छुट्टिएपछि उनीहरूलाई व्यक्तिगत रूपमा फेरि कहिल्यै भेटेनन् भन्ने प्रसङ्ग आउँछ । 

यही समयमा हस्तिनापुरमा धर्म र अधर्म वा न्याय र अन्यायका विषयमा पाण्डव र कौरवबीच लडाइँ भयो । कृष्णले त्यो युद्धमा अर्जुनको सारथि बनेर भाग लिए । यसलाई महाभारतको लडाइँको नाम दिइयो । भनिन्छ यो युद्धमा पाण्डव र कौरवहरू पात्र मात्र हुन् । लड्ने, लडाउने, मर्ने, मार्ने र जित्ने, हार्ने सबै कृष्णकै खेल हो । किनभने यो धर्मयुद्ध थियो । धर्मले वा न्यायले जित्नुपर्ने थियो जित्यो । अधर्म, अन्याय, अत्याचारले हार्नुपर्ने थियो, हार्‍यो । 

हस्तिनापुरका राजसभाहलमा द्रौपदीको वस्त्रहरण भइरहँदा केही बोलेनन् । द्रौपदीले राजा धृतराष्ट्रदेखि गन्यमान्य सबैसँग गुहार मागिरहिन् । तर कसैले केही गरेनन् । दुःशासनले सारी तानिरह्यो । त्यो अत्याचारको पराकाष्टा थियो । अन्त्यमा केही सीप नलागेपछि द्रौपदीले कृष्णलाई गुहारिन् र द्रौपदीको लाज बच्यो । समाजमा यस्तै अत्याचारी कामबाट जोगाउनको लागि त हो रे नि त श्रीकृष्णको मनुष्य अवतार भएको । यसैले कृष्णलाई आदर्शवान् व्यक्तिका रूपमा लिइन्छ । 

यही लडाइँका क्रममा कृष्णको आदर्शले गीता लेखियो । जम्मा सात सय श्लोकको गीता, महाभारतको लडाइँ सुरु हुनुभन्दा ठीक पहिलो दुई सेनाबीचमा रहेर श्रीकृष्ण र अर्जुनको संवादका रूपमा आएको छ । संवादमा अर्जुनले लडाइँ गर्दिनँ भन्दा धर्म र न्यायका लागि युद्ध गर । तिमी निमित्त मात्र हौ, गर्ने मै हुँ भन्दै कृष्णले आफ्नो दिव्य स्वरूप देखाइदिँदा अर्जुनले दर्शन पाएको वर्णन पाइन्छ । 

त्यो दिव्य स्वरूप दुर्योधनले पनि पाएकै हो । तर कृष्णलाई नौटङ्की भन्यो । अहङ्कारी दुर्योधनलाई दिव्य स्वरूपको केही प्रभाव परेन । तर अर्जुनले यसलाई भगवानको शाश्वत एवं अनन्त स्वरूप माने भनेको पाइयो ।

गीता सनातनी विश्वासको सबैभन्दा सारगर्भित दार्शन हो । यसमा श्रीकृष्णले अर्जुनमार्फत समाजलाई आदर्श, अनुशासन र मार्गदर्शन दिएका छन् । यसैले उनीे धर्म र न्यायका प्रतिमूर्ति एवं विष्णुका पूर्णावतार मानिन्छ । यही कुरालाई मनन् गर्दै भीष्मपितामहले विष्णुसहस्रनाम लेख्नु भयो । 

हिन्दु धर्मका विभिन्न्न प्रकाशनहरूमा श्रीकृष्णसम्बन्धी धेरै भजन, कीर्तन, स्तुति, प्रार्थना, गुणगान लेखेको पाइन्छ । यहाँ प्रतीकात्मक रूपमा एउटा स्तुति र चतुश्लोकी कृष्णचरित्र हेरौँ । 

हे कृष्ण ! कमला पते यदुपते लक्ष्मी पते वन्दनम् । 

गोविन्दं गरुडाध्वजे गुणनिधे दामोदर माधवम् ।।

वसुदेव च देवकी अष्ट सुते यशोमती पालनम् । 

हत्वा कंश यथा आजाद मथुरा राधा गोपी प्रेमकम् ।।

माहाभारत युद्धका रचयिते पाण्डु सुते सारथी । 

वाचं दिव्योपदेश स्वै कुरुस्थले गीतार्जुनं भारती ।।

द्वारका पुरका समस्त भुवका प्रेमावताऽर्चनम् । 

हत्वा बाँण जराः वैकुण्ठ गमनं श्रीकृष्ण आराधनम् ।

इसा पूर्व पाँच सय वर्षपहिला जन्मेका बुद्ध, उनको धर्म प्रचारको क्रममा द्वापर युगका नायक कृष्णलाई बौद्धग्रन्थमा कान्हा भनिएको छ । त्यसै सिलसिलामा पाकिस्तानको मोहन्जोदरो विश्वविद्यालयको उत्खनन गर्दा त्यहाँ एक बालकले दुई रूख उखेलेको र दुई मानिस भएको मूर्ति पाइएको कुरा उल्लेख छ । यो प्रसङ्ग पनि कृष्णलीलासँग जोडिएको पाइन्छ ।

समाजलाई आदर्श र अनुशासन दिँदै गरेका कृष्ण द्वारकामा आफ्नो वंश नास गरी एक सय पच्चीस वर्षको उमेरमा पिपलको रूखमुनि आराम गर्दा जरा नामको व्याधाले छोडेको बाँण लागेपछि श्रीकृष्णले देह त्याग गरे ।

अन्त्यमा नेपालमा यो पर्व २०८० साल भाद्र २१ गते तदानुसार सेप्टेम्बर ७ मा परेको छ । यो पर्वमा नेपाली  समाजमा अधर्म, अन्याय, अत्याचार र अहङ्कार कतै नरहोस् भन्ने कामना गर्दै कृष्णलाई सम्झिँदै र उनैका गुणगानको चर्चा गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप