थारु समुदायमा अष्टिम्कीको अनुष्ठान
कृष्णजन्माष्टमीलाई थारु समुदायमा अष्टिम्की भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ ।
अष्टिम्कीमा व्रत बस्ने बिहान भाले बास्नु भन्दा पहिले डँट्कट्टन (दर खाने) खाइन्छ । यसका लागि अघिल्लो दिन नै माछा मारिन्छ । यदि कसैले भाले बासेपछि दर खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन ।
अष्टिम्की चित्र बनाउने व्यक्ति बिहानै नुहाई अघिल्लै दिन बजारबाट ल्याएको रङ्ग घोलेर ठिक्क पारेको हुन्छ । अष्टिम्कीमा घरको बहरी (पिँढी) को उत्तरपट्टिको भित्तामा हस्तचित्र बनाउने चलन छ, जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाइएका हुन्छन् । चित्र बनाउनुभन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता अघिल्लै दिन पोतेर उज्यालो बनाइएको हुन्छ । यस आलेखमा खास गरी अष्टिम्कीको अनुष्ठानबारे चर्चा गरिएको छ ।
अष्टिम्कीको अनुष्ठान प्रक्रिया
कुनै पनि अनुष्ठान सम्पन्न गर्न सहभागी चाहिन्छ । त्यसमा प्रस्तुतिको प्रक्रिया हुन्छ । अष्टिम्कीमा भित्ते चित्र बनाएर कृष्णको पूजा गरिन्छ । कृष्ण चरित्र काव्य वाचन गरिन्छ । यहाँ अनुष्ठान प्रक्रियाका बारेमा चर्चा गरिन्छ ।
सहभागीहरू
अष्टिम्कीको अनुष्ठानमा घरका सबै सदस्यहरूको सहभागिता रहन्छ । छुट्की (सानो) अष्टिम्की चित्रमा व्रत नबसेका केटाकेटीले चित्र बनाएर सहभागिता जनाउँछन् । महिलाहरू दुना, टपरी गाँस्ने, खाद्य सामग्री तयार गर्ने, पूजापाठ गर्ने काममा सहभागी हुन्छन् । पुरुषहरू अनुष्ठान सम्पन्न गर्न चाहिने सामग्री जुटाउन सहयोग गर्छन् । खास गरी युवाहरू अष्टिम्की पूजा गर्दा चढाइएका सामग्री प्राप्त गर्न सहभागिता जनाउँछन् । बूढाबूढीहरू अष्टिम्कीको वाचन गरेर सक्रिय सहभागिता जनाउँछन् । गाउँका बरघर (अगुवा) र उनकी श्रीमती अष्टिम्कीमा सबैभन्दा बढी व्यस्त हुन्छन् । कारण तिनकै घरमा पूजा गर्नका लागि अष्टिम्की चित्र बनाइएको हुन्छ ।
भित्ते चित्रको निर्माण
चित्र बनाउनुभन्दा पहिले विभिन्न रङ्गहरूको बुट्टाले मूला घेरा बनाइन्छ । अष्टिम्की चित्रको घेराभित्र पनि तीनवटा कोठा हुन्छ । त्यसको शीर्ष स्थानमा सानो कोठा हुन्छ, जसमा कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा पाँचदेखि सात वटासम्म विजोड संख्यामा चित्र बनाउन सकिन्छ । यसको कोठामा बनाइएका पुरुषाकृति कृष्णका विभिन्न रूप भएको मानिन्छ ।
बनाइएका चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, बन्दुक बोकेको तथा छाता ओढेको पाइन्छ । मादल र बाँसुरीले कृष्णले आफ्ना सोह्र सय प्रेमिकाहरूलाई मोहित पार्ने र नचाएको बिम्बको रूपमा बनाइएको भनाई छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको पनि चित्र बनाइएको हुन्छ ।
त्यसो त माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई पनि छ ।
बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति सङ्ख्या बराबर महिला आकृति बनाइन्छ । ती महिला आकृति द्रौपदीका प्रतीकको रूपमा बनाइएको भनाई छ । केहीले ती कृष्णकी सोह्र सय गोपिनीको प्रतीक पनि भन्छन् ।
सबैभन्दा तल्लो कोठा माथिको दुवै कोठाभन्दा ठुलो हुन्छ । यसमा अरू आकृति बरमुरुवा, डोली, हलो जोतिरहेको किसान, विभिन्न प्रकृतिसँग सम्बन्धित कजरीको वन, फुल, कमलको पात, डुङ्गा, माछा आदि आकृति बनाइएको हुन्छ ।
यसबाहेक काली नाग, कुकुर, हात्ती, घोडा, उँट, बाँदरलगायत जनावर मयुर, भालेजस्ता चराचुरुङ्गी लगायतका चित्र अष्टिम्कीमा स्थान पाएको हुन्छ । अष्टिम्कीमा गाइने गीतमा पनि यी जनावरको सन्दर्भ आएको छ ।
बर्का (ठुलो) र छुट्की (सानो) गरी अष्टिम्की चित्र दुई किसिमको हुन्छ । बर्का चित्रको छेउमै छुट्टै घेरामा छुट्की चित्र बनाइएको हुन्छ । दुबैमा चित्र उही भए पनि छुट्की अष्टिम्की चित्रमा सबै चित्रले स्थान पाउँदैनन् । यसमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अष्टिम्की चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ । दिनभरि भोकै व्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बालबालिकाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन् ।
कान्हाको पूजा
सूर्यास्तपछि अष्टिम्की बनाइएको घरमूली महिला (अगुन्याँ, महटिन्याँ) ले अष्टिम्की बनाएको पिढीलाई राम्ररी गाईको गोबरले लिपपोत गरी सप्तरङ्गी गुन्द्री बिछ्याउँछिन् । त्यहाँ गाउँका महिलाहरूले पूजा गर्न ल्याएका चामललगायत सामग्री राख्छन् । त्यस्तै आवश्यक अन्य सरसामान नौनी मिलाइएको सल्लाको धूप, सिन्दुर, लोटामा पानी र जरा सहितको दुई घोघा मकै अष्टिम्की बनाएको पश्चिमपट्टि राखिएको हुन्छ ।
साँझ परेपछि व्रत बस्नेहरू नयाँ लुगामा सजिएर अष्टिम्की बनाएको घरमा जान्छन् । उनीहरूको शृङ्गार अष्टिम्की काव्यमा राधाले शृङ्गार गरेभन्दा कम हुँदैन । साथमा थालमा एक माना चामल, हरियो काँक्रा, काँक्रा नभए, भोगटे, निबुवा, स्याउ लगायतका फलफूल, थालको चामलमाथि माटोको दियो पनि बालेका हुन्छन् । दियो घरको डेहुरार (पूजा कोठा) बाल्नु पर्छ ।
चित्र बनाइएको घरमा गाउँभरिका महिलाहरू जम्मा हुन्छन् । व्रतालु मात्रै नभएर त्यहाँ दर्शकहरूको पनि उस्तै भीड लागेको हुन्छ । घरमूली अगुन्याँले सुरुमा पूजा गर्छिन् । अष्टिम्कीको सबैभन्दा माथि कृष्णको चित्र बनाइएको हुन्छ । टिको लगाउने क्रम त्यहीबाट सुरु भई पुछारको चित्रबाट अन्त्य हुन्छ ।
टीका लगाइसकेपछि अग्यारी दिइन्छ । सल्लाको धूप, नौनी मिसाएर आगोमा हवन गर्ने प्रक्रियालाई अग्यारी भनिन्छ । अगियारीपछि लोटाको पानी विजोड पटक अगियारी क्षेत्रमा घेरो हालिन्छ, जसलाई पर्छना भनिन्छ ।
अष्टिम्कीमा टीका लगाउनुभन्दा पहिले आफूले ल्याएका चामल विछ्याइएको गुन्द्रीमा राख्छन् । चामलको छेउछाउमा काँक्रा र बीचमा दियो हुन्छ । गाउँका केटाहरू काँक्रा काट्न आएका हुन्छन् । पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पातसहित यथास्थानमा राख्छन् । काटिएका काँक्रा पूजा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन् ।
अष्टिम्कीको मूल गीत गायन
सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाइएको घर जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत गाउँदै रातभर जाग्राम बस्छन् । गीत प्रायः महिलाहरूले गाउँछन् । देउखुरी उपत्यकामा भने पुरुषहरूले पनि गीत गाउँछन् । यस अवसरमा कुनै प्रकारको नृत्य भने हुँदैन ।
यसमा सृष्टिको कथाबाट गीत गाउन सुरु गरिन्छ । दशैँमा सखिया नृत्य नगरिने गाउँमा अष्टिम्कीको गीत पहिलो दिन गाउन नसकिए दोस्रो, तेस्रो दिन जसरी भए पनि गाएर सकाउनु पर्छ । सखिया नाचिने गाउँमा भने कृष्णजन्माष्टमीको अवसरमा पहिलो दिन रातभरि जति गाउन सकिन्छ गाउने, बाँकी नसकिएको गीत दशैँमा सखियाको अवसरमा नाच्दा जहाँबाट गाउन टुङ्गिएको हो, त्यहाँबाट जोडेर गाउन सुरु गरिन्छ । यो देवी–देउताहरूको स्तुति गान भएकोले तिनको नाममा छाँकी (रक्सी) चढाएर मात्र गाउन प्रारम्भ गरिन्छ ।
गाउँका पाका अगुवा गायिकाहरू मोह्र्रिन्याहरूको अगुवाइमा अष्टिम्की गीत गाइन्छ । युवतीहरूले स्वरमा स्वर मिलाएर साथ दिन्छन् । तोरीको तेल राखिएको माटोको दियोको मधुर उज्यालोमा झुम्दै गाइने भएकोले कारुणिक लयले सबैलाई तान्छ । गीत स्थानअनुसार फरक भए पनि सबै क्षेत्रमा सृष्टिकै कथाबाट अष्टिम्की गीतको सुरुवात हुन्छ ।
११ पहिल ट सिरि जल ढरटि मडागिन
१२ सिरि जि ट गइल कुस कहि र डाभ
१३ सिरि जि ट गइल कुस कहि डाभ
१४ सिरि जि ट गइल रि अन्न र पुरुस
नेपाली रूपान्तर
११ पहिले सिर्जना भइन् धरती माता
१२ सिर्जियो है कुशको टुप्पो
१३ सिर्जियो कुशको अंकुर है
१४ सिर्जिए अन्न है पुरुष
कृष्ण चरित्रको प्रस्तुति सामूहिक रूपमा गरिन्छ । पहिलो प्रस्तुति साउन भदौमा पर्ने अष्टिम्की (कान्हा जन्माष्टमीमा) गरिन्छ । दिनभरिको निराहार व्रत फुकाएपछि अष्टिम्की चित्र पूजा गरिएको घरमा महिलाहरू दुई समूह भइ अष्टिम्की गीतको वाचन गर्छन् । यसमा कुनै वाद्यवादनको प्रयोग हुँदैन । हेर्न आउने सहभागीहरूले पनि स्वर मिलाई साथ दिन्छन् ।
अष्टिम्कीको मुख्य वाचकले वाचन गरिसकेपछि दुई समूहमा रहेका सहभागीहरूले पालैपालो दोहोर्याउँछन् । मुख्य वाचक रहेको समूहले वाचन गरेपछि दोस्रो समूहले वाचन गरिरहेकै समयमा मुख्य वाचकले अर्को चरणको वाचन सुरु गरिसक्छ ।
सहभागीहरू गुन्द्रीमा वर्गाकार बसाइँमा बसेका हुन्छन् । सहभागीहरूले सकेसम्म स्वर तान्ने प्रयास गर्छन् । वाचनको पूर्वार्द्ध वा उत्तरार्द्ध सबै भाग दोहोर्याएर गाइन्छ । व्रत तोडेर बेलुकी वाचन गर्ने बसेका सहभागीहरू बिहान पूजा गर्ने टोली आएपछि त्यो दिनको गीत टुङ्ग्याउँछन् । अर्को दिन बेलुकी पुनः सुरु गर्छन् । अष्टिम्कीको गीत सबै वाचन गरेर सकाउनुपर्छ,
फलाहार भोजन
अष्टिम्की विशेष गरेर फलाहार पर्व भएकोले यसमा पहिलो दिन फलफूल मात्रै खाइन्छ । जब पूजा सकेर व्रतालुहरू घर फर्किएपछि खानुभन्दा पहिले पनि पूजा गर्नुपर्छ । खाने ठाउँमा गाईको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अग्यारी दिइन्छ । अग्यारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट थोरै निकालेर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ । पर्छने कामपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकालिन्छ । फलाहार भोजनमा काँक्रा, केरा, अम्बा, स्याउलगायत फलफूल तथा दही, दूध लगायत हुन्छ ।
अस्राई जैना (विसर्जन प्रक्रिया)
बिहान भाले बासेपछि अष्टिम्की चित्र बनाइएको घरकी अगुन्याले अष्टिम्की चित्रको डोलीमा बनाएको अपूर्ण कान्हालाई पूर्णता दिन अरुकै बारीको कंैठा (चिचिण्डो) चोरेर ल्याउनुपर्छ । चोरेर ल्याएको कैंठाको पूजा गरेर पूर्ण भएपछि कृष्णको जन्म भएको मानिन्छ ।
महिलाहरूले एकाबिहानैदेखि अष्टिम्की विसर्जनका लागि टपरी तयार पार्छन्, जुन साधारण टपरीभन्दा विशेष प्रकारको हुन्छ । टपरीमा पातकै पाँच या सातवटा दीयो जोडिएको हुन्छ । अघिल्लो दिन बिहान सबै जम्मा भइसकेपछि आफ्नो चामलमाथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दीयो बाल्छन् ।
अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरू पनि सँगै घाट, नदी, कुलामा विसर्जनको लागि लाग्छन् । यस विधिलाई अस्राई जैना भनिन्छ ।
बिहान सूर्य उदाएसँगै अघिल्लो दिन पूजा गर्नेहरू पूजास्थलमा जम्मा भई टपरीको फुल, दीयो, काँक्रा, निबुवाको भेट्नो आदि लिएर स्थानीय नदी घाटमा विसर्जन गर्न जान्छन् । त्यस अवसरमा पनि गीत गाइन्छ ।
१३६१ रसकन नेंगहो रि बहिनी मुरिया हिलइहो
१३६२ मांग कहि सेन्डुरा मरइहो रि झलका
१३६५ रसकन नेंगहो रि बहिनी भाउ मटकइहो
१३६६ माठ कहि टिकुली मार रे झलका
नेपाली रूपान्तर
१३६१ यसरी हिँड्नु है बहिनी टाउको हल्लाउनु
१३६२ मांगको सिन्दुर चट्ट झल्कियोस्
१३६५ यसरी हिँड्नु है बहिनी आँखीभौं मट्काउनु
१३६६ माथको टीका (विन्दी) चट्ट झल्कियोस्
यस प्रसंगमा आउने गीतमा थारु महिलाहरूले लगाउने जम्मै गहनाबारे वर्णन हुन्छ । प्रस्तुत गीत राधा आफ्ना सखीहरूसँग दही बेच्न जाँदा उनीहरूलाई निर्देशन दिने सन्दर्भमा पनि आउँछ । यहाँ भने अष्टिम्की पूजा विसर्जनको अगुवाइ गरिरहेकी महटिन्याले हिँडाइको निर्देशन दिन्छिन् । गीतमा अरू पनि सन्दर्भ पनि थपिन्छ ।
एरिया न नेंगल बहिनी परोगिया न नेंगल
ठाँव ठाँव बहिनी परगा नमा
परगा मारि र बहिनी एकसुर नेंगल
कइलि लडिया बहिनी भइ रि गइल ठार
हाँठमसे उटारल बहिनी टेपरिक फुलवा
टेपरिक फुलवा रि बहिनी करो असरान
अर्थात् हिँड्दै बहिनीहरू नदीघाट पुगे । टपरीको फुल सेलाए । शरीरको लुगा खोली ढिकमा राखेर नदीको बीचमा आफ्नो शरीरसँग खेल्दै मन लागुन्जेल नुहाए । नुहाइवरी लुगा लगाइ हातमा लोटाको पानी लिई घरतर्फ आए ।
पूजा विधि सेलाएर आउने सदस्यहरू घर फर्किँदासम्म भोजन तयार भइसकेको हुन्छ । चेलीबेटीहरूलाई अग्रासन (कोशेली) दिन टाढा टाढा जानुपर्ने भएकाले पूजा विधि सेलाएर आउने सदस्य आएलगत्तै बिहानको फरहार (भोजन) गर्छन् ।
फरहार
पूजा विसर्जनपछि आ–आफ्नो घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको गेडागुडी, सुकेको माछा, भात तयार गर्छन् । सबै पकवान तयार भएपछि ‘फरहार’ गर्छन् । फरहारको शाब्दिक अर्थ फलाहर भए पनि बिहानको खानामा दाल, भात, तरकारी हुन्छ । फरहार गर्ने बेला पनि साँझमाझैँ खानुअघि अग्यारी दिई आफ्नो चेलीबेटीको लागि अग्रासन निकाल्ने चलन छ ।
अग्रासन (कोशेली)
चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ । बिहानको फरहार खाएर सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने गर्छन् । धेरै दिनपछि दिदी बहिनीहरूसँग दाजु भाइहरूको भेटले सद्भाव, आत्मीयता बढाउँछ । चेलीहरू आफ्नो दाजुभाइलाई मीठो मीठो परिकार ख्वाइ सम्मान गर्छन् । यस भेटघाटलाई मनमा लागेको पीर–व्यथा सुन्ने सुनाउने अवसरको रूपमा पनि लिइन्छ ।
यसरी विधिवत् रूपमा अष्टिम्की पूजा सकिन्छ । हिजोभन्दा आज अष्टिम्की मनाउने विधिमा धेरै फेरबदल भइसकेको छ । अरू चाडपर्वजस्तै यो पर्व पनि विकृत बन्दै गएको छ । धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा मँहगो पेय पदार्थ, मौलिक परिकारभन्दा बाह्य परिकार बनाउने चलन बढेको छ ।
र, अन्त्यमा
थारु समुदायमा कृष्णजन्माष्टमी अर्थात् अष्टिम्कीमा मात्रै कृष्ण चरित्र समेटिएको गीत छैन । अन्य विविध समय र अवसरमा पनि कृष्ण चरित्रको गीत विविध विधामा पनि आउँछ । राना थारु समुदायमा गाथाको रूपमा मात्रै होइन, होलीमा महिना दिनसम्म कृष्ण चरित्रको गीत गाइन्छ । त्यस्तै, डंगौरा थारु समुदायमा चैत वैशाखमा गाइने सजना गीतमा पनि कृष्ण महिमा हुन्छ ।
उता, पूर्वी थारु समुदायमा बाह्रमासा गीत, मलार गीत, बिरहैन गीत, सोहर गीतदेखि हरिबोधिनी एकादशीमा समेत कृष्ण चरित्र समेटिएको गीत गाइन्छ । यसरी थारु समुदायमा कान्हा चरित्र निकै फैलिएको देखिन्छ । थारु समुदायमा कान्हा मात्र यस्ता पात्र हुन्, जसको महिमा चित्र बनाएर गाएर अनि नाचेर गरिन्छ ।
गीतमा कृष्ण चरित्रलाई थारु लोकरचियताहरूले आफ्नो समुदाय अनुकूल अनुकूलन गरेका छन् । हलो बनाउन काठ काट्न वन जानेदेखि खेतीपातीको प्रसंगमा कान्हाका बाबुलाई हलो जोतेको सम्म देखाइएको छ ।
कान्हाकी आमालाई खाजा दिन खेतमा पठाइएको छ । यसरी कृष्णजन्माष्टमीकै दिन पर्ने थारु समुदायको अष्टिम्की अनुष्ठान मौलिकताले भरिपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै