माओवादी सांसद राईले मागिन् गाई–गोरु बध गर्ने कानुन, सदभाव नभड्काउन अन्य सांसदको प्रतिवाद
![माओवादी सांसद राईले मागिन् गाई–गोरु बध गर्ने कानुन, सदभाव नभड्काउन अन्य सांसदको प्रतिवाद](https://npcdn.ratopati.com/media/news/durga-rai_wF7SzHhLoL.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई–गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको टिप्पणी गरिन् ।
सांसद राईले भनिन्–‘संविधानमा धर्मनिरपेक्ष लेखियो तर ऐनहरु बनाउने बेला त्यसलाई काट्ने काम भयो । धर्म निरपेक्षता भनेको राज्यको धर्म हुँदैन भन्ने हो तर सदनमा ठूलो ठूलो स्वरमा संविधानमा नलेखिएको विषयहरु उठाइन्छ सांसदहरुबाट । यो समिति सानो संसदपनि भएको हुनाले यहाँ आपत्ति पनि जनाउन चाहन्छु ।’
उनले गाईगोरु बधको कानुन बनाउन समितिमा छलफल गर्नुपर्ने बताइन् ।
सांसद राईले भनिन्–‘हामीले गाईलाई राष्ट्रिय जनावर बनायौँ, गाईलाई कसैले पूजा गर्छ, हाम्रो मुन्धुममा गोरुलाई नचढाइकन पूजा नै हुँदैन । त्यसमा पनि माले गोरु, माले बाच्छालाई पूजा गर्यो भने हाम्रो मुन्धुमको पितृहरु खुसी हुने भएकोले यो विषयमा हामीले छलफल गर्नुपर्छ ।’
उनले संविधानमा वञ्चित गरिएको कुराहरु सदनमा उठाउन किन दिइन्छ ? भन्दै प्रश्न गरिन् । गाई गोरु बध गर्न नदिएपछि मुन्धुममा गोरुको हड्डी राखेर उँधौली र उभौलीमा पूजा गर्ने गरेको उनले बताइन् ।
उनले प्रश्न गरिन्–‘धर्म निरपेक्षता भनेको के हो ? परिभाषा कसरी गरिएको छ ? त्यसैले ऐन बनाउने र सुशासन कायम गर्ने हाम्रो यो समिति भएकोले यो बारेमा ऐन बनाउँदा विचार गर्नुपर्छ, यो बारेमा बहस चलाउनुपर्छ । धरानमा अहिले सदभाव भड्किएको छ, राई लिम्बु मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गर्दै हिँडेको छ, नारा लगाइएको छ । के हामी धरानका राई लिम्बुहरु भाग्नुपर्ने हो ? यही हो हामीले संविधानमा लेखेको कुरा ? अब ऐनमा यस्तो व्यवस्था हुनुपर्छ पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गर्न पाउनेले काटेर हाम्रो पितृहरुलाई बुझाउन पाउनुपर्छ भन्ने ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’
सामाजिक सद्भाव नभड्काउन अन्य सांसदहरुको आग्रह:
सांसद राईले बोलेपछि बोल्ने सांसदहरुले सामाजिक सदभाव भड्किने कुरामा विचार गर्नुपर्ने जोड दिए ।
कांग्रेस सांसद इन्दिरा प्रसाईँले भनिन्–‘धेरै अगाडि बीपी कोइरालाले भन्नुभएको थियो, कुनैपनि दिन यो देशमा धार्मिक आन्दोलन र जातीय दंगा नहोस है भन्नुभएको थियो । यो भनेको धेरै चिन्ताजनक कुरा हो । जातीय दंगा र धार्मिक कुरा गर्न धेरै सजिलो हुँदैन । त्यसकारण यो कुरामा हामी सांसदजस्तो मान्छेले बोल्दा धेरै संयम र धैर्य भएर जनतालाई भन्नुपर्छ र संयम भएर जानुपर्छ । हामीले हेर्यौँ नि मणिपुरमा कस्तो ठूलो दंगा भयो । यसमा हामी अलिकतिपनि संयम भएनौँ भने देश कतातिर जाला ।’
यस्तै सांसद अम्बिका बस्नेतले नेपाल सबै जातीहरु मिलेर बसेको देश रहेको बताउँदै हिजो हिन्दू राज्य भएकोमा आज धर्मनिरपेक्ष भएको बताइन् । उनले एक अर्को धर्मप्रति हिजोपनि सौहार्दता रहेको र आजपनि कायम गर्नुपर्ने बताइन् ।
उनले भनिन्–‘हरेकलाई आफ्नो धर्मप्रति उत्तिकै माया र सद्भाव छ । तर हिजो कसरी हामीले आफ्नो धर्म मानेका थियौँ, आज नयाँ धर्म परिवर्तन गरेर यो वातावरण सिर्जना भएको त हैन ? हिजो आफ्नो तरिकाले मान्दै आएको अवस्थामा आज विज्ञापन नै गर्नुपर्ने अवस्था किन आयो ? आज यो जुन किसिमको यो वातावरण बनेको छ, यो विज्ञापन नै गर्ने किसिमको वातावरणले आज हामीलाई यस्तो बनाएको छ । त्यसकारण हामी यो विषयमा जिम्मेवार हुनुपर्छ । यदि हामी जिम्मेवार भएनौँ भने जात जातीका नाममा धर्मका नाममा हामी विभाजित हुन थाल्यौँ भने हाम्रो यस्तो सुन्दर देश के होला ?’
यस्तै सांसद ईश्वरीदेवी न्यौपानेले संविधानमा लेखिएको विषयको आधारमा समाज भड्काउन खोजिएको बताइन् । उनले नेपालमा १३१ भाषाभाषी र १४२ जातजातिको एकताबद्ध देश रहेको बताउँदै पछिल्लो समय सदभाव भड्काउने गतिविधि भइरहेको बताइन ।
उनले भनिन्–‘सदियौँदेखि जे परम्परा चलिआएको छ त्यहाँ विवाद नहुने, यहाँ हामी सबै धर्मका छौँ । बौद्ध धर्महरुलाई मन नपर्ने चिज मैले उहाँहरुकोमा गएर त्यो आधारमा गरिदिने हैन नि ।’
उनले सामाजिक सदभाव कायम राख्नुपर्ने कुरामा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी