सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
कथा

कविताको अपहरण !

मङ्गलबार, १९ भदौ २०८०, १२ : १५
मङ्गलबार, १९ भदौ २०८०

 

लक्ष्मीप्रसाद नाम भए पनि निर्धन थिए उनी । लक्ष्मीप्रसाद कवि थिए । उनले झन्डै एक सय कविता रचना गरेका थिए । कवितामा देशको अग्रगामी रूपान्तरणको विषय उठाउँथे लक्ष्मीप्रसाद । उनका कविता धारिला हुन्थे ।    

कहानी सशस्त्र द्वन्द्वकाल हुँदै अघि बढ्छ । सरकार र विद्रोही पक्ष आमनेसामनेको लडाइँ लडिरहेका थिए । दुवैले एकअर्कोमाथि ज्यादति गरेका समाचार प्रशस्तै सुनिन्थे ।  

विद्रोही पक्षले प्रहरी चौकी जलाएको भोलिपल्टको कुरा हो । सार्वजनिक मञ्चबाट कविता सुनाउँदै थिए लक्ष्मीप्रसाद । ‘भोक र क्रान्ति’ कविताको शीर्षक थियो । ‘सत्ताधारीहरू हो ! नागरिकका पेटमा दन्केको आगो समन गर । अन्यथा जनविद्रोह निश्चित छ । जनविद्रोहले वादशाहलाई घोडाबाट खसालेर सडकमा पछारिदिनेछ ।’ कविताको भावार्थ यस्तै थियो । लक्ष्मीप्रसादले आधाआधी कविता वाचन गरेका थिए, दर्शकदीर्घाबाट आक्रोशपूर्ण आवाज आयो । ‘उग्रवादी होसियार !’ तथापि लक्ष्मीप्रसाद रोकिएनन् । लगत्तै दर्शकदीर्घाबाट अर्को चेतावनी विष्फोट भयो । ‘आततायी आउट ! उग्रवादीलाई गिरफ्तार गर् ।’ लक्ष्मीप्रसाद त्यसपछि पनि रोकिएनन् । त्यतिकैमा उनीमाथि जुत्ता प्रहार भयो । 

तब लक्ष्मीप्रसादले कविता वाचन गर्न छोडे । आयोजक सचेत देखिए । सम्भावित दुर्घटनालाई मध्यनजर गरी उनीहरूले लक्ष्मीप्रसादलाई कार्यक्रमस्थलबाहिर लिएर गए । उनी सार्वजनिक बस चढ्नै लागेका थिए । कसैले पछाडिबाट पाखुरामा च्याप्प समायो । समाउने व्यक्ति सरकारी सुरक्षाकर्मी थियो । लक्ष्मीप्रसाद हिरासतमा पुर्‍याइए । 

रातको १२ बजे वरिष्ठ र कनिष्ट सुरक्षाकर्मी हिरासत कक्षमा प्रवेश गरे । कनिष्टको  हातमा घन थियो । घन देखेर सशङ्कित भए लक्ष्मीप्रसाद । वरिष्ठले चाहिँदा नचाहिँदा प्रश्न सोध्न सुरु गर्‍यो ।

‘जनविद्रोह निश्चित छ । जनविद्रोहले वादशाहलाई सडकमा पछारिदिनेछ ।’ तेरो कविताको भाव त्यही थियो हैन त ?’ सोध्यो उसले । लक्ष्मीप्रसाद बोलेनन् । ‘बोल न, किन बोल्दैनस् !’ थर्कायो उसले । लक्ष्मीप्रसादले मरिगए मुख खोलेनन् । 

‘बन्द मुख कसरी खोल्नु पर्छ, मलाई थाहा छ । हवलदार, यसका खुट्टा तन्काएर सीधा पार् ।’ आदेश दियो वरिष्ठले । हवलदार ‘हस् साप’ भन्दै आदेश पालनामा जुट्यो । सबैभन्दा पहिले उसले लक्ष्मीप्रसादको हात डोरीले बाँधिदियो । वरिष्ठले लक्ष्मीप्रसादका दुई खुट्टा बुटले थिचेर सीधा पार्‍यो । ‘अब कविजीलाई दस तोपको सलामी अर्पण गर् !’ उसले फरमान जारी गर्‍यो । हवलदारले कुरा बुझिसकेको थियो । उसले लक्ष्मीप्रसादका घुँडामा पाँच पाँच घन जोडले हिर्कायो । ‘ऐय मरेँ’ लक्ष्मीप्रसाद चिच्याए । प्रहारबाट लक्ष्मी प्रसादको घुँडादेखि तलको हड्डी धुजाधुजा भयो । उनी बेहोस भए । बेहोसीमै अस्पताल पुर्‍याइए ।  

अस्पतालमा लक्ष्मीप्रसादको खुट्टाको शल्यक्रिया गर्ने तयारी भयो । प्रयोगमा आउन नसक्ने ठहर भएपछि उनका दुवै गोडा काटिए । दुई महिना लामो उपचार चल्यो । त्यही क्रममा ‘अभियोग प्रमाणित हुन नसकेको’ भन्दै अदालतले लक्ष्मीप्रसादलाई सफाइ दियो । लक्ष्मीप्रसाद विकलाङ्गमा रूपान्तरित हुँदै घर फर्किए । ह्विल चियर उनको जीवनको अभिन्न अङ्ग बन्न थाल्यो । 

उल्लेखित दुःखद परिणतिपछि लक्ष्मीप्रसादले कविता लेख्न छोडिदिए । परन्तु उनमा आफूले लेखेका कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने रहर चाहिँ थियो । तर विद्रोहको बिगुल फुक्ने उनका कविता छापिदिने कस्ले ? छाप्नेले पनि ठूलै जोखिम मोल्नु पर्दथ्यो ।  

समय बित्दै गयो । 

त्यति बेलासम्म देशमा लोकतन्त्र स्थापना भइसकेको थियो । यस्तैमा छक्कबहादुर नाम गरेको व्यक्ति लक्ष्मीप्रसादको जीवन कथामा आबद्ध हुन आइपुग्छ । छक्कबहादुर र लक्ष्मीप्रसादबीच सामान्य चिनाजानी थियो । लक्ष्मीप्रसाद उत्कृष्ट कविता लेख्छन् भन्ने छछक्कबहादुरलाई थाहा थियो । छक्कबहादुर चल्तापुर्जा व्यक्तिमा गनिन्थ्यो । त्यसमाथि सत्तारूढ दलको जल्दोबल्दो कार्यकर्ता थियो ऊ । छक्कबहादुर लक्ष्मीप्रसादलाई भेट्न उनको घर पुग्यो । भेटमा छक्कबहादुरले लक्ष्मी प्रसादको कविता सङ्ग्रह प्रकाशनको सन्दर्भ उठायो । 

‘तपाईंको कवितामा युगको आवाज छ । तपाईंका कवितामा केन्द्रीकृत राज्यसत्ताले सीमान्तकृत बनाएका, शोषित, पीडित अनि पहिचानको खोजिमा रहेका निरिह नागरिकहरूको अनुहार देखिन्छ । हजुरको कवितामा देशको अग्रगामी रूपान्तरणको मार्गचित्र पनि छ । कवितामार्फत उल्लेखित विषय उठाएकै कारण राज्यको कोपभाजनमा पर्नुभयो । घुँडाको हड्डी धुजाधुजा पारिए । अरूले जे सोचुन्, मेरो विचारमा तपाईं युगको शङ्खघोष हुनुहुन्छ । तपाईंका कवितालाई राष्ट्रले सम्मान गरोस् भन्ने जोडदार माग गर्दछु म । त्यसको थालनी यहाँले लेख्नुभएको कविता सङ्ग्रह प्रकाशित गरेर गर्न सकिन्छ । अनुमति दिनुहुन्छ भने म तपाईंको कविता सङ्ग्रह प्रकाशित गरिदिन चाहन्छु ।’ छक्कबहादुरले भनाइ राख्यो । लक्ष्मीप्रसादलाई पनि ‘ढुङ्गा खोज्दा देवता मिलेजस्तो’ लाग्यो । उनले बिना आनाकानी कविता सङ्ग्रह प्रकाशन गर्न दिने सहमति जनाए । 

देशमा छक्कबहादुर संलग्न दलले सरकार सञ्चालन गरेको थियो । सरकारले लिने निर्णयहरूमा छक्कबहादुरको प्रत्यक्ष–परोक्ष प्रभाव रहन्थ्यो । उद्योगी–व्यापारीहरू पक्षमा निर्णय गराउन छक्कबहादुरको सहारा लिन्थे । यही परिस्थितिमा छक्कबहादुरले राजधानीको एक पब्लिकेसन हाउसलाई लक्ष्मीप्रसादको कविता सङ्ग्रह प्रकाशित गरिदिन अनुरोध गर्‍यो । त्यसको चानचुन पन्ध्र दिनमा कविता सङ्ग्रह प्रकाशित पनि भयो । उल्लेखनीय कुरा त यो भयो कि, प्रकाशनको छोटो अवधिमै कविता सङ्ग्रहले पाठक बजारमा तहल्का मच्चायो अर्थात लक्ष्मीप्रसादको कविता सङ्ग्रह बजारको ‘हटकेक’ ठहरियो ।

किन्तु कविता सङ्ग्रह प्रकाशनमा एउटा गम्भीर त्रुटि देखिन्थ्यो । कविता सङ्ग्रहका रचयितामा लक्ष्मीप्रसादको नाम उल्लेख हुनुपर्नेमा छक्कबहादुरको नाम थियो । लक्ष्मीप्रसादले त्यस विषयमा छक्कबहादुरको ध्यानाकर्षण गराएका पनि हुन् । ‘गल्तिप्रति सार्वजनिक क्षमायाचना गर्ने र कविताको दोस्रो संस्करण लक्ष्मीप्रसादको नाममा निकाल्ने’ सहमति भएको पनि हो । तर छक्कबहादुरले सहमतिको पालना गरेन । 

मनमुटाव उत्कर्षमा पुगेकै बेला कविता सङ्ग्रहले देशको सबैभन्दा ठूलो सरकारी पुरस्कार पाएको समाचार सार्वजनिक भयो । जनसञ्चारका माध्यमहरूले ‘छक्कबहादुर लिखित कविता सङ्ग्रहले वर्षको सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार हातपारेको’ समाचार सम्प्रेशित गरे । समाचारपछि लक्ष्मीप्रसादभित्र क्रोधको ज्वाला दन्किन थाल्यो । उनले छक्कबहादुरसँग गम्भीर असहमति जनाए । ‘चौबीस घण्टाभित्र पत्रकार सम्मेलनमार्फत यथार्थ सार्वजनिक नगरे कानुनी उपचारमा जाने’ चेतावनी दिए ।  

चेतावनी दिएको एक–डेढ घण्टापछिको कुरा हो, कालो पोसाक, अनुहारमा कालै नकाव पहिरिएका चार जना व्यक्ति लक्ष्मी प्रसादको घरभित्र छिरे । घरमा लक्ष्मीप्रसाद एक्लै थिए । नकावधारीहरूले उनको मुख र आँखामा पट्टी बाँधिदिए । त्यसपछि अज्ञातस्थलतर्फ लिएर गए । 

एक हप्ता बित्यो ।

शनिबारको दिन थियो । सिटीहलमा छक्कबहादुर  पक्षधरहरूले अभिनन्दन समारोह आयोजना गरेका थिए । सिटीहलको  कुनाकुना फ्यानहरूले भरिभराउ थियो । फ्यानहरू छक्कबहादुरले देशकै ठूलो पुरस्कार हात पारेकामा हर्षोल्लास व्यक्त गरिरहेका थिए । सिटीहल ताली र सिट्ठीको गड्गडाहटले कम्पाएमान थियो । ‘छक्कबहादुर हाम्रा सान । एसियाकै महान् !’ उनीहरू नारा लगाइरहेका थिए । 

दुई घण्टाको अन्तरालपछि कार्यक्रम समापन भयो । छक्कबहादुर खादा, मालासहित सिटीहलबाट बाहिर निस्कियो । ऊ गाडीतर्फ लम्किँदै थियो । मौकाको पर्खाइमा रहेको खोज पत्रकार निरज छक्कबहादुरको पछिपछि दगुर्‍यो । निरजसँग केही प्रश्नहरू थिए । उसले हतार हतार सोधिहाल्यो–

‘मान्छेहरू भन्छन् तपाईंले हात पार्नुभएको राष्ट्रिय पुरस्कारको हकदार तपाईं नभै कवि लक्ष्मीप्रसाद हुनुहुन्थ्यो । कविता सङ्ग्रह तपाईंको नभई लक्ष्मीप्रसादको थियो ! तपाईंले त्यसलाई षड्यन्त्रपूर्वक आफ्नो बनाउनुभयो । बीउ रोप्ने कालु, मकै खाने भालु !’ भनेजस्तै गरी ! यसमा छक्कबहादुरजीको के भनाइ छ ?’ पत्रकार निरजले प्रश्न राख्यो । 

प्रश्न सुनेर छक्कबहादुर रन्थनियो । उसमा पत्रकारको सामना गर्ने हिम्मत आएन । भूमिगत व्यवसायी छक्कबहादुरलाई पर्खिरहेको थियो । ऊ हतारहतार व्यवसायीको गाडीभित्र छिर्‍यो । 

पत्रकार निरजले राति अबेरसम्म बसेर छक्कबहादुरले पाएको राष्ट्रिय पुरस्कार, सिटीहलमा आयोजित  अभिनन्दन समारोह, कवि लक्ष्मीप्रसाद बेपत्तालगायतका विषय समेट्दै आलेख तयार पार्‍यो । अनि ‘कविताको अपहरण !’ आलेखमा शीर्षक दियो । 

हुन पनि उक्त अपहरण व्यक्तिको भन्दा पनि आमूल रूपान्तरणकारी कविताको अपहरण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश तिवारी
प्रकाश तिवारी
लेखकबाट थप