कमेडियन सुन्दरको चर्चा : ‘चिप्ल्याउने अंकल’देखि ‘स्वामी हरिदास’सम्म

काठमाडौँ । भाषण गर्दा कहिलेकाहीँ नेताहरूको ‘टङ स्लिप’ हुन्छ, जसले गर्दा उनीहरू अनावश्यक विवादमा फस्छन् । अर्थात् कुरा चिप्लिदा उनीहरू विवादमा पर्छन् । हाम्रा सेलिब्रेटीहरू भने टेलिभिजन अन्तर्वार्तामा चिप्लिएको बिषयले बेला बेलामा कलाक्षेत्र गर्माउँदै आएको छ ।
सेलिब्रेटीलाई अन्तर्वार्तामा चिप्ल्याउन माहिर छन्, पत्रकार प्रकाश सुवेदी । त्यो चिप्ल्याउने प्रस्तुति सधँै फाइदाजनक मात्र हुँदैन, कहिलेकाहीँ महँगो पनि सावित हुन सक्छ । त्यस्तै, नियति सायद प्रकाश सुवेदी भोग्दैछन् । किनकि, उनको अन्तर्वार्ता शैलीमा ‘चिप्ल्याउने प्रस्तुति’ कमेडीको बिषय नै बनाएर प्रस्तुति दिइरहेका छन् कमेडियन सुन्दर खनाल ।
खनालले सुवेदीको कार्यक्रम प्रस्तुति शैलीलाई कमेडी कार्यक्रमदेखि जाइजात्रे प्रस्तुतिसम्म बिषय बनाएका छन् । अहिले जारी ‘८० सालको गाईजात्रा’ कार्यक्रममा पनि उनले ‘कार्यक्रम द चिप्लेटी शो’ नाम दिदै आफूलाई चिप्ल्याउने अंकल भन्दै सुवेदीको गेटअपमा प्रस्तुत गरिरहेका छन् । जुन प्रस्तुति दर्शकलाई पेट मिचिमिचि हँसाइरहेको छ ।
खनालले सुवेदीको नक्कल गर्दै आफूलाई चिप्ल्याउने अंकलको रुपमा पहिलो पटक ‘कमेडी च्याम्पियन सिजन २’मा उभ्याएका थिए । त्यसको चर्चापछि विभिन्न कार्यक्रममा प्रस्तुति दिए ।
अहिले त कमेडीकै कारण उनलाई कतिपयले जिस्क्याएर र कतिपयले नाम थाहा नपाएर ‘चिप्ल्याउने अंकल’ भन्छन् ।
त्यसरी बोलाउँदा कहिले खुसी र कहिले आफ्नो रियल परिचय नै हराउने डर र चिन्ता लाग्ने खनाल बताउँछन् । ‘कामको कारणले नाम बन्छ भने त्यो चरित्र सफल मान्नुपर्छ । तर रियल परिचय हराउँदा चिन्ता लाग्दो रहेछ,’ उनले थपे ।
चिप्ल्याउने अंकल किन ?
सुन्दरले ‘चिप्ल्याउने अंकल’ चरित्र ‘रजत पट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीबाट नक्कल गरेका हुन् । सुवेदीलाई फिल्म क्षेत्रमा रजत पट अंकलको रुपमा पनि चिन्ने गरिन्छ ।
‘कमेडी च्याम्पियन सिजन २’को लागि खनाल नयाँ प्रस्तुतिको तयारीमा थिए । त्यो समय उनको ध्यान कलाकारको कन्ट्रोभर्सीतिर गयो । कन्ट्रोभर्सीका कारण कतिपय डिप्रेसन त कतिपय गालीको तारो थिए । उनी पनि कलाकार बन्न हिँडेकोले कलाकारले यति धेरै गाली किन खाइरहेको छ भनेर बुझ्न थाले । बुझ्दै जाँदा धेरैको कारण पाए प्रकाश सुवेदी ।
‘कलाकारलाई कन्ट्रोभर्सीमा ल्याउनेको पनि कलाकारिता साइटबाट स्ट्याण्ड अफ कमेडी गरांै भन्ने लाग्यो,’ खनालले भने, ‘अनि कार्यक्रमका लागि सुवेदीको रिसर्च गरेर पात्र बने ।’
रिसर्चका क्रममा खनालले सुवेदीका धेरै शो हेरे । उनको गेटअप, हाउभाउ, क्रियाकलाप नियाले । आफ्नो पात्रको नाम राखे चिप्ल्याउने अंकल र शोको नाम राखे, ‘द चिप्ल्याउने शो’ । ‘पहिले प्रकाश दाइलाई रजतपट अंकल भन्थे । मेरो कमेडीपछि ‘चिप्याउने अंकल’ भन्न थाले,’ उनले मुस्कुराउँदै भने ।
त्यसपछि सुन्दरले कमेडी क्लबमा ‘भष्मे डन’, ‘विजयकुमार पाण्डे’, ‘नारायण प्रसाद पोखरेल’, ‘मदनकृष्ण श्रेष्ठ’ लगायतका क्यारिकेचर गरे । धेरैको क्यारिकेचर गरेका उनले त्यसको कारण अहिलेसम्म कसैको पनि गाली खाएको छैनन् रे । बरु तारिफ र सकारात्मक प्रतिक्रिया मिल्ने गरेको छ ।
‘प्रकाश सुवेदी दाइले मेरो क्यारिकेचर राम्रो गर्यौ । नाम चेन्ज गर्दिने न्वारनकर्ता भन्नुहुन्छ’, खनालले अगाडि भने, ‘तिमी राम्रो कलाकार हुनुपर्छ भनेर ‘रिसानी माफ’ भन्ने सिरियलमा डेब्यू दिने पनि सुवेदी दाइ नै हो ।’
अन्यको क्यारिकेचर सबै वर्गका दर्शकले रुचाएको प्रतिक्रिया पाएका उनले विजय कुमारको क्यारिकेचरमा वौद्धिक वर्गले मात्र रुचाएको उनको बुझाइ छ ।
अहिले स्वामी हरिदास
सुन्दरका सबै क्यारिकेचर हिट छन् । त्यसैले, बजारमा उनलाई सम्झनु पर्दा नामले भन्दा पनि चिप्ल्याउने अंकल, नारायण प्रसाद पोखरेल लगायतका क्यारेक्टर गर्ने भाइ भनेर चिन्छन् । त्यो उनलाई थाहा छ । यसरी क्यारिकेचरले नाम ओझेमा पर्यो भन्ने लाग्छ उनलाई ।
उनी पछिल्लो समय कमेडी क्लब वीथ च्याम्पियनमा समेत देखिदै आएका थिए । यो अहिले बन्द भएको छ । त्यसैले उनी अब नयाँ योजनामा छन् ।
प्रवचन क्यारेक्टर नारायण प्रसाद पोखरेल दर्शकले रुचाएकाले अर्को प्रस्तुति ‘स्वामी हरिदास’को क्यारेक्टर उनले आइतबार मनोज गजुरेल युट्युबमार्फत् डिजिटल रुपमा ल्याएका छन् । यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।
स्वामी हरिदास नै किन त ?
‘म स्कुलमा पढ्दा हरिदास हाम्रो स्कुलमा आउनु भएको थियो । त्यो समय उहाँको भ्वाइस युनिक लागेको थियो । त्यो प्रभाव अहिलेसम्म दिमागमा गहिरो गरी छ,’ उनले भने, ‘हरिदास सबैको रुचाइएको पात्र भएकाले पनि नक्कल गरें ।’
अक्सर कमेडियन धार्मिक पात्रको क्यारिकेचर गर्दैनन् । एक त विवादमा पर्ने डर, अर्काे गेटअप गर्न कठिन । त्यस बिषयमा थाहा पनि हुनुपर्छ ।
‘म हिन्दू धर्म मान्ने, पण्डित समुदायमा हुर्किएकोले सानैदेखि यो बिषयमा धेरथोर जानकारी छ’, उनले अगाडि थपे, ‘बुबा पण्डित भएको कारण पनि मलाई त्यो मज्जा लागेको थियो ।’
धर्म र जातको बिषयमा आफू सचेत रहेको समेत उनले बताए । ‘धर्मका बिषय कमेडी बनाउँदा धार्मिक दृृष्टिले नकारात्मक धारणा बन्छ कि भन्नेमा सजग छु । त्यसैले त नारायण प्रसादकोमा विवाद आएन,’ उनी अगाडि थप्छन्, ‘धर्मलाई असर गर्ने केही गरेको पनि छैन र गर्दिन पनि ।’
अनि पाइला कमेडीमा
सानैदेखि अतिरिक्त क्रियाकलाप रुचाउने खनाल स्कुलमा कविता लेख्ने, वक्तृत्व कलामा भाग लिने गर्थे । बोल्न सक्ने र मानिसहरूसँग सजिलै घुलमिल हुने उनको क्षमता थियो । किनभने, सानैमा तनहुँको दमौली एफमा रेडियो ट्रेनिङ लिएका जो थिए ।
ट्रेनिङका क्रममा उनले रेडियोमा एउटा चटपटे कार्यक्रम बनाउनुपर्ने थियो । त्यो समय कलाकार सिताराम कट्टेलको ‘मेरी बास्सै’ सिरियलमा ‘वडाध्यक्ष’ (केपी ओलीको क्यारेक्टर) र खड्काजी एकदमै चर्चित थियो । उनले त्यो नक्कल गर्दै कार्यक्रम बनाए । ट्रेनिङमा सहभागी मध्येमा उनको कार्यक्रम उत्कृष्ट ठहरियो ।
त्यसपछि हौसिएका उनी स्कुलका स्टेज कार्यक्रम होस् कि गाउँघरमा महोत्सव । आयोजकलाई अनुरोध गर्दै क्यारिकेचरको रुपमा आफूलाई उभ्याए ।
‘केही कार्यक्रम आयोजकले मेरो प्रस्तुति राम्रो लागेर ब्यवसायिक रुपमा बोलाउनु भयो’, खनालले भने, ‘त्यसपछि तनहँु, स्याङ्जा, नवलपरासीलगायत आसपासको जिल्लामा हिट भएँ, पैसा पनि आयो ।’ भन्छन्, ‘यो त रमाइलो र पैसा आउने पेसा पनि भनेर यसमै होमिएँ ।’
२०७२ वैशाखमा भूकम्प अगाडि उनी दमौली एफएमका काम गर्दै थिए । त्यो समयको कमेडीको लागि काठमाडौंको रेडियो अडियो राम्रो भन्ने उनले थाहा पाए । रेडियो अडियोका दीपेन्द्र खनियासँग सम्पर्क गरे । खनियाले डमी कार्यक्रम पठाउन अनुरोध गरे । उनले पठाए पनि ।
डमी राम्रो लागेकोले खनियाले उनलाई काठमाडौ बोलाएर रेडियो अडियोमा काम दिए । ४÷५ महिना रेडियो अडियोमा कार्यक्रम गरेपछि उनको घाँटीमा समस्या देखियो । त्यसैले, उनले रेडियो छाड्नु पर्यो ।
रेडियो छाडेको केही समयपछि युट््युबमा कमेडियन राजा राजेन्द्र पोखरेलसँग मिलेर ‘दिमाग खराब’ कमेडी सुरु गरे । स्ट्याण्ड अप कमेडीको यो कार्यक्रमक हिट भयो । त्यही समय उनी फर्सिनेटवकमा बेवी शो भन्ने कार्यक्रममा जोडिए । यो शो मार्फत् उनको कलाकार र अडियन्समा हिमचिम बढ्न थाल्यो ।
‘फर्सिनेटवकको बेवी शोमा मलाई कमेडी कलाकार भन्दा पनि पत्रकार, भिजेको रुपमा हेरियो । त्यो राम्रो लागेन’, खनालले भने, ‘कमेडियन बन्न आएको पत्रकार बन्ने लागेर ब्रेक लिएँ ।’
लकडाउनपछि जनता टिभीमा स्ट्याण्डअप कमेडी गरे । त्यो कमेडी गर्दै गर्दा उनले ‘कमेडी च्याम्पियनको सिजन २’ को अडिसन दिए । अडिसनमा छानिएपछि शोमा प्रस्तुति दिए, ‘प्रकाश सुवेदीको नक्कल ‘चिप्ल्याउने अंकल’ । यो हिट भयो । त्यसपछि कलाकारितामा उनले पछि फर्किएर हेर्नु परेन ।
कमेडीमै करियर देखेका उनलाई पछिल्लो समय चर्चा र सफलता दुबै मिलेको छ । सुरुवातको पिरियड भएकोले उनलाई आर्थिक लाभको अपेक्षा छैन ।
‘एक किसिमले हेर्दा आम्दानी राम्रो छ’, उनले समस्या राखे,‘कार्यक्रम गरेको पैसा समयमा आउँदैन । त्यसले अप्ठ्यारो पार्छ ।’ अहिले बजार राम्रो नभएको कारण पनि त्यस्तो भएको हुन सक्ने उनले अनुमान लगाए ।
कमेडीमा करियर बनाउँदै गरेका सुन्दरलाई परिवारले भने सरकारी कर्मचारी वा इन्जिनियर बनाउने सपना देखेका थिए । त्यो सपना र आफ्नो कलाकारिता दुबै मर्न नदिन उनी अहिले अध्ययन र कलाकारिता एकसाथ अगाडि बढाइरहेका छन् ।
‘सरकारी कर्मचारी वा इन्जिनियर भन्न सक्दिन’, उनले कुराकानीको बिट मारे, ‘राम्रो कलाकार भने अवश्य बन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा