शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गणेश पुराणमा सहभागी हुँदा मैले पाएको ज्ञान र बोध

मङ्गलबार, १९ भदौ २०८०, १० : ४८
मङ्गलबार, १९ भदौ २०८०

गएको वर्ष विशेष पूजा (गणेश पुराण) कथा वाचनमा सहभागी हुने अवसर मिल्यो । सात दिनको गणेश पुराणबाट पंक्तिकारलाई लागेको अनुभूति र सिकाइ यस लेखमा प्रस्तुत छ । यस लेखमा धार्मिक कार्यबाट प्राप्त आत्मानुभूति, ज्ञान र बोध आदिबारे चर्चा गर्ने कोसिस गरिएको छ । 

राजा र ऋषिमुनि पुराणका दुई ध्रुवका पात्र हुन् अर्थात् शासन गर्ने र ज्ञान दिने छुट्टाछुट्टै कर्म गर्ने पात्र हुन् । राजासँग राज्यमाथिकै अधिकार हुन्थ्यो, ऋषिसँग केही हुँदैनथ्यो । ऋषिहरु नदी किनारको जंगलको कुटीमा बसेर जीविका गर्थे । यद्यपि राजाको अन्तिम शरण लिने र ज्ञान दिने पात्र ऋषिहरू हुन्थे । सातदिने पुराणका क्रममा यिनै दुई पात्र बीचका हजारौँ रोमाञ्चक कथा सुन्ने अवसर पाएँ ।

अल्प ज्ञान वा विषयवस्तुका बारेमा ज्ञानै नभएर होला संस्कृत भाषामा लेखिएका ग्रन्थमा आधारित हिन्दु समुदायका धार्मिक कार्य सामान्यतः औपचारिकता पूरा गर्ने विषयवस्तु हुन् कि भन्ने लाग्थ्यो । सुन्न र बुझ्न जाँगर पनि नलाग्ने । २०७९ माघ १४ देखि २० गतेसम्मको एक साता अलि भिन्न रह्यो । गैँडाकोटको शिवचोकनिर भएको हाम्रो घरमा सात दिनको पुराणको कार्यक्रमको निधो गरिएकाले सातै दिनको छुट्टी मिलाउन घर–परिवारको आग्रह थियो । 

बिहान ७ बजेतिर एक गिलास दूध खाएपछि पहिलो दिनको पूजाको कर्म सुरु भयो । पूजामा मेरो चित्त वा ध्यान केन्द्रित भएको थिएन । तथापि अनुशासितकर्ता बन्ने निधोका साथ एकाग्रता कायम गर्ने प्रयास भइरह्यो । पहिलो चरणमा, पाँच पण्डितले एकै स्वर र लयमा संस्कृतका विषयलाई नेपालीमा अनुवाद गर्दै निर्देशन दिए । कर्ता शुद्धिको जल खाने, कुशको पवित्र लगाउने, पुस्तक पूजा गर्ने, बिहानीको आरती आदि काम सकियो । यसरी नै पहिलो दिन विभिन्न चरणमा धेरै पूजाआजा भए — घरी मन्दिरको वल्लो कुना, घरी पल्लो कुना । घरी एउटा देवताको नाममा फेरि अर्को कुनामा अर्को देवताको नाममा । बेलुकीको आरती गरेर पहिलो दिनको पूजा सकियो । दिनभर मलाई कुनै पट्यार, थकाइ  वा भोक लागेन, कुनै प्रकारको कष्टानुभूति भएन ।

पूजाको दोस्रो दिन पनि पहिलो दिनकै जस्ता विभिन्न चरण दोहोरिए । सुनिरहुँ जस्ता पण्डितका संयुक्त संस्कृतका श्लोक, आरती आदि । दोस्रो चरणमा, सहायक वाचकबाट संस्कृतमा कथा वाचन सुरु भयो । सबैले ध्यान दिएर सुन्नु भनियो । जति ध्यान दिएर सुन्यो उति फल प्राप्ति हुन्छ भन्ने सुनेकाले ध्यान केन्द्रित गर्न निकै प्रयास भयो । हातमा फूल लिएर ध्यान मुद्रामा नमस्ते गरेर ध्यान केन्द्रित गर्न निकै प्रयास गरियो । कुनै शब्द र वाक्यको अर्थ कहीँ कतै बुझिँदैन, केको ध्यान जानु । घरी झुपुझुपु निद लागेको छ, निद नलागेका बेला ध्यान अन्तै छ ।  तथापि करिब २० मिनेटमा हुने अध्याय अध्यायको विश्राममा गरिने पूजामा फूल चढाउने, धुपबत्ती गर्ने र शंखघन्ट बजाउने जिम्मेवारीका कारणले त्यति गाह्रो भएन । एवंरीतले करिब चार घन्टाको निरन्तर वाचन सकियो । वाचन गरिएको पुस्तकमा २५२ अध्यायमध्ये ५० अध्याय सकिएको जस्तो लाग्छ, त्यो दोस्रो दिनको दोस्रो प्रहरमा । 

मध्याह्नपछि तेस्रो चरणमा संस्कृतमा वाचन गरिएका विषयवस्तुको नेपालीमा सारांश बताइने कार्यक्रम रहेछ । मूल पण्डितबाट रोचक शैलीमा समसामयिक परिवेशका उदाहरण दिँदै विषयवस्तु प्रस्तुत थियो । हिन्दूहरूको एउटा सम्प्रदायले पञ्च देवतालाई नित्य रूपमा पूजा गर्ने गरेका छन् । पाँच देवता (गणेश, देवी, विष्णु, शिव र सूर्य)का बारेमा राम्रै जानकारी मिल्यो । पञ्च देवतापछि पञ्च तत्त्वका बारेमा चर्चा भयो । विद्यालय तहदेखि नै पढेको पारिस्थिकीय पद्धति (इकोसिस्टम) र दिगो विकासका कुरामा पनि त्यी पञ्चतत्त्वका बारेमा पढ्ने गरेकाले होला निकै रोचक लाग्यो । 

उहिले नै ती ग्रन्थ लेख्दा पञ्चतत्त्वको सन्तुलनले पृथ्वीमा प्राणीको अस्तित्व सम्भव भएको छ । तिनका बीचमा खलबल ल्याउने काम गर्नु पाप हो भनी दिगो विकासको चुरो कुरोलाई अनिवार्य पालना गर्ने जुक्ति अपनाएका रहेछन् । 

संसारका हरेक घटना र परिघटनामा हाम्रो खासै केही लाग्दैन, सबै थोक ईश्वरमा भर पर्छ भन्ने विषयलाई उदाहरण र सानातिना कथाका प्रसंगबाट वाचकले भन्दै गर्दा अचम्मसँग ध्यान केन्द्रित भएर सुनियो । ईश्वर र पञ्चतत्त्व बीचको सम्बन्धका बारेमा निकै मिहिनेत गरेर मूल पण्डितले धेरै कथा र उपकथा जोडेर बताए । त्यसमध्ये गोठालाको आँप चोरको कथा निकै रोचक थियो । चोरले आँप चोर्न जाँदा आँखाले देख्यो, गोडाले हिँडेर गयो, हातले टिप्यो तर पिँठ्युले लठ्ठी खायो, आँखाले आँसु झा¥यो । आफ्ना कारणले अर्कोले पिटाइ खाएकामा दुःख लागेर आँखाले आँसु झा¥यो । अर्काको दुःखसुखमा मान्छेले मानवीय व्यवहार र दया गर्नुपर्छ भन्ने सन्देश त्यस्ता रोचक कथाबाट दिइँदो रहेछ । केही भन्नै नपर्ने कथाबाटै अनुभूत हुने । 

त्यो दिनका अन्य थप विषयवस्तुमा गणेश पुराणका दुई भाग ः उपासना र क्रीडाका बारेमा संक्षिप्त जानकारी प्राप्त भयो । गणेश पुराणको किन महत्त्व छ, पौराणिक कालमा विषयवस्तुका बारेमा स्पष्ट पार्ने विधि र प्रक्रिया निकै रोचक लाग्छ । ऋषिहरूले कुनै महत्त्वपूर्ण विषयमा प्रवचन गर्दा ८८ हजार स्रोता हुन्थे रे । तिनीहरूमध्येबाट एक सक्षम सहभागीलाई प्रश्नकर्ताका रूपमा छनोट गरिने रहेछ । अनि एउटा वाचक र अर्को प्रश्नकर्ता । प्रश्नकर्ता हुन विषयवस्तुमा निकै निपुण हुनुपथ्र्यो रे । त्यस दिनको राजा सोमकान्त रोगग्रत बनी जंगल जाँदाको कथा रोचक मात्र थिएन हृदयस्पर्शी थियो । सोमकान्त राजाको प्रसंग पुराण अवधिभर आउँदो रहेछ । अर्थ बुझ्ने र मूल्य लिन चाहना गर्नेका लागि बहुपक्षीय महत्त्व छ यस्ता कथाको भन्ने लाग्यो । चेमन ऋषि र भृगु ऋषिको कथा । बनियाँको छोरो हुँदाको पूर्वजन्मको कथा र ब्राह्मण मारेको पापको प्रायश्चित, पाप पुरुषको उत्पत्ति शरीरबाट भएको जस्ता विषयवस्तु प्रस्तुत भयो । समय बितेको पत्तै भएन । श्रीमान्श्रीमतीबीचको सम्बन्धका कुरा हरेक कथामा कुनै न कुनै रूपमा प्रकट हुने गर्थ्यो । दोस्रो प्रहरमा संस्कृत नबुझेकामा लघुताभासको अनुभूति भए पनि तेस्रो प्रहर असाध्यै रोचक भयो । 

तेस्रो दिन, पहिलो प्रहरमा अघिल्ला दिनजस्तै संस्कृतका मिठा श्लोकले आनन्दानुभूति भयो । घन्टौँसम्म भन्ने श्लोकहरू पण्डितले कसरी सम्झेका होलान्  भन्ने लाग्थ्यो । पहिलो र दोस्रो प्रहर संस्कृत वाचन नै भए । जब तेस्रो प्रहर सुरु भयो । आफ्नै समय आयो जस्तो भयो । मूल पण्डितले भन्न थाले — जीवनमा एक पटक मात्र भगवान रामको नाम उच्चारण गरेको मान्छे मरेपछि त्यसलाई नर्कमा पठाउने कुरामा चित्रगुप्तलाई शंका भएछ । एकपटक भए पनि ईश्वरको नाम लिएको भएकाले उनले इन्द्रलाई सोध्छन् । आफैँ निर्णय दिन नसकेपछि इन्द्रले शिव भगवानलाई सोध्दछन् । एवंरीतले धेरै चरण पूरा भएपछि अन्त्यमा रामसँग नै सोध्न पुगिन्छ । सम्बन्धित भगवान रामसँग सोझै सम्पर्क भएपछि बीचका बिचौलियाको खासै अर्थ हुँदैन भन्ने खालको व्यावहारिक सन्देश दिने रोचक कथा हुने रहेछन् । पछ्याएर गरिने (स्नोफल) तरिकाको अनुसन्धानको उत्तम नमुनाजस्तो । 

नुहाउनका लागि बकुवा लगाएर पार्वती भित्र पसिन् । बालक छोरा गणेश बाहिर थिए । नुहाउने काम सकेपछि उनी घरमै अन्य काममा व्यस्त भइन् र छोरोलाई बाहिर राखेको कुरा भुलिन् । धेरै समयपछि गणेशका बुवा घरमा आए । गणेशले बुवा शंकर भगवानलाई नै चिनेनन् र भित्र पस्न दिएनन् । शंकरले तिम्रो बाबु हुँ भन्दा पनि आमाको आदेश भएकाले प्रवेश दिएनन् । अग्रजको आज्ञा पालना गर्नुपर्छ भन्ने सन्देश दिने यस्ता धेरै कथा सुन्न पाइयो ।

त्यस्ता कथा र उपकथाले शरीरमा सकारात्मक ऊर्जा र तरङ्गको आभास भइरहँदो रहेछ, तर हामीले आग्रह गर्दा पनि पण्डितहरूले सबै अध्यायको कथा उल्था गरेनन् । कथा वाचनका क्रममा सत्यभामाको कथा र दुबोको महिमा र महत्त्व सुनको भन्दा कैयौँ गुणा बढी भएको जस्ता अतिरञ्जित लाग्ने प्रसंग पनि आएका थिए, तिनलाई छिचोल्ने गरी अन्तर्भूत गर्न सकिएन । 

पार्वतीले कुष्ठरोग लागेका श्रीमान्लाई लिएर देवघाटको मेलामा बसेको कथा र ईश्वर अनन्त भएको कुरा, विध्या भन्ने देशका राजा भीमको कथा आदि अति रोचक थिए । भीम नाम गरेका राजा बिरामी भएर ऋषि कुलतिर गए । उनका सन्तान थिएनन् । दुई मन्त्रीलाई राज्यको जिम्मा लगाएर उनी वैरागिएर वनबास हिँडे । खाने के हो, थाहा छैन । बस्ने कहाँ हो, थाहा थिएन । ती राजा दिव्या आश्रम पुगे, जहाँ वशिष्ट ऋषि थिए । सात पुस्ता पहिला उनले कुल पूजा नगरेको, मदिरा खाएर मातेको र ब्राह्मणको हत्या गरेका जस्ता कर्मले गर्दा उनले त्यो नियति बेहोर्नुपरेको हो भनी ऋषिले त्यसलाई सहज र स्वाभाविक रूपमा लिन आग्रह गरे । राजालाई शान्त बनाए । 

त्यस्ता कथाले मान्छेको मन–मस्तिष्कमा नयाँपन दिने रहेछ । इच्छा र आकांक्षा कहिले पनि पूरा हुँदैन, आफ्नो सफलता र असफलता अरुसँग तुलना गर्ने होइन जस्ता हजारौँ व्यावहारिक विषयवस्तु तिनमा हुँदो रहेछ । एक दिन दुरबासा ऋषि मदगर ऋषिको कुटीमा पुगे । उनी अघोरी थिए । मदगर ऋषिले १५ दिन लगाएर आफ्नो चारजनाको परिवारलाई केही दिनका लागि जम्मा गरेको खाना एकै छाकमा खाइदिए । तथापि आफूहरू भोकै बसेर अतिथिको सत्कार गर्न पाएकामा हर्षित नै भए । 

चौथो दिन, दैनिकी उसरी नै दोहोरियो । आउने प्रायः सबै मानिसले पैसा यज्ञमा चढाए । धेरैले पाँच र दशका नोटहरू चढाएका थिए, उनीहरूले पैसा मात्र होइन फूल, दुबो, बत्ती अरु के के थालीमा वा टपरीमा लिएर आएका हुन्थे । त्यस्ता भक्तजन मन्दिरमै शिर राखेर ढोग गर्थे । अलि धेरै पैसा चढाउनेले देखाएरै चढाए । उनीहरूले फूल र अरु पूजाका सामग्री ल्याएको खास देखिएन । खासगरी पूजामा आउने मानिस पाँच किसिमका हुने रहेछन् । पहिलो प्रकारका ज्ञानी र विवेकी अर्थात् पूर्ण ईश्वरप्रतिको भक्तिभाव भएका खासै कस्तो कपडा र गहना लगाउने भन्ने मतलब नभएका । चोखा लुगा र खाना नखाएर बसेर बेलुकी बेलपत्र चढाउने अनि मात्र खाना खाने । उनीहरूमा ईश्वरप्रति पूर्ण समर्पित भाव देखिन्थ्यो । 

दोस्रो प्रकारमा भद्रगोले पर्दा रहेछन् मजस्तै, संवेदनशील कुनै काममा पनि नहुने । उनीहरु पूर्ण समय पूजामा संलग्न हुने तर पूर्ण समर्पित हुन नसक्ने । तेस्रो थरीका भक्तजन भने गर्ने होइन कि गरिदिने खालका हुने रहेछन् । भनेकाले आइदिएको, घरका जा भनेर आइदिएको, फोटो खिचेर लगेर प्रमाण पेस गर्ने खालका । चौथा थरीका मान्छे फोटो र टिकटकका पारखी देखिन्थे । उनीहरुले तुरुन्तै फेसबुकमा आफू समेत भएको फोटो फेसबुकमा राख्थे, अनि भगवान्को फोटोमा आफूलाई राखेर भगवान्प्रति समाहित हुन्थे । 

पाँचौँ थरीका मान्छेमा फेसनवाला (अनुहारवाला, गहनावाला, लुगावाला) भने हुने । प्रायः दिनदिनै लुगा र गरगहना बदलेर दर्शन गर्न आउने । सारीको र मोबाइलको बाहिरी कभरको रङ समेत मिलाएर भगवान्को आराधना गरेको छु भनी विश्वास गर्ने र गराउन खोज्ने । त्यसो गरे भगवान् खुसी हुन्छन् भनी विश्वास गर्ने ! यी र यस्ता विषयले पनि रमाइलै गराएको थियो । 

चन्द्र नगरका राजाको कथाबाट तेस्रो प्रहर प्रारम्भ गरियो । ती राजाका छोरा थिएनन्, उनी असाध्यै ज्ञानी र प्रजापालक थिए । उनको देहावसान हुन्छ, सारा देशवासी दुःखी भए । राजा खोज्न हात्तीलाई एउटा माला दिएर पठाइयो । त्यो हात्तीले धेरै मिहिनेत गरेर गणेशपूजक बालकलाई माला लगाइदियो र उसलाई ल्याएर राजाको सिंहासनमा राखिदियो । जसले सत्कर्म गर्छ, उसको भाग्य कताबाट आउँछ कताबाट भन्ने सन्देश दिलाउने कथा रहेछ त्यो । व्यक्तिले राज्य खोज्ने होइन, राज्य संयन्त्रले असल नेतृत्व खोज्नुपर्छ भन्ने सन्देश त्यसरी पाइँदो रहेछ । जनक राजाको कथा, दक्ष र उनकी आमा कमलाको कथा, कृष्ण, प्रद्युम्न र अनुराधाको कथा । सबैजसो कथामा गणेश महिमाको चर्चा हुने रहेछ । राजाहरू ऋषिहरूसँग ज्ञानगुन लिन र दुःख कम गर्न गएको कथा, त्रिपुरा राज्यको कुरा, गौतम ऋषि पुत्र भने पनि इन्द्रले रूपधारण गरेको जस्ता कथा सुन्दा त्यो दिन बितेको पत्तै भएन । 

चारौँ दिनसम्मका पूजाका कार्य सम्पन्न हुँदा लगभग पूजाको दैनिकी र कथाको प्रकृतिका बारेमा सामान्यीकरण गर्न सक्ने भइसकेजस्तो लाग्यो । उही पाँच देवताका कुरा, पाँच ऋषि, पाँच राजा, पाँच प्रकारका भक्तजन, पाँच प्रकारका सिकाइ आदि–इत्यादि । हिन्दू सनातन पद्धतिका १८ पुराणमध्ये एउटा पुराण गणेश पुराण रहेछ । त्यसैगरी प्रत्येक देवताका नाममा पुराण, ती सबै पुराणको आ–आफ्नै महत्त्व र उद्देश्य हुने रहेछ । पुराणमा ऋषि र राजाका कथा नै मूल विषय रहेछ । दुःख र सुख सबैलाई पर्छ भन्ने सन्देश दिन खोजिएको रहेछ । 

धार्मिक मान्यता अझै जिउँदै रहेछ भन्ने भाव मनमा उत्पन्न भयो । प्रत्येक दिन बेलुका भजन–कीर्तन र नाचगान हुन्थ्यो । प्रत्येक दिनमा करिब आधा घन्टा नाचेर रमाइलो गरियो । नाच्नाको खास कारण मेरो व्यायामको दैनिकीलाई निरन्तरता दिनु पनि थियो । मैले निसंकोच नाचेको कुरा पनि स्मरणमा रहिरहेको छ । आफन्तजनमा यो निकै चर्चाको विषय बनेको रहेछ । नाचगान वाद्यबाजामा मौलिकता थियो । पछिल्ला दिन यसरी नै बिते ।

अन्तिम दिन, १२ हजार ५०० पटक जप भयो । घरवास्तु (घरपैँचो)को काम पनि सकियो । रुद्री र पुराणको होमन भन्दै सात ब्राह्मणले घन्टौँसम्म घिउमा मुछिएको चरुको होमन गरे । धेरै घिउ, चामल र जौ खर्च भएकामा कुनै प्रवाह थिएन । राम्रोसँग होमन गर्नुपर्छ भन्नेमै मानिस केन्द्रित थिए । चकलेट र फलफूल आकाशमा फाल्दा मनोरञ्जनको माहोल सिर्जना भएको थियो । रोटी र जल घरवास्तुको दिन घरको माथिल्लो भागबाट फालेको र त्यसलाई छोप्न केटाकेटी बुढाबुढी सबै उस्तै जोस र जाँगरमा गरेको हानथापमा अचम्म रमाइलो थियो । 

अन्य बुझाइ र सिकाइ

हाम्रा पुराण संस्कृत भाषामा लेखिएका कारण तिनमा वर्णित अनमोल ज्ञानबाट वञ्चित हुनुपर्ने अवस्था रहेछ । नेपालीमा उल्था गरिएका पुस्तकहरू संस्कृतको अर्धज्ञानको भरमा गरिएका जस्तो लाग्छ र तिनबाट वास्तविक रसास्वादन गर्न सकिँदैन कि भन्ने मेरो बुझाइ बन्यो, तर कति सत्य छ थाहा छैन । 

हाम्रा धार्मिक चलन र कर्महरू पनि दुई कुरामा आधारित रहेछन् । एक, परम्परा र चलनमा आधारित । दुई, शास्त्रमा लेखिएका कुरा । शास्त्रमा लेखिएका विषयभन्दा चलनमा ल्याइएका विषय विचारणीय हुन्छ भन्ने कुरालाई मनन गर्नुपर्ने देखिन्छ । शास्त्रमा नलेखिएका तर चलनमा ल्याइएका कर्म कतिपय आवश्यक छन् । कतिपय रूपान्तरित गर्न जरुरी छन् । कति असान्दर्भिक भइसकेका छन्, केही स्वार्थका कारण चलनमा ल्याइएका छन् भने अरु केही जाने–बुझेकाले हैकम र वर्चस्वका लगि अनुकूल व्याख्या गरी सो अनुसार व्यवहार गरेको हो कि त भन्ने लाग्यो । 

कथाको प्रसंगमा ऋषि र राजाको चर्चा हुँदा भगवान् रामचन्द्रले वशिष्ठ ऋषिसँग लिएको शिक्षा र उनलाई बिदाइ गरेको रोचक प्रसंग पनि चर्चामा आएको थियो । राजा दशरथका छोरा रामसहित चारै भाइको शिक्षादीक्षाको कुरा वरिष्ठ ऋषिले पूरा गराएपछि शिक्षार्थीको बिदाइको दिन निश्चित हुन्छ । राजकुमारलाई लिन महामन्त्री सुमन्त राजकुमारका लागि वेशभूषा, अनेकौँ बहुमूल्य वस्तु, गुरुदक्षिणा स्वीकार लिएर पुग्छन् । गुरुदक्षिणा रामबाट मात्र लिने राजाबाट नलिने भनी गुरुले अस्वीकार गर्छन् र भन्छन्, ‘यो सबै चीज लगेर राजालाई बुझाइदिनू ।’

महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन्, ‘हजुरले अस्वीकार गर्ने हो भने सो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरिराख्नुहोस् । गुरु रिसाउँदै भन्छन् —राजा, मन्त्री र गुरुले धन संग्रह गर्नु हुँदैन । राजाले धन संग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र नै गरिब हुन्छ । मन्त्रीले धन संग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ । गुरुले धन संग्रह गर्न लागेमा शिक्षाको मूल्य–मान्यता ह्रास आउँछ र मूर्खहरूको साम्राज्य फैलन्छ ।’ यस्ता कुराले अहिलेको हाम्रो राज्य व्यवस्थापनमा कुशलताको विषय स्मरणमा ल्यायो ।

आत्मानुभूति तथा प्रज्ञा 

पुराण अथवा गणेश पुराणबाट भविष्यमा प्राप्त हुने फल के होला, त्यो छुट्टै विषय हो । तत्कालै यसबाट बहुपक्षीय फाइदा भएको अनुभूति भएको छ । 

जसले धर्ममा पूर्ण विश्वास ग¥यो, उसले सर्वाधिक उपलब्धि प्राप्त गरेको हुनुपर्छ, किनकि ती वर्गका व्यक्तिले आफ्नै दिनचर्या बदले । दैनिकी नै परिवर्तन भयो । बिहानमा प्रकृतिसँग साक्षात्कार गर्दै फूल, दुबो र पाती टिप्नुपथ्र्यो । फूल, अक्षता, दुबो, बत्ती आदि लिएर पुराण स्थल पुग्थेँ र प्रार्थना गर्थेंं । बलुकी बेलपत्र चढाएर मात्र खाना खाएँ । अहिलेको १६ घन्टाको इन्टरमिडियट फास्टिङ (उपासना) पूरा भयो । योसँगै धेरै किसिमका सुुझबुझ प्राप्त भएको हुनुपर्छ, त्यस कर्मले । 

पूजामा सहभागी हुँदासम्म एक दिन टाउको दुखेन, रुघा लागेन, अनिद्राको समस्या आएन, कुनै किसिमको असहजता महसुस भएन । आनन्द प्राप्ति हुनुले पूर्वजन्म र आगामी जन्ममा जे होला, यसै जन्ममा फल प्राप्त भए जस्तो भयो । पुराणको फल त तत्कालै प्राप्त हुने रहेछ भन्ने भयो । बुवा र आमा बितेका बेला गरुड पुराण भनिएको थियो, तर मैले त्यो पितृकार्यमा यी र यस्ता कुरा खासै ख्याल गरिनँ र बुझिनँ पनि । त्यतिबेला यी कुनै कुरा दिमागमा बसेन, तर अहिले बुद्धत्व नै प्राप्त भए जस्तो भयो ।

अर्को महत्त्वपूर्ण पक्ष सम्बन्ध अध्यावधिक हुने रहेछ । करिब ४५÷४६ वर्ष पहिला तिम्रो व्रतबन्धमा भात पकाएकी थिएँ, म मामा कि छोरी हुँ बाबु भनी दिदीले मलाई अँगालो मार्न आउनुभयो । मलाई विचित्रको आत्मीय अनुभव भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. भोजराज शर्मा काफ्ले
डा. भोजराज शर्मा काफ्ले
लेखकबाट थप