नुवाकोटमा लाखेको रौनक
भदौ कृष्ण द्वितीया अर्थात् गाईजात्रा (शुक्रबार)को दिन नुवाकोट दरबारनेरको सानो चोकमा चर्को घामका बीच मानिसको भीड थियो, जो लाखे हेर्न जम्मा भएका थिए ।
गाईजात्राको दिन देवी भैरवीको परिसरमा दिवंगत आफन्तको सम्झनामा मृतक परिवारले परिवारका सदस्यलाई नै गाई तथा जोगीको रुपमा प्रस्तुत गरेका हुन्छन् । मृतात्मालाई शान्ति मिलोस्, स्वर्गमा बास होस् अर्थात् उसले गरेका पाप नष्ट भई जाऊन् भन्ने मान्यतासाथ पूजा गरी पहेँलो वस्त्रमा उनीहरूलाई बजार परिक्रमा गराइन्छ ।
उनीहरूलाई बजार परिक्रमा गराउँदा दिवंगतको सम्झनामा हरेक घर–परिवारले मिठाई तथा फलफूल र द्रव्य दान गर्ने परम्परा छ । साथमा भैरवी भजनमण्डलीको पनि साथ रहन्छ । राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा रहेकी रानीलाई सारा प्रजाले पनि यस्तै शोक बेहोर्नुपरेको देखाउनका लागि हरेक मृतकको घरबाट गाई निकाल्नू भन्ने आदेश दिएका थिए । सोही बमोजिम यो जात्रा प्रचलनमा आएको किंवदन्ती पाइन्छ ।
गत असार ३० गते गथांमुगः (गठेमंगल)देखि नुवाकोट दरबार परिसर जात्रामय हुन थालेको थियो । गाईजात्राका दिन ढोलकको तालसँगै बाँसुरीको धुनमा लाखे नाच चल्दा लाखेसँगै नाच्ने भक्कुको चर्तिकलाले दर्शकलाई हँसाएको थियो । हातमा क्यामेरा र मोबाइल बोक्दै लाखे नाचको वरपर फोटो तथा भिडियो खिच्नेको पनि भीड देखिन्थ्यो ।
यहाँका नेवार समुदाय अहिले लाखे नाच जात्रामा व्यस्त छन् । यसरी नाचिने नाच प्रायः देवीदेवतासँग जोडिएका हुन्छन् । संघीय राजधानी काठमाडौँ उपत्यका र नुवाकोटको चाडपर्व, रीतिरिवाज, धर्म–संस्कृतिमा समानता पाइन्छ ।
स्थानीय जानकारका अनुसार, उपत्यकाका नेवारहरू व्यापारको विभिन्न स्थानमा बस्न पुगे । नुवाकोटमा बसाइँ सरी आएका थिए । त्यसैले उपत्यकाका नेवार र यहाँका नेवारको जात्रापर्वमा खासै भिन्नता पाइँदैन । उपत्यकामा जस्तै नुवाकोट दरबार परिसरमा पनि असन, इन्द्रचोक, नयाँबजार, भूटोल बजारजस्तै स्थानमा समानता रहेका छन् ।
मूलतः काठमाडौँ उपत्यकाका लाखेनाचको मात्र बढी चर्चा हुने कारणले अन्य जिल्लामा नाचिने लाखेनाच ओझेलमा परेको पाइन्छ । नेवार समुदाय जहाँ जहाँ पुगेको छ, त्यहाँ उसले आफ्नो संस्कृति पनि लिएर गएको छ र त्यसको प्रवर्धन गरिरहेको छ । लाखेनाच अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय रहँदै आएको छ ।
लाखे नाचको इतिहास कोट्याउँदा कुनै लिखित प्रमाण छैनन्, तर नेपालमा लाखे नाच गुण कामदेवले चलाएको मानिन्छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखे नाच वर्षौंदेखि चल्दै आएको मौलिक सांस्कृतिक र जातीय पहिचान हो । यो नाचले नेवार समुदायको संस्कृतिको प्रतिनिधित्व गर्छ ।
धामी हरिमान सिंह डंगोलका अनुसार, नुवाकोटको एउटा लाखे सानो लाखे हो, जसलाई नाट्यश्वरी (सरस्वतीको रूप) मानिन्छ । लाखे नाच्नेलाई देवी (नाट्यश्वरी ) चढ्ने भएकाले यहाँको लाखेलाई तत्कालीन शासकले काठमाडौँ निमन्त्रणा गरी उपत्यकाका नाचसँग प्रतिस्पर्धा गराएका थिए । उक्त सानो लाखेले उपत्यकाको लाखेलाई परास्त गरेपछि ठूलो लाखे बकसस्वरूप प्राप्त भएको किंवदन्ती पाइन्छ । उक्त समयमा ठूलो लाखेलाई तादी र त्रिशूली नदी नकटाउनु र कटाउनै परे सरकारको स्वीकृति लिनुपर्ने र सानो लाखे र ठूलो लाखेसँगै नचाउनु भन्ने आदेश भएको डंगोल बताउँछन् ।
राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा रहेकी रानीलाई सारा प्रजाले पनि यस्तै शोक बेहोर्नुपरेको देखाउनका लागि हरेक मृतकको घरबाट गाई निकाल्नू भन्ने आदेश दिएका थिए । सोही बमोजिम यो जात्रा प्रचलनमा आएको किंवदन्ती पाइन्छ ।
नुवाकोट दरबार क्षेत्रमा यस नाचको जर्गेना गर्नका लागि ‘नुवाकोट दरबार लाखे संरक्षण समिति’ बनाइएको छ । दरबार परिसरमा हुने हरेक पूजाआजा तथा जात्रालाई गुठीमार्फत गरिने परम्परा छ । अचेल यो बिस्तारै हराउँदै गएको छ । यहाँ लाखे नचाउँदा ठूलो लाखे धामी (देवी भैरवीका पूजारी) को घरबाट र सानो लाखेद्वारे (सरकारी प्रतिनिधि)को घरबाट निकालिने परम्परा रहिआएको थियो । भूकम्पले द्वारे निवास चर्किएकाले हाल लाखे एकै स्थानबाट निकालिने गरेको द्वारे महेन्द्र कुमार शाही बताउँछन् । उनका अनुसार पहिले–पहिले लाखे बन्ने व्यक्ति नेवार मात्र हुन्थे, अहिले अन्य जातका पनि बन्ने गरेका छन् । लाखेलाई कंशको रूपमा लिने भएकाले लाखे बन्दा लगाउने मुकुटलाई राक्षसको रूप मानिन्छ । ठुल्ठुला आँखा, दाह्रा निस्केको रूप जुन झट्ट देख्दा एकदमै डर लाग्छ । लाखेले लगाउने चोलो, जामा र घंगला निकै आकर्षक देखिन्छ ।
नुवाकोटको लाखे नाचमा अर्को आकर्षण पनि पाइन्छ — देवी नाट्यश्वरी चढेर कामेको लाखे । कृष्ण जन्माष्टमीभन्दा केही दिनअघि स्थानीय समुदायले नाट्यश्वरी मन्दिर परिसरमा विशेष साइतमा कालो बोका बली दिएर पूजा गर्छन् । पूजा सकिएपछि गुठियारका केही व्यक्ति (लाखे नाच्न जान्ने)हरूले ‘सी’ खाने परम्परा छ । ‘सी’ खाइसकेपछि ती व्यक्तिमा नाट्यश्वरी चढ्ने विश्वास छ । ती व्यक्ति पालैपालो काम्न थाल्छन् । त्यस्तो बेला उनीहरूलाई समात्न हम्मे–हम्मे पर्छ । ४–५ जनाले समातेर लाखेको पहिरन पहिराइन्छ । जुन समय लाखे तथा सेवकका लागि कष्टकर मानिन्छ । केही समय बाजाको तालमा नचाएपछि बिस्तारै काम्न छाड्छन् ।
कतिपय लेखकका अनुसार, नुवाकोटबाट उपत्यका गएका ठकुरी राजाले लाखे भित्र्याएका हुन् । नेपालकै अन्य समुदाय र पर्यटकका लागि लाखे नाच नौलो र रोचक मानिन्छ । बाजाको तालमा स्थानीय तथा राष्ट्रिय लोक धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शक रमाउने गर्छन् । दरबार परिसरमा यो नाच तान्त्रिक विधिमार्फत् अनुष्ठान गरिने भएकाले अझै विशेष मानिन्छ । यो जात्राको बीचमा टाकटुके जात्रा, विवाह जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा मनाइन्छ ।
गाईजात्राको भोलिपल्ट सिपाही जात्रा (सरकारी जात्रा) मनाइन्थ्यो । हाल यो जात्रा लोप हुने अवस्थामा छ । नुवाकोटकै नेवार समुदायमा स्थान अनुरूप लाखे नाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । त्रिशुली, बट्टार, ढिकुरे, बेत्रावतीलगायत बजारमा फरक–फरक तरिकाले नाच्ने गर्दछन् । यस्ता संस्कृतिको बेलैमा पहिचान गरी जर्गेना गर्नु हामी सबैको दायित्व हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?