आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

डा. योगी विकासानन्दलाई राज्यले किन चिनेन ?

सोमबार, १८ भदौ २०८०, १४ : ०५
सोमबार, १८ भदौ २०८०

पोखरा महानगरपालिकाबाट फेवातालको हुँदै जाँदा करिब १५ किलोमिटरको दूरीमा वडा नम्बर २३ को घाँटीछिन्ना पुगिन्छ । घाँटीछिन्नाबाट करिब २ किलोमिटर हिँडेपछि बराङ पुगिन्छ । बराङमा एउटा आश्रम छ । त्यो आश्रम विकासानन्द फाउन्डेसनले निजी लगानीमा बनाएको हो । विकासानन्दले ‘संसार बदल्नु छ, सुरुवात आफैँबाट गर्नु छ’ भन्ने सन्देश लिएर मनोक्रान्ति नामक आध्यात्मिक यात्राको थालिनी गर्नुभएको हो । बराङ आश्रममा पुग्दा जोकोहीलाई यस्तो अद्भुत कला भएका व्यक्तित्वको प्रचार कम भयो भन्ने लाग्छ । राज्यले गर्नुपर्ने काम गरेन कि ? अथवा विश्वसामु चिनिनु पर्ने व्यक्तित्वलाई राज्यको कमी कमजोरीले पछाडि पारियो कि ? भन्ने लाग्छ । मेरो मानसपटलमा यो प्रश्न धेरै पटक घुमिरह्यो । 

यो मनोक्रान्ति आश्रमले पोखराको बराङमा हरेक महिना १ देखि ५ गतेसम्म र १५ देखि २० गतेसम्म भौतिक रूपमा गाभा मेडिटेसन र आवश्यकताअनुसार रेकी शिक्षा दिँदै आइएको छ । विकासानन्दका हरेक प्रवचन सुनिरहँदा उक्त ठाउँमा गई भौतिक रूपमा सहभागी हुने इच्छा अनुसार २०८० साउन १ देखि ५ गतेको गाभा मेडिटेसनमा सहभागी हुने अवसर मैले पनि प्राप्त गरेँ । त्यहाँ पुगेर फर्किएपछि मेरो मानसपटलमा समेत राज्यले उहाँमाथि अन्याय गरेकै भान पटक पटक आइरह्यो र केही शब्द लेख्न बाध्य बनायो ।

आजभोलि उक्त आश्रममा फाट्टफुट्ट केही सभासद, गण्डकी प्रदेशका केही मन्त्री तथा पोखरा महानगरका मेयर, उपमेयरहरू समेत गएको देखिन्छ । मानव बस्ती पातलो हुँदै गएको बराङको मुहार अहिले फेरिँदै गएको छ । तर राज्यका तर्फबाट गर्नु पर्ने सहयोग, सद्भाव, प्रचार प्रसार र सहयोग गर्न  ढिलो भैसकेको छ ।

बराङ आश्रममा पुग्दा जोकोहीलाई पनि शीतलताको अनुभव हुन्छ । त्यहाँबाट देखिने मनोहर दृश्यले मनमा शान्ति मिल्छ । त्यहाँबाट देखिने हिमाल, नजिकै रहेको झरना, अचम्मको ढुङ्गाबाट बनेका गुफासमेतले साधकहरूको मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ । मेडिटेसनका क्रममा गरिने गाभा, तावा, हावा जस्ता ध्यानले मनका विकारलाई बाहिर ल्याई तनावबाट मुक्त गराउँछ । गुरु ऊर्जा ध्यानको माध्यमबाट नबनेका र गर्न नसकेका कैयौँ काम पूरा गर्न सहयोग पुगेको छ । योगका माध्यमबाट अनेकौँ रोग निका भएका छन् । अझै नेपालका मुख्य सहरहरूमा हजारौँ रुपियाँ तिरेर गर्नुपर्ने हिप्नोसिस क्रिया यहाँ निःशुल्क गरिन्छ । जसले आफ्ना वर्षौंदेखिका डर र कमजोरी तथा फोबिया हटाउन मद्दत गर्छ । हरेक दिन बिहान हुने प्रवचन तथा दिउँसो हुने ज्ञान योगले आफ्ना मनोवैज्ञानिक समस्या पहिचान गरी समाधान गर्न सहयोग गर्छ ।

मेडिटेसनका क्रममा गरिने गाभा, तावा, हावा जस्ता ध्यानले मनका विकारलाई बाहिर ल्याई तनावबाट मुक्त गराउँछ । गुरु ऊर्जा ध्यानको माध्यमबाट नबनेका र गर्न नसकेका कैयौँ काम पूरा गर्न सहयोग पुगेको छ । योगका माध्यमबाट अनेकौँ रोग निका भएका छन् । अझै नेपालका मुख्य सहरहरूमा हजारौँ रुपियाँ तिरेर गर्नुपर्ने हिप्नोसिस क्रिया यहाँ निःशुल्क गरिन्छ । 

आफ्नो आध्यात्मिक जीवनको ४ दशकभन्दा बढी समय योग, ध्यान, साधना र अध्यात्मबाट सचेतना फैलाउँदै आउनुभएका विकासानन्दको योगदान बारेमा जति शब्द लेखे पनि कमै हुन्छ । हाल विश्व परिवारको नामबाट देश विदेशमा राम्रो प्रचार प्रसार भएको छ । तर उनको क्षमतामाथि राज्यको ध्यान पुगेको देखिँदैन । 

एक पटक विकासानन्दलाई मैले प्रश्न गरेको थिएँ– भारतका रामदेव बाबा भन्दा हजुरमा के कमी छ, उनी विश्वसामु प्रसिद्ध छन् ? भन्दा उहाँ आफैँले रामदेवलाई नरेन्द्र मोदी र उनको सरकारको पूर्ण साथ र सहयोग रहेको स्विकार्नु भयो । नरेन्द्र मोदी आफैँ पनि आध्यात्मिक जीवनसँगै राजनीतिमा आएका व्यक्ति हुन् । तर हाम्रा देशका शासकहरू धर्म र अध्यात्मलाई एउटै कित्तामा राखेर देशभित्रका आध्यात्मिक गुरुहरूलाई ढोँगीको संज्ञा दिन्छन् । तर विदेशबाट नेपाल आएका धार्मिक र आध्यात्मिक व्यक्तिलाई भने मुक्तकण्ठले प्रसंशा गर्न पछि पर्दैनन् । उदाहरणका रूपमा अहिले भारतबाट नेपाल आएका धार्मिक गुरु धीरेन्द्र शास्त्रीलाई नेपाल सरकारले देखाएको सद्भावलाई लिन सकिन्छ । उहाँहरूको विरोध गर्न खोजेको होइन । उहाँहरूमा पनि कैयौँ क्षमता छ तर देशभित्र जन्मिएका क्षमतावान् व्यक्तिको संरक्षण र प्रचारमा राज्य चुकेको जस्तो लाग्छ ।

आखिर के कमी छ विकासानन्दमा जुन अरू गुरु र आध्यात्मिक व्यक्तिमा छैन । धर्म र अध्यात्म विशुद्ध फरक कुरा हुन् भन्ने समेत छुट्याउन नसक्ने नेपालका शासकबाट कति आस गर्न सकिएला ? विकासानन्दले कहिल्यै कुनै धर्मको प्रचार गर्नु भएन । बरु गीता, त्रिपिटक, बाइबल र कुरान आदिमा लेखिएका शब्दको भावको व्याख्या गर्नु भएको छ । पछिल्लो समय गीताका विभिन्न श्लोकमा गर्नुभएको व्याख्याले गीताको सार झल्किन्छ । उहाँले कहिल्यै सरकारसँग सहयोगको याचना गर्नुभएन । अरू बराङमा समेत आफ्नै पैसामा ३० रोपनी जग्गा किनेर भविष्यमा ठुलो आश्रम बनाउने र आध्यात्मिक साधकहरूलाई ज्ञान प्राप्त गर्ने केन्द्रको रूपमा विकास गर्ने उहाँको योजना छ । अध्यात्मलाई विज्ञानसँग जोड्ने उहाँको अद्भुतको कला छ । उहाँका हरेक प्रवचन मानिसलाई दुःखबाट बाहिर ल्याउने खालका छन् । नकारात्मक विचारबाट मानिसमा देखिने असर र त्यसबाट सरल तरिकाबाट बाहिर ल्याउने क्षमता उहाँमा छ । उहाँले गराउने विभिन्न भौतिक मेडिटेसनले शरीरमा ऊर्जा भरिन्छ, शरीरमा कम्पन आउँछ, दिमागका तीन लेबलहरूको बारेमा बोध हुन्छ अनि मनका विकारलाई हटाई मनमा शान्ति ल्याउन सहयोग गर्छ । दुःखको मुख्य कारण नै नकारात्मक विचार भएको र त्यसलाई हटाउन मानिसमा बोध, स्वासक्रिया र साधनको आवश्यकता पर्दछ भन्दै त्यसलाई प्रत्यक्ष रूपमा प्रमाणित गरेर देखाउने उहाँ यो कला अद्भुत लाग्यो । योग, ध्यान, प्रवचन, हिप्नोसिस र प्रायः सबै रोगको आयुर्वेदिक ज्ञान यी सबै एकै व्यक्तिमा हुनु साँच्चिकै अद्भुत मान्नु पर्दछ । राज्यबाट उहाँको अपेक्षा भन्ने त खुल्दैन तर भौतिक रूपमा ध्यान र ज्ञान लिन गएका जोकोही साधकलाई एक पटक उहाँको आश्रमप्रति राज्यको नजर जान आवश्यक रहेको भान हुन्छ । 

अब बराङलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न राज्यले समेत सोच्न आवश्यक छ । हामीले हाम्रै देशमा जन्मिएका भगवान् पाएका छौँ । आध्यात्मिक ज्ञान भएका सिद्धि प्राप्त व्यक्तित्व हाम्रै देशमा पाउनु सुखद कुरा हो । जसरी मृगले कस्तुरी खोजि गरे झैँ विदेशी गुरुहरूलाई पछ्याउँदै जाने र देशभित्रका आध्यात्मिक गुरुलाई बेवास्ता गर्ने नीति राज्यले परित्याग नगर्दासम्म देशमा आध्यात्मिक विकास हुन सक्दैन । कोभिडपछिको समयमा विकासानन्द गुरुलाई पछ्याउने नेपालीको सङ्ख्या लाखौँ छ । विश्व परिवारको नामबाट यसको प्रचार राम्रो भइरहेको छ । भौतिक योग साधनामा कैयौँ विदेश बस्ने नेपालीको उपस्थिति भएको देख्न पाइन्छ । देशका बौद्धिक वर्गले समेत उहाँको प्रवचनबाट ज्ञान हासिल गरेका छन् । अब नेपाल सरकारले समेत उहाँको प्रतिभालाई विश्वसामु चिनाउन आजैबाट पहलकदमी लिन आवश्यक छ । 

सुनवल, नवलपरासी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदय पाठक
उदय पाठक
लेखकबाट थप