शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

आत्महत्या न्यूनीकरणका लागि रोटरीको अभियान

सोमबार, १८ भदौ २०८०, १३ : ३५
सोमबार, १८ भदौ २०८०

काभ्रे। आत्महत्याका बढ्दो घटनालाई न्यूनीकरणका लागि रोटरी क्लबले अभियान थालेको छ । पछिल्लो समय काभ्रेमा बढिरहेको आत्महत्या न्यूनीकरणका लागि रोटरीले संवेग र आवेग न्यूनीकरण अभियान थालेकाे हो । रोटरीले संवेग र आवेग न्यूनीकरण अभियान अन्तर्गत युवा तथा किशोर किशोरीहरूका लागि अनुशिक्षण कार्यक्रम गएको छ ।

रोटरी क्लब अफ बनेपा काभ्रे र रोटरी क्लब अफ काभ्रे भ्यालीको संयुक्त आयोजनामा बनेपामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, सेना, प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रमुख, स्थानीय जनप्रतिनिधि लगायतलाई अनुशिक्षण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतमले समाजमा विद्यमान विभिन्न समस्या मध्येको एक आत्महत्या न्यूनीकरणका लागि समाजका सबै तह र तप्काले जुझारु भएर लाग्नु पर्ने बताए ।

उनले मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै सुरु हुने भएकोले रोटरीले आयोजना गरेको यो महत्त्वपूर्ण कार्यक्रमले समाजलाई केही सन्देश पुग्ने विश्वास राख्दै समुदाय स्तरमा मानसिक स्वास्थ्यमा सचेतनाका कार्यक्रमहरू लैजान आग्रह गरे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.पुरुषोत्तमराज सेंढाई, पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निजी तथा आवासीय विद्यालय अर्गनाइजेश काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल लगायतले व्यक्तिमा उत्पन्न हुने भाव र यसबाट सिर्जना हुने मानसिक स्वास्थ्यको प्रवर्द्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास रोक्न आ–आफ्ना ठाउँबाट योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले व्यक्तिहरूलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, मनोविदहरु तथा विशेषज्ञहरूमार्फत सेवाको पहुँचका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले छुट्टै कार्यक्रम बनाएर जानुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप