शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
माओवादीको अभियान

माओवादी अभियान : सहरी क्षेत्रमा माओवादीप्रति किन छैन उत्साह ?

सोमबार, १८ भदौ २०८०, ०९ : ५२
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाएको सत्तारूढ दल माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सुरू गरेको छ ।

केन्द्रीय पदाधिकारीदेखि स्थानीय कार्यकर्तासम्मलाई वडा तहमा परिचालन गरेको माओवादीले पार्टी र जनताबिच टाढिएको सम्बन्ध सुधार गरी पुनर्स्थापित हुने रणनीतिका साथ जनताको घरदैलोमा पुग्न अभियान सञ्चालन गरेको हो । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा एकसाथ अभियानको उद्घाटन गरे ।

उद्घाटन पश्चात् प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्क क्षेत्रमा सहभागी भए । जनतासँग प्रत्यक्ष संवादमा जोडिए । उनले आफ्नो बाँकी जीवन देश र जनताका लागि देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

जनयुद्धमा जस्तै जनताको समर्थनले माओवादी फेरि बलियो शक्ति भएर उदाउने विश्वास व्यक्त गर्दै प्रचण्डले सरकार, संसद् र सडक तीनै मोर्चाबाट शान्तिपूर्ण संघर्ष गर्न निर्देशन दिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२६ स्थित हरिसिद्धि क्षेत्रमा खटिएका थिए । उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा पुगेर स्थानीयसँग सरसफाइ अभियानमा सहभागी भइन् ।

यसैगरी उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा ललितपुर महानगर–२६, चिबहालमा सरसफाइमा सहभागी भए । अर्का उपमहासचिव वर्षमान पुन काठमाडौँ महानगरपालिका– १६ स्थित गोङ्गबु क्षेत्रमा रक्तदान तथा सरसफाइ अभियानमा सहभागी भए । अर्का उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर न.पा–४ मा खटिएका थिए । सचिव गणेश साह अस्वस्थ भएका कारण काठमाडौँ–१० बानेश्वरमा सहभागी हुन सकेनन् । कोषाध्यक्ष श्रीराम ढकाल प्रधानमन्त्रीसँगै चन्द्रागिरि–२ पुगेका थिए ।

अभियानमा देखिएन उत्साह

शीर्ष नेताहरू वडा तहमा पुगेर सहभागी भएको अभियानमा स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूको भने उत्साहजनक सहभागिता देखिएन । कुनै वडामा १५/२० जना उपस्थित हुन पनि मुस्किल थियो । पछिल्लो पटक सुशासनको अभियानबाट लोकप्रियताको ग्राफ बढाएका प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ सहभागी कार्यक्रममा पनि अपेक्षा गरे बमोजिम सहभागी नभएको नेताहरू स्वीकार्छन् ।

शनिबार सार्वजनिक बिदाको दिन अभियानको शुभ मुहूर्त गरे पनि नगन्य उपस्थितिले नेताहरूलाई झस्काएको छ ।

सोही क्रममा ललितपुरको बुङमतीमा रहेकी उपाध्यक्ष भुसालले सहभागी उत्साहजनक भए पनि बेलुकाको तुलनामा बिहान कम सहभागी भएको बताइन् । माओवादीप्रति जनतामा वितृष्णा आउनुको कारण खोतल्ने क्रममा रहेकाले तीन महिनाको अभियानपछि समस्याको चुरो पत्ता लगाउने जिकिर उनले गरिन् ।

‘सहभागी उत्साहजनक छ । तर बिहानभन्दा बेलुकाको समयमा सहभागी हुने रहेछन् । हामीले बिहानको समयमा अभियान सुरू गरेकाले सहभागी कम भएको छ’, उनले भनिन्’, ‘माओवादीसँग जनता किन टाढा भएको हो, त्यस सम्बन्धमा जनतालाई सोध्ने क्रममा छौँ । तीन महिने अभियानपछि समस्याको चुरो पत्ता लगाउँछौँ ।’

बिहान ९ बजे प्रचण्डले उद्घाटन गर्दा पदाधिकारी, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश पदाधिकारीसहित जनवर्गीय संगठनका सदस्यहरू प्रत्येक वडामा पुगेका थिए । आ–आफ्ना वडामा नेतृत्व गरेका उनीहरूले अवस्था हेरी रूपान्तरण अभियान सञ्चालन गरेका थिए । यद्यपि सहरको तुलनामा गाउँमा उत्साहजनक उपस्थिति रहेको बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता शालिकराम जम्कट्टेलले जिकिर गरे ।

‘सहरी क्षेत्रमा सहभागिता कम भए पनि गाउँमा उत्साहजनक सहभागी भएका छन् । माओवादीप्रति खासै जनताको गुनासो पनि देखिएन । तीन महिने अभियानपछि सहरी क्षेत्रका जनतालाई आकर्षित गर्ने रणनीति, कार्यक्रम बनाउँछौँ’, उनले भने ।

केही दिन पहिले काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहरमा पार्टी कमजोर हुनुमा युवा लक्षित कार्यक्रम ल्याउन नसकेको, मध्यम वर्गीय परिवारलाई माओवादी आन्दोलनबारे बुझाउन नसकेको स्वीकार गरेका थिए ।

‘२०६४ जनयुद्धको रापतापले हामी पहिलो शक्ति भयौँ । २०७० निर्वाचनपछि माओवादी कमजोर हुँदै गयो । विगतमा हाम्रा पनि केही कमजोरी रहे’, उपत्यका विशेष प्रदेश कमिटीले गरेको प्रशिक्षण कार्यक्रम उनले भनेका थिए, ‘युवा लक्षित, सहर लक्षित कार्यक्रम ल्याउन सकेनौँ । मध्यम वर्गीय परिवारमा माओवादी आन्दोलन बुझाउन सकेनौँ । त्यसैले हामी कमजोर भयौँ । अब हामी युवा लक्षित, सहरी क्षेत्र लक्षित कार्यक्रम ल्याउँछौँ ।’

राष्ट्रिय स्वाधीनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई बचाउने, जनचाहना बमोजिम सामाजिक–आर्थिक रूपान्तरण गर्ने, शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने, समाजवादको आधार तय गरी सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने जस्ता एजेण्डा लिएर जनताको घरदैलो जाने उनले बताएका थिए ।  

यसलाई पूरा गर्नका लागि शान्तिपूर्ण संघर्ष गर्ने माओवादीको तत्कालीन कार्यनीति रहेको देखिन्छ । त्यसका लागि सरकार, संसद् र सडक तीनै मोर्चालाई सशक्त रूपमा प्रयोग गर्ने प्रचण्डको भनाइ थियो ।

साउनको तेस्रो साता राजधानीको कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकले माओवादीको नीति र नेतृत्व रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई बलियो बनाउन आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने, नेताहरूको आचरण, व्यवहार, कार्यशैली, जीवनशैली बदलिनुपर्ने विचार राखेका थिए । त्यस्तै बैठकमा जबरजस्त उठेको विषय सहरी क्षेत्रमा माओवादी कमजोर हुनु । उपाध्यक्ष पम्फा भुसालले सहरी क्षेत्रमा माओवादी कमजोर भएको विषय सदस्यहरूले गम्भीरताका साथ उठाएको स्वीकार गरिन् ।  त्यही अनुसार वडास्तरमा जनताको गुनासो, सुझाव संकलन गर्न विशेष अभियान चलाएको उनको भनाइ छ ।

‘२०७० देखि हाम्रो पार्टी लगातार कमजोर हुँदै आएको छ । बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको परिवर्तनको फाइदा विपक्षीले उठाएका छन् । विगतमा हाम्रा पनि केही कमजोरी भए । जनताको गुनासो, सुझाव र सल्लाह लिन तीन महिने अभियानमा खटिएका छौँ । जनताको सुझावको आधारमा माओवादीलाई फेरि बलियो शक्ति बनाउँछौँ’, उनले भनिन् ।  

उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि सम्बन्धमा आम जनतालाई बुझाउनुपर्ने र त्यसका लागि क्षमायाचनासहित जनतामाझ जानुपर्ने बताइन् ।

२०६४ को संविधानसभा निर्वाचनमा उपत्यकाको १५ निर्वाचन क्षेत्रमध्ये १० निर्वाचन क्षेत्रमा जित हासिल गरेको माओवादी केन्द्र २०७९ को निर्वाचनमा उपत्यकाभरि १० सिटमध्ये एक सिट पनि जित्न सकेन । २०७४ मा पनि ललितपुर–३ मा पम्फा भुसालले मात्र जितिन् । अपवादबाहेक ग्रामीण क्षेत्रको तुलनामा देशको अन्य सहरी क्षेत्रमा माओवादी केन्द्रले जनमत बढाउन सकेन ।

यस्तो छ काठमाडौँ उपत्यकामा माओवादीले पाएको मत

गएको निर्वाचनमा काठमाडौँ उपत्यकाको १५ निर्वाचन क्षेत्रमा पाएको मतपरिणाम हेर्दा माओवादी केन्द्र निकै कमजोर देखिन्छ । काठमाडौँ क्षेत्र नं. १ प्रतिनिधिसभामा माओवादीले जम्मा ९६५ मत पाएको छ । यसैगरी क्षेत्र नं. २ मा २ हजार ९१५, क्षेत्र नं. ३ मा १ हजार ३३३, क्षेत्र नं. ४ मा १ हजार ५६४ मत पाएको छ ।

त्यस्तै क्षेत्र नं. ५ मा १ हजार २२४, क्षेत्र नं. ६ मा १ हजार ८०२, क्षेत्र नं. ७ मा १ हजार ६६८, क्षेत्र नं. ८ मा ५०९, क्षेत्र नं. ९ मा १ एक हजार ५०१ र क्षेत्र नं. १० मा ४ हजार २७१ मत पाएको छ ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. १ मा ९४६ मत, क्षेत्र नं. २ मा ३ हजार ५३६ मत पाएको छ । यसैगरी क्षेत्र नं. ३ मा १ एकहजार ५८४, क्षेत्र नं. ४ मा २ हजार २३२, क्षेत्र नं. ५ मा १ हजार ५२२, क्षेत्र नं. ६ मा २ हजार १६, क्षेत्र नं. ७ मा २ हजार २०, क्षेत्र नं. ८ मा ६००, क्षेत्र नं. ९ १ हजार ९५४ र क्षेत्र नं. १० ४ हजार ९०२ मत पाएको छ । प्रतिनिधिसभामा माओवादीले जम्मा मत १७ हजार ७१२ र प्रदेशसभातर्फ १९ हजार ९४२ मत पाएको छ ।

यसैगरी ललितपुर क्षेत्र नं. १ मा ५ हजार ६७४, प्रदेशसभामा ५ हजार ४८२ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनमा १ हजार ८७८, प्रदेशसभा २ हजार ५४३ क्षेत्र नं. ३ मा ६ हजार ५३१, प्रदेशसभामा ७ हजार ५१६ मत पाएको छ ।

समग्रमा ललितपुर जिल्लाबाट माओवादीले प्रतिनिधिसभामा जम्मा १४ हजार ८३ र प्रदेशसभामा १५ हजार ५४१ जम्मा मत पाएको छ ।

यस्तै भक्तपुर क्षेत्र १ मा प्रतिनिधिसभातर्फ १ हजार ४०४, प्रदेशसभा २ हजार ३४ मत पायो । क्षेत्र नं. २ मा २ हजार ७३१ र प्रदेश सभामा ३ हजार ३०५ मत पायो । भक्तपुरबाट प्रतिनिधिसभामा माओवादीले पाएको जम्मा मत ४ हजार १३५ र प्रदेशसभामा ५ हजार ३३९ हो ।

२०७४ निर्वाचनमा माओवादी केन्द्रले काठमाडौँ जिल्लाबाट समानुपातिकतर्फ ३१ हजार ४३२ मत पाएको थियो । प्रदेशसभामा ३२ हजार २९० मत पाएको थियो ।

त्यस्तै ललितपुरमा २२ हजार २०३ प्रतिनिधिसभातर्फ पाएको थियो भने २२ हजार ८०४ मत प्रदेशसभामा पाएको थियो । अघिल्लो निर्वाचनमा भक्तपुरमा ७ हजार ४०५ र प्रदेशसभामा ७ हजार ३७६ मत पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप