मेयर बालेनले सिंहदरबारमै आगो लगाउने अराजक अभिव्यक्ति दिनुको कारण के ?
हिजो शनिबार राति (९ः२१ बजे) काठमाडौँका मेयर बालेन शाहले फेसबुकमा अराजक स्टाटस लेखेपछि धेरैको ध्यान खिचियो — आखिर भएको के थियो ? किन मेयर शाहले सरकारलाई चोर भन्दै सिंहदरबारमै आगो लगाउने अभिव्यक्ति दिए ?
सुत्केरी पत्नी सविना काफ्ले चढेको सेतो नम्बर प्लेटको सरकारी गाडीमा चेकजाँच भएपछि नै मेयर शाहको फेसबुकबाट अराजक स्टाटस पोस्ट भएको रहेछ । शाहकी पत्नी सविनाले एक साताअघि ललितपुरको मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्यमा केही समस्या देखिएपछि एनआईसीयूमा उपचार भइरहेको र सविना भने दुई दिनअघि डिस्चार्ज भएको अस्पताल स्रोतको भनाइ छ ।
शनिबार साँझ ८ः४९ बजे सविना ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वर आइपुग्दा ट्राफिक चेकिङ भइरहेको थियो । सार्वजनिक बिदाको दिन सेतो नम्बर प्लेटको गाडी देखेपछि ट्राफिक प्रहरीले कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे । मेयर शाहका स्वकीय सचिवको विज्ञप्ति भन्छ, ‘सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत सवारी चालकले आफ्नो परिचयपत्र देखाउँदै अनुरोध गरे ।’
नगरप्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको र प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब सात मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार, मेयर शाहकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा घटना भएको थियो ।
बालेनको अराजक स्टाटसको बचाउमा ‘सुत्केरी संवेदना’ जोड्दै आज बिहान मेयर शाहनिकट मानिने फेसबुक पेज ‘रुटिन अफ् नेपाल बन्द’ले लेखेको थियो — ‘बालेन शाह एन्ड हिज वाइफ सविना काफ्ले गिभ्स् बर्थ टु अ बेबी गर्ल । कन्ग्राचुलेसन ।’
यसमा सविनाले छोरीलाई जन्म दिएको कहिले भन्ने खुलाइएको थिएन । एक साताअघि नै सविनाले छोरीलाई जन्म दिएको समाचार रातोपाटीमा आएको केही समयपछि त्यसमा सच्याइयो — ...फ्यु डेज अगो ।
यस घटनालाई गहिरिएर हेर्दा ट्राफिक प्रहरीको नियमित काम–कारबाही, सुत्केरी संवेदना र महिला स्वास्थ्य जोडिएर आएको देखिन्छ । सविना चढेको गाडीमा मेयर बालेन थिएनन्, तर सविनाले घटनाको अवगत गराएपछि नै मेयर बालेनले अराजक स्टाटस लेखेको बुझिन्छ । प्रश्न उठ्छ, घटना सामान्य भएको भए मेयर बालेनलाई अवगत किन गराइयो ?
मनोविद् करुणा कुँवरका अनुसार, सुत्केरी हुँदाको पीडा, सुत्केरी हुनुअघिको अवस्था आदिका कारण सुत्केरी भइसकेपछि आमामा ‘पोस्टपार्टम डिप्रेसन’ देखिन सक्छ ।
यद्यपि महानगरका मेयरले सिंहदरबारमै आगो लगाउँछु भन्ने खालको अराजक अभिव्यक्ति दिनु जायज होइन, पद र जिम्मेवारीका हिसाबले पनि उनले संयमता अपनाउन सक्नुपथ्र्यो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरलाई सुन्दर, स्वच्छ र प्रशासनिक चुस्त–दुरुस्त बनाउने सवालमा बालेन चिन्तित देखिँदै आएका छन् । आफ्नो कामको सिलसिलालाई लिएर उनले आफ्नो फेसबुकमार्फत बेलाबेला अराजक अभिव्यक्ति पनि दिएका छन् । उनले चैत २४ (२०७९) मा फेसबुक स्टाटस लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ जबकि महानगरले अदालतको आदेशमा फोहोर उठाउन सुरु गर्नुपर्यो ।
पछिल्लो समय उनले राष्ट्रप्रेमलाई केन्द्रमा राखेर अदालतको आदेश नै नमान्नेसम्मको अभिव्यक्ति दिए । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा सीता भारतकी पुत्री रहेको भन्ने आशयको संवाद रहेको विषयलाई लिएर उनले २२ जुनमा स्टाटस लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’
मेयर शाहले यस्ता अराजक अभिव्यक्ति दिनुको पछाडि कतै कामको चाप त होइन ? कतै यसको पनि मनोविज्ञान छ कि ? मनोविद् कुँवरका अनुसार, कुनै व्यक्तिले घरायसी वा व्यक्तिगत समस्याका कारण तनावमा आएर घरबाहिर वा कार्यालयमा आक्रोश पोख्न सक्छन् । यस्तै कार्यालयसँग सम्बन्धित समस्याका कारण कसैले घर–परिवारमा आक्रोश व्यक्त गरेको पनि देखिन्छ । यो अवस्था देखिनुलाई व्यक्तिले तनावको व्यवस्थापन गर्न नसकेको भनी बुझ्नुपर्छ । यसको समाधानको उपाय भनेकै तनाव व्यवस्थापन हो ।
‘तनाव व्यवस्थापनका उपाय धेरै छन् । कार्यालयको तनाव कार्यालयमै छाडेर घरमा आउने र घरको तनाव घरमै छाडेर कार्यालय जाने अभ्यास गर्नुपर्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘अर्को महत्त्वपूर्ण कुरा — तनाव कम गर्न, कामको लोड पनि कम गर्नुपर्ने हुन्छ । यसमा आठ घन्टा काम, आठ घन्टा निद्रा र आठ घन्टा परिवारलाई दिने सूत्र पनि छ ।’ उनका अनुसार, अत्यधिक कामले ल्याउने तनावलाई ‘बर्न आउट सिन्ड्रोम’ भनिन्छ ।
व्यक्तिको हकमा तनावका कारण अनेक हुन्छन् — आफ्नो अनुकूल काम गर्न नपाउनू । आफ्नो विचार अनुसार अर्कोले नगरिदिनू आदि ।
यद्यपि एउटा जिम्मेवार पदमा बसेको व्यक्तिको अराजक अभिव्यक्तिले प्रश्न उठाउँछ — के मर्यादा, संयमता, सभ्य भाषा आदिको कुनै महत्त्व छैन ? जे बोल्न पनि पाइन्छ ? यसो हो भने, मेयर बालेनका काम–कारबाहीप्रति पनि कति सर्वसाधारण असन्तुष्ट छन् । बालेनले उठाएका फुटपाथ पसले, बालेनले भत्काएका संरचनाका धनीले यसो भन्ने — महानगरको कार्यालयमा आगो लगाइदिन्छु, चोर... याद राख ।
रातोपाटीलाई ट्राफिक प्रहरी स्रोतले जनाए अनुसार, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड सविना सवार गाडी रोकिएको थियो । अझ ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तो किसिमको जाम र चेकजाँचमा थुप्रै सर्वसाधारण र बिरामी परेकै हुन्छन् । यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा जनताले भोट दिएर चयन गरेको एउटा युवाले आफ्नी पत्नीलाई ‘रानी–महारानी’को र आफ्ना छोराछोरालाई ‘राजकुमार–राजकुमारी’को विशेषाधिकार दिलाउने चाहना राख्छ भने त्यसलाई कसरी लिने — प्रश्न यो पनि छ ।
राजनीतिक संस्कार किन छैन ?
राजनीतिक विश्लेषक प्रा. लोकराज बरालका अनुसार, अचेल नेताहरूले वाहवाही अर्थात् लोकप्रिय हुने मोह पालेको देखिन्छ । ‘सामाजिक सञ्जालमा भीडले उचालिदिएको भरमा नेताहरूले उत्तेजित अभिव्यक्ति दिने प्रवृत्ति बढेको छ,’ प्राध्यापक बरालले आइबार (१७ भदौ) दिउँसो टेलिफोनमार्फत भने, ‘नेता भइसकेपछि अभिव्यक्तिमा विशेष ध्यान दिनुपर्छ । कतिपय विषयमा जवाफदेही र उत्तरदायी हुनुपर्छ ।’
प्रा. बराललाई हामीले सोधेका थियौँ — सार्वजनिक ओहोदाको पदमा रहेको पदाधिकारी वा नेताहरूमा कस्तो किसिमको राजनीतिक संस्कार वा भाषा हुनुपर्छ ? उनका अनुसार, राजनीतिक संस्कार भनेको राजनीतिक नेता भइसकेपछि के कुरा बोल्नुहुन्छ, के बोल्नु हुँदैन, कति संयमित हुनुपर्छ आदि ख्याल गर्नु नै हो । ‘अधिकारसम्पन्न व्यक्तिको हकमा के कस्ता नियम बनाउने, ती नियमलाई आफूले कसरी पालन गर्ने र अरुलाई कसरी पालना गराउने भनी स्पष्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘जथाभावी नबोल्ने, अराजक नहुने, संयमित र शिष्ट भई प्रस्तुत हुने, आफ्ना कुरा संयमित र सभ्य भएर राख्नु नै राजनीतिक संस्कार वा मर्यादा हुन् । प्रहरीले सवारी–साधन चेकजाँच गरेकै भरमा सिंहदरबारमा आगो लगाइदिन्छु भन्नु आपराधिक कुरा हो ।’
अराजक अभिव्यक्ति दिन युवा तथा नयाँ नेताले पुरानै नेताबाट सिकेको बराल बताउँछन् । ‘वर्तमानमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका पाका–पुराना नेताको बोलीमा पनि लगाम देखिँदैन । पुराना नेता नै जथाभावी बोलिरहेका हुन्छन्, नियम–कानुन तोड्ने र संविधान नमान्ने यिनीहरू नै हुन्छन्,’ बराल भन्छन्, ‘सबैलाई एकमुष्ठ भन्न सकिँदैन, शिष्टता राख्ने पनि होलान् । मुख्य कुरा नेताहरूले नियम–कानुन र संविधान मान्नुपर्यो । गणतान्त्रिक व्यवस्था अनुसार जनमुखी हुनुपर्यो, तर हाम्रा नेता सत्ताकेन्द्रित देखिन्छन्, सिद्धान्तको राजनीति देखिँदैन । यहाँ एउटालाई पल्टाउने र अर्कोलाई उचाल्ने खेल चलिरहेको छ ।’
के कस्तो अभिव्यक्ति दिने भन्ने सम्बन्धमा कतै जनप्रतिनिधिहरूलाई आचार वा सदाचार संहिता आवश्यक परेको त होइन ? वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई भन्छन्, ‘संविधान र कानुनमा स्पष्ट लेखिएको कुरा त नेताहरूले पटकपटक उल्लंघन गरेका छन् । सर्वोच्चको आदेशको पनि उल्लंघन गरेका छन्, पालना गरेका छैनन् । आचारसंहिता बनाएर के होला ? मूल कुरा प्रवृत्ति हो । संविधान र कानुन नै मिच्ने प्रवृत्ति भएको मुलुकमा आचारसंहिताजस्तो ‘सफ्ट ल’ले के अर्थ राख्छ ? कुनै नयाँ आचारसंहिता चाहिएको छैन ।’
देशमा अहिले ‘पपुलिजम्’को लहर चलेकाले नेताहरूबाट अराजक अभिव्यक्ति आइरहेको उनको विश्लेषण छ । ‘पपुलिजम्ले राम्रो–नराम्रो, उचित–अनुचित, कानुनी, संवैधानिक भन्ने हेर्दैन । यो प्रवृत्ति पपुलिजम्को उन्माद हो,’ अधिवक्ता भट्टराईले टेलिफोनमार्फत भने, ‘सिंहदरबारमै आगो लगाइदिन्छु भन्नु त्यसैको प्रतिक्रिया हो ।’
यस्ता प्रवृत्ति सच्याउन राज्य वा बुद्धिजीवी वर्गले कसरी सोच्न सक्छ ? ‘स्थापित राजनीतिक दलहरूको गैरसंवैधानिक क्रियाकलापले नै पपुलिजम् जन्माएको हो,’ अधिवक्ता भट्टराई भन्छन्, ‘उनीहरू सुध्रिए भने पपुलिजम् आफैँ समाप्त भएर जान्छ ।’
सरकारी गाडी चेकजाँच किन ?
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख (सीडीओ) जितेन्द्र बस्नेतका अनुसार, खर्च मीतव्ययिताका लागि सार्वजनिक बिदाका दिन सरकारी गाडी नचलाउने भनी सरकारको निर्देशन छ । यहीबमोजिम प्रहरी तथा ट्राफिक प्रहरीले देशैभरि नियमित रूपमा चेकजाँच गर्दै आएका छन् । ‘यस्तो चेकजाँच हिजो शनिबारको दिन काठमाडौंमा मात्रै भएको होइन, धेरै वर्ष अघिदेखि देशभरि निरन्तर र नियमित रूपमा हुँदै आएको छ,’ उनले भने, ‘निश्चित उद्देश्य वा कार्यालयको कामको प्रयोजनका लागि सवारी प्रयोग गरिएको भए केही समस्या हुँदैन । यसका लागि जिल्लास्थित कार्यालयको हकमा जिल्ला प्रशासनबाट पास जारी गर्ने व्यवस्था छ । मन्त्रालयको हकमा मन्त्रालयका सचिवले पास जारी गर्ने भनिएको छ ।’
हामीले उनलाई सोध्यौँ, पालिका प्रमुखको हकमा कुनै व्यवस्था छ कि ? ‘सेतो प्लेट भएको सरकारी गाडीलाई नियमन गर्ने उद्देश्यले चेकजाँच गर्ने हो । पालिका प्रमुखका लागि संघीय सरकारले छुट्टै नम्बर प्लेटको व्यवस्था गरेको हामीले पाएका छैनौँ । ट्राफिक प्रहरीहरूले सार्वजनिक बिदाको दिन सेतो नम्बर प्लेट भएका सरकारी गाडीको चेकजाँच गर्दै आउनुभएको छ,’ उनले भने, ‘स्थानीय तहको हकमा आफ्नो आन्तरिक नियमन वा नियन्त्रण प्रणालीलाई दरिलो बनाउन उहाँहरू आफैँले पास जारी गरेर सरकारी नम्बर प्लेटको गाडी चलाउनुभएको भए बेग्लै कुरा भयो ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार, सरकारी गाडी चेकजाँचका लागि बेलाबेला तालुक मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूबाट निर्देशनहरू आएका हुन्छन् । त्यसमा प्रहरी र ट्राफिक प्रहरीले सहयोग गर्ने हो ।
‘सार्वजनिक बिदाको दिन कसैले सरकारी सवारीसाधनको दुरुपयोग गरेको फेला परेमा सवारीसाधन रोक्ने र सम्बन्धित कार्यालयलाई जानकारी गराउने, चलाउन नदिने र पछि कार्यालयमा फिर्ता गरिदिने चलन छ,’ उनले भने, ‘यस्तो काम–कारबाही पहिलेदेखि नै निरन्तर र नियमित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
-
सार्वभौम निकायले देखाएको नेपाली अर्थतन्त्रको ‘डाइग्नोसिस रिपोर्ट’
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट