मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, १७ भदौ २०८०, २१ : ००
आइतबार, १७ भदौ २०८०

आज २०८० भदौ १७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा बिदामा सरकारी सवारी साधन चलाएपछि विवादमा तानिए बालेन, एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि सहमति र निर्वाचनको दुवै विकल्प खुला, चीनले जारी गरेको नक्साबारे परराष्ट्र मन्त्रालयसँग संसदीय समितिले जानकारी लिने, कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पठाइयो, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाँदर र बँदेलको चर्चा, जनताको गुनासोलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन लगायत छन् ।

१. बिदामा सरकारी सवारी साधन चलाएपछि विवादमा तानिए बालेन
सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विवादमा तानिएका छन् । ट्राफिक प्रहरीले गरेको चेकजाँचपछि सामाजिक सञ्जालमा उनले व्यक्त गरेको टिप्पणीपछि विवाद सतहमा आएको हो । यस विषयमा बालेनको सचिवालयले प्रस्टीकरणसमेत दिएको छ ।

२. एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि सहमति र निर्वाचनको दुवै विकल्प खुला
नेकपा एमालेको लुम्बिनी प्रदेश जारी छ । प्रदेश कमिटी अध्यक्षमा सहमति र निर्वाचनसहित दुवै विकल्प खुला राखिएको छ । यद्यपि, सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने नेताहरुको भनाइ छ । 

३. चीनले जारी गरेको नक्साबारे परराष्ट्र मन्त्रालयसँग संसदीय समितिले जानकारी लिने
चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिइएको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी लिने भएको छ । समितिका सभापति राजकिशोर यादवले चीनले जारी गरेको नक्साका सम्बन्धमा सरकारले गरिरहेको कामबारे मन्त्रालयसँग जानकारी लिने बताएका हुन् ।

४. कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पठाइयो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । आइतबार संयुक्त इजलासमा पेसी तोकिएको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश भएको हो ।

५. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाँदर र बँदेलको चर्चा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाँदर र बँदेलको चर्चा भएको छ । आइतबार बसेको समितिको बैठकमा सभापति आरजु राणा देउवाले किसानहरु बाँदर र बँदेलबाट पीडित रहेको भन्दै नियन्त्रणका लागि नयाँ उपाय खोज्नुपर्ने बताइन् । उनले बाँदरको बन्ध्याकरण र बँदेललाई मारेर खाने विकल्पतिर विचार गर्न सकिने तर्क गरिन् ।

६. जनताको गुनासोलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । आइतबार ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्य शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आफूहरुलाई महत्त्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

७. कोशी प्रदेश नामकरणविरुद्ध ललितपुरमा बजाइयो च्याब्रुङ
किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शन आयोजना गरिएको छ । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर एकान्तकुनास्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयसम्म विरोध र्याली आयोजना गरिएको हो ।

८. भारतमा उपेन्द्र यादवको रहस्यमय बसाइ !
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा गएको आज ९ दिन भइसकेको छ तर उनी यत्रो लामो समय भारतमा के गर्दैछन् भन्ने केही खुलेको छैन । केरलामा एउटा बिहेको कार्यक्रममा गएका उनी त्यसपछि भारतको कुन कार्यक्रममा सहभागी भए भन्नेबारे न पार्टीलाई कुनै जानकारी छ, न सञ्चारमाध्यमलाई ।  

९. कर्जा असुलीमा सहकारीलाई समस्या
आवश्यक ऐनको अभावमा सहकारी संघ संस्थाहरुलाई कर्जा असुलीमा सकस परेको छ । विद्यमान सहकारी ऐन, २०७४ ले सहकारीको पैसा हिनामिनासम्बन्धमा सञ्चालकमाथि कारबाहीको व्यवस्था गरे पनि ऋणीहरुमाथि कर्जा असुलीको स्पष्ट व्यवस्था नगरिदिँदा समस्या आएको हो ।

१०. नेप्से सूचकमा करिब ३० अंकको गिरावट
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा करिब ३० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिने नेप्से सूचक २९.८१ अंकले घट्दै १९६०.७८ को विन्दुमा ओर्लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप