हाम्रो मौलिक कथा विश्वले हेर्न चाहन्छ : अभिनेता खगेन्द्र
![हाम्रो मौलिक कथा विश्वले हेर्न चाहन्छ : अभिनेता खगेन्द्र](https://npcdn.ratopati.com/media/news/khagendra_rsiebi9l4c.jpg)
काठमाडौँ । लेखक, निर्माता समेत रहेका फिल्म अभिनेता खगेन्द्र लामिछानेले नेपाली मौलिक कथा विश्वले हेर्न चाहिरहेको बताएका छन् । काठमाडौँ कलिङ साहित्य महोत्सवमा ‘एक्काइसौँ शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’ विषयमा बोल्दै उनले यो धारणा राखेका हुन् ।
‘१५ वर्षअगाडि नेपाली फिल्म विश्व बजारमा एक्जिस्ट नै गर्दैन थियो । यो साल मात्रै ३–४ वटा नेपाली फिल्म विश्वको सबैभन्दा ठुलो फेस्टिभलमा सहभागी भइरहेको छ’ लामिछानेले भने, ‘यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ । तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।’
यस्तो छ खगेन्द्रले कार्यक्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश :
म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो । त्यसअघि म थिएटरमा काम गर्थेँ । म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ । तर नेपाली सिनेमा हेर्दा नेपालीपनसँग जोडिएको सिनेमा कम हुन्थे । बजारलाई चलायमान बनाउने सिनेमा बलिउडबाट अति प्रभावित हुन्थे । जुन सिनेमा हेर्दा हामीले आफ्नो उपस्थिति देख्दैनथ्यौँ । हामी संयोगले सिनेमामा आयौँ ।
हामीले बनाउने सिनेमा कस्तो हुनुपर्छ ? मैले बुझेको के भने हलमा सिनेमा हेर्न जाँदा हाम्रो समाज कहाँ छ । रियलिस्टिक फिल्म हेर्न जाने जमात कति छ ? नेपाली फिल्महरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगेका छन् ।
१५ वर्ष अगाडि नेपाली सिनेमा एक्जिस्ट नै गर्दैन थियो । यो साल मात्रै ३–४ वटा नेपाली सिनेमा विश्वको सबैभन्दा ठुलो फेस्टिभलमा सहभागी भइरहेका छन् । यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ । तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।
राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ । अरु हरेक क्षेत्रमा हेर्नुभयो भने वीमाको व्यवस्था छ । धेरै व्यवसायसँग सरकार जोडिन्छ । तर सिनेमा यस्तो बिजनेस हो फिल्म दर्ता गर्दा विकास बोर्डमा १३ हजार ५ सय राज्यलाई तिर्नुपर्छ । त्यसपछि राज्यको भूमिका शून्य । अहिले व्यक्तिगत क्षमताले विश्व सिनेमामा नेपाली सिनेमा पुर्याइरहेका मेकर हुनुहुन्छ । राज्यले म पनि साथमा छु भनेर हौसला दियो भने कहाँ पुग्थ्यो होला ? ०५८ साल पूर्वको राज्यको भूमिका जस्तो थियो नेपाली सिनेमामा हाम्रो लडाइँ यसैमा छ ।
चलचित्रकर्मीले त सरकारलाई कमाइदिइरहेको जस्तो भइरहेको छ । फिल्म चल्यो भने राज्यले २५ प्रतिशत लिन्छ । खासमा फिल्म डुब्दा हाम्रो जिन्दगीचाहिँ कसरी चल्छ जस्तो लाग्छ । हामी नागरिक भएको अर्थ के ? हामी यसका लागि फाइट गरिरहेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र