मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

तीन थप्पड खाएपछि फिल्म छोड्न चाहन्थे : शक्ति कपुरले भने, ‘हिरो बनेकाे फिल्म १२ बजे लाग्यो, १२ः३० मा हलबाट उत्रियाे ’

आइतबार, १७ भदौ २०८०, १५ : १३
आइतबार, १७ भदौ २०८०

भिलेन, हास्य कलाकार, क्यारेक्टर आर्टिस्ट रोल जुनसुकै होस्, शक्ति कपुरले हरेक पात्रलाई जीवन्त पारेका छन् । फिल्मी दुनियाँमा चार दशकभन्दा बढी बिताइसकेका शक्ति कपुर आज ७१ औँ जन्मदिन मनाइरहेका छन् । यसलाई भाग्य नै भनौँ शक्ति कपुर अभिनेता बन्न नै चाहँदैनथे तर साथीहरूले भनेपछि फिल्ममा आए र छाए ।

करिब ७ सय फिल्ममा काम गरिसकेका शक्ति कपुरले सबै किसिमका भूमिका निर्वाह गरेका छन् । 

धेरैजसो भिलेन र हास्य कलाकार बन्ने शक्ति एउटा फिल्ममा हिरो पनि बने तर त्यो नराम्रोसँग फ्लप भयो । त्यसपछि उनले कहिल्यै हिरो बन्ने हिम्मत गर्न सकेनन् । जन्मदिनको मौकामा भारतीय सञ्चार माध्यम दैनिक भास्करले शक्ति कपुरसँग कुराकानी गरेको छ । उनले आफ्नो जीवनमा विभिन्न पाटाबारे कुराकानी गरेका छन् । उनको कहानी उनकै शब्दमा – 

shakti kapoorबुवाले कपडाको व्यापार सम्हालोस् भन्ने चाहेका थिए 

शक्ति कपुर भन्छन् – मेरो जन्म आजभन्दा ठिक ७० वर्ष अघि दिल्लीमा एक पन्जाबी परिवारमा भएको थियो । कनट प्लेसमा बुवाको ठुलो कपडा पसल थियो । उनी डिजाइनर थिए । कपडा बनाउनका लागि छुट्टा छुट्टै विभाग थिए । हामी जम्मा चार भाइ–बहिनी हौँ । दुई भाइ र दुई बहिनी । मेरो कान्छो भाइको क्यान्सरका कारण मृत्यु भइसकेको छ ।

मैले दिल्लीको करोडिमल कलेजबाट ग्रेजुएशन गरेको छु । यो त्यही कलेज हो जहाँबाट सतिश कौशिक, अमिताभ बच्चनजस्ता ठुला कलाकार पढेका छन् । मैले ग्रेजुएशन गरेर पारिवारिक व्यापार नै सम्हालूँ भन्ने बुवाको चाहना थियो ।

साथीहरूले उक्साएपछि फिल्ममा आएँ

खेलकुदतिर मेरो झुकाव बढी रह्यो । म त लहलहैमा फिल्ममा आएँ । मेरा कलेजमा केही साथी थिए जो थिएटर गर्दथे । उनीहरुले एफटीआईआईको फारम भरिरहेका थिए । 

एक दिन म निकै दुःखी भएर बसिरहेको थिएँ । साथीहरूले सोधेपछि मैले उनीहरूलाई मेरो पारिवारिक व्यवसायमा कुनै रुचि नभएको बताएँ । तापनि कलेज सकिएपछि पसलमा बस्नु नै पर्दथ्यो । क्रिकेट खेल्ने समय पनि पाउँदैनथेँ । यति भनेपछि म त्यहाँबाट निस्किएँ । साथीहरूले मेरो समस्या बुझे । उनीहरुले मलाई केही नभनीकन एफटीआईआईका लागि मेरो पनि फारम भरिदिए । यति बेला पनि मलाई अभिनयमा कुनै रुचि थिएन । 

एक दिन घरमा पत्र आयो, त्यसमा लिखित परीक्षाका लागि दिल्ली जानुपर्ने बताइएको थियो । पहिला त फारम कसले भरिदियो भनेर म अचम्ममा परेँ । सोधेपछि साथीले सबै कुरा भने र परीक्षाका लागि सँगै जाऔँ भने । साथीहरूसँग लहैलहै लागेर म पनि परीक्षा दिन गएँ । त्यसपछि अडिसनका लागि बोलाइयो, त्यहाँ पनि गएँ । 

अडिसन दिने पालो आयो, त्यहाँ मैले दादा मुनि अशोक कुमार, अभिनेत्री कामिनी कौशल र निर्देशक ऋषिकेश मुखर्जीलाई अगाडि देखेँ । यी दिग्गज व्यक्तित्वको अगाडि अडिसन दिनुपर्ने थियो । सबैभन्दा पहिला त मैले उहाँहरूको खुट्टा ढोगेँ । यति ठुलठुला व्यक्तित्वलाई भेट्न पाउँदा असाध्यै खुसी थिएँ । म ढुक्क थिएँ, मेरो केही हुने होइन भनेर त्यसैले अलिकति पनि डर लागेन । मैले डाइलग बोल्न सुरु गरेँ । 

४८ हजारमध्ये १० जना केटा छान्नुपर्ने थियो । दिल्लीका तीन जना मात्रै छनोट भए । एक अनिल धवन, दोस्रो नसीरुद्दीन शाह र तेस्रो म । यो कुरा सुनेर सबै साथीहरू रिसाएँ । उनीहरूलाई लाग्यो कि पैसा दिएपछि म छानिएँ ।

त्यसपछि मैले आफ्नी आमालाई एफटीआईआईमा छनोट भएको जानकारी दिएँ । अब स्क्रिन टेस्टका लागि बोलाइएको थियो । यस्तो गरेर म पुना पुगेँ र स्क्रिन टेस्टमा पनि पास भएँ । त्यहाँ दोस्रो वर्षमा पढिरहेका बेला फिल्म ‘खेल खिलाडी का’ मा साइन गरेँ । यसरी मेरो अभिनय करियरको सुरु भयो ।

Shakti-Kapoor6मुम्बईमा सङ्घर्ष कम रह्यो

म झुटो बोल्दिनँ । मैले खासै धेरै सङ्घर्ष गर्नुपरेन । कहिल्यै भोको सुत्नुपरेको घटना थिएन । सुरुवाती समयमा सान्ताक्रुज (मुम्बई) मा पेइङ गेस्ट बनेर बसेँ । २५० भारु शुल्क तिर्नुपर्दथ्यो, त्यति त कमाइहाल्थेँ ।

केही समयपछि विनोद खन्नाले मलाई सोधे – तिमी कहाँ बस्छौ ?

मैले आफू पेइङ गेस्ट भएको बताएँ ।

त्यसपछि उनले भने, ‘मेरो एउटा फ्ल्याट खाली छ, त्यहाँ बस्न जाऊ । अनिल वर्मा पनि त्यहीँ बसिरहेका छन् ।’

यसरी बस्न थालेपछि धेरै सजिलो भयो ।

shakti kapoor3जुन फिल्ममा हिरो बनेँ, त्यो आधा घण्टामा नै हलबाट उत्रियो

म पनि हिरो बन्ने कोसिसमा थिएँ । एउटा फिल्ममा हिरो बनेँ । फिल्मको नाम जख्मी इंसान थियो । यो फिल्म १२ बजे हलमा लाग्यो र साढे १२ बजे उत्रियो । फिल्मको नाम जस्तै निर्माता, वितरक सबै जना ‘जख्मी’ भए अर्थात् सबैले भारी हानी व्यवहोर्नु पर्‍यो । त्यसपछि मैले कहिल्यै हिरो बन्ने आँट गरिनँ । 

जे भइरहेको छ, त्यो राम्रो भइरहेको छ भन्ने सोचेर अघि बढिरहेँ । हो, भिलेनको भूमिका निभाउँदा निभाउँदै एक समय त वाक्क लागेको थियो ।

फिरोज खानको कारलाई ठक्कर दिँदा पाए फिल्म

एक पटक शक्ति कपुर कार चलाएर कतै जाँदै थिए । त्यति बेला उनको कार एक मर्सिडिजसँग ठोक्कियो । उक्त मर्सिडिज अभिनेता–निर्देशक फिराेज खानको थियो । शक्ति कपुर झगडा गर्न कारबाट ओर्लिए । तर उनले अगाडि फिरोज खानलाई देखे । उनको रिस शान्त भयो । उनले झटपट आफ्नो परिचय फिराेज खानलाई दिए र काम मागे । फिराेज त्यति बेला फिल्म कुर्बानीको तयारी गरिरहेका थिए । उनले शक्तिलाई त्यसमा भिलेनको भूमिका दिए ।

Shakti-Kapoorतीन थप्पड हानेपछि फिल्म छोड्न चाहन्थे

फिल्म मवालीमा मैले अरुणी इरानी, कादर खान र जितेन्द्रसँग काम गरेका थिएँ । सुटिङको दिन पहिलो सट दिइरहेका बेला अरुणा इरानीले थप्पड हानिन् । दोस्रो सटमा जितु जी (जितेन्द्र) ले चड्कन हाने र तेस्रो सटमा कादर खानले । 

तीन चड्कन खाँदा मलाई दिक्क लागिरहेको थियो । फाइट मास्टर विरु देवगन (अजय देवगनका पिता) भए ठाउँ गएँ । मैले उनलाई भनेँ – मलाई फिल्म गर्नु नै छैन । भिलेन हुँ तर मैले थप्पडमाथि थप्पड खाइरहेको छु । 

उनले भने, ‘यो फिल्म तेलुगु फिल्मको रिमेक हो । मैले ओरिजिनल फिल्म हेरेको छु । यो पात्र धेरै राम्रो छ । तिमीलाई थाहा नै छैन । थप्पड खाइरहेको छौ, राम्रोसँग खाऊ र त्यसमाथि उत्कृष्ट प्रतिक्रिया पनि देऊ ।’

उनले सम्झाएपछि म पुनः सुटिङका लागि गएँ र उत्कृष्ट सट पनि दिएँ । फिल्म सुपर हिट रह्यो । मानिसहरूलाई मेरो भूमिका असाध्यै मनपर्यो । यसै फिल्मपछि मेरो र कादर खानको जोडी बन्यो । आज उनी यो दुनियाँमा छैनन् तर उनको याद असाध्यै आउँछ ।

shakti kapoor1भागेर विवाह गरे

शिवांगी कोल्हापुरे ८० को दशककी अभिनेत्री थिइन् । सन् १९८० मा रिलिज भएको फिल्म ‘किस्मत’ को सुटिङका बेला शक्तिको भेट शिवांगीसँग भएको थियो । दुई जना साथी बने र प्रेम बस्यो । त्यसपछि विवाह गर्ने निर्णय गरे ।

शिवांगीका पिता यो विवाहका लागि राजी थिएनन् । शक्तिसँग प्रेम सम्बन्ध भएको सुनेर शिवांगीका अभिभावले उनलाई कोठामा बन्द गरेर राखेका थिए । अन्ततः यी दुईले भागेर विवाह गरे । यी दुईले सन् १९८२ मा विवाह गरे । विवाहपछि शिवांगीले छोरा सिद्धान्त र छोरी श्रद्धालाई जन्म दिइन् ।

shakti kapoor5श्रद्धाको सर्प्राइज देखेर आँसु आयो

म मद्रासमा निर्देशक के. राघवेन्द्र रावको फिल्ममा काम गरिरहेको थिएँ । मैले जन्मदिनमा पनि छुट्टी नपाएपछि श्रीमती शिवांगी असाध्यै रिसाइन् । जन्मदिनमा पनि घर नआउने भनेर श्रीमती रिसाएपछि मैले निर्देशकलाई घर जान दिन आग्रह गरेँ । बेलुकासम्म फिर्ता हुने बचन दिएर म घर गएँ । श्रीमतीलाई सर्प्राइज दिन उनी मद्रासबाट मुम्बई गए ।

घर पुग्दा श्रीमती घरमा थिइनन् । घरमा छोरी श्रद्धा मात्रै थिइनन् । म दुई घण्टामा फर्कनुपर्ने थियो । हलमा बसेँ । अब के गर्ने होला भनेर सोचेँ । त्यति बेला श्रद्धा ६ वर्षकी मात्रै थिइन् होला तर उनी समझदार थिइन् । उनले मलाई ‘पापा, किन यत्तिकै बसिरहनुभएको छ ?’ भनेर सोधिन् । मैले भनेँ, ‘आज मेरो जन्मदिन हो । म सुटिङ छोडेर आएको हुँ तर तिम्री आमा घरमा छैनन्’ ।

छोरीले भनिन्, ‘केही छैन, एक छिन है ।’ उनले कोठाबाट पियानो लिएर आइन् । उनलाई सानैदेखि पियानो बजाउन मन लाग्थ्यो । उनले पियानोमा ह्याप्पी बर्थडे टु यु... धुन बजाइन् । उनले मलाई यसरी शुभकामना दिएर असाध्यै खुसी लाग्यो । आँसु नै झर्‍यो । मैले छोरीलाई धेरै माया गरेँ । घर आउनु सफल भयो भनेर उनलाई भनेँ । त्यसपछि सुटिङमा फर्किएँ ।

एक–दुई पटक सेटमा मेरो जन्मदिन गोबिन्दाले मनाइदिए । मेरो ३ सेप्टेम्बर र ऋषि कपुरको ४ सेप्टेम्बरमा जन्मदिन पर्छ । उनी मेरा निकै मिल्ने साथी थिए । उनले एक–दुई पटक मलाई आफ्नो घरमा बोलाएर जन्मदिन मनाइदिएका छन् ।

shakti kapoor4नयाँ फिल्ममा हस्ताक्षर गर्नुअघि आमाको आशीर्वाद सधैँ लिन्थे

पहिला जब म कुनै नयाँ फिल्म साइन गर्थेँ, तब सबैभन्दा पहिला आफ्नी आमालाई फोन गर्थेँ र उहाँबाट आशीर्वाद लिन्थेँ । उहाँबाट आशीर्वाद पाउँदा भगवानबाटै आशीर्वाद पाएको जस्तो हुन्थ्यो ।

मन्दिर त दिनहुँ जान्थेँ । पहिलो फिल्म सोमबार साइन गरेको थिएँ, शिवजीको दिन थियो । मेरो घर नजिकै हरे रामा हरे कृष्णाको एउटा सानो मन्दिर छ । सुटिङमा जाने बेला गाडी रोकेर हात जोड्छु ।

गोबिन्दाको मजाक उडाउँदा माफी मागे

गोबिन्दा र शक्तिले ४२ वटा फिल्ममा सँगै काम गरेका छन् । एक समय यस्तो थियो कि गोबिन्दाको सबै फिल्म फ्लप भइरहेको थियो । फिल्म ‘आग ही आग’ को सक्सेस पार्टीमा गोबिन्दा र शक्ति पुगेका थिए ।

पार्टीमा शक्तिले निर्देशक बी.सुभाषसँग गोबिन्दाको मजाक उडाउन थाले । यो सुनेर गोबिन्दालाई असाध्यै नराम्रो लाग्यो र उनी बीचमा नै पार्टी छोडेर गए । पछि शक्तिलाई आफ्नो गल्ती महसुस भयो । उनले फोन गरेर गोबिन्दासँग माफी मागे ।

shakti_kapoor_and_govindaगोबिन्दाले भनेपछि फिल्म राजा बाबुमा गरे काम

फिल्म राजा बाबुमा म पूरा समय गन्जी र कट्टुमा मात्रै देखिएको छु । सुटिङ हुनु अघि मैले गोबिन्दालाई म यो पूरा फिल्ममा गन्जी–कट्टुमा देखिन्छु भनेँ । यसमा उनले मलाई फिल्म नछोड्न सल्लाह दिए । मैले फिल्ममा यही भूमिकामा निभाएँ भने अवार्ड पक्कै पनि पाउँछु भनेर उनले भने । 

उनले भनेपछि मैले यो फिल्म गरेँ र यसमा एउटा डाइलग छ – समझता नहीं हे यार । यो डाइलग गोबिन्दाले नै दिएका थिए । यो फिल्म हिट भयो र मैले फिल्म फेयरको उत्कृष्ट अभिनेताको अवार्ड पनि पाएँ । यहाँ म के जोड्न चाहन्छु कि मेरो र गोबिन्दाको सिन सुरु भयो र निर्देशकमा डेभिड धवन छन् भने सुटिङका बेला निर्देशकले सिन कट नै बोल्दैनथे ।

त्यो चलिरहन्थ्यो किनभने हामी सिन गर्दागर्दै इन्प्रोभाइज गर्दथ्यौँ । निर्देशकले भन्थे – यसरी त मेरो पिक्चर १५ घण्टाको बन्नेछ । तिमीहरू रोकिऊ । तिमीहरूले यति हँसाउँछौ कि मलाई कट भन्न नै मन लाग्दैन ।

सुनिल दत्त र नरगिस दत्तले दिए शक्ति कपुरलाई नाम

शक्ति कपुरको वास्तविक नाम सुनिल कपुर हो । सुरुवातका केही फिल्ममा क्रेडिटमा यही नाम छापिन्थ्यो । सन् १९७७ मा शक्तिको भेट सुनिल दत्तसँग भयो । भेटघाटका क्रममा शक्तिले उनलाई आफ्ना केही तस्बिर देखाए । तस्बिर हेरेपछि सुनिल दत्त निकै प्रभावित भए र आँखाको तारिफ पनि गरे । शक्तिले उनलाई भोलिपल्ट अफिसमा बोलाए । सुनिल दत्तलाई शक्ति केही फिल्ममा साइड रोल गरिसकेका छन् भन्ने थाहा थिएन । उनले शक्तिलाई ठुला प्रोजेक्टमा सँगै लन्च गर्ने योजना बनाए । सुनिललाई सोच थियो कि यदि उनले भिलेनको भूमिका निभाइरहेका छन् भने नाम पनि भिलेनको जस्तै हुनुपर्छ । त्यसपछि सुनिल र नरगिसले उनको नाम सुनिलबाट फेरेर शक्ति कपुर राखिदिए ।

डायलगलाई डायरीलाई लेख्थेँ 

म सानो डायरी राख्थेँ । त्यसमा हरेक फिल्मको क्यारेक्टरबारे लेख्थेँ । त्यति बेला एक समयमा ३०–४० वटा फिल्मको सुटिङ चल्थ्यो । हो, कति पटक इन्स्पेक्टरको भूमिकामा कपालको समस्या हुन्थ्यो, त्यति बेला विग लगाउँथे । दाह्रीको आवश्यकता पर्दथ्यो, नक्कली दाह्री लगाउँथे । आजकाल मानिसहरू दाह्री नै बढाउँछन् किनभने त्यति धेरै फिल्म गर्दैनन् । अब त धेरै परिवर्तन भइसकेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप