बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

सिन्डिकेटका तगारा भत्काउने तागत छ अर्थमन्त्रीज्यू ?

आइतबार, १७ भदौ २०८०, १४ : ४५
आइतबार, १७ भदौ २०८०

‘मिटर ब्याजपीडितहरू राज्यका ऐना हुन् । राज्यले नै तीनथरीको ब्याज तय गरेको छ । मिटर ब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैङ्कबाट मिलिमिटर ब्याज । मिलिमिटर ब्याज जनतालाई दिने होइन । जुन उद्योगपतिबाट चन्दा लिएर चुनाव लड्छ, सरकारमा बसेका पार्टी र सरकारका अगुवाहरूले तिनै उद्योगपतिलाई दिन्छन् । ४७ खर्ब (ऋण) प्रवाह भएकोमा ३० खर्ब सय जना ब्यापारीले लिएका छन् । त्यो जनतालाई कहिल्यै पनि दिँदैनन् । त्यस  कारण मिटर ब्याजको जड साहु होइन सरकार हो ।’  

उल्लिखित धारणा सांसद अमरेशकुमार सिंहले संसद्मा व्यक्त गरेका हुन् । उनी स्वतन्त्र सांसद हुन् । त्यसैले जनताले भोगिरहेका समस्या स्वतन्त्रतापूर्वक पस्किन सके । उनको विचारले सामाजिक सञ्जालमा मात्रै ठाउँ पायो । किनभने सांसदमा उनले औँल्याएको जस्तो व्यापारीसित चन्दा लिएर सांसद बन्ने र मिलिमिटर ब्याज र करछुट दिएर त्यसको असुलउपर गर्नेहरूको बाहुल्य छ । त्यसैले उनको विचारले संसद्मा ठाउँ पाएन । अर्थमन्त्रीले एउटा कानले सुने, अर्को कानले उडाइदिए । त्यसैले बैङ्कहरूले प्रशस्त तरलता हुँदाहुँदै पनि ब्याज बढाउन छोडेका छैनन् ।   

बजेट बनाउने सरकार भएपछि केन्द्रीय बैङ्कलाई शोधनान्तर घाटासित मतलब नै भएन । जसरी भए पनि उसलाई विदेशी मुद्राको सञ्चिति मेन्टेन गर्न पाए पुगेको छ । आजसम्म विप्रेषण आप्रवाहको कारण अर्थतन्त्र धानिएको छ । विप्रेषणमा कमी आउँनेबित्तिकै अर्धतन्त्र धराशायी हुन्छ । 

अहिले मानिसका चहाना र आवश्यकता असीमित हुँदै गएका छन् । नेपालको हकमा विप्रेषणको मुख्य वस्तु भनेको वैदेशिक रोजगारमा जाने श्रमिक हुन् । उनीहरूको पनि आम्दानीको सीमा छ । असीमित चहाना र आवश्यकतालाई सीमित वस्तुले सधैँभरि धान्न सक्दैन । त्यसैले यसको विकल्पको खोजी गर्न ढिला भइसकेको छ ।             

वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले एउटा भाषणमा आफूलाई विदेश बस्न पटक्कै मन नलागेको र स्वदेशमै पर्याप्त अवसर भएको कुरा उल्लेख गरे । उनको यो विचारमा असहमत हुने कुरा छैन । किनभने नेपाल एउटा यस्तो देश हो जहाँका नेता रातारात अर्बपति हुन्छन् । इमानदार र राजनीतिक पहुँच नभएका व्यापारी सम्पूर्ण जीवन खर्चिंदा पनि अन्त्यमा सार्वजननिक आत्मदाह गर्नुपर्ने ठाउँमा पुग्छन् या जायजेथा बेचेर विदेश पलायन हुन्छन् । अरू मात्र होइन १० वर्षसम्म जनयुद्ध लडेका नेतासमेत अहिले अर्बपति भएका छन् । तर उनीहरूलाई जनताले प्रश्न समेत गरेनन्, उल्टै भोट हालेर जिताए । 

प्रकाशशरणलाई विदेश मन परेन । यो स्वागतयोग्य कुरा हो । परोस् पनि कसरी ? किनभने नेतहरूका लागि नेपाल उर्वर भूमि नै हो । उनलाई काम गर्न विदेश जाने युवा रहरले गएका भन्ने लाग्दो रहेछ । आफ्नो देश मन नपरेर गएका हुन् । तर विदेश गई रगतपसिना बगाउनेहरूलाई त्यसको चोट थाहा छ । त्यो चोट पाइल्यैपिच्छे रगत चुस्नेहरूलाई के थाहा ? प्रकाशशरण अर्थमन्त्री भएको देशमा एउटा बच्चा पढाउँदा र एउटा उपचार गर्दा एउटा नागरिकको घर बिल्लिबाठ हुन्छ । 

विकसित मुलुकतिर जाने साथी भन्छन् । विदेशमा आठ घण्टा काम गरेर परिवार पाल्न पनि धौधौ हुन्छ । त्यसैले १२ देखि १८ घण्टा काम गर्नु पर्छ । अझै खाडीतिर काम गर्नेहरूले त आफू र परिवार मात्रै पालिएका छैनन् प्रकाशशरणहरूलाई समेत पाल्नु परेको छ । अनि अरूको कमाइमा मोज गर्न पाएपछि विदेश किन बस्ने ? 

मदन भण्डारी भन्नु हुन्थ्यो, “कुराले चिउरा भिज्दैन । चिउरा भिजाउन दूध, दही नभए पनि पानी त चाहिन्छ ।’ नीति निर्माण तहमा पुगेकाहरू कुराले चिउरा भिजाउन कोसिस गर्छन् । तर भुक्तभोगी गरिब, दुःखी, किसान र राजनीतिक पहुँच नभएका उद्योग व्यवसायीहरूलाई थाहा छ– कुराले चिउरा भिज्दैन । राज्य र नेताहरूले मिलेर गर्ने सबैखाले अनियमितता, भ्रष्टाचार, सुदखोरी, तस्करी, कालोबजारीको व्ययभार बोक्ने कोही छन् भने तिनै गरिब, दुःखी, किसान र इमानदार उद्योगी व्यवसायी नै हुन् । अमरेशकुमारले भने जस्तै कसैलाई स्वदेशमै बसेर केही गर्नुपर्‍यो भन्ने लाग्यो भने उसले मिटरब्याज तिर्नु पर्छ ।     

अर्थमन्त्रीले अर्को कुरा पनि भनेका थिए, ‘नेपालमा विदेशको जस्तो विकास नभएकाले धेरै अवसर देख्छु,’ कुरो सही हो । प्रश्न के हो भने त्यो अवसर रूपी ‘चिउरा भिजाउन’ दही–दूध त नेताजीहरूलाई पुग्दैन । पानीसम्मको व्यवस्था कसले गरिदिने ? अथवा अनुदान त नेताजीहरूलाई पुग्दैन । कमसेकम जनतालाई पनि मिलिमिटर ब्याजको व्यवस्था गरिदिए अवसर रूपी चिउरा भिजाउन नसके पनि, बुगुल्ट््याउनसम्म सकिन्थ्यो कि ? 

लामो समय साउदी अरबमा ड्राइभिङ गरेका एक जना साथीलाई नेपालमै गएर सुविधा सम्पन्न बस किन्ने र घरपरिवारसित बसेर बाँकी जीवन आफ्नै देशमा बिताउने विचार गरे । उनी साउदी छोडेर नेपाल फर्किए । त्यसको दुई तीन वर्षपछि उहाँलाई फेरि मैले साउदी अर्बमै देखेँ । छक्क पर्दै किन फर्किनुभयो भनेर सोधेँ । 

मेरो प्रश्न पूरा हुन नपाई उनले भने, ‘नेपालमा तपाईंहामी जस्तो सामान्य मान्छेलाई टिकीखान गाह्रो रहेछ । नेपालमा चल्ने ती खटारा, झम्पाट बसको ठाउँमा एसी भएको सुविधा सम्पन्न बस कुदाउने सपना बोकेर गएको थिएँ । तर बसलाई जति पर्छ, त्योभन्दा बढ्ता पैसा त सिन्डिकेटलाई बुझाउनुपर्ने रहेछ अथवा त्यति नै मूल्य हालेर चलिरहेका थोत्रा बस किन्नुपर्ने बाध्यता रहेछ । अलि अलि भएको पैसा बाआमाको उपचार, छोराछोरीको पढाइमा सकियो । उपाय नै भएन, आएँ ।’ 

हाम्रा अर्थमन्त्रीसित विभिन्न क्षेत्रका दलाली सिन्डिकेटहरू हटाउने तागत छ ? तरकारीको सिन्डिकेट, न्यायालयको सिन्डिकेट, जग्गा दालालको सिन्डिकेट, अस्पतालको सिन्डिकेट, हरेक सरकारी कार्यालय अगाडि सरकारी सेवा र सुविधाको दलाली गरेर बसेका सिन्डिकेटका मालिक भेटिन्छन् । त्यस्ता सिन्डिकेटका तगारा भत्काउने तागत हाम्रा अर्थमन्त्रीसँग छ ? निःसन्देह छैन किनभने सुनिँदै छ । अब त राजनीतिक पार्टीहरू नै सेन्डिकेटले चलाउँन थालिसके ।                    

यस्तै सेन्डिकेट, भ्रष्टाचार, कालाबजारी, मिटरब्यजीकै कारण बर्सेनि शतप्रतिशत मूल्यवृद्धि हुन्छ । माइक्रो–फाइनान्सहरूले गरिबसित २४ प्रतिशतसम्म ब्याज असुल गर्छन् । धेरै गरिबदुःखीका छोरा घर फर्किने इच्छा हुँदाहुँदै पनि माइक्रो फाइनान्सकै ऋण तिर्न नसकेर विदेशमै बस्न वाद्य छन् । त्यो बोझ नेपालमा कुटोकोदालो चलाएर तिरिँदैन । इमानदार पूर्वक व्यापार–व्यवसाय गरेर तिरिँदैन । त्यसैले बाध्यतावश श्रम बाहिरिनु परेको छ । थाहा छैन नेपालीहरूले आफू शोषित हुँदा पनि, थिचोमिचोमा पर्दा पनि भाग्यको खेल ठानेर ती शोषकहरूलाई कहिलेसम्म सत्तामा पु¥याइरहन्छन् ?  

हो, हाम्रा नेता स्वदेशी उत्पादन बढाउने कुरा गर्छन् । चोरीपैठारी रोक्नुपर्ने कुरा गर्छन् । बडो कलात्मक हिसाबले भाषण गर्छन् । मान्छे मन्त्रमूग्ध हुन्छन् । गएर भोट हाल्छन्, यो प्रक्रिया चलिरहन्छ । न उत्पादन बढ्छ, न चोरीपैठारी रोकिन्छ, न युवा विदेशिने प्रक्रियामा कमी आउँछ । न महँगी नियन्त्रण हुन्छ न व्यापार घाटामा कमी आउँछ । किनभने कुराले चिउरा भिज्दैन ।  

कृषिक्षेत्रमा मुिस्कलले आएको दुई चार प्रतिशतको अनुदानमा उनीहरू नै आँखा लगाउँछन् । धान खेतमा पानी देखेर ‘धान डुबे छ’ भनेर तर्सिनेहरू ‘म किसानको छोराछोरी हुँ’ भन्दै आफैँले आफैँलाई किसानको नेता बन्ने सिफारिस गर्छन् । त्यो अनुदानलाई वास्तविक किसानसम्म आउनै दिँदैनन् । त्यसैले भाषणले उत्पादन बढ्दैन । कुराले चिउरा भिज्छ ? भिज्दैन । व्यक्तिगत रूपमा नेताहरूप्रति आग्रह पूर्वाग्रह छैन । तर जनताको पीर, मर्का बुझ्ने, होस्टेमा हैँसे गरिदिने नेता आउँछन् कि भन्दाभन्दै एउटा युग बित्यो । एउटा पुस्ता सिद्धियो । नयाँ पुस्ता पनि आस गर्नलायक भएनन् । कुराले चिउरा भिज्दैन । दही, दूध नभए पनि पानीसम्मको व्यवस्था गरिदिने नेता आउँछन् कि भन्ने आस गर्दागर्दै सास जाने भयो ।       

साउदी अरब, जेद्धा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र कटुवाल
वीरेन्द्र कटुवाल
लेखकबाट थप