प्रेरक प्रसङ्ग : सच्चा त्याग
त्याग दुई किसिमका हुन्छन् । नभएर गर्ने वा गरिएको त्याग र भएर गर्ने वा गरिने त्याग । नभएर गरिने वा हुने त्याग ठुलो होइन । यस्ता त्यागबाट आत्मसन्तुष्टि पनि मिल्दैन र त्यसको खासै महत्त्व पनि हुँदैन । जसले भएर पनि त्याग गर्छ वा गर्न सकेको हुन्छ त्यसैको महत्त्व हुन्छ तर यो पनि दुई किसिमका हुन्छन् । मनदेखि भएको त्याग र देखाउनका लागि गरिएको त्याग । देखाउनका लागि गरिएको त्याग पनि त्यस्तै त्यागमा पर्छ, जसले सुखी र आनन्दित गराउन सक्दैन । सच्चा त्याग त त्यही हुन्छ, जसलाई मनैदेखि गरिएको छ वा भएको हुन्छ ।
प्रसङ्ग त्यतिबेलाको हो, जतिबेला भगवान् बुद्ध ज्ञान प्रचारका लागि विभिन्न स्थानमा भ्रमण गर्ने गर्थे । यत्तिकैमा एकपटक उनी वर्तमान भारतको विहार प्रान्तमा पुगेका थिए । उनलाई भेट्न विभिन्न मानिस आउँथे । यस्तैमा एक जना त्यहीँका सम्राट श्रेणिक पनि थिए । कुराकानी चल्दै जाँदा उनले त्यस्तै प्रसङ्ग निस्केकाले बुद्धसँग सोधे–
‘महात्मन् ! राज्यका राजकुमारहरू महलमा बस्छन् । मीठामीठा भोजन गर्छन् । दर्जनौँ सेवकहरू अघिपछि घुमेका हुन्छन् । उनीहरूका जीवनमा न कुनै चीजको अभाव हुन्छ न सुखसुविधाकै कमी । तैपनि उनीहरू खुसी र प्रसन्न देखिन्नन् तर तपाईँका शिष्यहरू सदैव सन्तुष्ट र खुसी देखिने गर्छन् । जबकि उनीहरूका साथमा न भनेजस्तो भोजन छ न बस्ने स्थान नै । रुखासुखा खस्रो मसिलो जे मिल्छ त्यही खान्छन् । जहाँ पुगिन्छ त्यहीँ बस्छन् । न बस्नको ठेगान न खानको ठेगान । तैपनि त्यति बढी सन्तुष्ट र प्रसन्न रहन सक्नुको कारण के होला ?’
सम्राट्को कुरा सुनेर बुद्धले मुस्कुराउँदै भने–
‘सम्राट् ! प्रशन्नता भौतिक साधनहरूका प्राप्तिबाट मिल्ने कुरा होइन । यो भौतिक सुखसम्पत्तिबाट साटिने चीज हुँदैहोइन । यो त यस्तो चीज हो, जसले जे मिलेको छ त्यसैलाई पर्याप्त मान्ने र ठान्ने गरेका हुन्छन् उसैलाई प्राप्त हुने गर्छ । यसको अर्थ पौरख गर्नुपर्दैैन भन्ने होइन । पौरख भनेको जीवनकै पर्याय हो, गर्नैपर्छ । नगरी त केही पनि प्राप्त हुँदैन तर जे मिलेको छ त्यसको सम्मान पनि गर्नुपर्छ । सँधैभरि भएन र पुगेन भनेर खुइखुइ गर्नुहुँदैन । लागिरहे एक दिन अवश्य मिल्छ भन्ने ठानेर काममा लागिरहनुपर्छ फल प्राप्त पनि हुन्छ र त्यसबाट सदा प्रसन्न रहन पनि सकिन्छ । अर्को कुरा यी भिक्षुहरूले मनदेखि नै सङ्कल्प गरेर साधनहरूको त्याग गरेका छन् । त्यसैले सन्तुष्ट देखिन्छन् ।
यसो त भिखारीहरूको अवस्था पनि करिब यस्तै हुन्छ तर उनीहरू यी भिक्षुहरूजस्ता प्रसन्न रहन सक्दैनन् । किनकि उनीहरू आफ्ना साथमा भएका कमीलाई अभिशाप मान्ने गर्छन् । उनीहरूले साधन छाडेका हुँदैनन् । अपितु नमिलेर त्याग गरेको जस्तो देखिएको हो तर भिक्षुहरू त्यस्ता हुँदैनन् । उनीहरूले मनदेखि छाडेकाले तिनलाई वरदान रूपमा मानेका हुन्छन् । छोड्नु एउटा कुरा हो छोडाउनु दोस्रो कुरा । यी दुईबीच दिन र रात जत्तिकै फरक हुन्छ । जसलाई प्राप्त भएको छैन ऊ त्यागी होइन । उनीहरूले नपाएर मात्र त्याग गरेका हुन् । त्याग त त्यो हो जसले मनैदेखि गरेका छन् । भिक्षुहरूले यस्तै गरेका हुन्छन् । यस्ता त्यागले मनमा शान्ति र शरीरमा कान्ति मिल्छ । अन्ततः यही नै दीर्घजीवनको कारण बन्न पुगिरहेको हुन्छ ।’
बुद्धको यस्तो कुरा सुनेपछि सम्राट निकै खुसी भए । उनी बुद्धलाई प्रणाम गरी आफ्नो महलतर्फ प्रस्थान गरे ।
यो एउटा दृष्टान्त हो । जहाँ पनि प्रशन्नताका लागि यही नियमले काम गरेको हुन्छ । त्यागको महत्त्व छ तर त्यस्तो त्याग पनि मनदेखि नै गरिएको हुनुपर्छ । अन्यथा त्यस्ता त्याग फोस्रो आडम्बरबाहेक केही हुँदैन, जसले न सुख दिन्छ न प्रशन्नता नै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय