यति–वाइडबडी काण्डको छानबिन गर्न अध्यक्ष ओलीको चुनौती–‘छानबिन गर, जेल हाल’

काठमाडौँ । यति होल्डिङ्ग्स लाई सुरुमा कसले जग्गा भाडामा दिएको छानबिन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यति, वाइडबडीको नाम एमालेसँग जोड्ने गरेको गरेको बताउँदै त्यसमा कांग्रेस माओवादीको संलग्नता भएको बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले भने–‘म भन्छु यो सरकारलाई । तिमीहरू राष्ट्रिय पुँजी विरोधी हौ । एउटा गरिबले गरी खाएको तिमीहरू देख्न सक्दैनौँ । यदि यति होल्डिङग्सलाई दरबारको पालादेखि खोजेर ल्याउनुपर्छ । दरबारले विदेशी नागरिकलाई गोकर्णको जङ्गल भाडामा दिएको थियो । विदेशीबाट नेपालीले पाउनुपर्छ भन्दा विभिन्न घरानाको लडाईपर्यो, त्यस्तो लडाई परेको बेला बढी पैसा तिरेर सोझो शेर्पाले आफ्नो नाममा गर्यो होला ।’
उनले अगाडि भने–‘सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेशीबाट यति होल्डिङग्सले लिन पाउँछ भनेर निर्णय गरे । दरबार मार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला लिजमा दिएको हो । सोल्टी होटल छेउको जग्गा दिने शेरबहादुर देउवा हुन । खोजी गर्न यति होल्डिङग्सलाई क-कसले दियो । अनि हामीसँग नाम जोड्छन । वाइडबढी किन्छन् उनीहरू, कमिसन खान्छन् उनीहरू । जर्मनीबाट कसैका नाममा सिंगापुरमा पैसा आउँछ अनि त्यहाँबाट गायब हुन्छ । मैले भनेको छु वाइडबडीको खोज जेल जाऊ ।’
उनले त्यसमा एमालेले केही नगरेको बताउँदै एमाले भष्टाचार गर्नका लागि सरकारमा नजाने बताए । उनले सत्तारुढ दलको नेताको साढे ९ किलो सुनमा प्रत्यक्ष संलग्नता गराएपनि सरकारले बयान समेत नलिएको बताए ।