आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
यात्रा निबन्ध

भाइ बैनी होला भनेको जोइ पोइ पो

शनिबार, १६ भदौ २०८०, १४ : ३६
शनिबार, १६ भदौ २०८०

यही वैशाख २८ गते संगठनको कामले जसरी पनि काठमाडौं जानुपर्ने थियो । बेलुका ४ बजे शान्तिनगर चोकमा निकैबेर गाडी कुरियो तर काठमाडौं जाने कुनै गाडी पाइएन । घर फर्किन लाग्दै गर्दा करिब साढे ५ बजेतिर एउटा सूचना आयो, ‘मरिणबाट गाडी आउँदै छ, मिलनचोक आईपुग्यो ।’ 

रिजर्भमा काठमाडौंबाट मरिण पुगेको गाडी राती नै काठमाडौं फर्किने रहेछ । रिजर्भ पु¥याएर फर्किएकोले गाडी खाली खाली नै थियो । ड्राइभर पछाडिको सिटमा बसरे ३२ सिटे गाडीमा ड्राइभरसहित ७ जना काठमाडौं हुइँकियौं । 

८ बजेभित्र मंगलटार कटिसक्नु पर्ने नियम रहेछ । त्यसैले, गाडीको रफ्तार तीब्र गतिमा थियो । ड्राइभरको छेउमा क्याविनमा करिब १३÷१४ वर्षका दाजु, बहिनीजस्तै देखिने किशोर बसेका थिए । मैले सोचे ‘ड्राइभरका छोरा छोरी रहेछन् ।’ एक अर्कोलाई निक्कै माया र केयर गरिरहेका थिए । दाजु बहिनीमा यति धेरै प्रेम, निकै प्रेमिल परिवारमा मात्र हुन्छ । 

वीपी राजमार्गको घुमाउरो बाटो र गाडीको तीब्र गतिका कारण यात्रुहरु सम्हालिन निक्कै धौ–धौ परिरहेको थियो । तर ती दुईजना भने एक अर्कालाई निक्कै कसिलो प्रेममा कसिरहेका थिए । बहिनी दाजुको काखलाई सिरानी बनाएर सुतिरहेकी थिइन् भने दाजुले निदाएकी बहिनीलाई निक्कै प्यारले समालेर सुताइरहेको थियो । 

८ बज्न ठ्याक्कै १ मिनेट बाँकी हुँदा मंगलटार कट्यौं । मंगलटार कटेपछि ड्राइभरले “धन्न एक मिनेट बाँकी हुँदा आईपुगियो । नत्र आज यतै बास हुने थियो,” भन्दै सुस्केरा हाले ।

ड्राइभरले करिब १ किलोमिटर अगाडि गाडी रोके, जहाँ एउटा सानो होटल रहेछ । सबैलाई खाना खाउँ है भन्दै ड्राइभर सिटबाट झरे । ड्राइभर र खलासीले चाउचाउ पकाउन अर्डर गरे । मलाई पनि निक्कै भोक लागेको थियो । अनि सुकुटी, चिउरा अर्डर गरेँ । अरु दुई जना केटाहरुले पनि चना अण्डा मगाए । तर, ती भाइ बैनी झर्न ढिलो गरे । 

मैले ड्राइभरलाई ‘कति मिलेका दाजु बहिनी, तपाईको छोरा छोरी हो ?’ भन्न मात्रै लागेको थिएँ, तिनीहरु पनि आई पुगेछन् । 

ड्राइभरले ‘तिमीहरु बूढा बूढी के खान्छौं ? चाँडो गर’ भने । 

‘बूढा बूढी ?’ मैले आश्चार्य मान्दै ड्राइभरलाई सोधेँ । 

‘अँ, यिनीहरु बूढा बूढी त हुनु नि,’ ड्राइभरले जवाफ फर्काए । 

मलाई निक्कै कौतुहलता लाग्यो । र ती जोडीमध्ये केटालाई सोधें, ‘भाइ तिम्रो नाम के हो ?’ 

उसले भन्यो ‘सुजन बमजन ।’ 

‘अनि बहिनीको नि ?’ 

बहिनी बोल्न चाहिन । 

बहिनी नबोलेपछि भाइले नै जवाफ दिए, ‘उनी सरता मोक्तान’ ।

‘अनि तिमीहरु त भर्खर १३÷१४ वर्षका जस्ता छौ त । कहिले विहे गरेको ? बुबा आमाले नै विवाह गरिदिएको हो ?’ मैले प्रश्न गरेँ ।

‘हैन, म १८ वर्ष भएँ । यिनी १७ वर्षकी । माघमा भागी विवाह गरेका हौं ।’ भाइले भन्यो । 

‘अनि बुबा आमाले माने त ?’

‘कहाँ मान्नु नि ?, उनको बुवा आमाले प्रहरी चौकी लगेर छुटाएर लानु भएको थियो । हामीले मानेनौ अनि छाड्दिनु भयो ।’ सुजनले भन्यो । 

जिउडाल हेर्दा दुवैको विवाह गर्न शारीरिक विकास भएको देखिदैन थियो । उनीहरुले चाउमिन अर्डर गरेका रहेछन्, खान थाले । म पनि खाजा खान थालेँ । 

त्यही गाडीमा काठमाडौं हिँडेका १६÷१७ वर्षका दुई भाइहरु पनि रहेछन्, जो विवाहित थिए । र्इंट्टा भट्टामा सिजन सकिएकोले घर आएर फेरि काम खोज्न काठ्माडौं हिँडेका रहेछन् । 

ती एक भाइको श्रीमती सुत्केरी भएर घर आएको रहेछ । ती भाइले सामान्य रुपमा भने, ‘हाम्रो तिर त १४÷१५ वर्षमा विवाह हुन्छ । १६÷१७ वर्षमा आमा बाउ भइन्छ ।’ उनका कुराले म त छक्क परेँ । 

हाम्रो सिन्धुलीमा पनि त्यस्तो ठाउँ छ र ? आफैले आफैलाई सोध्न मन लाग्यो । म करिब १५ वर्ष पत्रकारिता गर्दा यो कथा जस्तो लाग्ने वास्तविक ठाउँमा कहिल्यै पुगेको थिइनँ । त्यसैले, मलाई निक्कै कौतुहलता लागिरहेको थियो । 

ड्राइभरसँग उनीहरुको विस्तृत खोजी गर्दा उनले भने, ‘यिनीहरु सिन्धुली, मरिण–३ का हुन् । यिनीहरुका सबै परिवार ईंट्टाभट्टामा काम गर्छन् । अहिले कामको सिजन सकिएकोले गाडी रिजर्भ गरेर ईंट्टा भट्टाका साहुले नै घर पठाएका हुन् । तर यिनीहरु अस्ति नै घर गएका थिए । अब यिनीहरु काठ्माडौंमै काम खोज्छन्, उतै बस्छन् ।’ 

खाजा खायौं र फेरी गाडी चढ्यौं । गाडीमा सुजन भाइसँग कुरा गर्न मन लाग्यो र मेरो सिटमा बोलाएँ र कुरा गर्न थालेँ ।

‘अनि भाइ तिमीहरुले कति कति पढेका छौ ?’

‘म ३ कक्षा मात्रै पढेर आमा बुबासँगै र्इंट्टाभट्टामा काम गर्न गएँ । सरिताले ६ पास गरी अब ७ मा पढ्छे । हामी परीक्षा दिन घर आएका थियौं ।’ सुजनले भन्यो । 

‘विवाह गरेर, काठ्माडौं आएर पनि पढ्छिन् त तिम्री श्रीमती ?’ मैले प्रश्न गरेँ । 

‘पढ्छु भनेकी छे, अब काठमाडौंमा नै पढ्छु भनेकोले काठ्माडौं लिएर हिँडेको, उतै पढाउँछु’ सुजनले भन्यो । 

‘अनि तिमीले कमाएर पढाउन सक्छौ त काठमाडौंमा ?’ मलाई आश्चार्य लागेर सोधेँ । 

‘सकिहाल्छु नि । ऊ पनि विहान बेलुका काम गरिहाल्छे, दिउँसो स्कुल जान्छे ।’ सुजनले भने । 

हामी कुरा गरिरहँदा सरिता निकै रिसाई रहेकी थिइन् । दुई पटक त उनले सुरजलाई ईसाराले बोलाइन् । मानस्पटलमा धेरै प्रश्नहरु थिए तर उनको जीवनसाथी नै रिसाउने परिस्थिति आएपछि मैले धेरैवेर रोकेर राख्न सकिन । सुजन सरिता भए ठाउँमा गए ।

मलाई मरिण गाउँपालिकाले अहिले सञ्चालन गरिरहेको छोरी पढाउ, अभियानको कार्यक्रमको सम्झना आयो । सामान्य रुपमा हेर्दा गैरसरकारी संस्थाको मोडलमा स्थानीय सरकारले कार्यक्रम सञ्चालन गरिरहेको थियो । अविवाहित छोरीले स्नातक उत्तीर्ण गर्दा १ लाख प्रोत्साहन पुरस्कार, छात्रालाई विद्यालय जान साइकल वितरणजस्ता छोरीलाई विद्यालय पठाउने प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको थियो । 

बालविवाहको समस्या समाधानका लागि समुदायमा छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको रहेछ । अनि मनमनै मरिण स्थानीय सरकारले धेरै राम्रो काम गरिरहेको रहेछ जस्तो लाग्यो र मरिण सरकारलाई धन्यवाद दिन मन लाग्यो । 

मोवाइल निकाले अनि मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’लाई म्यासेज लेखेँ, ‘बालविवाह न्यूनीकरणका लागि छोरीको शिक्षामा जाने कार्यक्रम ल्याउनु भएको छ, सलाम छ अध्यक्षज्यू । आज गाडीमा यात्रा गरिरहँदा महसुस गरेँ, गाउँमा बालविवाहको विकराल अवस्था रहेछ । हजुरको यो अभियानले अवश्य यो समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उताबाट भने कुनै जवाफ आएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नविन श्रेष्ठ
नविन श्रेष्ठ
लेखकबाट थप