बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

१२ युवा कलाकारको प्रदर्शनी : अनेक विचार, अनेक विम्ब...

शनिबार, १६ भदौ २०८०, १५ : १५
शनिबार, १६ भदौ २०८०

भुईंभरि पात, बीचमा काठको एउटा सानो मेच अनि मेचमाथि ह्यान्डबुक, ह्यान्डबुकभित्र उनैले लेखेको एउटा कविता पनि । भित्ताभरि खाली फ्रेमसहितको क्यानभास । कतै केही पात टाँसेर चिटिक्क परेको फ्रेमसहित भित्तामा टाँगिएको दृश्य — यी सबैले एउटा अद्भुत कलाको आभास हुन्थ्यो । ‘होप’ नाम दिइएको यस इन्स्टलेसन कलाका कलाकार हुन्, मोमिन प्रधान ।

२०२३ जुलार्ई १४ देखि अगस्ट ६ सम्म ललितपुरको चाकुपाटस्थित ‘एमक्युब ग्यालरी’मा १२ युवा कलाकारको सामूहिक प्रदर्शनी गरे । यस सामूहिक प्रदर्शनीका १२ कलाकार हुन् — अनाबेल किज (जो लन्डनकी हुन्), मोमिन प्रधान, निलेश शाक्य, निर्भिता शाक्य, राहुल महर्जन, रसिक राई, रुबी महर्जन, सामना राई, सनोद महर्जन, शैलेश राजभण्डारी, सुरज शिल्पकार र सुरेश महर्जन । यस आलेखमा यी १२ कलाकारका प्रदर्शित कलाको छोटो टिप्पणी गरिनेछ । 

मोमिनको उपर्युक्त कलामा दर्शकलाई समेत संलग्न गराई कलामा नयाँ नयाँ रूप दिने प्रक्रिया गरिएको थियो । आफैँमा एक अलग्ग प्रकृतिको यस कला नियाल्दै गर्दा र स्वयं संलग्न रहँदा आम भावक केही रोमाञ्चित देखिन्थे । केहीले थोरै अनौठो मानेर यो कलालाई अवलोकन गरिरहेको समेत देखिन्थ्यो । 

हेर्न मात्र होइन, भुईंभरि छरिएका पातलाई टिपेर एउटा अर्को कलाको सिर्जना गर्ने अर्थात् नयाँ–नयाँ कलाको रूप देखिने कलागत प्रक्रियाले यो कला आफैँमा चलायमान देखिन्थ्यो । हेर्न आउने दर्शकलाई थप कलाको सिर्जना गर्न आग्रह गरिँदा पनि भावक आफैँ थोरै अन्योलका साथ संलग्न भएको परिदृश्य रमाइलो लाग्थ्यो । दर्शकलाई समाहित गराई कलामाथिको अपनत्वको बोध गराइँदा यो एक प्रकारले कोल्याबोरेटिभ कलाको रूपमा देखिन्थ्यो । सामुदायिक कलाको सानो अंश बोकेको यो कला विश्व कला बजारमा समसामयिक कलाका रूपमा चिनिन्छ र यसको माग बढ्दो पनि छ । नेपालमै पनि यस्ता कलालाई अत्यधिक नौलो मोडको रूपमा हेर्ने र परखने गरिन्छ । यसर्थ आजको नेपालको समसामयिक कलामा यस्तो कलागत प्रवृत्ति यसरी वेगका साथ अगाडि बढिरहेको छ । 

कलाकार मोमिन असहज मानवीय भावनालाई गहिराइबाट अनुभव गरी कलामा प्रस्तुत गर्न रुचाउँछन् । असहाय, अति पिछडिएको एउटा वर्गको ‘इमोसन’लाई उनले आफ्ना कलामा उतारेका छन् । कुनै युवामा कुनै गन्तव्यतर्फ पुग्ने छटपटाहट छ, वा ऊ निश्चित गन्तव्य समात्न प्रयन्तशील छ — उनका कलाले यस्तै प्रत्याभूति गराउँछन् ।  

IMG_20230716_130419

इन्स्टलेसन आर्ट

थरीथरीका इन्स्टलेसन आर्ट हिजोआज विश्व कला बजारमा सर्वाधिक र व्यापक रूपमा प्रदर्शन गर्ने प्रचलन छ । अस्थायी रूपमा रहने यस्तो कला समसामयिक कलाको नितान्त नौलो धार हो । इन्स्टलेसन आर्टलाई ठाउँ अनुसार तत्कालै निर्माण गर्ने, प्रदर्शन सकेपछि भत्काउने गरिन्छ । त्यसैले यस कलामा समसामयिक कलाकारले बढी मात्रामा प्रयोग र अभ्यास गर्न सक्छन् । 

यो कला अभिव्यक्तिको शक्तिशाली माध्यम हो तर यसमा खासै अनुशासनमा बाँधिनुपर्दैन । कलाकारले यसमा सीमाहीन ‘मोटिफ’को प्रयोग गर्न सक्छ । वस्तु, मान्छे, प्रकृति आदि बनिबनाउ सामग्री (रेडिमेड एप्रोच)लाई सहजै कलाको पात्र बनाउन सकिने हुँदा यसमा खासगरी युवाको आकर्षण बढी देखिन्छ । 

एम क्युब कला दीर्घा नवयुवा कलाकारको प्रयोगात्मक कामलाई प्रोत्साहन गर्न बढी मात्रामा ‘प्रो–एक्टिभ’ छ । व्यापारको चासो सबै कला दीर्घालाई हुन्छ नै । कलालाई आर्थिक गतिविधिसँग गाँस्दै यो ग्यालरी सिर्जना र कलाकै एस्थेटिक्स मूल्य–मान्यतालाई जोगाउन वा जगेर्ना गर्न उद्यत छ । यो ग्यालरीका सञ्चालक, क्युरेटर, कला मेनेजर सबै हुन् कलाकार मनीषलाल श्रेष्ठ । मुम्बईको जे जे स्कुल अफ आर्टबाट दुई दशकअघि कलामा विधिवत स्नातक गरेर नेपाल फर्केपछि मनीषलाल कला सिर्जनामा यसरी होमिए कि आजको दिनसम्म उनको गति रोकिएको छैन । २०–२२ वर्षअगािड वैकल्पिक कलाका प्रखर प्रयोक्ता भएर नेपाली समसामयिक कलामा प्रवेश गरेका मनीषलाल आज पनि त्यत्तिकै सक्रिय छन् ।  

रसिक राईका कला 

अर्का कलाकार रसिक राईले आफू जन्मेको गाउँ रित्तिनुको तितो अनुभवलाई आफ्ना कलामा ल्याएका छन् । ‘खाली पिर्काहरू’ र ‘समय र जीवन’ नाम दिइएका उनका कलामा  युवाहरू बाध्यतावश बिदेसिनु परेको लगायत सवाल उनका कलामा आएका छन् । 

सुपर–रियालिस्टिक शैलीबाट बनेका ‘मोनोक्रोम्याटिक’ चित्रका माध्यमबाट उनले उहिले गाउँघरका भान्सामा रहने ठेकी, पिर्का, दाउराका टुक्रा, चुलोको संरचना आदिलाई भावुक रूपमा प्रस्तुत गरेका छन् । एउटा चित्र छ, भान्सामा एक बुढीआमा मलिन अनुहार अनि खाली पिर्काका साथ झोँक्रिएर बसिरहेको । अर्को चित्रमा थामिनसक्नु भारीसहित थचक्क बसेको दृश्यलाई समाहित गरिएको छ । 

सानै हुँदा कलाकार राईलाई आमाले पिर्कामा बसालेर भात खुवाउने गर्थिन् । उनी सहरतिर भासिएपछि पिर्का खाली भएको र यसको स्मरणले उनको मन दुखेको प्रतिविम्ब उनका चित्रमा आएका छन् । आफू सहर पस्नु र आफूजस्ता सयौँ युवा बिदेसिनुले उनको मन बिझाएको छ । यस्तै खालका भावना र विचार अभिव्यक्तिका लागि उनले अनेकौँ विम्ब र प्रतीकको सहारा लिएका छन् । खासगरी हावाहुरीको प्रतीकात्मक विम्ब अनि यसको बहाव मुख्य रूपमा उनका चित्रमा देखिन्छन् । 

मूलतः रङको बग्दै गरेको बहाव चित्रमा उत्रँदा दुई चित्रले एउटै कथाको दुई अलग–अलग भाग व्यक्त गरेको आभास हुन्छ । वर्तमान अवस्थाले आमा र छोरालाई अलग–अलग ठाउँमा अलग्गाइदिएको परिदृश्य एउटा नमिठो कथा बनेर उनको कलामा उदाएको छ । भुईंमा बसेर खाने गाउँघरको प्रचलनलाई चित्रमा झल्काउन उनले पिर्कालाई एक शक्तिशाली पात्रका रूपमा उभ्याएका छन् । 

IMG_20230716_130750

शैलेश राजभण्डारीका कला 

शैलेश राजभण्डारीको कला अलिकति अलग्गै संरचनामा सङ्गठित छ । पात्रको रूपमा भुईंमा राखिएको होँचो गोलाकार मेचमाथि खेलौनाजस्ता अर्ध–अमूर्त, अमूर्त हात्तीलाई पंक्तिबद्ध ढंगले सजाएको देखिन्छ ।  विशेष गरेर नेवारी संस्कृतिमा दसैँ–तिहारजस्ता चाडबाडमा चिनीको यस्ता हात्ती (मिठाईको रूपमा) बनाएर सजाउने प्रचलन छ । यही परम्परालाई शैलेशले सिरामिक कलाको रूपमा केही रङको थपथाप गरी अझ आकर्षक ढंगले प्रस्तुत गरेका छन् । 

‘चिनीयाम किशी’ नाम दिइएको चित्रमा खैरो रङको मेचमाथि कोमल गुलावी, सेतो, सुनौलो–पहेँलो आदि रङमा साना–ठूला ढङ्ग–बेढङ्गका हात्तीलाई मिलाएर प्रस्तुत गरेको देख्न सकिन्छ । चिनीयाम किशी नामको मिठाई अचेल बजारमा पाइँदैन, यसरी नै महत्त्वपूर्ण जन्तु हात्ती लोप हुने क्रममा छ । वन्यजन्तु माथिको चिन्ता र चासो उनका कलामा समाहित भएर देखिएको छ । 

निलेश शाक्यका कला 

निलेश शाक्यले भगवान् पञ्चबुद्धलाई आफ्नो कलाको विषय बनाएका छन् । भक्तिमार्गभन्दा पनि ज्ञानमार्गको बाटो समात्न उनको कलागत आग्रह छ । मूर्तिको स्वरूपमा देखापरेका पाँचवटा बुद्ध ( अमिताभ, अमोघसिद्धि, वैरोचन, अक्षोभ्य, रत्नसम्भव)लाई अनौठो प्रकारले प्रस्तुत गरेका छन् । 

नदी छेउतिर पाइने स्वाभाविक तथापि अमूर्त ढुङ्गालाई उनले आफ्ना मूर्तिका आधारभूमि बनाएका छन् । जसमाथि सग्ला यथार्थ हात (निश्चित हस्तमुद्राका साथ) टाँसेर एउटा अलौकिक संरचनालाई स्थापित गरेका छन् । 

मानव मात्रको सुखी र शान्त जीवनयापनका लागि बनेको भगवान् पञ्चबुद्धको ज्ञानबद्र्धक दर्शनलाई निलेशले आफ्नो कलामार्फत प्रवाहित गर्ने कोसिस गरेको देखिन्छ । नितान्त नौलो ढंगको मूर्तिको स्वरूप अनि प्रस्तुतिको अनौठो तरिकाले भावकको मन मात्र होइन, कलामा नयाँपन खोजी पस्नेका लागि पनि नयाँ कुरा भेटेको जस्तो हुनेछ । भगवान् बुद्धको पूजा गर्न छाडेर महात्मा बुद्धले देखाएको ज्ञानमार्गमा हिँड्न सके मान्छेले मोक्ष पाउन गाह्रो हुने थिएन भन्ने चासो मिसिएको सन्दर्भ पनि उनको कलामा समाहित भएर देखापरेको छ । 

सुरज चित्रकारका कला 

सुरज चित्रकारले आफ्ना कलामा ‘ख्याक’ (राक्षस)को सन्दर्भ उठाएर परम्परागत मिथकीय एउटा पात्र र आजको संस्कारबीचको सम्बन्धलाई आधारबिन्दु बनाई एउटा जीवन्त कथाको निर्माण गरेको देखिन्छ । एउटा बच्चा र अर्को छायाजस्तो कालो रङमा बनेको भीमकाय ख्याकको मूर्तिलाई पात्रका रुपमा समायोजन गर्दा उनको कलामा एउटा नेवारी किंवदन्तीसहित नेवारी आस्था–परम्परा प्रस्तुत हुन पुगेको छ ।  

नेवारी संस्कृतिमा बच्चासँग ख्याक आएर खेल्छ भन्ने किंवदन्ती छ । नेवारी संस्कारमा रजस्वला हुनुभन्दा पहिला नाबालिकालाई गुफामा राख्ने संस्कार छ । यस बेला ख्याकलाई आदरभावका साथ संरक्षकका रूपमा स्थापना गर्ने प्रचलन पनि छ । उनैको संरक्षकत्वमा नाबालिका १२ दिनसम्म अँध्यारो कोठामा बस्ने हुँदा सबै कुरा उनै ख्याकको अधीनमा हुन्छ भन्ने प्रचलन हुँदा पनि खाना खानुअघि ख्याकलाई चढाउनुपर्ने वा चढाइने आदि–इत्यादि परम्परा पनि प्रचलनमा छ । यस्ते बेला पुरुषहरूलाई बालिका बसेको कोठाभित्र पस्ने अनुमति हुँदैन । कालो ख्याक (नराम्रो) र सेतो ख्याक (राम्रो)का लोकगाथाहरू आज पनि जीवन्त रूपमा छन् । कलाकारले ख्याक र बालिकाको कथा बुनेको सन्दर्भ भावकका लागि रोमाञ्चित बनाउने खालको छ । ख्याक नामकरणका साथ बनेका उनका चित्र ‘उडकट’ हुन् । 

निर्भिता शाक्यका कला 

‘अनस्पोकेन’ नामबाट निर्भिताका कला देखापरेका छन् । हजारौँ विचार उत्पन्न हुँदा मनमा पर्ने असरको प्रतिविम्ब उनका चित्रमा अमूर्त रूपमा व्यक्त भएका छन् । आकार बन्दाबन्दै श्यामश्वैत रङको बहावका कारण अमूर्त बन्न पुगेका चित्र एकालापको ग्रन्थ जस्तो भएर देखापरेका छन् । अर्थात् एउटै मान्छेको लामो भाषणजस्तो अनि समग्रमा नाटकजस्तो हुन पुगेको छ । अलिकता भ्रान्ति, दोमन, अन्योल आदि–इत्यादिले रेखाहरू जताततै भाग्दा र कुद्दा अमूतर्ता हुन र देखिन गएको हो । 

सामना रार्ईका कला

बाटोतिर अव्यवस्थित बत्तीको पोलमा झुन्डिएका वा गुजुल्टिएका अनेकौँ तारलाई राष्ट्रको समस्यासँग तुलनात्मक विम्बका रूपमा उभ्याउनु कलाकार सामनाको कलाको मूल विशेषता देखिन्छ । ‘रेक ट्याङ्गल’ नाम दिएर उनले सेता सुकिला क्यानभासमाथि रेखाङ्कनका रूपमा चित्र उतारेकी छन्, जो आफैँमा सरल र सहज देखिन्छन् । 

चित्रपटको मध्य भागमा एउटा सानो कार, मान्छे र मन्दिरहरू देखापरेका छन् । रङको लेपन आदि–इत्यादि केही पनि देखिन्न । उनले प्रदूषित वातावरण, अव्यवस्थित अवस्था अनि बच्चा बेला आफूले देखेको आफ्नै आमाको कलागत सीपलाई एकमुष्ठमा समावेश गरी कलाको निर्माण गरेका छन् । 

बिग्रेको वा भत्केको अवस्थाको प्रतिविम्बका रूपमा उनले धागोको डोरी वा तारको गुजुल्टोलाई ल्याएकी छन् । यही सहजताभित्र जटिलता घुसाउने प्रपञ्च नै उनको मूल कलागत विशेषता देखिन्छ । 

राहुल महर्जनका कला 

‘होमोनिम्स’ नाम लिएर राहुलले आफ्ना कला प्रस्तुत गरेका छन् । एकै रूप, ध्वनि तर अर्थ भने अलग–अलग लाग्ने किसिमले आफ्ना चित्रमा उनले मानव र चिम्पाञ्जीको तुलना गर्न पुगेका छन् । हेर्दा एकै जस्तो तर अर्थ, स्वभाव र व्यवहार अलग–अलग भएको प्रसङ्ग उनको कलामा देखापरेको छ । चिम्पाञ्जी अझसम्म जनावरकै रूपमा छ । तर आजको मानव जनावरभन्दा कति माथि छ भन्ने सवाल उनले उठाउन खोजेको बुझिन्छ । 

गाढा, मधुरो–धुमिल हरियोपनको समधर्मी रङहरूसहितका उनका कलाले मानवको दुर्गुणका धेरै कुरा कोट्याउन सबल देखिन्छन् । कलाको पात्रका रुपमा उनले कतै हात मात्र त कतै खुट्टा मात्रै ल्याएका छन्, जसले चिम्पाञ्जी र मानव दुवैलाई प्रतिविम्बित गर्छन् । पात्र वा आकारलाई सहज, सरल, यथार्थ र मूर्त रूप पस्कनु उनको कलाको सबल पक्ष हो । स्वाभाविक तर अलि अनौठो संयोजन, सहजै विचारलाई सम्पे्रषित गर्ने उनका चित्रले गहन अवधारणालाई उठान गरेको स्पष्ट अनुभूत हुन्छ । 

IMG_20230716_132453

सनोद महर्जनको काम 

‘मौन यादहरू’ नामक काममा सनोदले अतीतका याद र सम्बन्धलाई पस्केका छन् । अस्तित्वको सवाल अनि यसले जन्माउने डरलाग्दो नकारात्मक परिणतिको अवयवलाई उनले आफ्नो काममा समावेश गर्दा कला आफैँमा अनौठो रूपमा देखापरेको छ । परम्परागत जात्रा, यसैमा मिसिएर आएको धार्मिक नाच आदिलाई मोटिफको रूपमा ल्याउँदा यो एक अलग्ग प्रकारको कलागत संयोजन बनेको देखिन्छ । 

सुरेश महर्जनका कला 

‘नथिङ’को अवधारणालाई लिएर अगाडि बढेका सुरेशले चित्रको नाम पनि ‘नथिङ’ नै राखेका छन् । इचिङ, उडकट अनि पेन एन्ड इन्कका माध्यमबाट बनाइएका उनका चित्र चाखलाग्दा भने देखिन्छन् । स्वैरकाल्पनिकता यथेष्ट रूपमा रहेको उनका चित्रमा अमूर्तताले प्रवेश गर्दानगर्दै देखापरेका आकारले विचार र अवधारणालाई समेत प्रस्तुत गरिरहेको देखिन्छ । यो उनको कलागत विशेषता पनि हो । 

रुबी महर्जनका कला 

‘एमिड्स द पर्पल डाउन’, ‘होयर र्‍याबिट रोम’ र ‘को–एक्जिस्टेन्स थर्ड’ शीर्षकका साथ रुबीका कला प्रस्तुत भएका छन् । सदियौँदेखि अनवरत रूपमा हाम्रो अभिन्न अंग भई आजसम्म जीवन्त रहेको परम्परालाई आज द्रूत गतिमा भइरहेको परिवर्तनका प्रत्येक अवयवलाई तुलनात्मक रूपमा प्रस्तुत गर्नु उनको कलागत अभिलाषा देखिन्छ । उनी उडकट र एचिङ लिएर प्रस्तुत भएकी छन् । खरायोको विविध पोज अनि परम्परागत बुट्टालाई कलाको अभिन्न अंग बनाई प्रस्तुत गर्दा उनका कलामा यथेष्ट रूपमा नौलोपन देखिन्छ ।   

अनाबेल किज

लन्डन निवासी अनाबेल किजले ‘जर्नी टु तारेभिर’, ‘जर्नी टु नागार्जुन’, ‘अभोकेसन फर ब्यालेन्स सेकेन्ड’ आदि नामका साथ उदाएका अनाबेलका काममा उनकै यात्रा–अनुभव झल्केको पाइन्छ । अनेक फेन्टासी बोकेको उनका पात्र स्वैरकाल्पनिकतामा ओर्लन खोजेको परिदृश्य भावकलाई अलौकिक नै लाग्नेछ । गतिपूर्ण रेखा वा रङ अमूर्ततामै बग्न खोज्दा पनि उनका चित्रमा मूर्त विम्ब सलबलाएका छन् । मिथहरू झुल्कन खोज्दै गरेका उनका चित्र स्वभावतः अद्भुत देखिन्छ । 

(लेखक मल्ल कलाकार तथा कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप