आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

कचहरी कथा संग्रह माथिको कचहरी

शनिबार, १६ भदौ २०८०, १२ : १७
शनिबार, १६ भदौ २०८०

कल्पना पौडेल ‘जिज्ञासु’को पाँचौं कृतिको रूपमा प्रकाशित कथासंग्रह कचहरी हालै बजारमा आएको छ । बहुविधामा  कलम चलाउन रुचाउने ‘जिज्ञासु’ले काव्य विधाबाट आख्यान विधातर्फ कलम चलाउन सुरु गर्नु भएको छ । यसमा सामाजिक विषयवस्तुलाई मूख्य आधार बनाएर लेखिएका पन्द्र थान कथा समेटिएका छन् ।

पहिलो कथा ‘वकसपत्र’मा  बृद्ध भएका बाबुआमाहरु आफूले जन्माई हुर्काई आफ्नै खुट्टामा उभिन सक्ने बनाएका सन्तानहरुबाट उपेक्षित र उत्पीडित भई असक्त अवस्थामा सेवा आश्रममा जानुपर्ने वाध्यात्मक अवस्थालाई कथाको विषयवस्तु बनाइएको छ  । दोस्रो कथा ‘मनकुमारी’मा रहेको गरिबी र वेरोजगारीका कारण महिलाहरु विदेशमा जान वाध्य भएको दलाल र ठगहरुबाट विदेशमा गएर ठगिएको उत्पीडनलाई मुखरित गरिएको छ ।

तेस्रो कथा ‘कचहरी’, जुन शीर्षक कथा पनि हो, यसमा ऐतिहासिक न्याय प्रणाली र आधुनिक न्यायालय दुवैले गरिब निमुखा पहुँच र सोर्सफोर्स नभएकाहरु न्याय पाउन नसकेको देखाइएको छ । 
प्रतिशोध चौथो कथामा नेपाली छोरी चेलीहरुलाई आफन्त र नेपाली दलालहरुको फन्दामा परेर विदेशमा बेचिनु परेको, भारतको कोठरीमा भोग्नुपरेको कारुणिक पीडाहरुलाई विषयवस्तु बनाइएको छ । कथाकी मिना पात्र स्वदेश फर्किन सफल भएको र आफूलाई बेच्ने दलाललाई कानुनको जिम्मा लगाएको कथा छ ।

गरिबी रोग र भोकले पिल्सिएकी महिलाले आफ्ना सन्तानको भोक मेटाउन सानो गल्तकिो कारण कानुनी फन्दामा परेको  यथार्थ चित्रण पाँचौ कथा ‘अठोट’मा रहेको छ ।

छैठौं कथा ‘प्रतिकार’मा वालिकाहरुलाई विभिन्न प्रभोलनमा पारेर फकाइ फुल्याई यौन दुराचार गर्ने व्यभिचारीको अपराधले त्यसको परिवारलाई हुने पीडालाई दर्शाएको छ ।

वालवालिकाले सानै उमेरमा बाबुआमा गुमाउनु परेको पीडा, सानै उमेरमा हुने अनमेल विवाहको दुष्परिणाम सातौं कथा  ‘जीवन आधार’ले समेटेको छ ।

आठौं कथा ‘अन्तरमनको संसार’मा मानिसले गर्ने काल्पनिक संसार वा प्रेम र वास्तविक संसार वा प्रेममा भएको अन्तरलाई उल्लेख गरिएको छ । त्यस्तै, सामन्तीबाट गरिब परिवारलाई साँवा र व्याजबाट उठिवास लगाइएको, मधेसी समुदायकी वाल विधवाले घरपरिवार र समाजबाट खेप्नु परेको सास्ती नवौं कथा ‘पुनर्विवाह’मा प्रस्तुत गरिएको छ ।

दशौं कथा ‘मातृत्व’मा प्राकृतिक प्रकोप भूकम्प र कोरोना महामारीबाट आफ्ना श्रीमान् र छोराछोरी गुमाएर विक्षिप्त भएकी नारीको पीडालाई कथा बनाइएको छ । 

एघारौ कथा ‘रामजी’मा भारतमा गएर जुठा भाँडा माझेर भाइलाई पढाएको तर पछि उसैलाई भाइ तथा आमाबाट उपेक्षा गरिएको प्रसंग छ । यसरी जो हेला, उसैको फेला भन्ने नेपाली उखानलाइ चरितार्थ गराउन यो कथा सफल छ ।

माया प्रेमसंग धन दौलतको तुलना हुँदैन भन्ने कुरालाई बाह्रौं कथा ‘रजनीको प्रेम’मा मुखरित छ । त्यस्तै, तेह्रौ कथा ‘समाजलाई चुनौती’ मा एकल पुरुषले मात्र दोस्रो विवाह होइन, एकल महिलाले पनि पुनर्विवाह गर्न सक्छे । श्रीमान्को घरमा जानैपर्छ भन्ने समाजको मान्यतालाई चिर्न सक्छे भन्ने बिषयबस्तु छ ।

चौधौ कथा ‘मृत्युको पर्खाई’मा सामाजिक परिघटनालाई चराचुरुङ्गीलाई प्रतीकात्मक बनाएर प्रस्तुत गरिएको छ । यस कथामा चारोको जोहो गर्न गएकी पोथी फर्केर आउँदा भाले चरो अर्को पोथीसंग रमेको, वचेराहरुको दिमागमा आमाप्रति बिष घोली दिएको प्रसंग छ । यसरी भाले र वचेरा वचेरीबाट आघात पुगेको कुरालाई प्रतीकात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

अन्तिम पन्ध्रौ कथा ‘फातिमा’मा मधेसी, मुस्लिम समुदायका छोरीहरु पनि आफ्नै वलबुताले पढेर, व्यवसाय गरेर घरपरिवार तथा समाजको लागि केही गर्न सक्छन् भन्ने प्रसंग छ । 

समग्रमा कल्पना पौडेल ‘जिज्ञासु’को कचहरी कथासंग्रह एक उत्कृष्ट आख्यान विधाको रूपमा आएको छ । कथाले समाजको यथार्थ चित्रण गर्न सफल देखिन्छ । विभिन्न कथामा सानालाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ । वालवालिकाहरुले सानै उमेरमा बाबुआमा गुमाउनु परेको पीडा, समयमै गरिएको वचतबाट जीवनमा हुने आर्थिक र सामाजिक सुरक्षालाई केलाइएको छ । 
काल्पनिक प्रेम र वास्तविक प्रेममा हुने अन्तरलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । समाजमा रहेका सुतखोरहरुबाट परिवारहरुमा हुने विचल्ली, मधेसी र पहाडी समुदायको बीचमा रहेको सद्भाव, सासुबाट बुहारीप्रति गरिने दुव्र्यवहारजस्ता कुराहरुलाई विभिन्न कथामा समेटिएको छ ।

भूकम्प र कोरोना जस्ता महामारीले मानव जीवनमा पारेको असरबारे कथा बुनिएको छ । नेपाली नारीले आफ्नो श्रीमान् र सन्तानको लागि स्वदेश र विदेशमा गरेको संघर्ष, आफ्नैबाट भोग्नुपरेको धोका तिरस्कारलाई कथाका विषयवस्तुमा समेटिएको छ । 
छोरा र छोरीमा गरिने विभेदको अन्त्यदेखि असल पात्रको विजय र खराव पात्रको पराजयले कथाहरु प्रगतिवादी, यथार्थवादी र नारीवादी छन्, जसले समाज रूपान्तरणको सन्देशलाई बोकेका छन् । बाँके जिल्लाकी कथाकारमा भाषा शैलीमा रहेको आञ्चलिकताले बेग्लै स्वाद दिन्छ । अनि, झर्रो नेपालीपनले गर्दा विषयवस्तु र भाषा, शैली दुवै हिसाबले कथाहरु पठनीय र बोधगम्य भइ पाठकको मन जित्न सक्ने कुरामा दुई मत छैन ।
खजुरा, बाँके 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ऋषिराम सापकोटा ‘अविरल’
ऋषिराम सापकोटा ‘अविरल’
लेखकबाट थप