सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
कविता

चुपचाप

शनिबार, १६ भदौ २०८०, ११ : ५१
शनिबार, १६ भदौ २०८०

निर्लज्ज हिँडिरहेछ छाती फुकाएर
वर्तमान पुरुष समय
बिहान बेलुकै देवी पूजनमा बज्ने मन्दिरको घण्टहरू
हेरिरहेछ चुपचाप तमासा बलात्कारको 
पापीहरूको पाप पखाल्न बज्ने गिर्जाको घण्टहरू 
हेरिरहेछ चुपचाप तमासा बलात्कारको 
सुनिरहेछ चुपचाप चित्कार बलात्कारको
मेरो अबोला ईश्वर ।

अहँ, बोल्दैनन् जिब्राहरू
सुन्दैनन् कानहरू
देख्दैनन् आँखाहरू
जिउँदो लासहरूको सहरमा
एउटी बालिकाको बलात्कार हुन्छ
पुरुषत्वको विजय जुलुस निकाल्न
तैछाड मैछाड हुन्छ
मेरो नपुंसक ईश्वर 
आफ्नो पूजनमा मग्न रहन्छ चुपचाप ।

देउरालीमा आमाहरू भाकल भाक्दैछन् चुपचाप 
डाँडामा लुङ्दार फर्फराइ रहेछ उसरी नै चुपचाप 
हावाहरूको जुलुसमा छैन कुनै विरोध
पानीहरूको जुलुसमा छैन कुनै आक्रोश
धामीहरूको जोडा अक्षताले पनि बोल्दैनन् विरोध
हुन त के नौलो भयो र विरोध गर्नलाई ?
देवीहरूको देशमा बालिकाको बलात्कार भयो
नपुंसक पुरुषको फेरि जित भयो
डाँडामा ध्यानमग्न छन् महाकाल बाबा चुपचाप ।

घाम लागेको दिन पो उज्यालो हुन्छ
जून लागेको रात पो उज्यालो हुन्छ
मेरो आकाशमा न घाम छ, न जून छ
अन्धकार युगमा बाँचेका छन् पुरुषहरू 
अनि मर्दैछन् लक्ष्मीहरू, दुर्गाहरू, कालीहरू
त्यो पनि बलात्कृत भई 
राम, कृष्ण, बुद्ध, अल्लाह, येशुहरू
हेरिरहेछन् आफ्नै घरभित्र 
तमासा बलात्कारको चुपचाप ।

सूर्योदय नगरपालिका–२, इलाम

(भारतको सिलिगुडीमा प्लस टु अध्ययनरत एक नेपाली बालिकाको बलात्कारपछि निर्मम हत्या गरिएकोमा समर्पित कविता)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र आचार्य
दीपेन्द्र आचार्य
लेखकबाट थप