कारको रवाफ
“ए, पख् पख् ।” चर्को आवाज सुनेर उ झस्कियो । उसको ध्यान आवाज आएतर्फ गयो ।
“पख् भन्या सुन्दैनस् ।” कारको अर्को झ्याल तर्फबाट अर्को करायो । उ डरायो ।
कारबाट झरेर एक जनाले भन्यो, “कार आएपछि बाटो छोड्नु पर्दैन ?”
“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ ? बरु पर अलि फराकिलो ठाउँमा गाडी रोकेको भए हुने थियो ।” उसले भन्यो र साइकल उचालेर पेटीमा उकाल्यो ।
“अझ बढी कुरा गर्छस् ?” कारबाट झरेकोले बोल्यो ।
“म कामबाट घर फर्कँदै छु दाइ, हतार छ ।” उसले साइकल समातेर भन्यो ।
“ए, हात हुँदाहुँदै के मुख चलाई रहेको, दे न दनक ।” कार भित्रकोले साथीलाई उक्सायो ।
“गर्लफ्रेण्डलाई क्लबमा कुराइ राछु, यो नाथे थोत्रो साइकलले बाटोमा अल्झाउने ?” भन्दै दुई घुस्सा दिएर सडकमा पछार्यो र कारमा गएर बस्यो
आज एउटा थोत्रो साइकल र नयाँ कार प्रहरी चौकी बाहिर छन् ।
भित्र भने “हेर बाबु, म तिम्रो पाउ पर्छु । मेरा छोराको भविष्य नबिगारिदेऊ ।” भन्दै सहरका मान्य व्यक्ति टाउकोमा मलमपट्टी लगाएको थोत्रो साइकल धनीको खुट्टा छुँदै छन् ।
पोखरा–७, मासबार, कास्की