शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
संस्कृति

थारु संस्कृतिभित्र साम्यवाद

शनिबार, १६ भदौ २०८०, ११ : ३५
शनिबार, १६ भदौ २०८०

आफ्नो पहिचानको खोजीमा रहेको एक जाति हो– थारु । तराईको पूर्वदेखि पश्चिमसम्म बाक्लिएर बसेको, देशभक्तिले भरिपूर्ण समूह हो थारु । आत्मसम्मानको लडाइँ लडिरहेको एक कबिला हो– थारु । आत्मनिर्णयको अधिकार प्राप्तिको पर्खाइमा रहेको परिश्रमी समुदाय हो– थारु । र, आजको सन्दर्भमा राजनीतिक रूपले विचलित भूमिपुत्र हो– थारु । 

कुनै बेला देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उभिएको जग्गाको कर उठाउने गरेको, जसको कारणले हजारौँ हजार बिगाहा बक्सिस पाएको जाति हो थारु । यातायातको साधन नभएको वेला राजा महाराजाहरूलाई माहुतेको रूपमा जंगली हात्ती कज्याइ उपहार दिएबापत तिरो (कर) छुट पाएको जाति हो थारु । ब्रिटिस साम्राज्य (इष्ट इण्डिया कम्पनी) विरुद्ध उभिई डटेर सामना गरेबापत हजारौँ बिगाहा जग्गा उपहार प्राप्त गर्न सफल जाति हो थारु । प्रजातन्त्र प्राप्तिको लागि तराईको योद्धा जाति हो थारु । साम्यवाद प्राप्तिको लागि प्राणको आहुति दिएको जाति हो थारु । 

 पछिल्लो राजनीतिक परिवर्तन, विशेषतः दश वर्षे जनयुद्ध– थारुहरूले महसुस गरेको आफ्नो युद्ध । त्यसैले होला, कुनै बेला राज्यको नजरमा सबै थारु माओवादी । यति विघ्न माया गरेको त्यो युद्धको पछाडिको कारणहरूमध्ये एक थियो थारुहरूको संस्कृति । 

थारु जातिले भिख मागेर खाँदैन, उसले भिख माग्न जान्दैन । यो उसको लागि जेनेटिक गुणजस्तै हो । यो गुण उसको रगतमा बगेको कारणले उ भिख माग्दैन । यसैगरी, थारुहरूको रगतमा बग्ने अर्को गुण हो– साम्यवाद । 

 थारुहरू माओवादतर्फ आकर्षित हुनुको मुख्य कारणहरू मध्येको एउटा कारण हो यो गुण, जुन गुण उसको रगतमा बगेको हुन्छ । जुन गुण उसको संस्कृति, चालचलन, रीतिरिवाज र समाजमा घुलित हुन्छ, जसरी पानीमा नुन । जो थारु समाजमा घुल्छ, उसको उसको संस्कृतिमा हराउँछ, उसको चालचलन रीतिरिवाजलाई बुझ्दछ र अन्तर आत्माले महसुस गर्दछ, उसैले नाङ्गो आँखाले हेर्न सक्दछ त्यो गुण । 

साम्यवादको पाठ पढाउने ती शिक्षकले र सांस्कृतिक लडाइ लड्ने ती योद्धाले थारुहरूभित्र लुकेर रहेको त्यो गुण नबुझ्दासम्म मार्क्सवाद, लेनिनवाद, माओवादका वाद पढेर माओवादी भएका थारु नेताहरू जसले आफ्नै  संस्कृतिमा साम्यवाद लुकेर बसेको छ भन्ने कुरा महसुस नगरेसम्म साम्यवादी गुणहरू र माओवादी शिक्षालाई जेनेटिक अर्थात् सांस्कृतिक बनाउन सकिँदैन । 

म कुनै मार्क्सवादको पुस्तक पढेको पढाकु व्यक्ति होइन । न माओवादको शिक्षाको लागि कुनै वन्दसत्र वा कक्षामा बसेको मान्छे । तर, सानैदेखि परिवारमा, समाजमा साम्यवाद हेर्दै, अँगाल्दै र महसुस गर्दै हुर्केको एक थारु हुँ । 

म त्यो परिवारमा हुर्केँ, जहाँ सहोदर दाइ–भाइ, भतिजको दसैँमा लगाउने पाइजामा, कमिज ‘जरावर’मार्फत प्राप्त हुन्थे ।  घरका सास–बुहारीहरूले प्राप्त गर्ने कपडामा ‘गोट्टी’ हालिन्थ्यो । त्यो समाजमा हुर्के, जहाँ केटाकेटीहरूले लगाएको लुगाको कलर हेरेरै यी एउटै घरका र ती अर्कै घरका भनेर ठम्याउन सकिन्थ्यो । वस्त्रमा न कुनै भेदभाव हुन्थ्यो, न कुनै असमानता । 

हामी एउटै भान्सामा खान्थ्यो । करिब ३५–४० जनाको परिवार । खेतमा काम गर्दा मैले खाने भात र हाम्रो कमैयाको छोराले खाने भातको स्वादमा कहिल्यै अन्तर भएन । उसले खाने खुर्सानीको चटनी उति नै पिरो हुन्थ्यो जति मेरो ।(२०५७ साउन २ अघि कमैया प्रथा थियो ।) 

सालको पातमा लहरै राखेको ‘घँसल भात’ कमैयाको छोराको कुन, मेरो कुन भनेर भाउज्यूहरूले कहिल्यै छुट्याउनु भएन । माघमा ढोग–सलाम होस् या दसैँको टीका–नाताले जो ठुलो उसलाई ढोग्नु पर्दथ्यो, चाहे त्यो मालिक होस् या कमैया । मालिकले आफ्नै घरमा काम गर्ने कमैयालाई ढोग्नु यो कुनै चानचुने कुरा होइन । तँ सानो, म ठुलो दर्शनबाट चलेको रीतिरिवाज होइन यो । यो त साम्यवादको एउटा उत्कृष्ट संस्कृति हो, उदाहरण हो । यसैकारण कमैया प्रथा राम्रो थियो भन्न खोजेको चाहिँ कदापि होइन । त्यस प्रथामा समानताका अंश पनि नभएका होइनन्, थारु समाजमा चित्रण गर्न खोजिएको हो । 

घरको सदस्य थला परे, ‘गोंइ डाँगर’ (पशु) थला परे खेतको रोपाईं नसकिएला कि भनेर कुनै किसानलाई खासै चिन्ता हुँदैनथ्यो । किनकि एउटा घरकाले खेत रोपिसके अर्को घरकालाई सख्लहराको रूपमा सघाउने चलन थियो । यसमा न पैसा खोज्नुपर्ने, न ज्याला तिर्नुपर्ने । आफ्नो गाउँ छिमेककाले मात्र होइन, वल्लो पल्लो गाउँका नातेदारहरू आएर सघाउने चलन थियो थारु गाउँमा । 

बिहे भोज हुँदा कुन दिन गर्ने, कसको घरमा कुन कुन घरकाले सघाउने कार्यको बाँडफाँट बरघरमार्फत् हुन्थ्यो (अझै पनि हुन्छ) । सकेसम्म बिहे एउटै दिनमा हुन्थ्यो– एउटा गाउँमा । सघाउने चलन जिउँदै रहे पनि गाउँभरिका केटी–केटीहरूको एकै दिनमा बिहे गरिदिने चलन भने हराएर गएको छ । 

कृषिप्रधान देश सिँचाइ विना काम नचल्ने । बर्षेवाली लिनु अगावै कुला कुलेसा हेर्नैैपर्ने । महिनौँ दिनसम्म गाउँ गाउँबाट ‘डेसाहुर’ उठेर कर्णाली जस्ता ठुला नदीबाट पानी ल्याउनैपर्ने । काम गर्दा कसैलाई मर्का नपरोस् भनेर ‘नान्ढ’ हाल्नैपर्ने । साम्यवादको उदाहरण दिनुपर्दा यो भन्दा उत्कृष्ट उदाहरण अरु के नै होला र ? 

आज थुप्रै नेताहरू धाक लगाउँछन् ‘कुलरिया, जमरा, रानी कुलो सिँचाई योजना मैले गर्दा आएको हो ।’ एक पटक ८०–९० वर्षे बूढा बाको सामुन्ने सोही कुरा भन्नुहोस् । जसले पचासौँ दश नङ्ग्रा त्यही सिँचाई व्यवस्थापनको लागि खियाएको थियो । जसले पथरैया, जमरा, रानी कुला हाम फालेर वारपार गरेको थियो । उसको अगाडि धाक लगाउनुस्, तपाईको जिब्रो लरबराउने छन् । 

गाउँघरका सडक, बाटो, पुल पुलेसा, ढुपौरा, संघ्वा कसरी बन्थे थारु गाउँमा ? त्यही साम्यवादको दर्शनले कार्य हुँदैनथ्यो र ? थारुहरूका बाहुली, अङ्ग अङ्गमा साम्यवाद थियो र अझै पनि मरिसकेको छैन । किनकि यो त उनीहरूको प्रवृत्ति हो, संस्कृति हो, जीवन हो । 

गाउँघरमा सामुदायिक विद्यालय बनाउन परोस् वा कुलामा बाँध, मर्दा पर्दा होस् वा कुनै भोज भतेर साम्यवादी हात स्वयंसेवी कर्मका लागि स्वतःस्फूर्त सलबलाउँछन् । 

यस्ता उदाहरणहरू थारु समाजमा कति छन् कति । त्यसैले, यहाँ भन्न खोजिएको हो, साम्यवाद थारुहरूको रग रगमा छ, जीनमा छ, रीतिरिवाजमा छ, संस्कृतिमा छ । 

माथि चर्चा गरिएको यी यावत विशेषता भएको कारणले थारुहरू माओवादतर्फ बढी आकर्षित भए । जसले यस्ता संस्कृति आत्मसात् गरेका थिए– झन् छिटो लामबद्ध भए । शिक्षित भन्दा कम शिक्षितले पहिले पाइला चाले । शिक्षित भन्दा अशिक्षित थारुहरू माओवादीका ढाल बने । किनकि माओवादीले उठाएका इस्युसँग रसायन मिल्यो, संस्कृति मिल्यो, चालचलन मिल्यो, समान व्यवहार मिल्यो, विचार मिल्यो, दर्शन मिल्यो । 

के कारणले विशेष समूह वा जाति वर्षौँसम्म कुनै विचारमा हिँडिरहन्छन् ? के कुराले उनीहरू सयौँ वर्षसम्म एउटै संस्कृतिमा रमाउँछन् ? साम्यवाद र थारुहरूको खानपिन, साम्यवाद र उनीहरूले सहयोग गर्ने तरिका, साम्यवाद र उनीहरूले अँगालेका सामाजिक कार्य, साम्यवाद र उनीहरूको संस्कृति धेरै हदसम्म मिल्दोजुल्दो हुँदाहुँदै राजनीतिक रूपले किन विचलित हुँदैछन् थारुहरू ? मूलधारका पार्टीपंक्तिको लागि गहिरा प्रश्न हुन् यी । 

विचार र बुझाइबीच तालमेल राम्रो भएन भने ‘वान’ माने ‘एउटा अण्डा’, टु माने ‘दुइटा अण्डा’, थ्री माने ‘तीनटा अण्डा’ बुझ्न सक्छ विद्यार्थीले । कतै थारुहरूले माओवादलाई यसरी नै त बुझेनन् ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. रामबहादुर चौधरी
डा. रामबहादुर चौधरी
लेखकबाट थप