सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
जनगायक

‘जनगायक’ उपाधिले किन विभूषित गरियो टुहुरेलाई ?

शनिबार, १६ भदौ २०८०, ११ : १४
शनिबार, १६ भदौ २०८०

यही भदौ ६ गते मन्त्रीपरिषद्को बैठकले गायक जेबी टुहुरेलाई मरोणपरान्त ‘जनगायक’ उपाधिले विभूषित गर्यो । जनताका दुःख, पीडा र सङ्घर्षहरूका गाथा गाउने गायक नै जनगायक हुन् । टुहुरे आजीवन जनताका दुःख र सङ्घर्षका गायक थिए । 

पञ्चायती शासनकालमा जनता पेलिएका थिए, मानवीय स्वतन्त्रता नै कुण्ठित थियो । जनताका विचार, भावना र चाहना सबै कुण्ठित थिए । त्यो समयमा टुहुरेले जनताका कुण्ठित भएका भावना गीतमार्फत् अभिव्यक्त गर्दै हिँडे । 

शासकबाट मात्र होइन, पितृसत्तात्मक पेलाइमा परेका आमा, दिदी, बहिनीहरूलाई आफ्ना गीतमार्फत् जागा हुन र आफ्ना हक, अधिकारका लागि सङ्घर्ष गर्न आह्वान गर्ने खालका गीत गाउँदै उनी गाउँ गाउँ हिँडे ।  

धरानमा जन्मिए उनी । पूर्वी पहाडी जिल्ला तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, भोजपुरलगायत देशका विभिन्न स्थानमा जनचेतना फैलाउँदै हिँडे । सम्भ्रान्त वर्गका नभएर किसान, भरिया र मजदुरका आत्मीय गायक बने उनी । 

‘बसाइँ हिँड्नेको ताँतीले’, ‘छोराहरू हो, छोरीहरू हो’, ‘पानी चल्दैन रे’, ‘मृत्यु पनि मान्छे पिच्छे’, ‘कठै एउटा बूढो मान्छे’ जस्ता विभिन्न भाकाका गीत गाए । 

लोकगायक नन्दकृष्ण जोशीले एक प्रसङ्गमा भनेका छन्– “उनले नेताको भाषणमा भन्दा मानिसको जीवन परिवर्तन गर्न र समाज परिवर्तन गर्नमा तागत देखाए । टुहुरेका गीत देशको वास्तविक ऐना हुन् ।” 

उनी सच्चा कम्युनिस्ट थिए, चोखो मनका गायक थिए, अनि भ्रष्टाचारविरोधी थिए । सबै पार्टी मिलेको, सबै जनताले पेटभरि खान पाएको उनी हेर्न चाहन्थे । यिनै विशेषताका आधारमा उनी जनताका गायक अर्थात् जनगायक बन्न पुगे । उनको त्यो योगदानलाई सरकारले मरणोपरान्त भए पनि सम्मान गरेर राम्रो कामको थालनी गरेको छ । 

संविधान सभाका सदस्यसमेत रहेका वरिष्ठ जनगायक टुहुरेको सम्मानमा विसं. २०७५ सालमा उनी जीवित हुँदै ‘जेबी टुहुरे फाउन्डेसन’ स्थापना गरिएको थियो । उनकी छोरी निर्भिका टुहुरेले सो फाउन्डेसनमार्फत् १ लाख नगद राशिको ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’ स्थापना गरेकी हुन् । यो वर्ष सो पुरस्कार कवि अनिल पौडेललाई दिइएको छ  । 

फाउन्डेसनले गत वर्ष धरानमा ‘जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान’ कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा ‘बसाइँ हिँड्नेको ताँतीले..’ गीतका रचनाकार लव प्रधानलाई सो सम्मान प्रदान गरिएको थियो । 

jb tuhure 3

यसरी बने चर्चित

टुहुरेमा मानवीय संवेदना टिप्न सक्ने विशेष खुबी थियो । त्यस्ता खालका गीत सुने भने उनको दिमागले टपक्कै टिप्थ्यो । त्यो बेला लोकगायक धर्मराज थापाका गीतहरू रेडियोबाट धेरै नै बज्थे । ती गीत उनी निरन्तर सुन्थे, गुनगुनाउँथे । 

यिनै गीतबाट प्रभावित भएर उनले नयाँ र छुट्टै खालका गीत बनाएर गाए । त्यस क्रममा धर्मराज थापाको ‘ह ह तारे ह ह... ह ह माले ह ह’ गीतकै लयलाई समातेर गरेर नयाँ शब्द सिर्जना गरी गाउन थाले । 

“ह काली ह, छैन नि माली ह, 

नौतिनी भई कान्छी मेरो गोरु घुराइदेऊ

ह काली ह, छैन नि माली ह...” 

यो गीत उनले आफैँ सिर्जना गरेका थिए । यसमा उनको प्रतिभा पनि झल्किएको थियो । उनी घरबाट भागेर पहिलो पटक काठमाडौँ आए । त्यो बेला (विसं २०१९ मा) यो गीत रेडियो नेपालमा रेकर्ड पनि गराए । यो उनको पहिलो रेकर्ड गरेको गीत बन्यो । 

धर्मराज थापाको गीतबाट मात्र होइन, २०२४ सालमा राजा महेन्द्रको गाउँ फर्क अभियानको प्रचारले पनि उनलाई छोयो । त्यसबाट प्रभावित भएर गाउँ फर्क अभियानसम्बन्धी गीत पनि लेखे । 

फर्क फर्क फर्क फर्क हो...

गाउँतिरै फर्क हो, 

गाउँले हामी मिलेर 

गाउँले हामी मिलेर 

अमृत बोली छर्कौं हो, 

फर्क फर्क फर्क फर्क हो...

ढिला, सुस्ती खत्तमै गरौँ...

भ्रष्टाचार उन्मूलन गरौँ,

गाउँ घरमा गएर,

अमृत बोली छरेर हो.....

उनले यो गीत पनि रेडियो नेपालमा रेकर्ड गराए ।

अनि कम्युनिस्ट भए

काठमाडौँ आएपछि पारिजातसँग टुहुरेको सम्पर्क भयो । त्यतिबेला पारिजात, रामेश, रायन, मञ्जुल, अरिमलगायतले राल्फा आन्दोलन चलाइरहेका थिए । उनीहरूको सम्बन्धले उनलाई कम्युनिस्टतिर झुकाव बढायो । तर, राल्फामा भने समावेश भएनन् । किनभने त्यतिबेला कम्युनिस्ट पार्टी टुक्राटुक्रामा विभक्त थिए । 

राजाप्रतिको कैयौँ असहमति भए पनि महेन्द्रको गाउँ फर्क अभियानबाट आफू प्रभावित भएको जगदीश खरेलसँग गरेको कुराकानीमा स्वीकार पनि गरेका छन् उनले । २०२४ सालमा यो गीत गाएको सुनेपछि त्यति बेलाका कम्युनिस्टहरू पनि टुहुरेबाट प्रभावित भए । उनलाई कम्युनिस्टहरूले पार्टीमा भित्र्याउन विभिन्न प्रयास गरे । 

टुहुरेका साथीहरू त्यतिबला पूर्वी कोशी प्रान्तीय कमिटीमा थिए । साथीहरूमार्फत् उनले मार्क्सवादी पुस्तकहरू पनि अध्ययन गर्ने मौका पाए । त्यही समय उनले मोओ, राहुल सांकृत्यायन लगायतका पुस्तक अध्ययन गरे । यसले उनको भित्री मनलाई निकै प्रभाव पनि पार्यो । 

टुहुरेको गीत गाउने क्षमतालाई कम्युनिस्टहरूले ठाउँ ठाउँमा गोप्य कार्यक्रममा अवसर पनि प्रदान गरे । अनि उनलाई पार्टीमा प्रवेश गराउन जोडसमेत गरे । अन्ततः २०२५ सालमा दधिराम आचार्यले टुहुरेलाई पार्टी सदस्यता दिएका थिए । उनी पूर्वकोशी प्रान्तीय कमिटीको सदस्य भए । 

त्यतिबेला नै लब प्रधानको ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ...’ बोलको गीत गाए । यो गीतले टुहुरेलाई गायकका रूपमा बढी चिनायो ।

jb tuhure

सर्वाधिक चर्चित गीतको निर्माण 

“मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितहरू छुट्टै मुक्तिमोर्चा बनेर बनारसबाट छुट्टिएर नेपाल पर्र्किएका बेला मेरो सम्पर्क भयो । उनीहरूले ल्याएको एउटा कविता सङ्ग्रह ‘चरी भरर’ कविता सङ्ग्रह फेला पारेँ,” जगदीश खरेलसँगको कुराकानीमा टुहुरेले भनेका छन्, “त्यसमा भएको एउटा कविता गुनगुनाउँदा गुनगुनाउँदै छुट्टै लय निस्किएर गीत नै बन्यो । त्यो गीत नै मेरो जीवनको सर्वाधिक चर्चित गीत बन्न पुग्यो ।” 

तर सुरुमा यो गीतका शब्दहरू अहिलेका जस्ता थिएनन् भन्छन् रामेश । “मलाई यो गीतले नारी जातिको उपहास मात्र गरेजस्तो लाग्यो । लुगा लाएर मक्ख पर्ने, घरमा नै बस्ने, चन्द्रमाको पूजा र प्रार्थना गर्ने, आफ्नो घरको चुलोचौको मात्र गरेर बस्ने जस्ता शब्द गीतमा बढी थिए,” रामेश भन्छन्, “तर नारीलाई त्यस्तो बनाएको त सामन्ती र पितृसत्तात्मक व्यवस्थाले हो भनेँ ।” यस बारेमा टुहुरे र रामेशको विमर्शपछि केही भर्सन थपेर मात्र गाउने निर्णयमा पुगेका थिए । 

टुहुरेका अनुसार त्यो कवितामा नारीलाई हेपिएका शब्दहरू यस्ता थिए– 

रेशमको बुट्टे ब्लाउज 

टन्न आङमा कस्न पाई, 

लाली पाउडर धस्न पाई 

टेरलिङको झिल्के साडी लाउन पाई 

मक्ख परी बुद्धि सबै नष्ट पारी, 

पुरुषको खेलौना भई 

जीवनलाई व्यर्थै फाल्यौ 

भोग विलासको साधन बनेर... 

भोग विलासको साधन बनेर... । 

एकदेव ज्ञवालीले लेखेको उल्लिखित शब्द उनीहरूले संशोधन गरी हटाएका थिए । अनि उनीहरूले यस्ता शब्दहरूको नयाँ भर्सन थपेका थिए– 

आफ्नै पौरख खान्छन्, 

आफ्नै सीपमा बाँच्छन्, 

दुःख कष्ट सहेर, 

सृष्टि यिनले थाम्छन्, 

असल महान् व्यक्तिहरू 

यिनैले जन्माउँछन्, 

ज्ञान, गुन बुद्धिहरू, 

यिनैले सिकाउँछन्, 

तर पनि अँधेरोमा जीवन बिताउँछन्... 

तर पनि अँधेरोमा जीवन बिताउँछन्... 

आमा दिदी बैनी हो, कति बस्छौ दासी भै, 

सुखको सधैँ प्यासी बनेर... ।

यसपछि एकदेव ज्ञवालीकै शब्द थिए–

आकासको कालो बादल 

तिम्रै शिरमाथि सधैँ मडारिन्छ

असिना र बर्खे झरी तिम्रै भाग्यमाथि निसानी लगाउँछ 

वैशाखको घाम तिम्रै पुर्पुरोमा लाग्छ 

खुन बग्छ पानी बनेर 

खुन बग्छ पानी बनेर    

आमा दिदी बैनी हो कति बस्छौँ दासी भै

सुखको सधैँ प्यासी बनेर...  ।  

यो गीत पहिलो पटक धरानमा गीतियात्राकै क्रममा २०३४ सालमा पहिलो पटक टुहुरेले गाएका थिए । तर, केही समयपछि त्यो गीतमा फेरि बम देवानले पनि एक भर्सन थपेको टुहुरेले बताएका छन् । बम देवानले थपेको भर्सन– 

सामन्तीको कुचाल यो 

भ्रष्ट रीति पुँजीको, 

बुझी सब ब्युँझ अब 

ध्वस्त पार्न नारी बन्धन, 

दुःख अनि जीवनको 

युगले आज भन्दछ, 

नारी पनि मान्छे हो, 

जाग, उठ नारी हो, 

सिर्जनाको घाम बनेर... 

सिर्जनाको घाम बनेर.. ।

देवानको यो थप्पनपछि पछि मात्र यो गीतले पूर्णता पाएको हो । यो गीत टुहुरेको समूहले सञ्चालन गरेको ‘सङ्कल्प गीति कार्यक्रम’हरूमा अत्यन्त धेरै बज्यो । 

त्यस गीतले नारी चेतनामा एउटा लहर नै ल्यायो । गाउँ सहरका मान्छेका मन मनमा बस्यो, ओठ ओठमा गुनगुनाहट आउन थाल्यो । हरेक कार्यक्रमहरूमा यो गीत गुञ्जन थाल्यो । अनि सबैको मनमा बस्न पुगे टुहुरे । 

एमालेप्रति असन्तुष्टि

जनवादी गीत गाउँदै गाउँ गाउँमा जाँदा धेरै पटक जेल परे, कुटाइ खाए टुहुरे । कतिपय मण्डलेहरूले कार्यक्रमको स्टेज नै भत्काइ दिए तर गाउन छोडेनन् । 

उनले जीवनको अधिकांश ऊर्जाशील समय नेकपा एमालेमा रहेर राजनीति गरे । तर २०६६ सालपछि एमालेसँग असन्तुष्ट हुँदै उनी माओवादीमा प्रवेश गरे । “मेरो जीवन एमालेमै बित्यो, त्यहाँ बसेर अलिकति उपेक्षित भएँ । किनभने त्यतिबेला म ६४ वर्ष पुगेको थिएँ,” टुहुरे भन्छन्, “त्यहाँको नेतृत्वहरूले चासो नदिँदा मेरो भविष्य के होला भन्ने भयो ।” 

त्यतिबेला माओवादीहरूले स्थापित व्यक्तिहरू खोज्दै थिए । टुहुरेलाई आफ्नो पार्टीमा प्रयास गराउन जोडसमेत गरेको उनी बताउँछन् । “एमालेमा हुँदा धेरैले तपाईंलाई पार्टीले के दियो भन्ने प्रश्न गर्थे,” टुहुरे भन्छन्, “सभासद बनेपछि मेरो अलिकति इज्जत पनि रह्यो, धेरैले तपाईंलाई माओवादीले न्याय गर्यो भने ।” 

टुहुरेलाई माओवादीले समानुपातिकबाट २०७० सालमा सभासद बनायो । गाउँ गाउँमा गएर गीत गाएर मानिसमा चेतना भर्दाको दुःखलाई सभासद बनाएर न्याय गरेको अनुभूति उनलाई पनि भयो । ७३ वर्षको उमेरमा सभासद् हुन पाउँदा उनी खुसीले हाँसेका थिए । जे होस्, कलाकारका तर्फबाट ६०१ सभासद्मध्ये जेबी टुहुरेले संविधान निर्माणमा हस्ताक्षर गरी ऐतिहासिक कार्य गरे ।  

गरिब परिवारबाट सङ्घर्ष गर्दै पछिल्लो समय काठमाडौँमा घर बनाउनेसम्म भएकोमा जीवन सफल नै भएको ठान्थे । “२०६२ सालमा विराटनगरको घर बेचेर काठमाडौँमा घर बनाएको छु,” उनले भनेका छन््, “जीवनदेखि खुसी नै छु, धेरै गुनासो छैन, आमजनतामा जुन किसिमको परिवर्तन आउनुपर्ने थियो, त्यो नआएकोमा चाहिँ मेरो गुनासो छ ।” 

गीत अनुसारको काम नेता र नेतृत्वबाट नभएकोमा उनी निरास भएको बताउँथे । सामान्यभन्दा सामान्य जनतालाई कम्तीमा गाँस, बास र कपासको जोहो हुने वातावरण राज्यले निर्माण गरिदिनुपर्ने आग्रह उनको थियो । सामान्य उपचारबाट कोही वञ्चित हुन नपरोस् भन्थे उनी । देशको शिर ठाडो पार्ने नेतृत्व आओस् भन्थे । 

टुहुरेको पारिवारिक पृष्ठभूमि

विसं. २००१ कात्तिक १ गते धरानको पुरानो बजारमा टुहुरेको जन्म भएको हो । पिता कृष्णबहादुर खड्गी र आमा दानदेवी खड्गीका जेठो सन्तानका रूपमा उनको जन्म भएको हो । उनको न्वारनको नाम जुठबहादुर खड्गी हो । 

उनका आमाबुवा कपडाको सानोतिनो व्यापार गर्दथे । उनका बुवा घोडामा कपडा लिएर हाटबजारमा बेच्दै हिँड्थे । उनी पनि बुवासँगै धेरै हिँडे । पछि मोरङको मधुमल्लामा बसाइँ सराइ गरी उनले पसल गर्न थाले । टुहुरेको विवाह २०१७ सालमा सुनसरीकी सिमरियाकी सत्यदेवीसँग भएको थियो । 

२०२१ सालमा बुवाको देहान्त भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । “२०२१ सालमा बा बितेपछि जुन जिम्मेवारीहरू मैले भोगेँ, आफूलाई टुहुरो महसुस गरेँर आफ्नो नामपछि टुहुरे थपेँ,” टुहुरेले भनेका छन् । त्यसपछि उनले आफ्ना सङ्क्षिप्त नामको पछाडि टुहुरे राखे । विभिन्न ठाउँमा गाउँदै हिँड्दा उनी यही नामबाट परिचित हुन पुगे । 

कपडा व्यापारीदेखि लज सञ्चालकसम्म

टुहुरेले जीवनको पूर्वाद्र्धमा बुवासँगै कपडा बेच्दै हिँडे । केही समय मोरङको टाँडी र साखरे भन्ने ठाउँमा कक्षा ५ सम्मको शिक्षक भएर पढाए । २०२० सालदेखि नै उनी कम्युनिस्ट विचारधाराको नजिक भए । २०३९ सालमा मधुमल्लाबाट उनी विराटनगर सरे । 

जीवन निर्वाहका लागि उनले विराटनगरको ट्राफिक चोक छेउमा ‘शान्ति शितलु’ नामको लज पनि चलाए । केही समय उनले आफ्नै घरमा ‘मौसमी’ लज पनि चलाए । अनि २०६२ सालमा विराटनगरको घर बेचेर काठमाडौँ सरे । 

सानैदेखि कम्युनिस्ट पार्टीकै प्रचार प्रसारमा गीत गाउँदै हिँडेका टुहुरे माले हुँदै एमालेमा प्रवेश गरी जीवनको अधिकांश समय राजनीतिक जनचेतनामा होमिए । २०६६ पछि एमालेसँग असन्तुष्ट हुँदै उनी माओवादीमा प्रवेश गरे । माओवादीले उनको योगदानको सम्मान स्वरूप २०७० सालमा संविधान सभा सदस्यमा मनोनीत गर्यो । अनि, उनी जनताको संविधान नेपालको संविधान २०७२ बनाउने मध्येका एक हुन पुगे । 

टुहुरेको विसं २०१० बाट साहित्यिक यात्रा सुरु भएको हो । उनका ‘छोराहरू हो, छोरीहरू हो’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘किसानको मुटु छामेर हेरे’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो’ लगायत करिब १५० भन्दा बढी गीत रेकर्ड छन् । 

मस्तिष्कघातका कारण टुहुरेले २०७८ भदौ १० गते काठमाडौँको वयोधा अस्पतालमा यस धर्तीबाट सदाका लागि बिदा लिए । तर, उनका सिर्जना युग युगसम्म अमर रहने छन् । आफ्नै गीतमार्फत् आम नेपालीका मनमा बस्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप