मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष समाचार

शुक्रबार, १५ भदौ २०८०, २२ : ४२
शुक्रबार, १५ भदौ २०८०

आज मिति २०८० साल भदौ महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित हामी रातोपाटीको रात्रीकालीन प्रस्तुती रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–

माओवादीको अभियान
‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियान भदौ शनिबारदेखि सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर सो पार्टीले जनाएको छ ।

कांग्रेसले तोक्याे १५ विभागीय प्रमुख
कांग्रेस सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

चीनले जारी गरेको नक्साबारे सरकार
सरकारले नेपालको नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको भूभाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको हो ।

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

पारस अस्पताल भर्ना 
पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको छ ।

तातोपानी नाकाबाट आवतजावत
नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।

साताको सेयर
सेयर बजारप्रति आम लगानीकर्ताहरूको नैरास्यता छाउँदा यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा झरेको छ ।

क्रिकेटको राजनीतिमा पारस
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । 
पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

यो पनि...
प्रधानमन्त्री प्रचण्ड  र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सिनेटर होलेनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।  शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको बताएका छन् । शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले त्यसका लागि अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

 कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप